प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ९/१ पृ. २९-३१
  • परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उत्कृष्ट सहारा
  • परीक्षाहरूबाट हामी के सिक्छौं
  • परीक्षाहरूप्रति सही दृष्टिकोण राख्नुहोस्‌
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परीक्षाको बावजूद विश्‍वासलाई पक्रिराख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • धैर्य गर्दा इनाम मिल्छ
    हाम्रो राज्य सेवकाई—२००४
  • “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ”
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ९/१ पृ. २९-३१

परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?

परीक्षा! जाँच! हरेकले नै यसको सामना गर्नुपर्छ। परीक्षाका कारणहरूमा व्यक्‍तित्व भिन्‍नता, आर्थिक कठिनाइ, रोगबिमार, प्रलोभन, गलत काम गर्न साथीहरूको दबाउ, सतावट, तटस्थता वा मूर्तिपूजा विरुद्धको हाम्रो अडानको कारण सामना गर्नुपर्ने चुनौती वा अन्य थुप्रै कुराहरू हुन सक्छन्‌। हामीले जस्तोसुकै परीक्षाको सामना गर्नु परे तापनि अक्सर यसले गर्दा ठूलो चिन्ता हुन्छ। हामी कसरी सफलतापूर्वक यसको सामना गर्न सक्छौं? के यसले हामीलाई कुनै तरिकामा लाभ पनि पुऱ्‍याउँछ कि?

उत्कृष्ट सहारा

पुरातन समयका राजा दाऊदले जीवनभर विभिन्‍न परीक्षाहरू भोग्नुपरे तापनि तिनी मृत्युसम्मै विश्‍वासी रहे। तिनले कसरी धैर्य धारण गर्न सके? तिनले आफ्नो बलको स्रोत औंल्याउँदै यसो भने: “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” त्यसपछि तिनले अझै यसो भने: “घोर अन्धकारमा मैले हिंड़्‌नु परे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरो, तिनैले मलाई सान्त्वना दिन्छन्‌।” (भजन २३:१, ४) हो, यहोवा असीम सहाराको स्रोत हुनुहुन्छ। उहाँले एकदमै तनाउपूर्ण समयमासमेत दाऊदको गोठालो गर्नुभयो र आवश्‍यक परेमा हाम्रो लागि पनि उहाँ त्यसै गर्न तयार हुनुहुन्छ।

हामी कसरी यहोवाको सहारा प्राप्त गर्न सक्छौं? त्यो तरिकाबारे बाइबलले यसरी औंल्याउँछ: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ।” (भजन ३४:८) यो एउटा न्यानो निमन्त्रणा हो; तर यसको अर्थ के हो? यो यहोवाको सेवा गर्ने र हाम्रो जीवन पूर्णतया उहाँको इच्छामा सुम्पिने प्रोत्साहन हो। यस्तो मार्ग पछ्याउँदा हाम्रा कुनै-कुनै स्वतन्त्रताहरू त्याग्नुपर्ने हुन्छ। कहिलेकाहीं यसले गर्दा सतावट वा कष्टजस्ता परीक्षाहरू पनि निम्त्याउन सक्छ। तथापि, यहोवाको निमन्त्रणालाई तनमनले स्वीकार्नेहरूले यसो गरेकोमा कहिल्यै पछुताउनुपर्ने छैन। यहोवा तिनीहरूप्रति भलो हुनुहुनेछ। उहाँले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ र आध्यात्मिक तवरमा तिनीहरूको हेरचाह गर्नुहुनेछ। आफ्नो वचन, पवित्र आत्मा र मसीही मण्डली चलाएर उहाँले तिनीहरूलाई परीक्षाहरूको दौडान सहारा दिनुहुनेछ। अनि अन्ततः उहाँले तिनीहरूलाई अनन्त जीवनको इनाम दिनुहुनेछ।—भजन २३:६; २५:९; यशैया ३०:२१; रोमी १५:५.

यहोवाको सेवा गर्न आफ्नो जीवनमा आमूल परिवर्तन गर्ने निर्णय गरी त्यसैअनुसार चलिरहनेहरूले यहोवाले आफ्ना सबै प्रतिज्ञाहरू पूरा गर्नुभएको अनुभव गर्छन्‌। प्रतिज्ञा गरिएको देशसम्म यहोशूलाई पछ्याउने इस्राएलीहरूले यस्तै अनुभव गरे। यर्दन नदी तरेपछि तिनीहरूले परीक्षा सहनुपऱ्‍यो, लडाइँ गर्नुपऱ्‍यो र तीता पाठहरू सिक्नुपऱ्‍यो। तर त्यस पुस्ता मिश्र छोडेर आउने र उजाडस्थानमा मर्ने आफ्ना पुर्खाहरूभन्दा पनि विश्‍वासी साबित भए। त्यसकारण यहोवाले यी विश्‍वासी जनहरूलाई सहारा दिनुभयो र यहोशूको मृत्यु हुने बेलातिर तिनीहरूको अवस्था कस्तो थियो भन्‍नेबारे बाइबल विवरण यसो भन्छ: “परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभए बमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। . . . परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भयो।” (यहोशू २१:४४, ४५) परीक्षाहरू आउँदा र अरू सबै समयमा यहोवामाथि पूर्णतया भर पऱ्‍यौं भने हामीले पनि यस्तै अनुभव गर्न सक्छौं।

यहोवामाथिको हाम्रो भरोसालाई केले कमजोर तुल्याउन सक्छ? येशूले एउटा कुरा यसरी औंल्याउनुभयो: “कसैले दुइ मालिकको चाकरी गर्नसक्‍तैन। . . . तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।” (मत्ती ६:२४) हामी यहोवामा भरोसा राख्छौं भने सुरक्षाका लागि संसारका अधिकांश व्यक्‍तिहरू जस्तै भौतिक कुराहरूमा भर पर्दैनौं। येशूले आफ्ना अनुयायीहरूलाई यसरी सल्लाह दिनुभयो: “तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै [आवश्‍यक भौतिक] थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्ने र आफ्नो जीवनमा परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिने मसीहीले सही निर्णय गर्छ। (उपदेशक ७:१२) निस्सन्देह, तिनले यसको लागि केही मूल्य चुकाउनुपर्ने हुन सक्छ। तिनले भौतिक तवरमा त्यागहरू गर्नुपर्ने हुन सक्छ। तर तिनले थुप्रै इनामहरू प्राप्त गर्नेछन्‌। अनि यहोवाले तिनलाई सहारा दिनुहुनेछ।—यशैया ४८:१७, १८.

परीक्षाहरूबाट हामी के सिक्छौं

निस्सन्देह, ‘यहोवा कस्तो भलो हुनुहुन्छ भनी पारख गरेर हेर्न’ रोज्दैमा यसले जीवनका अप्ठ्याराहरूबाट जोगाउँदैन; नता यसले हामीलाई शैतान र त्यसका मानव चम्चाहरूको आक्रमणहरूबाट नै पूर्णतया सुरक्षित राख्छ। (उपदेशक ९:११) फलस्वरूप, मसीहीको निष्कपटता र दृढता परीक्षामा पर्न सक्छ। यहोवाले किन आफ्ना उपासकहरूलाई यस्ता परीक्षाहरूमा पर्न दिनुहुन्छ? प्रेरित पत्रुसले यसो हुनुको एउटा कारणबारे यसरी बताए: “तिमीहरू अहिले, दरकार परिगएमा, अलि बेरको निम्ति नाना किसिमका परीक्षाको तकलीफमा पर्छौ, . . . कि तिमीहरूको विश्‍वासको प्रमाण, नष्ट हुने सुनभन्दा ज्यादै किम्मितीको हुनाले, यो आगोबाट जाँचिने भए तापनि, येशू ख्रीष्टको प्रकाशमा प्रशंसा, महिमा र आदरमा पाइओस्‌।” (१ पत्रुस १:६, ७) हो, परीक्षाहरूले हामीलाई विश्‍वास र यहोवाप्रतिको हाम्रो प्रेम प्रदर्शित गर्ने मौका दिन्छ। अनि परीक्षाहरूले शैतान अर्थात्‌ दियाबलका खिसी तथा आरोपहरूको जवाफ दिन मदत गर्छ।—हितोपदेश २७:११; प्रकाश १२:१०.

परीक्षाहरूले हामीलाई अरू मसीही गुणहरू विकास गर्न पनि मदत गर्छ। उदाहरणका लागि, भजनहारका यी शब्दहरू विचार गर्नुहोस्‌: “[यहोवाले] नम्रहरूलाई कदर गर्नुहुन्छ। तर घमण्डीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्छ।” (भजन १३८:६) हामीमध्ये थुप्रै नम्र स्वभावका हुँदैनौं तर परीक्षाहरूले हामीलाई यो आवश्‍यक गुण विकास गर्न मदत दिन सक्छ। मोशाको समयमा हप्तौं वा महिनौंसम्म मन्‍न खानुपर्दा वाक्क भएका केही इस्राएलीहरूको घटनालाई सम्झनुहोस्‌। स्पष्टतया, मन्‍न चमत्कारी ढंगमा प्रबन्ध गरिएको भए तापनि यो तिनीहरूको लागि परीक्षा भयो। यो परीक्षाको उद्देश्‍य के थियो? मोशाले तिनीहरूलाई यसो भने: “उजाड़-स्थानमा . . . मन्‍न खुवाएर [यहोवाले] तिमीहरूलाई दीन तुल्याउनु भयो र जाँच्नु भयो।”—व्यवस्था ८:१६.

त्यसै गरी हाम्रो नम्रताको पनि जाँच हुन सक्छ। कसरी? उदाहरणको लागि, संगठनात्मक छाँटकाँटहरूप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं? (यशैया ६०:१७) के हामी प्रचार तथा सिकाउने कामलाई भित्री हृदयदेखि समर्थन गर्छौं? (मत्ती २४:१४; २८:१९, २०) के हामी बाइबल सच्चाइलाई “विश्‍वासी र बुद्धिमान दास[ले]” व्याख्या गरेअनुसारै उत्सुकतासाथ स्वीकार्छौं? (मत्ती २४:४५-४७; हितोपदेश ४:१८) के हामी अत्याधुनिक सर-सामान, नयाँ फेसन वा भर्खरै निस्केका नयाँ मोडलका गाडीहरू प्राप्त गर्ने दबाउको प्रतिरोध गर्छौं? नम्र व्यक्‍तिले यस्ता प्रश्‍नहरूको सकारात्मक जवाफ दिन सक्छ।—१ पत्रुस १:१४-१६; २ पत्रुस ३:११.

परीक्षाहरूले हामीलाई अझ अर्को महत्त्वपूर्ण गुण अर्थात्‌ धीरज विकास गर्न मदत गर्छ। चेला याकूबले यसो भने: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।” (याकूब १:२, ३) यहोवामा भर परेर एकपछि अर्को परीक्षा सफलतापूर्वक सहँदै जाँदा यसले दृढता, निरन्तरता र निष्ठा विकास गर्छ। यसले हामीलाई यस संसारको क्रोधित देव शैतानका भावी आक्रमणहरूको प्रतिरोध गर्न बलियो बनाउँछ।—१ पत्रुस ५:८-१०; १ यूहन्‍ना ५:१९; प्रकाश १२:१२.

परीक्षाहरूप्रति सही दृष्टिकोण राख्नुहोस्‌

पृथ्वीमा हुनुहुँदा परमेश्‍वरको सिद्ध पुत्र येशू ख्रीष्टले थुप्रै परीक्षाहरू सामना गर्नुभयो र यी सहेर थुप्रै लाभहरू पनि प्राप्त गर्नुभयो। पावलले लेखे कि येशूले “भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो।” (हिब्रू ५:८) मृत्युसम्मैको उहाँको वफादारिताले यहोवाको नाउँको प्रशंसा गऱ्‍यो र येशूले आफ्नो सिद्ध शरीर मानिसजातिको छुडौतिको लागि प्रदान गर्न सक्नुभयो। यसले येशूमा विश्‍वास गर्नेहरूका लागि अनन्त जीवन पाउने बाटो खोलिदियो। (यूहन्‍ना ३:१६) परीक्षाहरू आउँदा येशू विश्‍वासी रहनुभएको कारण अहिले उहाँ हाम्रो प्रधान पूजाहारी तथा शासनारूढ राजा हुनुहुन्छ।—हिब्रू ७:२६-२८; १२:२.

हामी नि? त्यसै गरी परीक्षाहरूसामु हामी वफादार रह्‍यौं भने थुप्रै लाभहरू प्राप्त हुन्छन्‌। स्वर्गीय आशा हुनेहरूबारे बाइबल यसो भन्छ: “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट, उहाँलाई प्रेम गर्नेहरूलाई दिनेछु भन्‍ने प्रतिज्ञा गर्नुभएको, जीवनको मुकुट त्यसले पाउनेछ।” (याकूब १:१२) पार्थिव आशा भएकाहरूको लागि तिनीहरूले विश्‍वासपूर्वक धैर्य धारण गरेको खण्डमा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने प्रत्याशा छ। (प्रकाश २१:३-६) अनि अझ महत्त्वपूर्ण कुरा, तिनीहरूको विश्‍वासीलो धैर्यले यहोवाको नाउँमा प्रशंसा ल्याउँछ।

येशूको पाइला पछ्याएमा यस रीतिरिवाजमा सामना गर्नुपर्ने सबै परीक्षाहरूको सफलतापूर्वक सामना गर्न सक्छौं भनी हामी निर्धक्क हुन सक्छौं। (१ कोरिन्थी १०:१३; १ पत्रुस २:२१) कसरी? उहाँमा भर पर्ने सबैलाई “असामान्य शक्‍ति” प्रदान गर्नुहुने यहोवामा भर परेर। (२ कोरिन्थी ४:७, NW) हाम्रो निश्‍चयता पनि अय्यूबको जस्तै होस्‌ जसले कठोर परीक्षाहरू सहेपछि पनि निर्धक्क हुँदै यसो भने: “उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैं ठहरिनेछु।”—अय्यूब २३:१०.

[पृष्ठ ३१-मा भएको चित्र]

येशूको वफादारीताको परीक्षाले यहोवाको नाउँको प्रशंसा गऱ्‍यो। हामी पनि त्यसै गर्न सक्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने