के हामीलाई साँच्चै अरूहरू चाहिन्छ?
“हामीले आफ्नो जीवन र उपलब्धिहरूलाई जाँचेर हेर्ने हो भने, आफ्नो सम्पूर्ण कार्य र इच्छाहरू अन्य मानिसहरूको अस्तित्वसँग सम्बन्धित भएको तथ्यलाई नकार्न सक्दैनौं” भनी प्रख्यात वैज्ञानिक अल्बर्ट आइनस्टाइनले टिप्पणी गरे। तिनले अझ यसो भने: “हामी अरूले उत्पादन गरेको खाना खान्छौं, अरूले बनाएको लुगा लगाउँछौं, अरूले निर्माण गरेको घरमा बस्छौं। . . . एक जना व्यक्तिविशेष भनेको उनी स्वयम् हुन् र उनको महत्त्व आफ्नै व्यक्तित्वको आधारमा नभई एउटा ठूलो मानव समाजको सदस्यको रूपमा हुन्छ जसले उनको भौतिक र आध्यात्मिक अस्तित्वलाई कोक्रोदेखि चिहानसम्म डोऱ्याइरहेको हुन्छ।”
पशुजगत्मा तिनीहरू आफ्नो सहजज्ञानको कारण एकअर्काको संगति खोज्छन्। हात्तीहरू होसियारीपूर्वक आफ्ना बच्चाहरूको सुरक्षा गर्दै बथानमा हिंड्छन्। सिंहिनीहरू सँगै मिलेर सिकार गर्छन् र सिंहहरूसँग आफ्नो आहार बाँड्छन्। डल्फिनहरू सँगै खेल्छन् र अन्य जन्तुहरू वा खतरामा परेका अन्य पौडीबाजहरूलाई समेत बचाएका छन्।
तथापि, समाजशास्त्रीहरूले मानिसहरूमाझ चाहिं एउटा प्रवृत्ति याद गरेका छन् जुन एउटा चिन्ताको विषय बन्दै गइरहेको छ। मेक्सिकोमा प्रकाशित एउटा अखबारअनुसार “दशकौंदेखि एक्लै बस्ने प्रवृत्ति र खस्कँदै गइरहेको सामुदायिक जीवनले अमेरिकी समाजमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ।” उक्त अखबारले बताएअनुसार “उक्त राष्ट्रको हित व्यापक सामाजिक परिवर्तनमा निर्भर थियो जसअन्तर्गत सामाजिक कार्यव्यवहारमा फर्कनु पनि समावेश थियो।”
यो समस्या विशेष गरी विकसित देशहरूमा फैलिरहेको छ। थुप्रै मानिसहरूमा आफू समाजमा अलग्गिएर एक्लै बस्ने प्रवृत्ति बढिरहेको छ। मानिसहरू ‘आफ्नो जीवन आफ्नै तरिकामा बिताउन’ चाहन्छन् र कसैले आफ्नो ‘निजी जीवनमा हस्तक्षेप’ गरेमा कडा प्रतिकार गर्छन्। यस्तो मनोवृत्तिले मानव समाजमा भावनात्मक समस्या, उदासिनता र आत्महत्या झन् बढ्न थालेको विचार व्यक्त गरिएको छ।
यस सन्दर्भमा डा. ड्यानियल गोलम्यानले यस्तो उल्लेख गरे: “समाजबाट अलग्गिनु वा आफ्नो व्यक्तिगत भावनाहरू बाँड्ने वा आत्मीय सम्बन्ध कायम राख्ने कोही छैन भन्ने धारणाले बिरामी वा मृत्युको सम्भावनालाई दुई गुणा बढाउँछ।” साइन्स नामक पत्रिकामा प्रकाशित एउटा रिपोर्टले ‘धूम्रपान, उच्च रक्तचाप, अत्यधिक कोलेस्ट्रोलको मात्रा, मोटोपन र शारीरिक व्यायामको कमीले हुने मृत्यु,’ समाजबाट अलग्गिंदा हुने ‘मृत्यु त्यत्तिकै उल्लेखनीय छ’ भन्ने निष्कर्ष निकाल्यो।
त्यसकारण विभिन्न कारणहरूले गर्दा हामीलाई साँच्चै अरूहरू चाहिन्छ। हामी एक्लै उभिन सक्दैनौं। त्यसोभए अरूबाट अलग्गिने समस्यालाई कसरी समाधान गर्न सकिन्छ? थुप्रैको जीवनलाई कुन कुराले साँचो अर्थ दिएको छ? यसपछिको लेखले यी प्रश्नहरूमा छलफल गर्नेछ।
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आफ्नो सम्पूर्ण कार्य र इच्छाहरू अन्य मानिसहरूको अस्तित्वसँग सम्बन्धित छ।”—अल्बर्ट आइनस्टाइन