प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ४/१५ पृ. ८-११
  • जब प्रचारकार्य अत्यन्तै अविस्मरणीय हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब प्रचारकार्य अत्यन्तै अविस्मरणीय हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • तुरुन्तै जवाफ दिन्छन्‌
  • उमेर ढल्किसकेकाहरूले भाग लिन्छन्‌
  • हृदयस्पर्शी प्रतिक्रिया
  • विरोध कम भयो
  • “अद्‌भुत अनुभव”
  • आनन्ददायी कटनी
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ४/१५ पृ. ८-११

जब प्रचारकार्य अत्यन्तै अविस्मरणीय हुन्छ

“टन्टलापुर घाम लागिरहेको छ। पहाडी बाटोको अन्त देखिंदैन। थुप्रै अवरोधहरू पार गरिसकेपछि बल्ल हामी आफ्नो गन्तव्य पुग्छौं: एउटा दुर्गम गाउँ। हामी गएको पहिलो घरमै घरधनीले हाम्रो न्यानो स्वागत गर्दा थकान सबै बिर्सिएर रमाउँछौं। दिनको अन्तसम्ममा हामीले ल्याएका सबै साहित्य वितरण गर्नुका साथै थुप्रै गृह बाइबल अध्ययन थालिसक्यौं। मानिसहरू सिक्न उत्सुक छन्‌। अब हामी फर्कनुपर्छ तर अवश्‍य फेरि आउनेछौं।”

यस्ता अनुभवहरू मेक्सिकोका अग्रगामीहरूको एउटा समूहको लागि सामान्य भइसक्यो। यी सेवकहरू येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई दिनुभएको आज्ञा जोसका साथ पूरा गर्न कटिबद्ध छन्‌: “तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:१८) मेक्सिकोका कुनै कुनै इलाकाहरू खास मण्डलीको जिम्मामा नखटाइएका हुँदा ती नियमित तवरमा परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन नसकिने ठाउँहरूसम्म पुग्न विशेष प्रचार अभियान अर्थात्‌ अग्रगामी मार्गहरूको प्रबन्ध मिलाइएको छ। साधारणतया, यी दुर्गम वा पुग्न गाह्रो इलाकाहरू हुन्‌। एकदमै ठूलो इलाकामा प्रचार गर्नुपर्ने पृथक मण्डलीहरूलाई पनि मदत दिइन्छ।

अग्रगामी मार्गअन्तर्गत देशको कुन-कुन इलाकामा प्रचार गरिनेछ भनी निर्धारण गर्न यहोवाका साक्षीहरूको शाखा कार्यालयले इलाकाको राम्ररी जाँचबुझ गर्छ।a यो काम गरिसकेपछि विशेष अग्रगामीहरूको समूहलाई एउटा इलाकामा पठाइन्छ। तिनीहरूलाई खाल्टाखुल्टी सडकमा गुडाउन उपयुक्‍त गाडीको प्रबन्ध गरिन्छ। यी गाडीहरू, साहित्य भण्डार र आवश्‍यक परेको बेला सुत्ने आवासको रूपमा पनि प्रयोग गरिन्छ।

तुरुन्तै जवाफ दिन्छन्‌

विशेष अग्रगामीहरूलाई यस कार्यमा साथ दिन अक्टोबर १९९६ देखि सुसमाचारका प्रचारकहरूलाई निमन्त्रणा पठाइएको छ। आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न इच्छुक राज्य प्रचारकहरूलगायत नियमित अग्रगामीहरूले यस अभियानलाई विभिन्‍न चरणमा साथ दिन्छन्‌। कुनै मार्गमा पर्ने इलाकामा चासो भेटिएको खण्डमा त्यो चासो कायम राख्ने जिम्मा मण्डलीहरूलाई पनि दिइन्छ। थुप्रै जवान प्रकाशक तथा अग्रगामीहरूले यस्तो निमन्त्रणा स्वीकारेका छन्‌ र अत्यन्तै प्रोत्साहनदायी अनुभवहरूबाट उत्साहित भएका छन्‌।

उदाहरणका लागि, एउटा मोबाइल फोन कम्पनीमा एकदमै राम्रो जागिर भएका अबिमाएल नाउँका एक जना जवान मसीहीले ती पृथक इलाकाहरूको प्रचारकार्यमा भाग लिने निधो गरे। तिनले जागिर छोड्‌ने कुरा मालिकले थाह पाएपछि तिनको पदोन्‍नति गर्नुका साथै तलब बढाउने प्रस्ताव राखियो। यो एउटा विशेष मौका हो र यसरी लत्याउनु मूर्ख्याइँ हुनेछ भनी सहकर्मीहरूले तिनलाई चर्को दबाब दिए। तथापि, अबिमाएलले त्यस विशेष प्रचार अभियानमा तीन महिनाको लागि भाग लिने निश्‍चय गरिसकेका थिए। यो कार्यबाट आनन्द उठाइसकेपछि अबिमाएलले राज्य प्रकाशकहरूको आवश्‍यकता बढी भएको पृथक मण्डलीको इलाकामा लामो समयसम्म बस्ने निधो गरे। अहिले तिनको एउटा सामान्य जागिर छ अनि तिनले आफ्नो जीवन सरल बनाउन सिकेका छन्‌।

अर्को उदाहरण विचार गरौं, युलेसाले आफूलाई खटाइएको इलाकासम्म पुग्न २२ घण्टा बस यात्रा गर्नुपर्थ्यो। तिनको यात्राको अन्तिम चरणमा त्यस दिनको अन्तिम बस छुट्यो। तथापि, कामदारहरूलाई ओसारपसार गर्ने पिकअप ट्रक भने थियो। युलेसाले आँट गरेर आफूलाई लगिदिन ट्रक ड्राइभरलाई आग्रह गरिन्‌। पुरुषहरूको बीचमा आफू एक्ली महिला हुँदा तिनलाई डर लाग्नु स्वाभाविक थियो। तिनले एक जना जवान मानिसलाई प्रचार गर्न थाल्दा उनी पनि यहोवाका साक्षी रहेछन्‌ भनी थाह पाए! युलेसा भन्छिन्‌, “त्यति मात्र होइन, त्यस पिकअप ट्रकको ड्राइभर पनि म खटाइएको मण्डलीका प्राचीन रहेछन्‌!”

उमेर ढल्किसकेकाहरूले भाग लिन्छन्‌

तथापि, यो गतिविधि जवानहरूको लागि मात्र होइन। एउटी वृद्ध बहिनी एडेला, प्रचारकार्यमा सधैं बढी समय बिताउन चाहन्थिन्‌। यो विशेष प्रचारकार्यमा भाग लिने निमन्त्रणा पाउँदा उनले आफ्नो इच्छा पूरा गर्ने मौका पाइन्‌। उनी भन्छिन्‌: “मलाई यो काम निकै रमाइलो लागेको हुँदा मैले त्यहाँ लामो समयसम्म बस्नको लागि प्राचीनहरूलाई सोधें। म खुसी छु किनभने म पाको उमेरकी भए तापनि यहोवाको लागि अझै केही गर्न सक्छु।”

त्यसरी नै, यहोवाप्रतिको मूल्यांकन र सहमानवहरूप्रतिको प्रेमले गर्दा ६० वर्षीया मार्थाले पनि यस अभियानमा भाग लिने मौकाको फाइदा उठाइन्‌। लामो दूरी तथा कठिन इलाकाले गर्दा उनको समूहलाई सबै मानिसहरूसम्म पुग्न गाह्रो भएको देखेपछि उनले अग्रगामीहरूको प्रयोगको लागि एउटा गाडी किनिन्‌। यस बहिनीको योगदानले गर्दा अझ बढी इलाका ढाक्नका साथै अझ धेरै मानिसहरूलाई बाइबल सत्यबारे बताउन सम्भव भएको छ।

हृदयस्पर्शी प्रतिक्रिया

प्रचारकार्यका यी विशेष अभियानमा भाग लिनेहरूको उद्देश्‍य “चेला बनाउनु” हो। यस सन्दर्भमा एकदमै राम्रा परिणामहरू प्राप्त भएका छन्‌। पृथक इलाकाका मानिसहरूले बाइबलबाट जीवनदायी सत्य पाएका छन्‌। (मत्ती २८:१९, २०) थुप्रै बाइबल अध्ययनहरू सुरु भएका छन्‌। यिनीहरूसित उक्‍त इलाकाका प्रकाशक वा त्यही इलाकामा बसेका सुसमाचारकहरूले अध्ययन सञ्चालन गर्छन्‌। कुनै-कुनै अवस्थामा प्रकाशकहरूको समूह बनाइएको छ भने अन्य ठाउँमा साना मण्डलीहरू स्थापना गरिएको छ।

म्यागडालानो र तिनका साथीहरूले आफूलाई खटाइएको पृथक इलाकामा पुग्न सार्वजनिक यातायात सुविधा प्रयोग गरे। यात्राको दौडान तिनीहरूले ड्राइभरलाई प्रचार गर्ने मौकाको फाइदा उठाए। “यस मानिसको कुराअनुसार एक हप्ताअघि तिनी घरमा नहुँदा केही साक्षीहरू तिनको घरमा आएका थिए। तिनी फर्कंदा तिनको परिवारले सबै कुरा सुनाए। हामीले तिनलाई हामी स्थानीय बासिन्दा नभई देशका विभिन्‍न प्रान्तहरूबाट यो विशेष प्रचार अभियानमा भाग लिन आफ्नै खर्च बेहोरेर आएका हौं भनी बतायौं। यो कुरा सुनेर त्यो ड्राइभर निकै प्रभावित भए अनि त्यही हप्तादेखि सपरिवार अध्ययन गर्ने कुरा बताए। तिनले त्यस यात्राको लागि हामीबाट कुनै शुल्क नलिई हाम्रो कार्यको लागि सहयोगसमेत गरे।”

चियापास पहाडी इलाकाका रैथानेहरूको प्रतिक्रिया देखेर पनि म्याग्डालानो अत्यन्तै प्रभावित भए। “मेरी पत्नी र मैले प्रेस्बाइटेरियन चर्च धाउने गरेका २६ जना जवानहरूको समूहलाई राज्य सन्देश सुनाउने मौका पायौं। तिनीहरू सबैले ३० मिनेटसम्म ध्यान दिएर सुने। तिनीहरूले आ-आफ्नो बाइबल झिके अनि हामीले यहोवाका उद्देश्‍यहरूबारे तिनीहरूलाई राम्ररी साक्षी दिन सक्यौं। अधिकांश मानिसहरूसित जेल्टाल भाषामा तिनीहरूको आफ्नै बाइबल छ।” थुप्रै प्रगतिशील बाइबल अध्ययनहरू सुरु भए।

विरोध कम भयो

चियापासको एउटा समुदायमा कसै-कसैको विरोधको कारण बाइबल सन्देश नसुनाएको दुई वर्षभन्दा बढी भइसकेको थियो। टेरीसा नाउँकी पूर्ण-समय प्रचारकले त्यो गाउँमा प्रचार गर्न कोही-कोही साक्षीहरू हिच्किचाएको याद गरेकी थिइन्‌। “त्यहाँका मानिसहरू हाम्रो कुरा सुन्‍न इच्छुक भएको देख्दा सबै छक्क परे। हामीले प्रचार गर्न सिध्याउँदा घनघोर वर्षा भयो। हामी ओत लाग्ने ठाउँ खोज्दै सिबास्टियन नाउँको आतिथेय मानिसको घरमा पुग्यौं। तिनले हामीलाई घरभित्र बोलाएर ओत दिए। घरभित्र पुगेपछि तिनीकहाँ कोही आइसकेका छन्‌ कि भनी सोधें। तिनले छैन भन्‍ने जवाफ दिएपछि मैले तिनलाई साक्षी दिन थालें र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तक चलाएर बाइबल अध्ययन सुरु गरें।b अध्ययन सिद्धिएपछि तिनले आँसु झार्दै तिनीकहाँ फेरि आउन बिन्ती गरे।”

चियापास इलाकामा गएका अग्रगामीहरूको अर्को समूहले यस्तो रिपोर्ट दियो: “हामीले एकदमै राम्रो परिणाम प्राप्त गर्न सकेकोमा यहोवालाई धन्यवाद छ। पहिलो हप्तामा हामीले २७ वटा अध्ययन सुरु गऱ्‍यौं; दोस्रो हप्तामा हामीले मानिसहरूलाई द बाइबल—इट्‌स पावर इन योर लाइफ भन्‍ने भिडियो हेर्न बोलायौं। साठी जना भेला भए। सबैले मन पराए। अन्तमा हामीले सामूहिक बाइबल अध्ययन सुरु गर्ने प्रस्ताव राख्यौं। अचम्मको कुरा, यो गाउँमा दुइटा अध्ययन समूह स्थापना भयो।

“हामीलाई खटाइएको इलाकामा प्रचार गर्न सिध्याएपछि ती गाउँहरूमा जिज्ञासुहरूलाई अझ बलियो बनाउन अनि बाइबल अध्ययन समूहहरूको सञ्चालन कसरी भइरहेको छ भनी हेर्न हामी फेरि फर्क्यौं। हामीले तिनीहरूलाई जनसभा र प्रहरीधरहरा अध्ययनमा बोलायौं। तर सभा गर्नको लागि उपयुक्‍त ठूलो ठाउँ थिएन। सामूहिक अध्ययनको लागि आफ्नो घर उपलब्ध गराएका मानिसले आफ्नो घरपछाडिको आँगन देखाउँदै यसो भने: ‘त्यहाँ पछाडि आँगनमा सभा गर्न सक्नुहुन्छ।’ ”

त्यस सप्ताहन्त आएका अग्रगामी र जिज्ञासु व्यक्‍तिहरू सबै मिलेर उक्‍त आँगनमा सभाको लागि ठाउँ तयार पारे। त्यहाँ गरिएको पहिलो सभामा १०३ जना उपस्थित भए। अहिले त्यस गाउँमा ४० वटा बाइबल अध्ययन सञ्चालन भइरहेका छन्‌।

“अद्‌भुत अनुभव”

प्रचारकार्यमा अत्युत्तम परिणाम प्राप्त हुनुको अलावा सुसमाचार प्रचार गर्ने यस कार्यमा भाग लिएकाहरू स्वयंले निकै लाभ उठाएका छन्‌। यस्तै एउटा अभियानमा भाग लिएकी मारिया नाउँकी जवान अग्रगामी आफ्नो भावना यसरी व्यक्‍त गर्छिन्‌: “दुइटा कारणले गर्दा यो एउटा अद्‌भुत अनुभव थियो। प्रचारकार्यमा मेरो आनन्द बढ्‌नुका साथै यहोवासित मेरो सम्बन्ध अझ घनिष्ठ भयो। एक चोटि पहाड चढिरहेको बेला हामी असाध्यै थाक्यौं। यहोवासित मदत मागेपछि हामीले यशैया ४०:२९-३१ मा बताइएझैं महसुस गऱ्‍यौं: ‘यहोवाको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्‌।’ अतः हामी त्यहाँ पुग्यौं र हामीलाई राम्ररी स्वागत गर्ने मानिसहरूसित अध्ययन सञ्चालन गऱ्‍यौं।”

अर्को जवान अग्रगामी, १७ वर्षीया क्लडिया यसो भन्छिन्‌: “मैले निकै लाभ उठाएँ। मैले सेवकाईमा अझ कुशल हुन सिकें र त्यसले गर्दा म असाध्यै आनन्दित हुन तथा आध्यात्मिक लक्ष्यहरू राख्न सकेकी छु। म आध्यात्मिक तवरमा परिपक्व पनि भएकी छु। घरमा मेरी आमाले सबै थोक गरिदिनुहुन्थ्यो। अब बढी अनुभव बटुलेर अझ जिम्मेवार भएकी छु। उदाहरणका लागि, म खाना खाने सिलसिलामा असाध्यै कचकच गर्थें। तर अब भने विभिन्‍न परिस्थितिअनुसार छाँटकाँट गर्नुपरेको हुँदा खानाबारे गनगन गर्दिनँ। सेवाको यस पक्षले मलाई असल मित्रता गाँस्न मदत गरेको छ। हामी आफूसित भएको सबै कुरा आपसमा बाँड्‌छौं अनि एक अर्कालाई मदत गर्छौं।”

आनन्ददायी कटनी

यो विशेष प्रयासबाट कस्ता परिणामहरू प्राप्त भएका छन्‌? सन्‌ २००२ को सुरुतिरसम्म यी अग्रगामी मार्गमा लगभग २८,३०० जना अग्रगामीहरूले भाग लिइसकेका थिए। तिनीहरूले १,४०,००० भन्दा बढी बाइबल अध्ययन सञ्चालन गर्नुका साथै प्रचारकार्यमा बीस लाखभन्दा बढी घण्टा बिताइसकेका थिए। मानिसहरूलाई बाइबल सत्य सिक्ने मदत दिन तिनीहरूले झन्डै १,२१,००० पुस्तक र ७,३०,००० पत्रिकाहरू वितरण गरिसकेका थिए। कोही-कोही अग्रगामीहरूले लगभग २० वटा सम्म अध्ययन सञ्चालन गर्छन्‌।

यी दयाका पात्रहरू, बाइबलको सन्देश सुनाउन यस्तो थप प्रयास गरेकोमा असाध्यै कृतज्ञ छन्‌। तिनीहरूको गरिबीको बावजुद थुप्रैले अग्रगामीहरूलाई चन्दा स्वीकार्न जिद्दी गर्छन्‌। पुग नपुग गुजारा गरिरहेकी ७० वर्षीया वृद्धाले आफूकहाँ आउने अग्रगामीहरूलाई सधैं केही न केही दिन्छिन्‌। तिनीहरूले इन्कार गरेको खण्डमा रुन्छिन्‌। एउटा गरिब परिवारले पनि पूर्ण-समय सुसमाचारकहरूकै लागि कुखुराले फुल पारेको हो भनेर फुल लैजान आग्रह गर्छन्‌।

सबैभन्दा महत्त्वपूर्ण कुरा, ती निष्कपट मानिसहरूले आध्यात्मिक कुराहरूको लागि साँचो मूल्यांकन देखाउँछन्‌। उदाहरणका लागि, एउटी जवान स्त्री, मसीही सभाहरूमा उपस्थित हुन एक्लै साढेतीन घण्टा हिंड्‌छिन्‌ अनि एउटै सभा पनि छुटाउँदिनन्‌। घुँडाको समस्याको बावजुद एउटी जिज्ञासु वृद्धाले परिभ्रमण निरीक्षकको भ्रमणको दौडान बाइबलबाट निर्देशन प्राप्त गर्न दुई घण्टा लामो यात्रा गरिन्‌। कोही-कोही असाक्षर व्यक्‍तिहरू बाइबल शिक्षाबाट अझ बढी लाभ उठाउन लेखपढ गर्न चाहन्थे। तिनीहरूले आफ्नो प्रयासको लागि प्रशस्त आशिष्‌ पाएका छन्‌।

प्रेरित पावलले देखेको दर्शनबारे प्रेरितको पुस्तकमा लूकाले यसरी वर्णन गरेका छन्‌: “ ‘म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्‌’ भनी त्यहाँको एक जना मानिसले तिनलाई बिन्ती गरिरहेको” थियो। पावलले खुसीसाथ त्यसै गरे। आज, मेक्सिकोका पृथक इलाकामा बस्ने थुप्रै मानिसहरूले त्यस्तै प्रतिक्रिया देखाइरहेका छन्‌ अनि “पृथ्वीको अन्तसम्म” सुनाइएको सुसमाचार सुन्‍न तत्पर भएका छन्‌।—प्रेरित १:८; १६:९, १०.

[फुटनोटहरू]

a हालैको रिपोर्टअनुसार मेक्सिकोको ८ प्रतिशतभन्दा बढी इलाकामा यहोवाका साक्षीहरूको मण्डलीले नियमित तवरमा प्रचार गरेका थिएनन्‌। यसको मतलब, कहिलेकाहीं मात्र प्रचार हुने पृथक इलाकामा ८२,००,००० भन्दा बढी मानिसहरू बसोबास गर्छन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ९-मा भएको चित्र]

मेक्सिकोका थुप्रै साक्षीहरूले विशेष प्रचार अभियानमा भाग लिएका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने