प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१ पृ. १७-२२
  • अन्त नजिकिंदै जाँदा आज्ञाकारिता विकास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्त नजिकिंदै जाँदा आज्ञाकारिता विकास गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूको पहिलो राज्य
  • परमेश्‍वरको “भण्डारे[को]” आज्ञा पालन गरेकोले आशिषित्‌
  • शीलो संसारको वैध शासक बन्‍नुहुन्छ
  • ‘सुसमाचार मान्‍ने’ समय अहिल्यै हो
  • भावशून्यता, अनैतिकता, भौतिकवाददेखि अलग रहनुहोस्‌
  • आज्ञाकारिताको निम्ति प्रशंसा पाएका
  • आज्ञाकारीता—के यो बाल्यकालमा सिकाइने महत्त्वपूर्ण पाठ हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवा तपाईंको आज्ञाकारिताको मोल गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परमेश्‍वरको राज्य शासन
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१ पृ. १७-२२

अन्त नजिकिंदै जाँदा आज्ञाकारिता विकास गर्नुहोस्‌

“मानिसहरू [ शीलोको ] आज्ञाकारी बन्‍नेछन्‌।”—उत्पत्ति ४९:१०.

१. (क) विगतमा अक्सर यहोवाप्रति आज्ञाकारी हुनुमा के-के समावेश थियो? (ख) आज्ञाकारिताको सन्दर्भमा याकूबले कस्तो भविष्यवाणी गरे?

यहोवाप्रति आज्ञाकारी हुनुको अर्थ उहाँका प्रतिनिधिहरूप्रति पनि आज्ञाकारी हुनु हो। यसमा स्वर्गदूत, कुलपिता, न्यायाधीश, पूजाहारी, अगमवक्‍ता र राजाहरू पनि समावेश छन्‌। इस्राएलका राजाको सिंहासनलाई यहोवाको सिंहासन पनि भनिन्थ्यो। (१ इतिहास २९:२३) तर दुःखको कुरा, इस्राएलका थुप्रै शासकहरू यहोवाप्रति आज्ञाकारी भएनन्‌ र तिनीहरूले आफू तथा सारा प्रजामाथि विपत्ति ल्याए। तर यहोवाले आफ्ना वफादार जनहरूलाई आशाविहीन छोड्‌नुभएन; उहाँले अविनाशी राजा नियुक्‍त गर्ने प्रतिज्ञा गर्नुभएर तिनीहरूलाई सान्त्वना दिनुभयो र ती राजाको आज्ञा धर्मीहरूले खुसीसाथ पालन गर्नेछन्‌। (यशैया ९:६, ७) अन्तिम सास फेरिरहेका कुलपिता याकूबले त्यस भावी राजाबारे यस्तो भविष्यवाणी गरे: “यहूदाको हातबाट राजदण्ड हट्‌नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हट्‌नेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।”—उत्पत्ति ४९:१०.

२. “शीलो” शब्दको अर्थ के हो र उहाँको राजकीय शासनले कस-कसलाई समेट्‌छ?

२ “शीलो” भनेको “त्यो जसको हो” भन्‍ने अर्थ बुझाउने हिब्रू पद हो। हो, शीलोले शासन गर्ने अधिकार र आज्ञा गर्ने शक्‍ति पाउनेछ जसलाई क्रमशः राजदण्ड र राज्य चलाउने लाठीले चित्रण गर्छ। यसबाहेक, उहाँको राजकीय शासनले याकूबको सन्तान मात्र होइन तर सबै “मानिसहरू[लाई]” समेट्‌छ। यो यहोवाले अब्राहामलाई गर्नुभएको प्रतिज्ञाअनुरूप छ: “तेरो सन्तानले आफ्ना शत्रुहरूका शहरहरू कब्जा गर्नेछ। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१७, १८) यहोवाले सा.यु. २९ मा नासरतको येशूलाई पवित्र आत्माले नियुक्‍त गर्नुहुँदा त्यो “सन्तान” को हो भनेर स्पष्ट पार्नुभयो।—लूका ३:२१-२३, ३४; गलाती ३:१६.

येशूको पहिलो राज्य

३. येशू स्वर्गमा उक्लनुभएपछि उहाँले कस्तो शासन पाउनुभयो?

३ येशू स्वर्गमा उक्लनुभएपछि उहाँले संसारका मानिसहरूमाथि शासन गर्ने राजदण्ड तुरुन्तै पाउनुभएन। (भजन ११०:१) तथापि, उहाँले आज्ञाकारी प्रजाहरू भएका “राज्य” चाहिं पाउनुभयो। प्रेरित पावलले त्यो राज्यको चिनारी दिंदै यस्तो लेखे: “[उहाँले] हामी [आत्म-अभिषिक्‍त मसीहीहरूलाई] अन्धकारको शक्‍तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्त्तन गराउनुभयो।” (कलस्सी १:१३) यो छुटाउने काम सा.यु. ३३ पेन्तिकोसमा येशूका विश्‍वासी अनुयायीहरूमाथि पवित्र आत्मा खन्याइँदा सुरु भयो।—प्रेरित २:१-४; १ पत्रुस २:९.

४. येशूका प्रारम्भिक चेलाहरूले कुन तरिकामा आफ्नो आज्ञाकारिता प्रदर्शन गरे र येशूले कसरी तिनीहरूलाई एउटा समूहको रूपमा चिनाउनुभयो?

४ “ख्रीष्टको पक्षमा . . . राजदूत[को]” हैसियतमा आत्म-अभिषिक्‍त चेलाहरू आज्ञाकारी भई आत्मिक राज्यमा “संगी-नागरिक” हुने मानिसहरूलाई भेला गर्न थाले। (२ कोरिन्थी ५:२०; एफिसी २:१९; प्रेरित १:८) साथै, आफ्ना राजा येशू ख्रीष्टको अनुमोदन प्राप्त गर्न तिनीहरू “एकै मन र एकै विचारमा सिद्ध भएका” हुनुपर्थ्यो। (१ कोरिन्थी १:१०) तिनीहरू समूहको रूपमा विश्‍वासी भण्डारे वा “विश्‍वासी र बुद्धिमान दास” वर्ग हुन्‌।—मत्ती २४:४५; लूका १२:४२.

परमेश्‍वरको “भण्डारे[को]” आज्ञा पालन गरेकोले आशिषित्‌

५. पुरातन समयदेखि यहोवाले आफ्ना जनहरूलाई कसरी सिकाउनुभएको छ?

५ यहोवाले आफ्ना जनहरूको निम्ति सधैं शिक्षकहरूको प्रबन्ध गर्नुभएको छ। उदाहरणका लागि, यहूदीहरू बेबिलोनबाट फर्केपछि एज्रा तथा अन्य योग्य पुरुषहरूले मानिसहरूको निम्ति परमेश्‍वरको व्यवस्था पढ्‌नुका साथै अर्थ “बुझाइदिए” र परमेश्‍वरको वचनबाट “जे पढ़िएको थियो त्यसबाट तिनीहरूलाई शिक्षा दिए।”—नहेम्याह ८:८.

६, ७. दास वर्गले परिचालक निकायमार्फत कसरी सामयिक आध्यात्मिक भोजनको प्रबन्ध गरेका छन्‌ र दास वर्गको अधीनमा बस्नु किन उचित हो?

६ सा.यु. ४९ प्रथम शताब्दीमा खतनासम्बन्धी विवाद खडा हुँदा पुरातन दास वर्गका परिचालक निकायले प्रार्थनापूर्वक उक्‍त विषयमा छलफल गरे र धर्मशास्त्रीय निष्कर्षमा पुगे। तिनीहरूले पत्रमार्फत आफ्नो निर्णय सुनाउँदा मण्डलीहरूले उक्‍त निर्देशन पालन गरे र परमेश्‍वरबाट प्रशस्त आशिष्‌ पाए। (प्रेरित १५:६-१५, २२-२९; १६:४, ५) त्यस्तै गरी आधुनिक समयमा पनि विश्‍वासी दासले परिचालक निकायमार्फत मसीही तटस्थता, रगतको पवित्रता र लागूपदार्थ तथा सुर्तीको प्रयोग जस्ता महत्त्वपूर्ण विषयमा स्पष्ट पारेका छन्‌। (यशैया २:४; प्रेरित २१:२५; २ कोरिन्थी ७:१) यहोवाले आफ्ना जनहरू उहाँको वचन र विश्‍वासी दासप्रति आज्ञाकारी भएकोले आशिष्‌ दिनुभयो।

७ दास वर्गको अधीनमा बसेर परमेश्‍वरका जनहरूले आफ्ना मालिक येशू ख्रीष्टप्रति पनि अधीनता देखाउँछन्‌। आधुनिक समयमा त्यस्तो अधीनता झन्‌ अर्थपूर्ण भएको छ किनभने याकूबले मरणासन्‍न बेला गरेको भविष्यवाणीअनुसार येशूले अझ बढी अख्तियार पाउनुभएको छ।

शीलो संसारको वैध शासक बन्‍नुहुन्छ

८. ख्रीष्टले कहिले र कसरी अझ बढी अख्तियार पाउनुभयो?

८ याकूबले शीलोप्रति “मानिसहरू . . . आज्ञाकारी बन्‍नेछन्‌” भनी भविष्यवाणी गरेका थिए। स्पष्टतः ख्रीष्टको शासन आध्यात्मिक इस्राएलमा मात्र सीमित रहने थिएन। यसमा के-के समावेश हुने थियो? प्रकाश ११:१५ यसरी जवाफ दिन्छ: “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” येशूले त्यो अधिकार सन्‌ १९१४ मा भविष्यसूचक “सात काल” अथवा “अन्यजातिको समय” [NW] पूरा भएपछि पाउनुभयो भनी बाइबलले प्रकाश पार्छ।a (दानियल ४:१६, १७; लूका २१:२४) त्यस वर्षमा मसीह राजाको रूपमा ख्रीष्टको अदृश्‍य “आगमन[का]” साथसाथै “[उहाँका] शत्रुहरूका बीचमा . . . राज्य” सुरु भयो।—मत्ती २४:३; भजन ११०:२.

९. येशूले राज्य पाएपछि के गर्नुभयो र यसले मानिसजाति र विशेष गरी उहाँका चेलाहरूमाथि कस्तो अप्रत्यक्ष प्रभाव पाऱ्‍यो?

९ राजकीय शक्‍ति पाएको लगत्तै येशूले सर्वप्रथम अनाज्ञाकारिताको मूर्त रूप शैतान तथा त्यसका दूतहरूलाई ‘पृथ्वीतल फ्याँक्नुभयो।’ त्यसबेला देखि ती दुष्ट आत्मिक प्राणीहरूले मानिसजातिमाथि अचाक्ली दुःखकष्ट ल्याउनुका साथै यहोवाप्रति आज्ञाकारी हुन चुनौतीपूर्ण वातावरण सृजना गरेका छन्‌। (प्रकाश १२:७-१२; २ तिमोथी ३:१-५) वास्तवमा शैतानको आत्मिक युद्धको मुख्य तारो “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने,” यहोवाका अभिषिक्‍त जनहरू र तिनीहरूका सँगी “अरू भेडा” हुन्‌।—प्रकाश १२:१७; यूहन्‍ना १०:१६.

१०. साँचो मसीहीहरू विरुद्ध शैतानको युद्ध सफल हुने छैन भनी कुन बाइबल भविष्यवाणीले ग्यारेन्टी दिन्छ?

१० तथापि, शैतान सफल हुन सक्दैन भन्‍ने कुरा पक्का छ किनभने यो “प्रभुको दिन” हो र कुनै पनि कुराले येशूलाई “विजय गर्नालाई” रोक्न सक्दैन। (प्रकाश १:१०; ६:२) उदाहरणका लागि, उहाँले १,४४,००० आत्मिक इस्राएलीहरूमा अन्तिम छाप लाउनुहुनेछ। उहाँले “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड[को]” पनि सुरक्षा गर्नुहुनेछ। (प्रकाश ७:१-४, ९, १४-१६) तथापि, सँगी अभिषिक्‍त जनहरूजस्तै तिनीहरू स्वर्गमा जाने होइनन्‌ तर येशूको आज्ञाकारी पार्थिव प्रजाहरू हुनेछन्‌। (दानियल ७:१३, १४) आज संसारमा तिनीहरूको उपस्थिति नै शीलो साँच्चै “पृथ्वीको राज्य[को]” शासक हुनुहुन्छ भन्‍ने कुराको ठोस प्रमाण हो।—प्रकाश ११:१५.

‘सुसमाचार मान्‍ने’ समय अहिल्यै हो

११, १२. (क) यस दुष्ट रीतिरिवाजको विनाशबाट को मात्र बच्नेछ? (ख) यस “संसारको आत्मा[बाट]” प्रभावित भएकाहरूले कस्तो स्वभाव देखाउँछन्‌?

११ अनन्त जीवन चाहने सबै आज्ञाकारी हुन सिक्नुपर्छ किनभने बाइबलले स्पष्टसित यसो भन्छ, ‘परमेश्‍वरलाई नचिन्‍नेहरू, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरू’ यहोवाको न्यायको दिनमा बच्नेछैनन्‌। (२ थिस्सलोनिकी १:८) तथापि, अहिलेको दुष्ट वातावरण र बाइबलको व्यवस्था तथा सिद्धान्तहरूप्रतिको विद्रोही मनोभावले सुसमाचार मान्‍न झनै गाह्रो भएको छ।

१२ बाइबलले परमेश्‍वर विरुद्ध यस्तो विद्रोही मनोभावलाई “संसारको आत्मा” भनेर वर्णन गरेको छ। (१ कोरिन्थी २:१२) यसले मानिसहरूमा पार्ने प्रभावबारे बताउँदै प्रेरित पावलले प्रथम शताब्दीको एफिससका मसीहीहरूलाई यस्तो लेखे: “यस संसारको रीतिअनुसार, आकाशको शक्‍तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्माअनुसार तिमीहरू अघि एकपल्ट चल्दथियौ। जुनमध्ये हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा एकपल्ट बसेका थियौं, र अरू बाँकीजस्तै हामी पनि स्वभावैले क्रोधका सन्तान भएका थियौं।”—एफिसी २:२, ३.

१३. मसीहीहरूले प्रभावाकारी ढंगमा कसरी संसारको आत्माको प्रतिरोध गर्न सक्छन्‌ र कस्ता लाभदायी नतिजाहरू प्राप्त हुन्छ?

१३ खुसीको कुरा, एफिससका मसीहीहरू त्यस अनाज्ञाकारी आत्माको वशमा रहिरहेनन्‌। बरु, उहाँको आत्माको अधीनमा बसेर प्रचुर मात्रामा आत्माको फलको कटनी गरेर परमेश्‍वरका आज्ञाकारी छोराछोरी भए। (गलाती ५:२२, २३) त्यस्तै गरी आज, ब्रह्‍माण्डको सबैभन्दा शक्‍तिशाली शक्‍ति अर्थात्‌ परमेश्‍वरको आत्माले लाखौं मानिसहरूलाई यहोवाप्रति आज्ञाकारी हुन मदत गरिरहेको छ र त्यसको फलस्वरूप तिनीहरूले ‘अन्तसम्मै पूरा आशाको’ आश्‍वासन पाएका छन्‌।—हिब्रू ६:११; जकरिया ४:६.

१४. येशूले आखिरी दिनमा बाँचिरहेका सबै मसीहीहरूलाई आज्ञाकारिताको जाँच हुने खास कुराहरूबारे कसरी सजग गराउनुभयो?

१४ यो कुरा नबिर्सनुहोस्‌, हामीसँग शीलोको पूरापूर समर्थन छ र उहाँले आफ्नो पिताको साथमा हामीलाई प्रेत होस्‌ वा कुनै मानव शत्रुबाट सहनै नसक्ने गरी आज्ञाकारिताको जाँच हुन दिनुहुने छैन। (१ कोरिन्थी १०:१३) वास्तवमा, हाम्रो आध्यात्मिक युद्धमा मदत गर्न येशूले यी आखिरी दिनमा हामीले सामना गर्ने केही खास समस्याहरूबारे प्रेरित यूहन्‍नालाई दर्शनमा दिनुभएको सातवटा पत्रहरूमार्फत बताउनुभयो। (प्रकाश १:१०, ११) ती पत्रहरूमा त्यतिबेलाका मसीहीहरूको लागि महत्त्वपूर्ण सल्लाह भए तापनि ती मुख्यतया सन्‌ १९१४ देखि सुरु भएको “प्रभुको दिनमा” लागू हुन्छ। अतः हामीले यी सन्देशहरूमा ध्यान दिनु कत्ति उपयुक्‍त छ!b

भावशून्यता, अनैतिकता, भौतिकवाददेखि अलग रहनुहोस्‌

१५. एफिससको मण्डलीलाई प्रभाव पारेको समस्याबारे हामी किन सजग हुनुपर्छ र हामी त्यसो कसरी गर्न सक्छौं? (२ पत्रुस १:५-८)

१५ येशूको पहिलो पत्र एफिससको मण्डलीलाई थियो। उक्‍त मण्डलीले देखाएको धीरजको प्रशंसा गर्नुभएपछि येशूले यसो भन्‍नुभयो: “तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोडिदिएका छौ।” (प्रकाश २:१-४) आज पनि त्यसरी नै कुनै समय जोसिला मसीहीहरूको परमेश्‍वरप्रतिको गहिरो प्रेम सेलाएको छ। त्यसरी प्रेम सेलायो भने परमेश्‍वरसँगको सम्बन्ध कमजोर हुन सक्छ र यसमा तुरुन्तै ध्यान दिइहाल्नुपर्छ। त्यस्तो प्रेम कसरी पुनर्जागृत गर्न सकिन्छ? नियमित बाइबल अध्ययन, सभामा उपस्थिति, प्रार्थना र मननद्वारा। (१ यूहन्‍ना ५:३) हो, यसो गर्न उत्कट “प्रयत्न” गर्नुपर्छ तर यो अवश्‍य सार्थक हुनेछ। (२ पत्रुस १:५-८) इमानदार भई आत्म-परीक्षण गर्दा आफ्नो प्रेम सेलाउँदै गएको पाउनुभयो भने तुरुन्तै येशूको सल्लाह पालन गर्दै परिस्थितिलाई सच्याउनुहोस्‌: “कहाँबाट तिमी पतित भएका हौ, सो सम्झ, र पश्‍चाताप गर।”—प्रकाश २:५.

१६. पर्गामम र थिआटायराका मण्डलीमा आध्यात्मिक तवरमा कस्तो खतरनाक प्रभावहरू थिए र तिनीहरूलाई येशूले भन्‍नुभएका शब्दहरू आज पनि किन उपयुक्‍त छन्‌?

१६ पर्गामम र थिआटायराका मसीहीहरूलाई तिनीहरूको निष्ठा, धीरज र जोसको निम्ति प्रशंसा गरियो। (प्रकाश २:१२, १३, १८, १९) तैपनि, तिनीहरू बालाम र जिजेबेलको दुष्ट मनोभाव देखाउने कोही-कोहीबाट प्रभावित थिए जसले पुरातन इस्राएलमा यौन अनैतिकता र बाल उपासनाद्वारा भ्रष्ट प्रभाव पारेको थियो। (गन्ती ३१:१६; १ राजा १६:३०, ३१; प्रकाश २:१४, १६, २०-२३) हाम्रो समय अथवा “प्रभुको दिन[बारे]” के भन्‍न सकिन्छ नि? के आज पनि त्यस्ता दुष्ट प्रभावहरू छन्‌? छन्‌, किनभने आज परमेश्‍वरका जनहरू बहिष्कृत हुने एउटा प्रमुख कारण अनैतिकता हो। त्यसकारण, मण्डली भित्र होस्‌ या बाहिर नैतिक तवरमा भ्रष्ट मानिसहरूसँग संगत नगर्नु कत्ति महत्त्वपूर्ण छ! (१ कोरिन्थी ५:९-११; १५:३३) शीलोको आज्ञाकारी प्रजा हुन चाहनेहरू आपत्तिजनक मनोरञ्जनका साथसाथै पत्रपत्रिका र इन्टरनेटमा उपलब्ध अश्‍लील कुराहरूबाट पनि टाढै बस्नेछन्‌।—आमोस ५:१५; मत्ती ५:२८, २९.

१७. आफ्नो आध्यात्मिक अवस्थाबारे सार्डिस र लाओडिसियाका मण्डलीको दृष्टिकोण र मनोवृत्ति कसरी येशूको भन्दा फरक थियो?

१७ सार्डिस मण्डलीका केही व्यक्‍तिहरूबाहेक मण्डलीको कुनै प्रशंसा गरिएन। त्यसको “नाउँ” वा बाह्‍य रूप जीवितै देखिए तापनि आध्यात्मिक भावशून्यताले बलियो जरा गाडिसकेको हुँदा येशूको निम्ति त्यो ‘मरिसकेको’ थियो। सुसमाचारप्रति आज्ञाकारिता झारो टार्ने कुरा मात्र थियो। कस्तो आलोचना! (प्रकाश ३:१-३) लाओडिसिया मण्डली पनि त्यस्तै अवस्थामा थियो। यसले भौतिक धनको घमण्ड गर्दै यसो भन्थ्यो, “म धनी छु” तैपनि ख्रीष्टको लागि यो “दुःखी, अभागी, गरीब, अन्धा र नाङ्‌गो” थियो।—प्रकाश ३:१४-१७.

१८. परमेश्‍वरको नजरमा आध्यात्मिक तवरमा मनतातो नहुन के गर्नुपर्छ?

१८ आज पनि, कुनै समय विश्‍वासी रहेका मसीहीहरू अनाज्ञाकारिताको त्यस्तै मार्गमा फसेका छन्‌। सायद संसारको आत्माको प्रभावको कारण तिनीहरूले अविलम्बी भावलाई बिर्सेका छन्‌ र बाइबल अध्ययन, प्रार्थना, मसीही सभाहरू र सेवकाईप्रति आध्यात्मिक तवरमा मनतातो मनोवृत्ति विकास गरेका छन्‌। (२ पत्रुस ३:३, ४, ११, १२) त्यस्ता व्यक्‍तिहरूले आध्यात्मिक धनमा मन लगाएर “आगोमा शुद्ध पारेको सुन [ख्रीष्टबाट]” किन्‍नु कत्ति बेस हो! (प्रकाश ३:१८) त्यस्तो साँचो धनमा ‘असल काममा उदारचित्त भएर धनवान हुने र बाँडचुड गर्नमा तत्पर’ हुने कार्यहरू समावेश छन्‌। त्यस्तो बहुमूल्य सम्पत्तिमा लगानी गरेर हामीले ‘पछि आउने समयमा साँच्चैको जीवन पक्री राख्न आफ्नै निम्ति असल जग बनाउनेछौं।’—१ तिमोथी ६:१७-१९.

आज्ञाकारिताको निम्ति प्रशंसा पाएका

१९. स्मर्ना र फिलाडेल्फियाका मसीहीहरूलाई येशूले कस्तो प्रशंसा र सल्लाह दिनुभयो?

१९ स्मर्ना र फिलाडेल्फियाका मण्डली आज्ञाकारिताको सन्दर्भमा उल्लेखनीय उदाहरण हुन्‌ किनभने येशूको पत्रमा तिनीहरूलाई केही ताडना दिइएको थिएन। स्मर्नामा भएकाहरूलाई उहाँले यसो भन्‍नुभयो: “तिम्रो कष्ट, र तिम्रो दरिद्रता (तर तिमी ता धनी छौ) . . . मलाई थाह छ।” (प्रकाश २:९) सांसारिक धनसम्पत्तिको घमण्ड गर्ने तर वास्तवमा गरिब लाओडिसियाकाहरूभन्दा कस्तो फरक! निस्सन्देह, ख्रीष्टमाथि विश्‍वास र आज्ञाकारिता देखाउने कसैसँग पनि दियाबल खुसी थिएन। त्यसकारण येशूले यस्तो चेताउनी दिनुभयो: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” (प्रकाश २:१०) त्यस्तै गरी येशूले फिलाडेल्फियामा भएकाहरूलाई यसरी प्रशंसा गर्नुभयो: “मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ। म चाँडै आउँछु। तिमीसँग भएकोलाई राखिछोड, र तिम्रो मुकुट कसैले लिन नपाओस्‌।”—प्रकाश ३:८, ११.

२०. आज लाखौंले के-कस्ता परिस्थितिको बावजूद येशूको वचन पूरा गरिरहेका छन्‌?

२० सन्‌ १९१४ देखि अथवा “प्रभुको दिनमा” विश्‍वासी शेष जन र अहिले लाखौंको संख्यामा रहेका तिनीहरूका सँगी अरू भेडाले पनि जोसका साथ सेवकाईमा भाग लिएर अनि आफ्नो निष्ठा कायम गरेर येशूको वचन पालन गरिरहेका छन्‌। तिनीहरूका प्रथम शताब्दीका भाइहरूजस्तै ख्रीष्टप्रति आज्ञाकारी भएकोले कसै-कसैले दुःख अनि जेल र यातना शिविरमा कष्ट भोगेका छन्‌। अरूले चाहिं सम्पन्‍नता र लोभको वातावरण भए तापनि ‘आँखा निर्मल’ राखेर येशूको वचन पालन गरेका छन्‌। (मत्ती ६:२२, २३) हो, हरेक वातावरण र हरेक परिस्थितिमा आज्ञाकारी भई साँचो मसीहीहरू यहोवाको हृदयलाई आनन्दित तुल्याउने प्रयास गरिरहन्छन्‌।—हितोपदेश २७:११.

२१. (क) दास वर्गले कुन आध्यात्मिक दायित्व पूरा गरिरहनेछ? (ख) हामी शीलोप्रति साँच्चै आज्ञाकारी हुन चाहन्छौं भनी कसरी देखाउन सक्छौं?

२१ महासंकष्ट नजिकिंदै जाँदा “विश्‍वासी र बुद्धिमान दास” आफ्नो मालिक ख्रीष्टप्रतिको आज्ञाकारितामा सम्झौता नगर्ने संकल्पमा अटल छन्‌। यसमा परमेश्‍वरको घरानालाई सामयिक आध्यात्मिक भोजन तयार गर्नु पनि समावेश छ। त्यसकारण हामी यहोवाको अद्‌भुत ईश्‍वरतान्त्रिक संगठन र यसले प्रबन्ध गर्ने कुराहरूको मूल्यांकन गर्न नछोडौं। यसरी हामी शीलोप्रति आज्ञाकारिता देखाउँछौं जसले सबै आज्ञाकारी प्रजाहरूलाई अनन्त जीवनको इनाम दिनुहुनेछ।—मत्ती २४:४५-४७; २५:४०; यूहन्‍ना ५:२२-२४.

[फुटनोटहरू]

a “सात काल[बारे]” थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय १० हेर्नुहोस्‌।

b सातैवटा पत्रको विस्तृत छलफलको लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ ३३ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• याकूबले मरणासन्‍न अवस्थामा भविष्यवाणी गरेअनुसार येशूले कस्तो भूमिका खेल्नुहुने थियो?

• येशू नै शीलो हुनुहुन्छ भनी हामी कसरी स्वीकार्छौं र हामी कस्तो आत्मादेखि अलग रहनुपर्छ?

• प्रकाशको पुस्तकका सातवटा मण्डलीलाई लेखिएको पत्र आज हाम्रो समयमा पनि कसरी लागू हुन्छ?

• हामी पुरातन स्मर्ना र फिलाडेल्फियाका मण्डलीको कसरी अनुकरण गर्न सक्छौं?

[पृष्ठ १८-मा भएका चित्रहरू]

यहोवाका विश्‍वासी “भण्डारे [ को]” आज्ञा पालन गरेमा उहाँले आफ्ना जनहरूलाई आशिष्‌ दिनुहुन्छ

[पृष्ठ १९-मा भएको चित्र]

शैतानको प्रभावले गर्दा परमेश्‍वरप्रति आज्ञाकारी हुनु चुनौतीपूर्ण हुन सक्छ

[पृष्ठ २१-मा भएका चित्रहरू]

यहोवासँगको बलियो सम्बन्धले हामीलाई आज्ञाकारी हुन मदत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने