के धार्मिक विश्वास तर्कमा आधारित हुनुपर्छ?
“सोच्न नपरोस् भनेर नै ‘धर्मपरायण’ हुने मानिसहरू थुप्रै छन्” भनी संयुक्त राज्य अमेरिकाको धर्मपीठका वरिष्ठ प्राध्यापक लेख्छन्। तिनी अझै यसो भन्छन्, “तिनीहरू जस्तोसुकै कुरा पनि ‘धार्मिक विश्वासको’ नाउँमा स्वीकार्न चाहन्छन्।”
कुरा के हो भने, धार्मिक विश्वास भएको दाबी गर्ने प्रायजसो मानिसहरू आफूले किन विश्वास गरेको वा विश्वास गर्नुमा पर्याप्त आधार छ कि छैन भनेर विचारै गर्दैनन्। त्यसैकारण धर्मबारे कुरा गर्न धेरै मानिसहरू हिचकिचाउनु कुनै अचम्मलाग्दो कुरा होइन।
दुःखको कुरा, धार्मिक प्रतीक प्रयोग गर्ने वा प्रार्थनाहरू जप्नेजस्ता कुराहरूले पनि व्यावहारिक भई सोच्न पटक्कै मदत गर्दैन। यस्ता चलनहरूका साथसाथै आकर्षक भवन, भव्य बुट्टाहरू कुँदिएका सिसाका झ्याल र उत्तेजक संगीत नै लाखौं मानिसहरूको धर्म भएको छ। कुनै-कुनै चर्चले तिनीहरूको धार्मिक विश्वास बाइबलमा आधारित भएको दाबी गरे तापनि ‘येशूमा विश्वास गर्नुहोस् र तपाईं बाँच्नुहुनेछ’ भन्ने सन्देशले बाइबल अध्ययनको महत्त्वलाई हल्का बनाउँछ। अरू कति जना चाहिं सामाजिक वा राजनैतिक सन्देश प्रचारप्रसार गर्नतिर लागेका छन्। यी सबैको परिणाम के भएको छ?
उत्तर अमेरिकाको धार्मिक अवस्थाबारे धर्मसम्बन्धी लेखकले यसो भने: “मसीही धर्म . . . बाह्य आडम्बरजस्तो मात्र देखिन्छ र यसका अनुयायीहरूलाई आफ्नो धार्मिक विश्वासबारे खासै ज्ञान छैन।” एक जना सर्वेक्षणकर्ता संयुक्त राज्य अमेरिकालाई “बाइबलबारे ज्ञान नभएका असाक्षरहरूको देश” भन्नसमेत पछि परेनन्। निष्पक्ष भई भन्ने हो भने, यस्तो टिप्पणी मसीहीजगत् भनौंदा अन्य थुप्रै देशहरूहरूमा पनि लागू हुन्छ। त्यसै गरी थुप्रै गैरमसीही धर्महरूले पनि तर्कशक्ति चलाउन प्रोत्साहन दिनुको सट्टा मन्त्र जप्ने, रीतिथितिअनुसारको प्रार्थना गर्ने र मन्त्रतन्त्र मुछिएको विभिन्न प्रकारको ध्यान गर्न लगाउँछन् र यी सबैमा कुनै पनि प्रकारको तार्किक, सृजनात्मक सोचाइ समावेश हुँदैन।
यद्यपि, दैनिक जीवनमा धार्मिक विश्वासहरूको सत्यतालाई त्यति गम्भीरतासाथ नसोच्ने मानिसहरूले अरू विषयहरूमा भने निकै गम्भीरतासाथ सोचिरहेका हुन्छन्। कुनै दिन फलामको टुक्रा हुने एउटा गाडी किन्न एकदमै ध्यान दिएर खोजीनिति गर्ने व्यक्तिले आफ्नो धर्मबारे यसो भन्नु के अचम्मलाग्दो कुरा होइन र, ‘मेरो धर्म मेरा आमाबाबुका लागि ठीकै थियो भने मेरोलागि पनि त ठीकै होला नि’?
हामी साँच्चै परमेश्वरलाई खुसी तुल्याउन चाहन्छौं भने, हामी उहाँबारे के विश्वास गर्छौं, त्यसको सत्यताबारे के गहिरो सोचविचार गर्नुपर्दैन र? प्रेरित पावलले आफ्ना समकालीन केही धर्मपरायण मानिसहरूबारे यसो भने, “तिनीहरूसँग परमेश्वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन।” (रोमी १०:२) त्यस्ताहरूलाई काममा लगाइएको एक जना रंगरोगन गर्ने मानिससित तुलना गर्न सकिन्छ, जसले घरमा रङ लगाउन कडा मेहनत त गर्छन् तर मालिकको कुरा राम्रोसँग नसुनेको कारण अर्कै रङ लगाउँछन्। उक्त रंगरोगन गर्ने मानिस आफ्नो काम देखेर दंग त पर्ला तर के मालिकलाई त्यो चित्त बुझ्ला?
साँचो उपासनाको सन्दर्भमा परमेश्वर के चाहनुहुन्छ? बाइबल यस्तो जवाफ दिन्छ: “हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।” (१ तिमोथी २:३, ४) कसै-कसैलाई आज व्याप्त थुप्रै धर्महरूमा त्यस्तो ज्ञान भेट्टाउन असम्भव छ जस्तो लाग्न सक्छ। तर विचार गर्नुहोस्—परमेश्वर स्वयम् मानिसहरूले सत्यको साँचो ज्ञान प्राप्त गरेको चाहनुहुन्छ भने, के उहाँले ती कुराहरूबाट तिनीहरूलाई वञ्चित गर्नुहुन्छ होला र? अहँ, उहाँले त्यसो गर्नुहुन्न किनभने बाइबल यसो भन्छ, “उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ।”—१ इतिहास २८:९.
साँचो मनसायले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँले आफूलाई कसरी चिनाउनुहुन्छ? यसपछिको लेखले यस प्रश्नको जवाफ दिनेछ।