प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१५ पृ. ८-९
  • थुप्रैले यहोवाको उपासना गर्न थालेका छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • थुप्रैले यहोवाको उपासना गर्न थालेका छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • निष्कपट हृदय भएका मानिसहरू आकर्षित हुन्छन्‌
  • के तपाईंले पनि भाग लिइरहनुभएको छ?
  • सबैले यहोवाको महिमा गरून्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको नजिक हुन मानिसहरूलाई मदत गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाको भवनको अझ ठूलो महिमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो?
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१५ पृ. ८-९

“मलाई गुहार यहोवा बाट नै आउँछ”

थुप्रैले यहोवाको उपासना गर्न थालेका छन्‌

सबै राष्ट्रका मानिसहरू यहोवाको उच्च पारिएको उपासना गर्न ओइरिनेछन्‌ भनी हाम्रो समयलाई देखाउँदै बाइबलमा भविष्यवाणी गरिएको थियो। उदाहरणका लागि, अगमवक्‍ता हाग्गैमार्फत यहोवा परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।” (हाग्गै २:७) हाम्रो समय अर्थात्‌ “पछिल्ला दिनमा” विभिन्‍न राष्ट्र तथा मानिसहरूले यहोवालाई ग्रहणयोग्य तरिकामा उपासना गर्नेछन्‌ भनी यशैया र मीका दुवैले भविष्यवाणी गरे।—यशैया २:२-४; मीका ४:१-४.

के ती भविष्यवाणीहरू आज साँच्चै पूरा भइरहेका छन्‌? हामी तथ्यहरू केलाऔं। विगत दस वर्षभित्रमा २३० भन्दा धेरै मुलुकमा ३१,१०,००० भन्दा धेरै नयाँ व्यक्‍तिहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन्‌। साँच्चै भन्‍ने हो भने, अहिले यहोवाको सेवा गरिरहेका प्रत्येक १० जना साक्षीमध्ये ६ जनाले गत दशकमा बप्तिस्मा लिएका हुन्‌। सन्‌ २००४ मा सरदर हिसाब गर्दा मसीही मण्डलीमा प्रत्येक दुई मिनेटमा यहोवाको एक जना नयाँ समर्पित सेवक थपिएको थियो!a

प्रथम शताब्दीमा जस्तै आज पनि ‘विश्‍वास गर्नेहरू धेरै जना प्रभुतिर फर्केका छन्‌।’ संख्यामा भएको वृद्धि नै परमेश्‍वरको आशिष्‌को प्रमाण नभए तापनि यहोवाको “बाहुली” उहाँका जनहरूमाथि छ भनी यसले प्रमाण दिन्छ। (प्रेरित ११:२१) लाखौं मानिसहरू यहोवाको उपासनातिर आकर्षित हुनुको कारण के हो? यस्तो प्रगतिले व्यक्‍तिगत तवरमा तपाईंलाई कसरी असर गरेको छ?

निष्कपट हृदय भएका मानिसहरू आकर्षित हुन्छन्‌

येशूले सुस्पष्ट ढङ्‌गमा यसो भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) यसकारण, “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू[लाई]” खिच्ने काम यहोवाको नै हो। (प्रेरित १३:४८) परमेश्‍वरको आत्माले मानिसहरूलाई तिनीहरूको आध्यात्मिक आवश्‍यकताप्रति सजग गराउन सक्छ। (मत्ती ५:३) मन अशान्त हुँदा, आशाको लागि भौंतारिंदा वा संकट पर्दा कसै-कसैले परमेश्‍वरको खोजी गर्न थाल्न सक्छन्‌ र मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे जान्‍न सक्छन्‌।—मर्कूस ७:२६-३०; लूका १९:२-१०.

आफूलाई अलमलमा पारिरहेका प्रश्‍नहरूको जवाफ मसीही मण्डलीमा हुने बाइबलसम्बन्धी शैक्षिक कार्यक्रमले दिने भएकोले थुप्रै व्यक्‍तिविशेषहरू यहोवाको उपासनातर्फ आकर्षित हुन्छन्‌।

“परमेश्‍वर हुनुहुन्छ भने, मानिसहरूले किन अहिलेसम्म दुःख भोग्नुपरेको?” लागू औषधको व्यापार गरिरहेका इटालीको डाभिडेलाई यो प्रश्‍नले पिरोलिरहेको थियो। उनलाई धार्मिक विषयहरूमा खासै चासो नभएकोले रिस उठाउने हेतुले मात्र यो गाह्रो प्रश्‍न सोधेका थिए। उनी भन्छन्‌, “व्यावहारिक र चित्तबुझ्दो जवाफ पाउँछु जस्तो मलाई लागेको थिएन। तर मसँग कुरा गर्ने साक्षी एकदमै धीरजी थिए र आफूले भनेका कुराहरू सबै बाइबलबाटै देखाए। यस कुराकानीले मलाई असाध्यै प्रभाव पाऱ्‍यो।” डाभिडेले आज आफ्नो गलत बाटो त्यागिसकेका छन्‌ र यहोवाको सेवा गर्छन्‌।

अरू कतिपय चाहिं जीवनको अर्थ र उद्देश्‍यको खोजीमा यहोवाको पार्थिव संगठनतर्फ आकर्षित हुन्छन्‌। आफ्नै भावनात्मक समस्याको उपचारको खोजीमा क्रोएसियाको जाग्रेबका एक जना मनोचिकित्सक आफ्नो साथीकहाँ गइन्‌ जो एक जना प्रख्यात चिकित्सक थिए। तिनलाई डाक्टरले जाग्रेबमा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयको ठेगानाका साथै तिनले चिनेको साक्षीको नाउँ दिंदा तिनी छक्क परिन्‌। डाक्टरले यसो भने: “हेर, मेरो विचारमा यी मानिसहरूले तिमीलाई मदत गर्न सक्छन्‌। मैले तिमीलाई चर्च जाऊ भनें भने त्यहाँ तिमीले निर्जीव मूर्तिहरू र अन्धकार मात्र पाउनेछ्यौ। मेरो विचारमा चर्चले तिमीलाई मदत गर्न सक्दैन। मैले मेरो अरू बिरामीहरूलाई पनि यहोवाका साक्षीहरूकहाँ पठाएको छु र तिमीलाई पनि त्यही बेस हुन्छ जस्तो लाग्छ।” खुसीसाथ साक्षीहरू तिनलाई भेट्‌न आए र चाँडै तिनीसित बाइबल अध्ययन सुरु गरियो। परमेश्‍वरको ज्ञान थाह पाउन थालेको केही हप्तामै आफूले जीवनमा उद्देश्‍य पाएको उक्‍त मनोचिकित्सकले बताइन्‌।—उपदेशक १२:१३.

व्यक्‍तिगत जीवनमा संकट आइपर्दा पनि थुप्रैले बाइबल सत्यबाट साँचो सान्त्वना पाएका छन्‌। ग्रीसमा एक जना सात वर्षको बच्चा स्कूलको कौसीबाट खसेर मऱ्‍यो। केही महिनापछि दुई जना साक्षीहरूले तिनको आमालाई भेटे र तिनलाई पुनरुत्थानको आशाबारे बताएर सान्त्वना दिने कोसिस गरे। (यूहन्‍ना ५:२८, २९) यसो भनेपछि ती स्त्री धुरुधुरु रोइन्‌। बहिनीहरूले यसो भने: “तपाईं बाइबलबारे अझ धेरै जान्‍न चाहनुहुन्छ भने हामी तपाईंको घरमा फेरि कहिले आउन सक्छौं होला?” तिनले यस्तो जवाफ दिइन्‌, “अहिले नै हिंड्‌नुहोस्‌।” त्यसपछि ती स्त्रीले तिनीहरूलाई आफ्नो घर लगिन्‌ र बाइबल अध्ययन सुरु भयो। अहिले तिनको सम्पूर्ण परिवारले यहोवाको सेवा गरिरहेको छ।

के तपाईंले पनि भाग लिइरहनुभएको छ?

आज विश्‍वभरि भइरहेका थुप्रै अनुभवहरूमध्ये यी त केही मात्र हुन्‌। यहोवाले विभिन्‍न राष्ट्रहरूबाट साँचो उपासकहरूको ठूलो भीड जम्मा गर्नुका साथै प्रशिक्षण पनि दिइरहनुभएको छ। यो अन्तरराष्ट्रिय समूहले यस दुष्ट रीतिरिवाजमाथि आउँदै गरेको विनाशबाट बचेर धार्मिक नयाँ संसारमा बाँच्ने आशा राख्न सक्छ।—२ पत्रुस ३:१३.

यहोवाको आशिष्‌को कारण पहिला कहिल्यै नभएको मानिसहरूलाई जम्मा गर्ने काम अन्तिम चरणमा पुग्न लागेको छ। (यशैया ५५:१०, ११; मत्ती २४:३, १४) के तपाईं जोसिलो भएर राज्य प्रचार गतिविधिमा भाग लिइरहनुभएको छ? भाग लिइरहनुभएको छ भने परमेश्‍वरको समर्थन पाउने कुरामा ढुक्क हुन सक्नुहुन्छ र भजनहारले जस्तै यसो भन्‍न सक्नुहुन्छ: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.

[फुटनोट]

a सन्‌ २००५ यहोवाका साक्षीहरूको क्यालेन्डर, सेप्टेम्बर/अक्टोबर हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।”—यूहन्‍ना ६:४४

[पृष्ठ ८-मा भएको पेटी]

यस वृद्धिको पछाडि को छ?

“परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌।”—भजन १२७:१.

“परमेश्‍वरले चाहिं बढाउनुभयो। यसकारण नता रोप्ने केही हो, न पानी हाल्ने, बढ़ाउने परमेश्‍वरनै हुनुहुन्छ।”—१ कोरिन्थी ३:६, ७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने