प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ८/१५ पृ. २५-२८
  • के तपाईं व्यग्रतासाथ यहोवाको खोजी गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं व्यग्रतासाथ यहोवाको खोजी गर्दै हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई व्यग्रतासाथ खोज्ने व्यक्‍तिहरू
  • उहाँको इच्छाबमोजिम
  • तपाईं कतिको व्यग्र हुनुहुन्छ?
  • व्यग्र प्रयासहरू आशिषित्‌ भए
  • जोडतोडले यहोवाको आशिष्‌ खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • लगनशील प्रयत्न यसमा यहोवाले कहिले आशिष्‌ दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • लगनशीलताका इनामहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ८/१५ पृ. २५-२८

के तपाईं व्यग्रतासाथ यहोवाको खोजी गर्दै हुनुहुन्छ?

एक जना मसीही पुरुष रेलका अन्य यात्रुहरूसित बाइबलबाट सुसमाचार बाँड्‌न उत्सुक थिए। (मर्कूस १३:१०) तथापि, तिनलाई डरले छोप्यो। के तिनले हार माने? अहँ मानेनन्‌, तिनले यसबारे व्यग्र प्रार्थना गरे र कसरी वार्तालाप सुरु गर्न सकिन्छ भन्‍ने कुरा जान्‍न प्रयास गरिरहे। यहोवा परमेश्‍वरले यस व्यक्‍तिले गरेको आग्रहको जवाफ दिनुभयो र तिनलाई साक्षी दिने बल दिनुभयो।

यहोवा र उहाँको आशिष्‌ खोज्दा हामी त्यस्तै किसिमले व्यग्रतासाथ लागिरहनुपर्छ। प्रेरित पावलले यसो भने: “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई [व्यग्रतासाथ] खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) यहोवालाई खोज्नु मात्र पर्याप्त छैन। “व्यग्रतासाथ खोज्ने” भनी अनुवाद गरिएको युनानी क्रियापदले प्रगाढ अनि तल्लीन भई गरेको प्रयासलाई जनाउँछ। यसमा कुनै पनि व्यक्‍तिको पूरा तन, मन, मस्तिष्क, र शक्‍ति समावेश छ। हामीले यहोवालाई व्यग्रतासाथ खोजिरह्‍यौं भने कुनै प्रतिक्रिया नजनाउने, अग्रसर नहुने अर्थात्‌ भावशून्य ढंगमा व्यवहार गर्ने हुनेछैनौं। बरु, हामी उहाँलाई प्राप्त गर्न साँचो जोस देखाउनेछौं।—प्रेरित १५:१७.

यहोवालाई व्यग्रतासाथ खोज्ने व्यक्‍तिहरू

धर्मशास्त्रमा, यहोवालाई खोज्न कठोर परिश्रम गरेकाहरूको असंख्य उदाहरण छन्‌। त्यस्ता व्यक्‍तिहरूमध्ये एक याकूब हुन्‌ जसले भौतिक शरीर धारण गरेका परमेश्‍वरका स्वर्गदूतसित झिसमिसे उज्यालो नहोउन्जेल जोडतोडका साथ कुस्ती लडे। परिणामस्वरूप, याकूबलाई इस्राएल (परमेश्‍वरसित लड्‌ने) नाउँ दिइयो किनभने तिनले परमेश्‍वरसित ‘लडन्त गरे’ अर्थात्‌ ‘स्थिर रहे,’ ‘आफ्नो बल प्रयोग गरे’ अनि ‘अडिग रहे।’ तिनको व्यग्र प्रयत्नको लागि ती स्वर्गदूतले तिनलाई आशिष्‌ दिए।—उत्पत्ति ३२:२४-३०.

त्यस्तै गरी नाउँ उल्लेख नगरिएकी एउटी गालीली स्त्री पनि छिन्‌ जसले १२ वर्षदेखि रगत बग्ने “बेथा” भोगिरहेकी थिइन्‌। यस्तो अवस्थामा तिनले अरू मानिसहरूलाई छुनु हुँदैनथ्यो। तैपनि तिनले येशूलाई भेट्‌न साहस बटुलिन्‌। तिनी यसो भन्दै रहिन्‌: “मैले उहाँको पोशाक मात्र छोएँ भने पनि म निको हुनेछु।” ‘[येशूको] पछि लागेर घच्चाघच्ची गरिरहेको ठूलो भीड’ माझ पस्न तिनले कस्तो संघर्ष गर्नुपऱ्‍यो होला विचार गर्नुहोस्‌। येशूको लुगा छुने बित्तिकै तिनले आफ्नो “रगत बग्ने बन्द” भएको महसुस गरिन्‌—तिनको जीर्ण रोग त निको भयो! येशूले “कसले मेरा लुगा छोयो, हँ?” भन्‍ने प्रश्‍न गर्नुहुँदा तिनी डराइन्‌। तर येशूले तिनलाई मायालु ढंगमा भन्‍नुभयो: “ए छोरी तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ, तिम्रो रोग निको भइजाओस्‌।” तिनको प्रयत्न आशिषित्‌ भयो।—मर्कूस ५:२४-३४; लेवी १५:२५-२७.

अझ अर्को एउटा परिस्थितिमा फोनिसियाली आइमाईले आएर येशूसित आफ्नो छोरीलाई निको पारिदिन व्यग्रतासाथ बिन्ती गरिन्‌। येशूले बालकहरूको खाना कुकुरहरूलाई दिनु उचित हुँदैन भन्‍ने जवाफ दिनुभयो। उहाँले अनुग्रहका योग्य यहूदीहरूलाई छोडेर गैर-इस्राएलीहरूलाई हेरचाह गर्न सक्दिनँ भन्दै हुनुहुन्थ्यो। उहाँको उखानको अर्थ बुझे तापनि ती स्त्रीले यसो भन्दै बिन्ती गरिन्‌: “हो प्रभु, तर कुकुरले पनि ता आफ्ना मालिकको टेबलबाट झरेको टुक्रा खान्छ।” तिनको बलियो विश्‍वास र निष्कपटताबाट प्रभावित भएर येशूले भन्‍नुभयो: “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। जे तिमी इच्छा गर्दछ्‌यौ, तिमीलाई सो पुगोस्‌।”—मत्ती १५:२२-२८.

यी व्यक्‍तिहरू आफ्नो प्रयत्नमा लागि नरहेका भए के हुने थियो? तिनीहरूले सुरुमा अवरोध वा तिरस्कारको सामना गर्नुपर्दा हार मानेका भए के तिनीहरूले ती आशिष्‌हरू पाउने थिए र? पटक्कै पाउने थिएनन्‌! यी उदाहरणहरूले येशूले सिकाउनुभएको कुरा, विशेष गरी यहोवाको खोजी गर्न “खुरन्धार” भई लागिरहनु उचित अनि अत्यावश्‍यक पनि छ भन्‍ने कुरालाई प्रस्ट पार्छ।—लूका ११:५-१३.

उहाँको इच्छाबमोजिम

चमत्कारी ढंगमा निको भएका माथि उल्लिखित विवरणहरूमा निको हुनको लागि के व्यग्रता मात्र एउटा आवश्‍यकता थियो? थिएन, तिनीहरूको आग्रह परमेश्‍वरको इच्छाबमोजिम हुनुपर्ने थियो। येशूलाई परमेश्‍वरको पुत्र र प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्‍ने कुराको उल्लेखनीय प्रमाण प्रस्तुत गर्न चमत्कार गर्ने शक्‍ति दिइएको थियो। (यूहन्‍ना ६:१४; ९:३३; प्रेरित २:२२) त्यसबाहेक, येशूले गर्नुभएका चमत्कारहरूले ख्रीष्टको सहस्र वर्षीय शासनको दौडान मानवजातिमाथि यहोवाले वर्षाउनुहुने असीम पार्थिव आशिष्‌हरूको पूर्वझलक दियो।—प्रकाश २१:४; २२:२.

साँचो धर्म अँगालेकाहरूसित निको पार्ने तथा विभिन्‍न भाषा बोल्नेजस्ता चमत्कारी शक्‍तिहरू होस्‌ भन्‍ने इच्छा अब परमेश्‍वर गर्नुहुन्‍न। (१ कोरिन्थी १३:८, १३) वर्तमान समयमा “सबै मानिसहरू . . . सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने हेतुले सारा संसारमा राज्यको सुसमाचार सुनाइयोस्‌ भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ। (१ तिमोथी २:४; मत्ती २४:१४; २८:१९, २०) परमेश्‍वरका सेवकहरूले उहाँको इच्छासित मिल्दोजुल्दो किसिमले निष्कपटतासाथ प्रयास गरेको खण्डमा आफ्नो व्यग्र प्रार्थनाको सकारात्मक जवाफ पाउने आशा गर्नु गलत हुँदैन।

कसै-कसैले सोध्लान्‌, ‘परमेश्‍वरको उद्देश्‍य पूरा हुन्छ नै भने हामीले किन मरिमेट्‌नु पर्छ र?’ हो, मानव प्रयासहरू नभए तापनि यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुनेछ तैपनि उहाँ आफ्नो इच्छा पूरा गर्नमा व्यक्‍तिविशेषहरू सम्मिलित हुँदा प्रसन्‍न हुनुहुन्छ। यहोवालाई एउटा भवन निर्माण गर्ने मानिससित दाँज्न सकिन्छ। भवन निर्मातासित आफ्नो योजनासँग सम्बन्धित सम्पूर्ण नक्सा हुन्छ तर तिनले स्थानीय तवरमा उपलब्ध भवन निर्माण सामग्रीहरू छनौट गर्छन्‌। त्यस्तै गरी, यहोवाले पनि आज पूरा गर्नुपर्ने एउटा योजना छ र स्वच्छतासाथ अग्रसर हुने आफ्ना सेवकहरूलाई चलाउन पाउँदा उहाँ खुसी हुनुहुन्छ।—भजन ११०:३; १ कोरिन्थी ९:१६, १७.

टोशियो नाउँ गरेको एक जना जवानको अनुभवलाई विचार गर्नुहोस्‌। उच्च माध्यमिक विद्यालयमा भर्ना भइसकेपछि तिनी आफ्नो विशेष क्षेत्रमा धेरै भन्दा धेरै साक्षी दिन चाहन्थे। तिनीसित सधैंजसो बाइबल हुन्थ्यो र एक जना उदाहरणीय मसीही हुन तिनले यथासम्भव प्रयास गरे। स्कूलको पहिलो वर्षको अन्तमा तिनले कक्षामा वक्‍तव्य दिने मौका पाए। टोशियोले मदतको लागि यहोवालाई प्रार्थना गरे र “अग्रगामीलाई आफ्नो पेसा बनाउने मेरो लक्ष्य” भन्‍ने विषयको भाषण दिंदा कक्षामा सबैले एकदम ध्यान दिएर सुनेको देख्दा खुसी भए। तिनले आफू यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक हुन चाहेको कुरा वर्णन गरे। एक जना विद्यार्थी तिनीसित बाइबल अध्ययन गर्न राजी भए र बप्तिस्मा लिने हदसम्मै उन्‍नति गरे। टोशियोले प्रार्थना अनुरूप व्यग्रतासाथ प्रयास गर्दा प्रशस्त इनाम पाए।

तपाईं कतिको व्यग्र हुनुहुन्छ?

तपाईं यहोवा र उहाँका आशिष्‌हरूलाई व्यग्रतासाथ खोजिरहनुभएको छ भन्‍ने कुरा विभिन्‍न तरिकामार्फत देखाउन सक्नुहुन्छ। सर्वप्रथम, तपाईंले गर्न सक्ने केही आधारभूत कुराहरू छन्‌, जस्तै मसीही सभाहरूको लागि राम्ररी तयारी गर्ने। तपाईंले यहोवालाई जुन तीव्रतासाथ खोजिरहनुभएको छ त्यसलाई राम्ररी तयारी गरिएका टिप्पणीहरू, प्रेरणादायी भाषणहरू अनि प्रभावकारी प्रदर्शनहरूले प्रकट गर्नेछ। आफ्नो सेवकाईको गुणस्तरलाई बढाएर पनि तपाईंले आफ्नो व्यग्रता प्रदर्शित गर्न सक्नुहुन्छ। घरधनीहरूसित कुरा गर्दा मित्रैलो हुने कोसिस गर्नु र आफ्नो क्षेत्रमा सुहाउने खालका प्रभावकारी परिचयहरू चलाउने प्रयास गर्दा कस्तो होला? (कलस्सी ३:२३) पूरा मन लगाएर अग्रसर हुँदा एक जना मसीही पुरुष सेवकाई सेवक वा प्राचीनको हैसियतमा सेवा गर्ने मण्डलीका जिम्मेवारीहरू स्वीकार्न सक्षम हुन्छन्‌। (१ तिमोथी ३:१, २, १२, १३) आफै अग्रसर हुँदा, तपाईंले दिंदा प्राप्त हुने आनन्दमा भाग लिन सक्नुहुन्छ। तपाईं शाखा कार्यालयको निर्माण योजनाहरूमा सेवा गर्न वा यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्न आवेदन दिन सक्नुहुन्छ। तपाईं योग्य अविवाहित पुरुष हुनुहुन्छ भने आध्यात्मिक पुरुषहरूलाई असल गोठालो हुन सुसज्जित बनाउने मिनिस्टेरियल ट्रेनिङ स्कूलमा जान चाहनुहोला। विवाहित हुनुहुन्छ भनेचाहिं तपाईंले यहोवाको सेवा अझ बढी गर्ने आफ्नो व्यग्र चाहना प्रकट गर्ने तरिकाहरूमध्ये एउटा मिसनरी सेवामा लाग्नु पनि हुन सक्छ। राज्य प्रचारकहरूको आवश्‍यकता जहाँ बढी छ त्यहाँ बसाइँ सर्नु पनि तपाईंको लागि ठूलो सम्भाव्यता हुन सक्छ।—१ कोरिन्थी १६:९.

तपाईंले कुन मनोभावसाथ आफ्नो जिम्मेवारीलाई पूरा गर्नुहुन्छ त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईंलाई जुनसुकै जिम्मेवारी दिइए तापनि त्यसमा व्यग्रता भई, जोडतोड अनि “शुद्ध हृदय[का]” साथ लाग्नुहोस्‌। (प्रेरित २:४६; रोमी १२:८) हरेक जिम्मेवारीलाई तपाईंले यहोवामा प्रशंसाको लागि गर्नुहुने व्यग्र प्रयास जाहेर गर्ने मौकाको रूपमा लिनुपर्छ। यहोवाको मदतको लागि निरन्तर प्रार्थना गर्नुहोस्‌ र यथासक्दो गर्नुहोस्‌। यसरी तपाईंले प्रशस्त आशिष्‌ पाउनुहुनेछ।

व्यग्र प्रयासहरू आशिषित्‌ भए

के तपाईं अन्य यात्रुहरूलाई प्रचार गर्न आफ्नो डर हटाइदिनुहोस्‌ भनी प्रार्थना गर्ने ती मसीही पुरुषलाई सम्झनुहुन्छ? यहोवाले तिनको निष्कपट चासोलाई आशिष्‌ दिनुभयो। ती भाइले हँसिलो भई कुराकानी थाल्ने र वार्तालाप थाल्न आवश्‍यक पर्ने केही विषयहरू छान्‍न प्रयास गरे। मानव सम्बन्धहरूमा सिर्जना भएको तनावप्रति चिन्तित एक जना व्यक्‍तिलाई साक्षी दिन तिनले बाइबललाई प्रभावकारी ढंगमा चलाउन सके। रेलमै केही पुनःभेटपछि गृह बाइबल अध्ययन सुरु भयो। तिनको व्यग्र प्रयासलाई यहोवाले पक्कै पनि आशिष्‌ दिनुभयो!

तपाईंले यहोवालाई व्यग्रतासाथ खोजिरहनुभयो भने त्यस्तै आशिष्‌हरू पाउन सक्नुहुनेछ। तपाईं विनम्र भई लागिरहनुभयो र आफ्नो पूरा मन आफू सामेल भएको ईश्‍वरतान्त्रिक गतिविधिमा लगाउनुभयो भने यहोवाले तपाईंलाई आफ्नो उद्देश्‍यअनुरूप चलाउनुहुनेछ र थुप्रै आशिष्‌हरू वर्षाउनुहुनेछ।

[पृष्ठ २६-मा भएको चित्र]

निरन्तर नलागेकी भए यी स्त्रीलाई के हुने थियो?

[पृष्ठ २७-मा भएको चित्र]

के तपाईं यहोवाबाट आशिष्‌ निरन्तर मागिरहनुहुन्छ?

[पृष्ठ २८-मा भएका चित्रहरू]

तपाईंले यहोवालाई व्यग्रतासाथ खोजिरहनुभएको छ भनी कसरी देखाउन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने