प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ पृ. १७-२२
  • सबैमा असल कुरा खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैमा असल कुरा खोज्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार र चेला बनाउने काममा
  • परिवारमा
  • मसीही मण्डलीमा
  • सबैमा असल कुरा खोजिरहने
  • भलाइ—तपाईँ कसरी यो गुण विकास गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • भलाइ प्रदर्शन गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको भलाइको अद्‌भुत विशालता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ पृ. १७-२२

सबैमा असल कुरा खोज्नुहोस्‌

“हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।”—नहेम्याह १३:३१.

१. यहोवाले कसरी सबैप्रति भलाइ गर्नुहुन्छ?

धेरै दिनसम्म बादल लागेर दिनै अँध्यारो भएपछि घाम लाग्दा निक्कै रमाइलो हुन्छ। मानिसहरूमा उत्साह बढ्‌नुका साथै सबैलाई मज्जा लाग्छ। त्यसै गरी, लामो समयसम्म घाम चर्किएर मौसम सुख्खा भएको बेला हल्का पानी पर्दा वा झर्र वर्षा हुँदा मात्र पनि स्फूर्ति र राहत पाइन्छ। हाम्रो मायालु सृष्टिकर्ता यहोवाले पृथ्वीको वायुमण्डलमा मौसमको यस्तो अद्‌भुत उपहार पनि राखिदिनुभएको छ। येशूले परमेश्‍वरको उदारतातर्फ ध्यान खिच्दै यसरी सिकाउनुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। र तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुनसक्नेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४३-४५) हो, यहोवाले सबैप्रति भलाइ गर्नुहुन्छ। उहाँका सेवकहरूले पनि अरूमा असल कुरा खोजेर उहाँको अनुकरण गर्ने कोसिस गर्नुपर्छ।

२. (क) यहोवाले कुन आधारमा भलाइ गर्नुहुन्छ? (ख) यहोवाको भलाइप्रति हामीले देखाउने प्रतिक्रियाको सन्दर्भमा उहाँले कुन कुराको ख्याल राख्नुहुन्छ?

२ यहोवाले कुन आधारमा भलाइ गर्नुहुन्छ? आदम पापमा फसेदेखि यहोवाले मानिसहरूमा असल कुरा खोज्न छोड्‌नुभएको छैन। (भजन १३०:३, ४) आज्ञाकारी मानिसजातिलाई पुनः प्रमोदवनमा वास्तविक जीवन दिने उहाँको उद्देश्‍य छ। (एफिसी १:९, १०) उहाँको असीम कृपाले हामीलाई प्रतिज्ञा गरिएको सन्तानमार्फत पाप तथा असिद्धताबाट मुक्‍त हुने प्रत्याशा दिएको छ। (उत्पत्ति ३:१५; रोमी ५:१२, १५) छुटकाराको प्रबन्ध स्वीकार्दा अन्तमा यसले सिद्धतातर्फ फर्कने मार्ग तयार पार्छ। यहोवाको उदारताका साथै अरू कुराहरूप्रति हामीले कस्तो प्रतिक्रिया देखाउँछौं भनेर बुझ्न अहिले उहाँले हामी हरेकलाई नियालिरहनुभएको छ। (१ यूहन्‍ना ३:१६) उहाँको भलाइप्रति मूल्यांकन देखाउन, हामीले गर्ने जुनसुकै कुराको पनि उहाँले ख्याल राख्नुहुन्छ। “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न” भनी प्रेरित पावलले लेखे।—हिब्रू ६:१०.

३. हामीले कुन प्रश्‍नबारे विचार गर्नु उपयुक्‍त हुन्छ?

३ त्यसोभए, अरूमा असल कुरा खोज्ने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं? हामी जीवनका चारवटा क्षेत्रमा यस प्रश्‍नको जवाफबारे विचार गरौं। ती हुन्‌: (१) मसीही सेवकाई, (२) परिवार, (३) मण्डली र (४) अरूसितको हाम्रो सम्बन्ध।

प्रचार र चेला बनाउने काममा

४. मसीही सेवकाईमा भाग लिनु भनेको कसरी अरूमा असल कुरा खोज्ने तरिका हो?

४ चेलाहरूले गहुँ र सामाको दृष्टान्तको अर्थ सोध्दा येशूले “खेत संसार हो” भनेर जवाफ दिनुभयो। ख्रीष्टका आधुनिक समयका चेलाहरूको रूपमा हामी सेवकाईमा भाग लिंदा यो सत्यता स्वीकार्छौं। (मत्ती १३:३६-३८; २८:१९, २०) हाम्रो क्षेत्र सेवकाईमा आफ्नो विश्‍वासको आम-घोषणा गर्नु समावेश छ। अहिले यहोवाका साक्षीहरू सडक तथा घर-घरको सेवकाईको लागि चिरपरिचित भएको तथ्यले राज्य सन्देशको लागि योग्य सबै मानिसहरू खोज्न हामी लगनशील छौं भन्‍ने कुरा प्रमाणित गर्छ। वास्तवमा, येशूले यस्तो निर्देशन दिनुभयो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर।”—मत्ती १०:११; प्रेरित १७:१७; २०:२०.

५, ६. हामी किन लगनशील भई मानिसहरूको घरमा बारम्बार गइरहन्छौं?

५ मानिसहरूले आशा नगरेको बेला तिनीहरूको घरमा जाँदा हाम्रो सन्देशप्रति तिनीहरूको भिन्‍ना-भिन्‍नै प्रतिक्रिया पाउँछौं। कहिलेकाहीं कुनै घरको एक जना सदस्यले हाम्रो कुरा सुनिरहेको हुन्छ तर घरभित्रबाट अर्कोचाहिं सदस्यले “हामीलाई चासो छैन” भन्छ र त्यतिकैमा कुराकानी टुंगिन्छ। कुनै एउटा व्यक्‍तिको विरोध वा चासोको कमीले अर्को व्यक्‍तिको प्रतिक्रियालाई असर गर्दा हामीलाई कत्ति दुःख लाग्छ! त्यसोभए, सबैमा असल कुरा खोज्ने लगनशील प्रयास गर्न हामी के गर्न सक्छौं?

६ त्यस इलाकामा प्रचारकार्यको दौडान त्यस घरमा फेरि पस्दा अघिल्लो भेटमा बीचैमा कुरा काट्‌ने व्यक्‍तिसित आमनेसामने कुराकानी गर्ने मौका मिल्न सक्छ। त्यति बेला के भएको थियो भन्‍ने कुरा सम्झँदा हामीले तयारी गर्ने मदत पाउन सक्छौं। सकारात्मक प्रतिक्रिया देखाउने व्यक्‍तिलाई राज्य सन्देश सुन्‍न दिनु हुँदैन भन्‍ने सोचाइ राखेर विरोध गर्ने त्यस व्यक्‍तिले राम्रै मनसायसहित त्यसो गरेको हुन सक्छ। सायद हाम्रो आशयबारेको गलत जानकारीले तिनको दृष्टिकोणमा प्रभाव पारेको थियो होला। तर यसले हामीलाई कौशलतासाथ गलतफहमी हटाएर त्यस घरमा राज्य सुसमाचार सुनाउने कोसिस गरिरहनदेखि रोक्दैन। सबैलाई परमेश्‍वरको सही ज्ञानमा आउने मदत दिन हामी इच्छुक छौं। अनि सायद, यहोवाले त्यस व्यक्‍तिलाई आफूतर्फ खिच्नुहुनेछ।—यूहन्‍ना ६:४४; १ तिमोथी २:४.

७. मानिसहरूसित भेट्‌दा सकारात्मक हुन हामीलाई कुन कुराले मदत दिन सक्छ?

७ येशूले आफ्ना चेलाहरूलाई दिनुभएको निर्देशनमा पारिवारिक विरोधबारे पनि बताइएको थियो। के येशूले यसो भन्‍नुभएन र: “म मानिसलाई उसको बाबुको विरुद्धमा, र छोरीलाई उसकी आमाको विरुद्धमा, र बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएँ”? येशूले अझै यसो भन्‍नुभयो: “मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्‌।” (मत्ती १०:३५, ३६) यद्यपि, परिस्थिति र मनोवृत्ति परिवर्तन हुन्छ। अकस्मात्‌ बिरामी हुनु, नातेदारको मृत्यु, विपत्ति, भावनात्मक उथलपुथल तथा अन्य कयौं कुराहरूले हाम्रो प्रचारप्रति मानिसहरूको प्रतिक्रियालाई असर गर्छ। हामीले प्रचार गरेका व्यक्‍तिहरूले कहिल्यै पनि सुन्‍ने छैनन्‌ भन्‍ने नकारात्मक सोचाइ राख्छौं भने, वास्तवमा के हामीले तिनीहरूमा असल कुरा खोजिरहेका हुन्छौं र? अर्को पटक खुसीसाथ तिनीहरूको घरमा जानुभए कसो होला? हामीले पहिलेभन्दा भिन्‍नै प्रतिक्रिया पाउन सक्छौं। कहिलेकाहीं हामीले भन्‍ने कुराले मात्र होइन तर हामी कसरी भन्छौं, त्यसबाट पनि बेग्लै प्रतिक्रिया प्राप्त हुन सक्छ। प्रचारकार्य सुरु गर्नुभन्दा अघि यहोवालाई व्यग्र प्रार्थना गर्दा पक्कै पनि यसले हामीलाई सकारात्मक हुन र सबैको मन छुने ढंगमा राज्य सन्देश प्रस्तुत गर्न मदत दिनेछ।—कलस्सी ४:६; १ थिस्सलोनिकी ५:१७.

८. मसीहीहरूले बेग्लै विश्‍वास भएका नातेदारहरूमा असल कुरा खोज्दा कस्तो नतिजा हुन सक्छ?

८ कुनै-कुनै मण्डलीहरूमा एउटै परिवारका थुप्रै सदस्यहरूले यहोवाको सेवा गर्छन्‌। प्रायजसो अवस्थामा, परिवारका जवान सदस्यहरू आफ्नो पाको नातेदारले देखाएको लगनशीलता अनि तिनीहरूको पारिवारिक तथा वैवाहिक बन्धनभित्रको राम्रो सम्बन्ध देखेर प्रभावित भए जसले गर्दा तिनीहरूले पनि आफ्नो हृदय परिवर्तन गर्न सके। प्रेरित पावलको सल्लाह पालन गर्दा थुप्रै मसीही पत्नीहरूले “विना वचनले” आफ्नो पतिको मन जित्ने मदत पाएका छन्‌।—१ पत्रुस ३:१, २.

परिवारमा

९, १०. याकूब र यूसुफ दुवैले आफ्नो परिवारमा कसरी असल कुरा खोजे?

९ हामीले अरूमा असल कुरा खोज्न सक्ने अर्को क्षेत्र परिवारका सदस्यहरूलाई एक-अर्काको नजिक बनाउने घनिष्ठ बन्धन हो। याकूबले आफ्ना छोराहरूसित गरेको व्यवहारबाट सिक्न सकिने एउटा पाठ विचार गर्नुहोस्‌। उत्पत्ति अध्याय ३७, पद ३ र ४ मा बाइबलले संकेत गरेअनुसार याकूबले विशेष गरी यूसुफलाई असाध्यै माया गर्थे। यूसुफका दाजुहरूले तिनको डाह गरे, आफ्नो भाइलाई मार्ने षड्यन्त्रसमेत रचे। तथापि, याकूब र यूसुफले आफ्नो वृद्धावस्थामा देखाएको मनोवृत्तिलाई विचार गर्नुहोस्‌। तिनीहरू दुवैले आफ्नो परिवारमा असल कुरा खोजे।

१० अनिकालको चपेटामा परेको मिश्रमा प्रमुख खाद्य प्रशासकको रूपमा सेवा गरिरहेको बेला यूसुफले आफ्ना दाइहरूको स्वागत-सत्कार गरे। तिनले तुरुन्तै आफ्नो परिचय दिइहाल्नुको सट्टा उनीहरूको राम्रो हेरविचार होस्‌ र उनीहरूका वृद्ध बाबुकहाँ फर्केर जाँदा उनीहरूसँग अन्‍न होस्‌ भन्‍ने हेतुले घटनाक्रमलाई त्यतैतिर मोडे। हो, यूसुफ उनीहरूको घृणाको सिकार भए तापनि तिनले उनीहरूको भलाइ गरे। (उत्पत्ति ४१:५३–४२:८; ४५:२३) त्यसै गरी, मृत्युशय्यामा हुँदा याकूबले आफ्ना सबै छोराहरूलाई भविष्यसूचक आशिष्‌ दिए। तिनीहरूको खराब कामको कारण तिनीहरूले केही सुअवसर गुमाए तापनि प्रतिज्ञा गरिएको देशमा उत्तराधिकारी हुनदेखि कोही पनि वञ्चित हुनु परेन। (उत्पत्ति ४९:३-२८) यति बेला याकूबले धीरजी प्रेमको कस्तो अद्‌भुत अभिव्यक्‍ति प्रकट गरे!

११, १२. (क) परिवारमा असल कुरा खोजिरहनुको महत्त्वलाई कुन भविष्यसूचक उदाहरणले जोड दिन्छ? (ख) येशूले बताउनुभएको उडन्ता पुत्रको दृष्टान्तको बुबाको उदाहरणबाट हामी कस्तो पाठ सिक्छौं?

११ अविश्‍वासी राष्ट्र इस्राएलसित व्यवहार गर्नुहुँदा यहोवाले देखाउनुभएको धीरजले, उहाँले कसरी आफ्ना मानिसहरूमा असल कुरा खोज्नुहुन्छ भन्‍ने सन्दर्भमा थप अन्तरदृष्टि दिन्छ। यहोवाले अगमवक्‍ता होशेको पारिवारिक अवस्थालाई चलाएर आफ्नो धीरजी प्रेम प्रकट गर्नुभयो। होशेकी पत्नी गोमेरले बारम्बार व्यभिचार गरिन्‌। तैपनि, यहोवाले होशेलाई यस्तो निर्देशन दिनुभयो: “अरू देवताहरूका पछि लाग्ने र दाखका रोटीहरूसित प्रेम गर्ने इस्राएलीहरूलाई परमप्रभुले प्रेम गर्नुभएझैं जा, नाठाकी प्यारी र व्यभिचारिणी स्त्रीलाई प्रेम गर्‌।” (होशे ३:१) यस्तो निर्देशन किन दिइयो? उहाँको मार्गबाट तर्किएको त्यस राष्ट्रबाट समेत व्यक्‍तिविशेषले उहाँको धैर्यप्रति सकारात्मक प्रतिक्रिया देखाउनेछन्‌ भन्‍ने कुरा यहोवालाई थाह थियो। होशेले यस्तो घोषणा गरे: “त्यसपछि इस्राएलीहरू फर्कनेछन्‌, परमप्रभु आफ्ना परमेश्‍वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन्‌, र पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका उदारतातिर आउनेछन्‌।” (होशे ३:५) निस्सन्देह, परिवारमा अप्ठ्यारा परिस्थितिहरू आइपर्दा मनन गर्नको लागि यो निकै राम्रो उदाहरण हो। तपाईंले परिवारका अरू सदस्यहरूमा असल कुरा खोजिरहँदा अरू केही नभए तापनि धैर्यको राम्रो उदाहरण बसाल्नेछ।

१२ उडन्ता पुत्रबारे येशूले बताउनुभएको दृष्टान्तले हामीलाई आफ्नो परिवारभित्र कसरी असल कुरा खोज्न सक्छौं भन्‍ने सन्दर्भमा थप अन्तरदृष्टि दिन्छ। कान्छो छोरा आफ्नो छाडा जीवन छोडर घर फर्क्यो। बुबाले तिनीप्रति दयालु व्यवहार गरे। कहिल्यै घर नछोडेको तिनको जेठो छोराले गनगन गर्दा बुबाले कस्तो प्रतिक्रिया देखाए? आफ्नो जेठो छोरालाई बुबाले यसो भने: “ए छोरा, तँता मसित सधैंभरि छस्‌ नि, औ मेरो सबै तेरै हो।” यति बेला बुबाले तिनलाई हप्काइरहेका थिएनन्‌ बरु आफ्नो प्रेम व्यक्‍त गरिरहेका थिए। तिनले अझै यसो भने: “आनन्द मनाउनु र खुशी हुनुपर्ने नै हो, किनकि तेरो भाइ मरेको थियो, फेरि बिउँत्यो, औ हराएको थियो, पाइयो।” त्यसै गरी हामी पनि अरूमा असल कुरा खोजिरहन सक्छौं।—लूका १५:११-३२.

मसीही मण्डलीमा

१३, १४. मसीही मण्डलीभित्र प्रेमको शाही व्यवस्था व्यवहारमा उतार्ने एउटा तरिका के हो?

१३ मसीहीहरूको रूपमा, हामी प्रेमको शाही व्यवस्था व्यवहारमा उतार्ने लक्ष्य राख्छौं। (याकूब २:१-९) हुन त हाम्रोभन्दा भिन्‍न आर्थिक अवस्था भएका मण्डलीका सदस्यहरूलाई हामी स्वीकारौंला। तर के हामी जातीय, सांस्कृतिक वा धार्मिक पृष्ठभूमिको आधारमा “वर्ग विभाजन” गर्छौं? त्यसो हो भने, हामी याकूबको सल्लाह कसरी पालन गर्न सक्छौं?

१४ मसीही सभाहरूमा उपस्थित हुनेहरू सबैलाई स्वागत गर्दा यसले हामी ठूलो मनका छौं भन्‍ने प्रमाण दिन्छ। राज्यभवनमा आउने नयाँ व्यक्‍तिहरूसित कुराकानी गर्न हामी आफै अग्रसर हुँदा तिनीहरूको अप्ठ्यारोपन र लाज हट्‌न सक्छ। वास्तवमा, पहिलो पटक मसीही सभामा उपस्थित हुनेहरू कोही-कोहीले यस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌: “सबै जना एकदमै मित्रैला थिए। तिनीहरू सबैले मलाई पहिलेदेखि नै चिनेकोजस्तो व्यवहार गरे। मलाई निक्कै सजिलो महसुस भयो।”

१५. आफूभन्दा पाकाहरूप्रति चासो देखाउन मण्डलीका युवाहरूलाई कसरी मदत दिन सकिन्छ?

१५ कुनै-कुनै मण्डलीमा केही युवाहरू पाको उमेरका व्यक्‍तिहरूसित संगत गर्न अप्ठ्यारो मानेर सभा सिद्धिएपछि राज्यभवनभित्र वा राज्यभवनबाहिर आफ्नो समूह बनाएर बस्न सक्छन्‌। यस्तो लहड हटाउन के गर्न सकिन्छ? निस्सन्देह, पहिलो कदम भनेको आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई सभाको लागि तयार गराएर घरैमा प्रशिक्षण दिनु हो। (हितोपदेश २२:६) तिनीहरूलाई सभामा चाहिने विभिन्‍न प्रकाशनहरू ठीक पार्ने जिम्मेवारी दिन सकिन्छ। यसो गर्दा तिनीहरूले ती सबै कुराहरू सभामा लैजान सक्छन्‌। छोराछोरीहरूलाई राज्यभवनमा आएका आफूभन्दा पाका र अशक्‍तहरूसित केही बेर भए पनि कुराकानी गर्न प्रोत्साहन दिने सन्दर्भमा सबैभन्दा उपयुक्‍त व्यक्‍तिहरू आमाबाबुहरू हुन सक्छन्‌। यस्ता पाका र अशक्‍तहरूलाई केही अर्थपूर्ण कुराहरू भन्‍न पाउँदा युवाहरूले सन्तुष्टि महसुस गर्न सक्छन्‌।

१६, १७. वयस्कहरूले कसरी मण्डलीमा आफूभन्दा सानो उमेरका युवाहरूमा असल कुरा खोज्न सक्छन्‌?

१६ पाका भाइबहिनीहरूले मण्डलीका युवाहरूप्रति चासो देखाउनुपर्छ। (फिलिप्पी २:४) तिनीहरू आफै अग्रसर भएर युवाहरूसित प्रोत्साहनदायी ढंगमा कुराकानी गर्न सक्छन्‌। सभाको दौडान अक्सर कुनै उल्लेखनीय बुँदा उल्लेख गरिएको हुन्छ। युवाहरूलाई सभा कस्तो लाग्यो भनेर सोध्नुका साथै तिनीहरूलाई राम्रो लागेको र व्यवहारमा उतार्न सकिने खास बुँदाहरूबारे सोध्न सकिन्छ। युवाहरू मण्डलीको अभिन्‍न भाग भएको कारण तिनीहरूले ध्यान दिएर सुनेकोमा तिनीहरूको कदर गर्नुपर्छ र सभाको दौडान तिनीहरूले गरेका टिप्पणीहरूको लागि वा कार्यक्रममा भाग लिएकोमा तिनीहरूको प्रशंसा गर्नुपर्छ। युवाहरूले मण्डलीका पाका व्यक्‍तिहरूसित गर्ने व्यवहार तथा तिनीहरूले घरको सानातिना कामहरू गर्ने तरिकाले भविष्यमा गएर सम्भवतः तिनीहरूले ठूलठूला जिम्मेवारीहरू वहन गर्न सक्छन्‌ भन्‍ने कुरा संकेत गर्नेछ।—लूका १६:१०.

१७ केही युवाहरूले जिम्मेवारी स्वीकारेर अझ ठूला कार्यभारहरू सम्हाल्न सक्ने बिन्दुसम्म पुग्ने गरी आध्यात्मिक गुणहरू विकास गर्छन्‌। कुनै काममा व्यस्त हुँदा त्यसले मूर्खतापूर्ण आचरण त्याग्न मदत दिन सक्छ। (२ तिमोथी २:२२) यस्ता कार्यभारहरूले सेवकाई सेवक बन्‍न कोसिस गरिरहेका भाइहरूको ‘योग्यता’ जाँच्न सक्छ। (१ तिमोथी ३:१०) सभाहरूमा भाग लिने तिनीहरूको इच्छुकता र सेवकाईप्रतिको जोसका साथै मण्डलीका सबैप्रति चासो राख्ने मनोवृत्तिले तिनीहरूलाई थप जिम्मेवारी दिने विचार गर्दा तिनीहरूको सम्भाव्यताबारे विचार गर्न प्राचीनहरूलाई मदत गर्छ।

सबैमा असल कुरा खोजिरहने

१८. न्याय गर्दा कस्तो पासोबाट जोगिनुपर्छ र किन?

१८ “न्याय गर्दा पक्षपात गर्नु असल होइन” भनी हितोपदेश २४:२३ ले बताउँछ। स्वर्गीय बुद्धिले मण्डलीका मामिलाहरूबारे न्याय गर्दा प्राचीनहरूले पक्षपात गर्नु हुँदैन भनी सिकाउँछ। याकूबले यसरी बताए: “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढिया फलले भरिएको, औ पक्षपातरहित र कपटरहित हुन्छ।” (याकूब ३:१७) निस्सन्देह, अरूमा असल कुरा खोज्दा, व्यक्‍तिगत सम्बन्ध वा भावनाहरूको कारण आफ्नो न्याय धमिलिएको छैन भन्‍ने कुरा प्राचीनहरूले पक्का गर्नुपर्छ। भजनहार आसापले यस्तो लेखे: “परमेश्‍वरचाहिं आफ्नै पवित्र समुदायमा खडा हुनुहुन्छ। देवहरूका [मानव न्यायकर्ताहरूलाई संकेत गर्दै, “देवहरूजस्ता”] बीचमा उहाँले इन्साफ गर्नुहुन्छ। तिमीहरू कहिलेसम्म वेठीकसित इन्साफ [गर्नेछौ], र दुष्टहरूको पक्षपात गर्दैरहनेछौ?” (भजन ८२:१, २) त्यसै गरी, आफ्नो साथी वा नातेदार समावेश भएको मामिलामा मसीही प्राचीनहरू कृपावाद देखाउने झुकावबाट टाढै बस्छन्‌। यसरी तिनीहरू मण्डलीको एकता कायम राख्छन्‌ र यहोवाको आत्मालाई स्वतन्त्रसाथ काम गर्न दिन्छन्‌।—१ थिस्सलोनिकी ५:२३.

१९. कुन-कुन तरिकामा हामी अरूमा असल कुरा खोज्न सक्छौं?

१९ हाम्रा भाइबहिनीहरूमा असल कुरा खोज्दा, पावलले थिस्सलोनिकाको मण्डलीलाई सम्बोधन गर्दा देखाएको जस्तै मनोवृत्ति झल्काइरहेका हुन्छौं। तिनले यसो भने: “हामी जे जे कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गर्छौ, र गर्नेछौ भन्‍ने हामी प्रभुमा दृढ विश्‍वास राख्तछौं।” (२ थिस्सलोनिकी ३:४) अरूमा असल कुरा खोज्दा हामी तिनीहरूको गल्तीको वास्ता नगर्ने झुकाव राख्नेछौं। निस्सन्देह, हामी आलोचनात्मक मनोवृत्ति हटाउँदै हाम्रा भाइहरूको प्रशंसा गर्न सक्ने क्षेत्रहरू खोज्नेछौं। पावलले यस्तो लेखे: “भण्डारेहरू विश्‍वासयोग्य ठहरिनुपर्छ।” (१ कोरिन्थी ४:२, नयाँ संशोधित संस्करण) मण्डलीमा भण्डारेको काम गर्नेहरूको मात्र होइन तर हाम्रा सबै मसीही भाइबहिनीहरूको विश्‍वासनीयताले तिनीहरू हाम्रो नजरमा प्रिय हुन्छन्‌। यसरी हामी तिनीहरूसित अझ घनिष्ठ हुन्छौं, मसीही मित्रताको बन्धन अझ बलियो हुन्छ। पावलले आफ्नो समयका भाइहरूप्रति राखेको जस्तै दृष्टिकोण हामी अपनाउँछौं। तिनीहरू “परमेश्‍वरको राज्यको निम्ति सहकर्मी” र हामीलाई “सान्त्वना दिने मानिसहरू” हुन्‌। (कलस्सी ४:११) यसरी हामी यहोवाको मनोवृत्ति प्रकट गर्छौं।

२०. सबैमा असल कुरा खोज्नेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

२० हामी पक्कै पनि नहेम्याहको यो प्रार्थना गुञ्जाउँछौं: “हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।” (नहेम्याह १३:३१) यहोवाले मानिसहरूमा असल कुरा खोज्नुहुने भएकोले हामी कत्ति खुसी छौं! (१ राजा १४:१३) अरूसित व्यवहार गर्दा हामी पनि त्यसै गरौं। यसो गर्दा हामीले उद्धारका साथै अहिले एकदमै नजिक आइसकेको नयाँ संसारमा अनन्त जीवनको प्रत्याशा राख्न सक्छौं।—भजन १३०:३-८.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाले कुन आधारमा सबैप्रति भलाइ गर्नुहुन्छ?

• हामी निम्न क्षेत्रहरूमा कसरी अरूमा असल कुरा खोज्न सक्छौं?

• हाम्रो सेवकाईमा

• हाम्रो परिवारमा

• हाम्रो मण्डलीमा

• सबैसितको हाम्रो सम्बन्धमा

[पृष्ठ १८-मा भएको चित्र]

पहिला आफ्ना दाइहरूले घृणा गरे तापनि यूसुफले उनीहरूको भलाइ खोजे

[पृष्ठ १९-मा भएको चित्र]

सबैलाई मदत गर्ने कोसिस गर्नदेखि विरोधले हामीलाई रोक्दैन

[पृष्ठ २०-मा भएको चित्र]

विगतमा जेजस्तो गरेको भए तापनि याकूबका कुनै पनि छोराहरू तिनको आशिष्‌बाट वञ्चित भएनन्‌

[पृष्ठ २१-मा भएको चित्र]

मसीही सभाहरूमा सबैलाई स्वागत गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने