प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ११/१५ पृ. २४-२६
  • सिथियावासीहरू—विगतका रहस्यमय मानिसहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिथियावासीहरू—विगतका रहस्यमय मानिसहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावशाली घोडसवारहरू
  • दीर्घकालीन उद्देश्‍यले सजाइएका चिहानहरू
  • सिथियावासीहरू तथा बाइबल
  • रहस्यमय ढंगमा पतन
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ११/१५ पृ. २४-२६

सिथियावासीहरू—विगतका रहस्यमय मानिसहरू

फिरन्ते जातिका घोडचढीहरू आ-आफ्ना झोलामा लूटका मालहरू भरेर, बुंगबुंग धूलो उडाउँदै तेज रफ्तारमा आइपुगे। सा.यु.पू. ७०० देखि ३०० सम्म ती रहस्यमय मानिसहरूले युरेसियाका खुला मैदानमा कब्जा जमाए। त्यसपछि तिनीहरू हराएर गए तर मानव इतिहासमा आफ्नो छाप छोड्‌न भने सफल भए। बाइबलमा समेत तिनीहरूबारे उल्लेख गरेको पाइन्छ। तिनीहरू सिथियावासीहरू थिए।

शताब्दीयौंसम्म फिरन्तेहरू तथा जंगली घोडाहरूको बगाल पूर्वी युरोपको कारपाथियन पर्वतहरूदेखि लिएर हाल रूसको दक्षिणपूर्वसम्म फैलिएको मैदानमा घुमफिर गर्ने गर्थे। सा.यु.पू. आठौं शताब्दीतिर चिनियाँ सम्राट शुआनको सैनिक गतिविधिले गर्दा तिनीहरू पश्‍चिमतिर बसाइँ सर्न बाध्य भए। पश्‍चिमतिर सर्दै ती सिथियावासीहरूले ककेसस्‌ र ब्ल्याक सीको उत्तरमा पर्ने इलाकामाथि अधिपत्य जमाइरहेका सिमेरीयालीहरूसित युद्ध गरेर तिनीहरूलाई खेदे।

धनसम्पत्तिको खोजी गर्ने क्रममा सिथियावासीहरूले अश्‍शूरको राजधानी निनवेलाई लुटे। पछि, तिनीहरूले मादी, बेबिलोन र अरू राष्ट्रहरूमाथि चढाइ गर्न अश्‍शूरसित सन्धि गरे। तिनीहरूले उत्तरी मिश्रसम्म आक्रमण गरे। इस्राएलको उत्तरपूर्वी भागमा अवस्थित बेत-शान शहरमा केही समय सिथियावासीहरूले शासन गरेको कारण त्यसको नाउँ पछि सिथोपोलिस रहन गएको हुनसक्छ।—१ शमूएल ३१:११, १२.

अन्ततः सिथियावासीहरू अहिलेको रोमानिया, माल्डोभा, युक्रेन तथा दक्षिणी रूसका मैदानहरूमा बसोबास गर्न थाले। त्यसपछि तिनीहरूले उहिलेका अन्‍न उत्पादनकर्ताहरू अर्थात्‌ हालको युक्रेन र रूस अनि युनानबीच दलाली गरेर धनी हुन थाले। युनानीहरूको मद्य, कपडा, हतियार र सुन्दर कलाकृतिहरूसित सिथियावासीहरू अन्‍न, मह, पशुहरूको भुत्ला र गाईवस्तुको व्यापार गर्थे। यसरी तिनीहरूले प्रशस्त धनसम्पत्ति सञ्चय गरे।

प्रभावशाली घोडसवारहरू

मरुभूमिका मानिसहरू ऊँटमा चढ्‌थे भने, यी मैदानका योद्धाहरू घोडामा चढ्‌थे। ती सिथियावासीहरू उत्कृष्ट घोडसवारहरू हुनुका साथै काठी तथा रिकाब प्रचलनमा ल्याउने प्रथम मानिसहरूमध्यकै थिए। तिनीहरू घोडाको मासु खान्थे र घोडीको दूध पिउँथे। वास्तवमा, तिनीहरू घोडालाई नै होमबलिको रूपमा चढाउँथे। सिथियावासीका कुनै योद्धाको मृत्यु हुँदा उसको घोडालाई पनि मारिन्थ्यो र त्यसलाई लगाम तथा अन्य सजावटका सामग्रीहरू लगाइदिएर पूरा सम्मानका साथ अन्त्येष्टि गरिन्थ्यो।

आफूले मारेको मान्छेको खोपडी कचौराको रूपमा प्रयोग गर्नेजस्ता अत्यन्तै क्रूर चलनहरू सिथियावासीहरूले अपनाएका थिए भनी इतिहासकार हेरोडोटस बताउँछन्‌। आफ्ना शत्रुहरूलाई आक्रमण गरेर तरवार, युद्धमा चलाइने बन्चरो, भाला र चुच्चोमा घुम्रो परेका शरीर छियाछिया पार्ने वाणहरूले तिनीहरूलाई मार्थे।

दीर्घकालीन उद्देश्‍यले सजाइएका चिहानहरू

सिथियावासीहरू बोक्सीविद्या अनि मसान जगाउने गर्थे भने आगो र मातृ देवहरूको पनि उपासना गर्थे। (व्यवस्था १८:१०-१२) तिनीहरू चिहानलाई मरेकाहरूको वासस्थान मान्थे। मरेका मालिकहरूको लागि दास तथा पशु बलि चढाइन्थ्यो। धनसम्पत्ति तथा दासहरूले “अर्को संसारमा” पनि मालिकहरूलाई साथ दिन्छन्‌ भन्‍ने विश्‍वास गरिन्थ्यो। एउटा राजकीय चिहानमा पाँच जना पुरुष दासहरू अहिल्यै जुरुक्क उठेर सेवाको काम गरिहाल्ला जस्तै गरी आफ्नो मालिकको खुट्टामुनि लम्पसार परिरहेका लाशहरू भेटिए।

शासकहरूलाई प्रशस्त भेटीसहित गाडिन्थ्यो र शोक गर्ने समयमा ती सिथियावासीहरू आ-आफ्नो रगत बगाउँथे र केश काट्‌थे। हेरोडोटसले यस्तो लेखे: “तिनीहरू आफ्नो कानको केही अंश काट्‌थे, केश मुन्ड्याउँथे, पाखुराका चारैतिर चिरा पार्थे, निधार र नाक च्यात्थे अनि आफ्नो बायाँ हात वाणहरूले वारपार छेंड्‌थे।” त्यसको ठीक विपरीत, त्यसै युगका इस्राएलीहरूलाई परमेश्‍वरको व्यवस्थाले यस्तो आदेश दिएको थियो: “मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू।”—लेवी १९:२८.

सिथियावासीहरूले हजारौं कुर्गानहरू (लास गाडिएका ढिस्कोहरू) छोडेर गएका छन्‌। ती कुर्गानहरूमा भेटिएका थुप्रै गहनाहरूले तिनीहरूको दैनिक जीवन चित्रण गर्छ। रूसी जार पिटर दि ग्रेटले त्यस्ता वस्तुहरू १७१५ देखि जम्मा गर्न थाले र ती चहकिला वस्तुहरू अहिले रूस तथा युक्रेनका संग्रहालयहरूमा देख्न सकिन्छ। यस “जनावरहरूको चित्रकला”-मा घोडा, चील, बाज, बिरालो, चितुवा, जरायो, मृग, भिन्‍नाभिन्‍नै जीवका भागहरू भएको चरा र जीउमा पखेटा भएका सिंह समावेश छन्‌। (पखेटा भएका वा नभएका कुनै जीवको शरीरमा अर्कै जन्तुको टाउको हुने पौराणिक कथाका जन्तुहरू)।

सिथियावासीहरू तथा बाइबल

बाइबलमा सिथियावासीहरूबारे स्पष्टसित एकै चोटि मात्र उल्लेख गरिएको छ। कलस्सी ३:११ मा हामी यस्तो पढ्‌छौं: “ग्रीक र यहूदी, खतना र बेखतना अरू भाषा बोल्ने, सिथियावासी, कमारा र फुक्काको भेद रहनेछैन, तर सबै कुरा र सबै कुरामा ख्रीष्टनै हुनुहुन्छ।” मसीही प्रेरित पावलले यी शब्दहरू लेख्दा युनानी भाषामा “सिथियावासी” भन्‍ने पदावलीले कुनै विशेष राष्ट्रलाई नभई एकदमै असभ्य मानिसहरूलाई चित्रित गर्थ्यो। यहोवाको पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍तिको मदतद्वारा त्यस्ता व्यक्‍तिहरूले समेत ईश्‍वरीय व्यक्‍तित्व धारण गर्न सक्छन्‌ भनेर पावलले जोड दिइरहेका थिए।—कलस्सी ३:९, १०.

यर्मिया ५१:२७ मा पाइने अश्‍कनज नाउँ, अश्‍शूरीहरूले सिथियावासीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने अश्‍गजा शब्दको सट्टा चलाइएको हुनसक्छ भनेर केही पुरातत्त्वविद्‌हरू विश्‍वास गर्छन्‌। सा.यु.पू. सातौं शताब्दीमा अश्‍शूरीहरू विरुद्ध विद्रोह गर्दा ती अश्‍गजाहरू र मन्‍नाइहरूबीच साठगाँठ भएको कुरा कीलाक्षर शिलाहरूमा उल्लेख गरिएको छ। यर्मियाले भविष्यवाणी गर्न थाल्नुअघि ती सिथियावासीहरू यहूदालाई कुनै क्षति नपुऱ्‍याई त्यहाँबाट मिश्रतिर लागेका थिए। तसर्थ, यहूदामा उत्तरबाट आक्रमण हुनेछ भनेर यर्मियाले गरेको भविष्यवाणी सुन्‍ने धेरैजसोले तिनको भविष्यवाणीको सत्यतामाथि शंका गरेको हुनसक्छ।—यर्मिया १:१३-१५.

यर्मिया ५०:४२ (नयाँ संशोधित संस्करण) मा सिथियावासीहरूलाई संकेत गरेको छ भनी केही शास्त्रज्ञहरू आफ्नो मत प्रस्तुत गर्छन्‌, जहाँ यस्तो लेखिएको छ: “उनीहरू धनु र भालाले सुसज्जित छन्‌। उनीहरू कठोर र निर्दयी छन्‌। उनीहरू घोडाहरूमा सवार भएर आउँदा समुद्र गर्जेझैं गर्जन्छन्‌। हे बेबिलोनकी छोरी, तँलाई आक्रमण गर्नलाई लडाइँको लागि पंक्‍ति बाँधेर आएका मानिसहरूजस्तै ती आउँछन्‌।” तर यस पदले मुख्यतः सा.यु.पू. ५३९ मा बेबिलोनमाथि विजय हासिल गर्ने मादी र फारसीहरूलाई संकेत गर्छ।

“मागोग देश” भनेर इजकिएल ३८ र ३९ मा उल्लेख गरिएको देशले सिथियावासीहरूलाई संकेत गर्छ भनेर पनि भन्‍ने गरिन्छ। तथापि, “मागोग देश” भन्‍ने पदावलीको लाक्षणिक अर्थ छ। त्यसले स्पष्टतया यस विशाल पृथ्वीलाई संकेत गर्छ, जहाँ शैतान तथा त्यसका दूतहरूलाई स्वर्गमा भएको युद्धपछि फ्याँकियो।—प्रकाश १२:७-१७.

निनवेको विनाशबारे नहूमले गरेको भविष्यवाणीको पूर्तिमा ती सिथियावासीहरू पनि समावेश थिए। (नहूम १:१, १४) सा.यु.पू. ६३२ मा कल्दी, सिथियावासी र मादीहरूले निनवेलाई परास्त गरे, जसको फलस्वरूप अश्‍शूरी साम्राज्यको पतन भयो।

रहस्यमय ढंगमा पतन

सिथियावासीहरू हराएर गएका छन्‌, तर किन? युक्रेनका पुरातत्त्वविद्‌ यसो भन्छन्‌, “साँचो कुरा के हो भने, यसको कारण हामीलाई पनि थाह छैन।” कोही-कोहीचाहिं धनसम्पत्ति धेरै जोहो गर्ने चाहनाले गर्दा तिनीहरू कमजोर हुँदै गए र सा.यु.पू. प्रथम अनि दोस्रो शताब्दीतिर एसियाका सार्मेशियालीहरूको नयाँ फिरन्ते समूहहरूसित परास्त भए भन्‍ने विश्‍वास गर्छन्‌।

अरूको विचारमा चाहिं सिथियावासीहरूबीचकै आपसिय कलहले गर्दा पनि तिनीहरूको पतन भएको हुनसक्छ। तैपनि, कसै-कसैको भनाइअनुसार सिथियावासीहरू ककेसस्‌को ओसेन्तीहरूका माझमा भेट्टाउन सकिन्छ। जे भए तापनि, विगतका यी रहस्यमय मानिसहरूले मानव इतिहासमा आफ्नो छाप छाडेर गए अर्थात्‌ सिथियावासी क्रूरताको पर्यायवाचीको रूपमा चिनिए।

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

◻ प्राचीन शहर

• आधुनिक शहर

डानुबे

सिथिया ← बसाइँ सराइको मार्ग

• किभ

नीपर

नीस्टर

ब्ल्याक सी

असीसीया

ककेसस्‌ पर्वतमाला

केस्पियन सागर

अश्‍शूर ← आक्रमण मार्गहरू

◻ निनवे

टाइग्रिस

मादी ← आक्रमण मार्गहरू

मेसोपोटामिया

बेबिलोनिया ← आक्रमण मार्गहरू

◻ बेबिलोन

युफ्रेटिस

फारसी साम्राज्य

◻ सुसा

फारसको खाडी

प्यालेस्टाइन

• बेत-शान (सिथोपोलिस)

मिश्र ← आक्रमण मार्गहरू

नील

भूमध्य सागर

युनान

[पृष्ठ २५-मा भएका चित्रहरू]

सिथियावासी योद्धाहरू थिए

[स्रोत]

The State Hermitage Museum, St. Petersburg

[पृष्ठ २६-मा भएका चित्रहरू]

सिथियावासीहरूले युनानीहरूका कलाकृतिहरूसित आफ्ना मालसामानहरूको व्यापार गरेर धेरै धन कमाए

[स्रोत]

Courtesy of the Ukraine Historic Treasures Museum, Kiev

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने