प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ९/१ पृ. ४-७
  • एउटै साँचो मसीही धर्म एउटा वास्तविकता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटै साँचो मसीही धर्म एउटा वास्तविकता
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा एकिकृत मण्डली
  • “गहुँ” र “सामा”
  • मसीही मण्डली भ्रष्ट भयो
  • “सर्वनाशको सन्तान प्रकट” हुन्छ
  • गहुँ र सामाको दृष्टान्त
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • राज्यसम्बन्धी उदाहरणहरू
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ९/१ पृ. ४-७

एउटै साँचो मसीही धर्म एउटा वास्तविकता

येशू ख्रीष्टले एउटै मात्र चर्च अर्थात्‌ मण्डली स्थापना गर्नुभयो। त्यो मण्डली एउटा आध्यात्मिक शरीर अर्थात्‌ आध्यात्मिक परिवार थियो। यसबाट हामी बुझ्न सक्छौं त्यो परमेश्‍वरको पवित्र आत्माद्वारा छानिएका मानिसहरू अर्थात्‌ परमेश्‍वरका आफ्नै “सन्तान” भनी चिनिएका मानिसहरूको एउटा समूह थियो।—रोमी ८:१६, १७; गलाती ३:२६.

परमेश्‍वरले मानिसहरूलाई सत्य र जीवनतर्फ डोऱ्‍याउन एउटै मात्र बाटोको प्रयोग गर्नुभयो भनी येशूले सिकाउनुभयो। यस गहन सत्यलाई स्पष्ट पार्न येशूले अनन्त जीवनतर्फ लैजाने बाटोलाई ढोकासित तुलना गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्‌। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्‍याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्‌।”—मत्ती ७:१३, १४; यूहन्‍ना १४:६; प्रेरित ४:११, १२.

एउटा एकिकृत मण्डली

हामीले प्रथम शताब्दीको मण्डलीलाई “वर्तमान समयको क्याथोलिक चर्चजस्तै एउटा विश्‍वव्यापी, सर्वव्यापी अनि व्यवस्थित समाजको” रूपमा सोच्नु हुँदैन, भनी द न्यु डिक्सनरी अफ थियोलोजी भन्छ। किन? यसले भन्छ: “किनभने त्यसबेला कुनै त्यस्तो व्यवस्थित, सर्वव्यापी समाजको स्थापना भएकै थिएन।”

कसैले पनि प्रारम्भिक मसीही मण्डली आज हामीले देख्ने संस्थागत चर्च प्रणालीहरूसित पटक्कै मेल खाँदैन भन्‍ने तथ्यलाई नकार्न सक्दैन। तर प्रथम शताब्दीका ती मण्डलीहरू व्यवस्थित थिए। प्रत्येक मण्डली स्वतन्त्र रूपमा एक अर्कोभन्दा भिन्‍न किसिमले सञ्चालन हुँदैनथ्यो। तिनीहरू सबैले यरूशलेममा रहेका परिचालक निकायको अख्तियारलाई मान्यता दिन्थे। यरूशलेममा रहेका मण्डलीका धर्मगुरु अनि प्रेरितहरू मिलेर बनेको त्यस निकायले ख्रीष्टको “एउटै शरीर[को]” रूपमा मण्डलीको एकतालाई कायम राख्न मदत गर्थ्यो।—एफिसी ४:४, ११-१६; प्रेरित १५:२२-३१; १६:४, ५.

त्यसोभए त्यो एक मात्र साँचो मण्डलीलाई के भयो त? के त्यो विशाल क्याथोलिक चर्चमा परिणत भयो? के त्यो आज हामीले देख्ने विभिन्‍न धार्मिक गुटहरूमा विभाजित प्रोटेस्टेन्ट चर्च प्रणालीको रूपमा विस्तार भयो? अथवा अरू नै केही भयो?

“गहुँ” र “सामा”

प्रश्‍नको उत्तर पाउन, येशू ख्रीष्ट स्वयम्‌ले भविष्यमा हुने कुराबारे के भन्‍नुभयो, होसियारी साथ जाँचौं। येशूले आफ्नो मण्डली ओझेलमा पर्ने अपेक्षा गर्नुभयो अनि उहाँले यस्तो निराशाजनक परिस्थितिलाई शताब्दीयौंसम्म रहने अनुमति दिनुहुने थियो भन्‍ने कुरा थाह पाउँदा सायद तपाईं छक्क पर्नुहोला।

आफ्नो मण्डलीलाई “स्वर्गको राज्य[सित]” जोड्‌दै उहाँले यसो भन्‍नुभयो: “स्वर्गको राज्य एउटा मानिस जस्तो हो। जसले आफ्नो खेतमा असल बिउ छऱ्‍यो। तर मानिसहरू सुतेका बेलामा उसको शत्रु आयो, र गहुँका बीच बीचमा सामा छरेर गयो। तर जब बोट निस्केर फल फल्यो, त्यसबेला सामा पनि देखा पऱ्‍यो। औ घरका मालिकका चाकरहरूले आई उसलाई भने, ‘हजूर, के तपाईंले आफ्नो खेतमा असल बिउ छर्नुभएको होइन? त त्यहाँ सामा कहाँबाट आयो?’ अनि उसले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ औ चाकरहरूले उसलाई भने, ‘त के हामी गएर ती बटुलौं भन्‍ने तपाईंको इच्छा छ?’ तर उसले भन्यो, ‘अहँ, नत्रता तिमीहरूले सामा बटुल्दा गहुँ समेत उखेल्छौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ़न देओ। र फसलको बेलामा म खेतालाहरूलाई भन्‍नेछु, पहिले सामा बटुलेर जलाउनालाई बिटा बिटा बाँध, तर गहुँ चाहिं मेरो धनसारमा हाल।’ ”—मत्ती १३:२४-३०.

येशूले आफूलाई “बिउ छर्ने व्यक्‍ति” भन्‍नुभयो। “असल बिउ[ले]” उहाँका साँचो चेलाहरूलाई चित्रण गर्छ। उहाँको “शत्रु” शैतान अर्थात्‌ दियाबल थियो। “सामा” नक्कली मसीहीहरू थिए जो प्रारम्भिक मसीही मण्डलीभित्र बिस्तारै घुसे। उहाँले “गहुँ” र “सामा[लाई]” “फसलको समय[सम्म]” सँगसँगै बढ्‌न दिनुहुनेछ भनी भन्‍नुभयो र त्यो समय “जगत्‌को अन्तमा” आउने थियो। (मत्ती १३:३७-४३) यो सबैको वास्तविक अर्थ के हो?

मसीही मण्डली भ्रष्ट भयो

प्रेरितहरूको मृत्युलगत्तै मण्डली भित्रकै धर्मत्यागी शिक्षकहरूले मण्डलीलाई आफ्नो नियन्त्रणमा लिन थाले। तिनीहरूले “बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि” लगे। (प्रेरित २०:२९, ३०) फलतः धेरै मसीहीहरू “विश्‍वासबाट पतित” भए। तिनीहरूले ‘दन्त्यकथाहरूतिर कान फर्काए।’—१ तिमोथी ४:१-३; २ तिमोथी ४:३, ४.

द न्यु डिक्सनरी अफ थियोलोजी भन्छ, सा.यु. चौथो शताब्दीसम्ममा त “क्याथोलिक मसीही धर्म रोमी साम्राज्यकै आधिकारिक धर्म बन्‍न पुग्यो।” “चर्च र नागरिक समाजबीच गठबन्धन थियो” र यसरी चर्च र राज्यलाई एकै ठाउँमा गाभ्नु प्रारम्भिक मसीहीहरूको पूर्णतया विश्‍वास विपरीत थियो। (यूहन्‍ना १७:१६; याकूब ४:४) सोही स्रोत यसो भन्छ, समयमा “जिज्ञासु अनि पुरानो नियम तथा नवप्लातोवादी नमुनाको अत्यन्तै अस्वास्थ्यकर संयोजनको प्रभावमा परी” चर्चको सम्पूर्ण संरचना अनि प्रकृति र यसका आधारभूत शिक्षाहरूमा पूरै परिवर्तन गरियो। येशू ख्रीष्टले भविष्यवाणी गर्नु भएझैं नक्कली मसीहीहरू मौलाउँदा उहाँका साँचो चेलाहरू ओझेलमा परे।

सक्कली गहुँबाट सामा छुट्याउन कत्तिको गाह्रो थियो भनेर येशूका श्रोताहरूलाई राम्ररी थाह थियो, जस्तै विषालु झाङे डर्नल अर्थात्‌ सामा जुन सप्रने मौसममा गहुँजस्तै देखिन्छ। त्यसैले येशूले केही समयको लागि साँचो मसीहीहरूलाई विभिन्‍न नक्कली गुटका मसीहीहरूबाट छुट्याउन गाह्रो हुनेछ भनेर यो उदाहरणबाट बताउँदै हुनुहुन्थ्यो। तर यसको मतलब यो होइन कि मसीही मण्डलीको अस्तित्व नै मेटियो। किनकि येशूले आफ्ना आध्यात्मिक भाइहरूलाई “जगत्‌को अन्तसम्म” मार्गनिर्देशन प्रदान गरिरहने प्रतिज्ञा गर्नुभयो। (मत्ती २८:२०) येशूले गहुँ सप्रिरहने छ भनेर भन्‍नुभयो। तैपनि, युगौंको दौडान साँचो मसीहीहरूले व्यक्‍तिगत रूपमा होस्‌ या सामूहिक रूपमा, ख्रीष्टका शिक्षाहरू अनुरूप चल्न यथासक्दो गरे भन्‍ने कुरामा कुनै शंका छैन। तर तिनीहरू स्पष्ट रूपले चिनिने, दृश्‍य निकाय अथवा संगठनको रूपमा रहेनन्‌। निस्सन्देह, तिनीहरू देखिने धर्मत्यागी धार्मिक प्रणालीजस्ता थिएनन्‌ जसले इतिहासभरि येशू ख्रीष्टको नाउँमा केवल अपमान र अनादर सिवाय अरू केही ल्याएन।—२ पत्रुस २:१, २.

“सर्वनाशको सन्तान प्रकट” हुन्छ

प्रेरित पावलले यस नक्कली धार्मिक प्रणालीलाई चिनाउने अर्को एउटा भविष्यवाणी पनि गरे। उनले यस्तो लेखे: “कुनै मानिसले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्‌, किनभने पहिले धर्मत्याग नभईकन, र पापको मानिस, अर्थात्‌ सर्वनाशको सन्तान प्रकट नहोउञ्जेल [यहोवाको दिन]” आउने छैन। (२ थिस्सलोनिकी २:२-४) यो “पापको मानिस” अरू कोही नभएर त्यही पादरीवर्ग हो जसले “मसीही” मण्डलीमा अख्तियारप्राप्त स्थानहरू ओगटेर आफैलाई उच्च पाऱ्‍यो।a

प्रेरित पावलको समयदेखि नै धर्मत्याग सुरु भयो। प्रेरितहरूको मृत्यु अनि तिनीहरूको नियन्त्रित प्रभावको अन्त्य भएपछि धर्मत्याग झन्‌ द्रुत गतिमा बढ्‌न थाल्यो। यो धर्मत्याग “शैतानको कामबमोजिम, सबै शक्‍ति, झूटा चिह्नहरू, र आश्‍चर्यकामहरू[बाट]” स्पष्ट रूपले चिनिनेछन्‌ भनी पावलले भने। (२ थिस्सलोनिकी २:६-१२) इतिहासभरिका धार्मिक नेताहरूका कर्तुतहरूलाई उदांग पार्ने कस्तो सुस्पष्ट व्याख्या!

रोमन क्याथोलिक चर्च मात्रै साँचो चर्च हो भन्‍ने आफ्नो दाबीको पक्षमा तिनीहरूले, आफ्ना विशपहरूले “ख्रीष्टका प्रारम्भिक प्रेरितहरूबाट उत्तराधिकार पाएका छन्‌ र यो प्रथा मसीही धर्मको सुरुदेखि चल्दै आएको हो” भनी भन्छन्‌। साँच्चै भन्‍ने हो भने, प्रेरितहरूबाट उत्तराधिकार पाएको यो दाबीको पछाडि कुनै ऐतिहासिक र धर्मशास्त्रीय आधार छैन। येशूका प्रेरितहरूको मृत्युपश्‍चात्‌ उदय भएको चर्च प्रणालीहरू कहिल्यै परमेश्‍वरको पवित्र आत्माद्वारा निर्देशित थियो भन्‍ने कुराको कुनै विश्‍वसनीय आधार छैन।—रोमी ८:९; गलाती ५:१९-२१.

अनि कथित धर्म सुधारपश्‍चात्‌ उदय भएका अन्य चर्चहरूबारे के भन्‍न सकिन्छ? के ती चर्चहरूले प्रारम्भिक मसीही मण्डलीका नमुनालाई पछ्याए? के तिनीहरूले मूल मसीही मण्डलीको शुद्धतालाई पुनर्स्थापित गरे? हो, धर्म सुधारपछि धेरै सर्वसाधारण मानिसहरूको मातृभाषामा बाइबल उपलब्ध भयो। यद्यपि, इतिहासले देखाउँछ, कि यी चर्चहरूले गलत धार्मिक सिद्धान्तहरू सिकाउन छाडेनन्‌।b—मत्ती १५:७-९.

यद्यपि, यो कुरालाई पनि ध्यान दिनुहोस्‌। जगत्‌को अन्तमा उहाँको एक साँचो मण्डली पुनर्स्थापना हुनेछ भनी येशूले किटानका साथ भविष्यवाणी गर्नुभयो। (मत्ती १३:३०, ३९) बाइबल भविष्यवाणीहरूको पूर्तिले देखाएअनुसार अहिले हामी त्यो समयमा बाँचिरहेका छौं। (मत्ती २४:३-३५) यो कुरा साँचो भएकोले हामी प्रत्येकले आफैले आफैलाई यो प्रश्‍न सोध्नु आवश्‍यक छ, ‘त्यो एक मात्र साँचो चर्च कहाँ छ?’ यो साँचो चर्च पहिलेभन्दा अहिले झन्‌ स्पष्ट रूपमा चिनिनु पर्ने हो।

सायद तपाईंलाई आफूले त्यो चर्च अथवा मण्डली भेट्‌टाइसकेको छु जस्तो लाग्छ होला। तर तपाईंले पक्का गर्नु महत्त्वपूर्ण छ। किन? किनकि प्रथम शताब्दीमा जस्तै साँचो चर्च एउटै मात्र हुन सक्छ। आफ्नो चर्चले प्रथम शताब्दीका मसीही मण्डलीले बसालेका नमुनालाई पछ्याइरहेको छ कि छैन अनि यसले येशू ख्रीष्टको शिक्षालाई वफादारीपूर्वक पछ्याइरहेको छ कि छैन भनेर यकीन गर्न के तपाईंले समय निकाल्नुभएको छ? त्यसो भए किन आजै नजाँच्ने? यहोवाका साक्षीहरू यसो गर्न तपाईंलाई मदत दिन खुसी हुनेछन्‌।—प्रेरित १७:११.

[फुटनोटहरू]

a “पापको मानिस[बारे]” थप जानकारी द वाचटावर, फेब्रुअरी १, १९९०, पृष्ठ १०-१४ मा पाउन सकिन्छ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित म्यानकाइन्डस्‌ सर्च फर गड पुस्तकमा “धर्म सुधार—एउटा खोज जसले नयाँ मोड लियो” शीर्षकको अध्याय हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएका चित्रहरू]

साँचो मण्डलीबारे येशूको गहुँ र सामाको उदाहरणले हामीलाई के सिकाउँछ?

[पृष्ठ ७५-मा भएका चित्रहरू]

के तपाईंको चर्चले प्रचार गर्ने अनि अध्ययन गर्ने सन्दर्भमा प्रथम शताब्दीका मसीहीहरूले बसालेको नमुनालाई प्रतिबिम्बित गर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने