प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ पृ. ८-११
  • कोरियाको एउटा विशेष भाषा समूहमा सेवा गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कोरियाको एउटा विशेष भाषा समूहमा सेवा गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • सानो सुरुआत
  • जवानहरूले आफूलाई राजीखुसी अर्पण गर्छन्‌
  • बहिराहरूमाझ काम गर्दा
  • अनौपचारिक साक्षीबाट परिणाम प्राप्त हुन्छ
  • कटिबद्धताको इनाम
  • बहिराहरूको लागि अनुवाद
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ पृ. ८-११

कोरियाको एउटा विशेष भाषा समूहमा सेवा गर्दै

एउटा एकदमै जोसिलो तर निकै शान्त समूह १९९७ को गर्मी मौसममा यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनको लागि भेला भयो। बहिरा अर्थात्‌ कान नसुन्‍ने व्यक्‍तिहरूको लागि कोरियामा आयोजित यो पहिलो अधिवेशन थियो। त्यहाँको शिखर उपस्थिति १,१७४ थियो। भाषण, अन्तरवार्ता र नाटकलगायत सम्पूर्ण कार्यक्रम कोरियाली सांकेतिक भाषामा प्रस्तुत गरिएको थियो र सम्मेलन भवनमा ठूलठूला टिभी स्क्रिनहरूमा पनि प्रसारण गरिएको थियो। यो, थुप्रै स्वयम्‌सेवकहरूको वर्षौंको कडा मेहनतको फल थियो।

पार्थिव प्रमोदवनमा ‘बहिराहरूको कान उघारिने’ समय आउनेछ। (यशैया ३५:५) त्यस प्रमोदवनमा जीवनको आनन्द उठाउन बहिराहरूलगायत सबैले पहिला आध्यात्मिक प्रमोदवन अर्थात्‌ परमेश्‍वरका आशिषित्‌ जनहरूमाझ पाइने संवृद्ध आध्यात्मिक अवस्थामा प्रवेश गरेको हुनुपर्छ। तिनीहरू यहोवाद्वारा सिकाइएका बप्तिस्माप्राप्त समर्पित साक्षीहरू हुनुपर्छ।—मीका ४:१-४.

सानो सुरुआत

सन्‌ १९६० को दशकमा बहिराहरूलाई केही हदसम्म प्रचार गरिएको भए तापनि सन्‌ १९७० को दशकमा मात्र केही बहिराहरू कोरियाको राजधानी सियोलमा यहोवाका साक्षीहरूको सभाहरूमा उपस्थित हुन थाले। छिटोछिटो लेख्न सक्ने एक जना मसीही भाइले प्रयोग गरिएका बाइबल पदहरूलगायत भाषणका मुख्य मुख्य बुँदाहरू कालोपाटीमा लेखिदिन्थे।

सन्‌ १९७१ को कुरा हो, टेजोन नाउँ गरेको शहरमा एक जना साक्षीले आफ्नो बहिरा छोरा र तिनका साथीहरूलाई राज्य सन्देश सिकाउन थाले। यसै समूहका केही व्यक्‍तिहरू जोसिला प्रचारकहरू भएका छन्‌ र तिनीहरू नै सांकेतिक भाषाको क्षेत्रमा आधारशिलाको रूपमा सेवा गर्दैछन्‌।—जकरिया ४:१०.

जवानहरूले आफूलाई राजीखुसी अर्पण गर्छन्‌

बहिराहरूले यहोवा र येशूको ज्ञान लिने र जीवनको मार्गमा लाग्ने हो भने अरू थप स्वयम्‌सेवकहरूले अझ धेरै प्रयास गर्नु जरुरी थियो। (यूहन्‍ना १७:३) यो लक्ष्य प्राप्त गर्न थुप्रै यहोवाका साक्षीहरूले सांकेतिक भाषा सिकेका छन्‌ र थुप्रै प्रोत्साहनजनक अनुभवहरू बटुलेका छन्‌।

पार्क इन-सुन नाउँ गरेका १५ वर्षीय केटाले सांकेतिक भाषा सिक्ने लक्ष्य बनाए। त्यो भाषा सिक्नको लागि तिनले २० जना बहिराहरू काम गर्ने एउटा कारखानामा सिकारुको रूपमा काम गर्न थाले। भाषा सिक्न र बहिराहरूको सोचाइ बुझ्न आठ महिनासम्म तिनीहरूसित सँगसँगै काम गरे। त्यसको अर्को वर्ष तिनी नियमित अग्रगामी वा पूर्ण-समय राज्य उद्‌घोषक भए र बाइबल सच्चाइमा इच्छुक बहिरा व्यक्‍तिहरूको समूहलाई मदत गर्न थाले। त्यस समूहको छिट्टै वृद्धि हुन थाल्यो र आइतबारको सभामा ३५ जना भन्दा बढी उपस्थित हुन थाले।—भजन ११०:३.

त्यसपछि सियोलमा पहिलो चोटि सांकेतिक भाषामै मसीही सभाहरू सञ्चालन गर्न थालियो। बिस्तार भइरहेको यो समूहमा भाइ पार्क इन-सुनले विशेष अग्रगामीको हैसियतमा सेवा गरे। यतिबेला सम्म तिनी सांकेतिक भाषामा पोख्त भइसकेका थिए। कुनै-कुनै महिनामा त तिनले बहिरा व्यक्‍तिहरूसँग २८ वटा गृह बाइबल अध्ययन सञ्चालन गरे। यीमध्ये थुप्रैले उन्‍नति गरे र यहोवाका साक्षी भए।

राजीखुसी गरिएको यस अत्यन्तै सक्रिय स्वयम्‌सेवाको परिणामस्वरूप अक्टोबर १९७६ मा सियोलमा पहिलो सांकेतिक भाषाको मण्डली स्थापना भयो र यसमा ४० जना प्रकाशक अनि २ जना नियमित अग्रगामीहरू थिए। यसपछि कोरियाका अन्य शहरहरूमा पनि यो कार्य विस्तार भयो। थुप्रै बहिरा व्यक्‍तिहरू सुसमाचारका लागि भोका थिए र तिनीहरू पनि कोही आउला कि भन्‍ने पर्खाइमा थिए।

बहिराहरूमाझ काम गर्दा

तपाईंको मनमा लाग्ला, बहिरा व्यक्‍तिहरूलाई कसरी भेट्टाउन सकिन्छ। तिनीहरूमध्ये धेरै त अरू कसैले भनेको आधारमा भेटिएका थिए। साथै स्थानीय चामल पसलका मालिकहरूको पनि मदत लिइयो अनि तिनीहरूले बहिरा व्यक्‍तिहरूको नाउँ र ठेगाना दिए। त्यस्तो जानकारी प्रदान गर्न केही सरकारी अधिकारीहरू पनि मदतकारी थिए। बहिराहरू बस्ने इलाकामा लगनशील भई प्रचार गर्दा निकै सफलता प्राप्त भयो अनि समयको दौडान चारवटा सांकेतिक भाषाका मण्डलीहरू स्थापना भए। थुप्रै मसीही युवाहरूलाई सांकेतिक भाषा सिक्न प्रोत्साहन दिइयो।

सांकेतिक भाषा सिकेका विशेष अग्रगामी सेवकहरूलाई यहोवाका साक्षीहरूको शाखा कार्यालयले यी मण्डलीहरूसँग काम गर्न खटायो। हालसालै, मिनिस्टेरियल ट्रेनिङ स्कूलका स्नातकहरूलाई यस्ता मण्डलीहरूमा खटाइएका छन्‌ र तिनीहरूलाई आध्यात्मिक तवरमा सुदृढ पारेका छन्‌।

सामना गर्नुपर्ने केही अवरोधहरू पनि छन्‌। यस इलाकामा काम गर्न बहिराहरूको मनस्थिति बुझ्ने थप प्रयास गर्नुपर्छ। तिनीहरू आफ्नो विचार र कार्यमा असाध्यै सीधा हुन्छन्‌। यसकारण कहिलेकाहीं मानिसहरू छक्कै पर्छन्‌ र गलत अर्थ लगाउन सक्छन्‌। यसबाहेक, बहिरा व्यक्‍तिहरूसँग साक्षीहरूले बाइबल अध्ययन सञ्चालन गर्दा तिनीहरूलाई आफ्नो भाषामा पोख्त हुने मदत अनि तिनीहरूको पढ्‌ने र अध्ययन गर्ने बानी बढाउँदै लैजाने प्रोत्साहन दिनुपर्छ।

बहिराहरूले आफ्नो दिनचर्यामा थुप्रै कठिनाइहरूको सामना गर्नुपर्छ जुन अरू मानिसहरूलाई पत्तै हुँदैन। सरकारी कार्यालयहरू तथा स्वास्थ्य सेवा निकायहरूमा गएर कुरा गर्न अनि सरल व्यापारिक लेनदेनमा पनि तिनीहरूको लागि ठूलो समस्या हुन सक्छ। छिमेकी मण्डलीका साक्षीहरूले मायालु मदत दिएको कारण बहिरा व्यक्‍तिहरूले मसीही मण्डलीमा साँचो भ्रातृत्व अनुभव गर्न सकेका छन्‌।—यूहन्‍ना १३:३४, ३५.

अनौपचारिक साक्षीबाट परिणाम प्राप्त हुन्छ

कोरियाको दक्षिणी बन्दरगाह शहर, पुसानमा एक जना साक्षीले दुई जना बहिरा व्यक्‍ति भेटे अनि तिनीहरूले कागतको टुक्रामा यस्तो लेखे: “हामीलाई प्रमोदवन मन पर्छ। अनन्त जीवनबारे बताउने शास्त्रपदहरू हामी जान्‍न चाहन्छौं।” ती भाइले तिनीहरूको ठेगाना टिपे र तिनीहरूसँग भेट्‌ने प्रबन्ध मिलाए। अनि तिनी भेट्‌न जाँदा राज्य सन्देश सुन्‍न उत्सुक बहिराहरू कोठाभरि थिए। यस अनुभवको कारण तिनी सांकेतिक भाषा सिक्न उत्साहित भए। छिट्टै नै पुसानमा सांकेतिक भाषाको मण्डली स्थापना भयो।

त्यस मण्डलीका एक जना भाइले, दुई जना बहिरा व्यक्‍तिहरू सांकेतिक भाषामा कुरा गरिरहेको देखेपछि तिनीहरूलाई भेट्‌न गए। तिनीहरू भर्खरै एउटा धार्मिक सभामा उपस्थित भएको थाह पाएपछि उक्‍त भाइले तिनीहरूलाई सोही दिनको दिउँसो राज्यभवनमा आमन्त्रित गरे। तिनीहरू आए र बाइबल अध्ययन सुरु भयो। त्यसको केही समयपछि ती २ जना अन्य २० जना बहिराहरूसँगै जिल्ला अधिवेशनमा उपस्थित भए। त्यस समूहबाट कतिपयले यहोवालाई आफ्नो जीवन समर्पित गरेका छन्‌। दुई जना सांकेतिक भाषाको मण्डलीका प्राचीन र एक जना सेवकाई सेवक भएका छन्‌।

कटिबद्धताको इनाम

कोही-कोही बहिरा व्यक्‍तिहरू सांकेतिक भाषाको मण्डलीबाट निकै टाढा बस्ने भएकोले तिनीहरूलाई बाइबलबाट नियमित तवरमा आध्यात्मिक पोषण दिनको लागि अत्यन्तै प्रयास गर्नुका साथै कटिबद्ध हुनु पर्छ। उदाहरणका लागि, एक जना ३१ वर्षीय मानिसले एउटा टापुमा जलारीको काम गरेर जीविका चलाइरहेका थिए। तिनले बाइबल सन्देश आफ्नो भाइबाट सुनेका थिए जसको भेट यहोवाका साक्षीहरूसँग भएको थियो। ती बहिरा व्यक्‍तिले आफ्नो आध्यात्मिक भोक मेटाउन १६ किलोमिटर टाढा पर्ने कोरियाको दक्षिणी किनारामा रहेको टंगयंगसम्म डुंगा यात्रा गरे। मासान शहरको सांकेतिक भाषाको मण्डलीमा सेवारत एक जना विशेष अग्रगामीलाई भेट्‌न तिनले यति लामो दूरी यात्रा गरेका थिए। प्रत्येक सोमबार यी विशेष अग्रगामी उक्‍त बहिरा व्यक्‍तिसँग अध्ययन सञ्चालन गर्न ६५ किलोमिटर यात्रा गर्थे।

मासान शहरमा आइतबारको सभामा उपस्थित हुन ती बहिरा व्यक्‍तिले डुंगामा १६ किलोमिटर र बसबाट अझ ६५ किलोमिटर यात्रा गर्नुपर्थ्यो। तिनको यस्तो कटिबद्धताको नतिजा राम्रो भयो। केही महिनामै तिनी सांकेतिक भाषामा दक्खल भए, अझ धेरै कोरियन अक्षरहरू चिने र सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवासँगको सम्बन्ध विकास गर्ने एक मात्र तरिका सिके। सभाहरू तथा नियमित साक्षी कार्यमा भाग लिनुको महत्त्व बुझेपछि तिनी सांकेतिक भाषाको मण्डली भएको इलाकामा सरे। के त्यो सजिलो थियो? थिएन। तिनले प्रत्येक महिना ३,८०० अमेरिकी डलर आर्जन गरिरहेको जालारीको काम छोड्‌नुपऱ्‍यो। तर तिनले आफ्नो कटिबद्धताको इनाम पाए। सच्चाइमा उन्‍नति गर्दै गएपछि तिनले बप्तिस्मा लिए र अहिले आफ्नो परिवारसँगै खुसीसाथ यहोवाको सेवा गर्दैछन्‌।

बहिराहरूको लागि अनुवाद

राज्यको सुसमाचार अक्सर मौखिक रूपमा सुनाइन्छ। तथापि, परमेश्‍वरको वचनको सन्देश सही ढंगमा सुनाउन बाइबल शिक्षा अझ स्थायी रूपमा प्रस्तुत गर्नु पनि आवश्‍यक छ। तसर्थ, प्रथम शताब्दीमा बूढापाकाहरूले किताब तथा चिठीहरू लेख्थे। (प्रेरित १५:२२-३१; एफिसी ३:४; कलस्सी १:२; ४:१६) हाम्रो समयमा पुस्तक तथा अन्य मसीही साहित्यहरूमार्फत प्रशस्त मात्रामा आध्यात्मिक भोजन प्रबन्ध गरिएको छ। सांकेतिक भाषालगायत सयौं भाषामा यस्ता साहित्यहरू अनुवाद गरिएका छन्‌। कोरियाली सांकेतिक भाषामा अनुवाद गर्न शाखा कार्यालयमा सांकेतिक भाषा अनुवाद विभाग छ। भिडिओ शाखाले सांकेतिक भाषामा भिडिओ उत्पादन गर्छ। यसले कोरियाभरि रहेका सुसमाचारका बहिरा उद्‌घोषकहरू र जिज्ञासु व्यक्‍तिहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्छ।

थुप्रै व्यक्‍तिहरू सांकेतिक भाषामा पोख्त भएर भिडिओहरू उत्पादन गर्न मदत गरेका भए तापनि अक्सर सबैभन्दा राम्रा अनुवादकहरूचाहिं बहिरा आमाबाबुका छोराछोरीहरू हुन्छन्‌। तिनीहरूले शैशवकालदेखि नै सांकेतिक भाषा सिकेका हुन्छन्‌। तिनीहरूले सही संकेत गर्ने मात्र होइनन्‌ तर तिनीहरूले आफ्नो इसारा र मुखको हावभावले हृदयस्पर्शी ढंगमा सन्देश व्यक्‍त गरेर अरूको मन अनि हृदय छुन्छन्‌।

माथि उल्लेख गरिएझैं अहिले कोरियामा सांकेतिक भाषामा अधिवेशन तथा सम्मेलनहरू नियमित रूपमा आयोजना हुन्छन्‌। यसको निम्ति निकै काम, खर्च र प्रयासको खाँचो पर्छ। तथापि, उपस्थित व्यक्‍तिहरूले यस प्रबन्धको मूल्यांकन गर्छन्‌। यी जमघटहरू समापन भइसकेपछि पनि उत्थानदायी संगति र प्रबन्ध गरिएको असल आध्यात्मिक भोजनको पुनरावलोकन गर्न धेरैजसो त्यहीं बसिरहन्छन्‌। स्पष्टतः यस विशेष समूहमा काम गर्दाका चुनौतीहरू छन्‌ तर आध्यात्मिक आशिष्‌बारे विचार गर्दा यो प्रयास सार्थक हुन्छ।

[पृष्ठ १०-मा भएको चित्र]

कोरियामा उत्पादित सांकेतिक भाषाका भिडिओहरू: “परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?” “हाम्रो आध्यात्मिक सम्पदाको मूल्यांकन गर्ने” “हाम्रो समयको लागि चेताउनीमूलक उदाहरणहरू” र “यहोवाको अख्तियारको आदर गर्नुहोस्‌”

[पृष्ठ १०-मा भएका चित्रहरू]

तल दायाँदेखि: कोरिया शाखामा सांकेतिक भाषाको भिडिओ उत्पादन गर्दै, ईश्‍वरतान्त्रिक पदावलीहरूको लागि संकेतहरू तयार पार्दै; सांकेतिक भाषाको अनुवाद टोली; भिडिओ उत्पादनको दौडान दोभाषेले संकेत गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने