प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ११/१ पृ. १६-१९
  • आफ्नो जीवनशैलीद्वारा आफ्नो विश्‍वास देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो जीवनशैलीद्वारा आफ्नो विश्‍वास देखाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साना सामाजिक जमघटहरू
  • जमघट कस्तो हुनुपर्छ?
  • विवाह र विवाह भोज
  • “भोजका मुखिया”
  • विवाहमा दिने उपहारहरू
  • यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवाको आदर गर्ने विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ११/१ पृ. १६-१९

आफ्नो जीवनशैलीद्वारा आफ्नो विश्‍वास देखाउनुहोस्‌

“विश्‍वास पनि कामरहितको छ भनेता स्वयं मरेको तुल्य हुन्छ।”—याकूब २:१७.

१. प्रथम शताब्दीका मसीहीहरूले किन आफ्नो विश्‍वास र काम दुवैमा ध्यान दिए?

समग्रमा भन्‍नुपर्दा, प्रथम शताब्दीका मसीहीहरूले आफ्नो जीवनशैलीद्वारा आफ्नो विश्‍वासको प्रमाण दिए। चेला याकूबले सबै मसीहीहरूलाई यस्तो आग्रह गरे: “वचन पालन गर्ने होओ। . . . सुन्‍ने मात्र होइन।” तिनले अझै यसो भने: “जसरी शरीर आत्माविना मरेको हुन्छ, त्यस्तैगरी विश्‍वास पनि कामविना मरेको हुन्छ।” (याकूब १:२२; २:२६) यो कुरा लेखेको झन्डै ३५ वर्षपछि पनि थुप्रै मसीहीहरूले आफ्नो विश्‍वासअनुसार काम गरिरहेका थिए। तर दुःखको कुरा, कोही-कोहीले त्यसो गरिरहेका थिएनन्‌। येशूले स्मर्नाको मण्डलीको प्रशंसा गर्नुभयो तर सार्डिसको मण्डलीलाई यसो भन्‍नुभयो: “तिमी जीवित छौ भन्‍ने नाउँ ता छ, तर मरेका छौ।”—प्रकाश २:८-११; ३:१.

२. मसीहीहरूले आफ्नो विश्‍वासबारे कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

२ त्यसकारण, सार्डिसमा भएकाहरू र पछि उहाँका यी शब्दहरू पढ्‌ने सबैलाई, मसीही सच्चाइप्रति आफूले सुरुमा देखाएको प्रेम कायम राख्न र आध्यात्मिक तवरमा जागा रहन येशूले प्रोत्साहन दिनुभयो। (प्रकाश ३:२, ३) हामी प्रत्येकले आफूलाई यस्तो प्रश्‍न सोध्न सक्छौं: “मेरा कामहरूले चाहिं के देखाइरहेका छन्‌? प्रचारकार्य वा मण्डलीका सभाहरूसित सीधै सम्बन्धित नभएका क्षेत्रमा समेत आफ्नो विश्‍वासअनुसार काम गर्न मैले सक्दो गरिरहेको स्पष्टै देखिन्छ? (लूका १६:१०) जीवनमा आफ्नो विश्‍वास देखाउन सक्ने थुप्रै पक्षहरू छन्‌, तर यस लेखमा हामी एउटा पक्षमा मात्र ध्यान देऔं। त्यो हो, सामाजिक जमघट र यसमा मसीही विवाह भोज पनि पर्छ।

साना सामाजिक जमघटहरू

३. जमघट गर्नेबारे बाइबलको धारणा कस्तो छ?

३ आनन्दित मसीहीहरूले जमघटको लागि बोलाउँदा हामी धेरैजसोलाई खुसी लाग्छ। यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ र आफ्ना सेवकहरू पनि आनन्दित भएको चाहनुहुन्छ। (१ तिमोथी १:११, NW) यहोवाले सुलेमानलाई यो यथार्थ बाइबलमा लिपिबद्ध गर्न लगाउनुभयो: “सुख-चैन गर्नुनै म सल्लाह दिन्छु, किनभने यस संसारमा मानिसलाई खानु, पिउनु मोज-मजा गर्नु भन्दा अरू असल केही रहे न छ। . . . आफ्नो मेहनतको फल यही मात्र रहनेछ।” (उपदेशक ३:१, ४, १३; ८:१५) यस्तो रमाइलो, सपरिवार सँगै खाना खाएर वा साँचो उपासकहरूसँग सानोतिनो जमघट गरेर गर्न सकिन्छ।—अय्यूब १:४, ५, १८; लूका १०:३८-४२; १४:१२-१४.

४. जमघटको आयोजना गर्ने व्यक्‍तिले कुन कुरामा ध्यान दिनुपर्छ?

४ तपाईं त्यस्तो जमघटको आयोजना गर्दै हुनुहुन्छ र त्यसको लागि जिम्मेवार पनि हुनुहुन्छ भने के-कस्तो गर्ने भनी होसियारीसाथ योजना बनाउनुपर्छ, चाहे त्यो केही मसीही भाइबहिनीसित मित्रैलो कुराकानी गर्दै खाना खाने जमघट नै किन नहोस्‌। (रोमी १२:१३) तपाईं पक्कै पनि त्यस्तो जमघटमा ‘माथिबाट आउने ज्ञानअनुसार’ “सबै काम शिष्ट रुपले” भएको चाहनुहुन्छ होला। (१ कोरिन्थी १४:४०; याकूब ३:१७) प्रेरित पावलले यस्तो लेखे: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर। कसैलाई ठेस लाग्ने काम नगर।” (१ कोरिन्थी १०:३१, ३२, NRV) जमघट गर्दा विशेष ध्यान दिनुपर्ने केही क्षेत्रहरू के हुन्‌? ती क्षेत्रमा पहिल्यै विचार पुऱ्‍याउनुभयो भने तपाईं र तपाईंका पाहुनाहरूले जे गरे पनि आफ्नो धार्मिक विश्‍वासअनुसारै गर्नेछन्‌ भनी ढुक्क हुन सक्नुहुन्छ।—रोमी १२:२.

जमघट कस्तो हुनुपर्छ?

५. मद्य पेय पदार्थ राख्ने कि नराख्ने र गीत-संगीत बजाउने कि नबजाउने भनेर जमघट आयोजना गर्ने व्यक्‍तिले किन विशेष ध्यान दिनुपर्छ?

५ रक्सी, बियरजस्ता मद्य पेय पदार्थहरू राख्ने कि नराख्ने भन्‍ने सन्दर्भमा जमघट आयोजना गर्ने थुप्रै व्यक्‍तिहरू दोधारमा परेका छन्‌। जमघटलाई रमाइलो बनाउन मद्य पेय पदार्थ चाहिंदैन। येशूले केही रोटी र माछाले उहाँकहाँ आएको एउटा ठूलो भीडलाई अघाउञ्जेल खुवाउनुभएको घटनालाई सम्झनुहोस्‌ त! उक्‍त विवरणमा उहाँले चमत्कारपूर्ण ढंगमा दाखमद्यको प्रबन्ध गरिदिनुभयो भनी बताइएको छैन। हुन त उहाँले चाहनुभएको भए त्यसो गर्न सक्नुहुन्थ्यो भनी हामीलाई थाह छ। (मत्ती १४:१४-२१) तपाईंले जमघटमा मद्य पेय पदार्थ राख्ने निर्णय गर्नुभयो भने ठिक्क मात्रामा मात्र राख्नुहोस्‌। साथै, मद्य पेय पदार्थ नखानेहरूको लागि अन्य पेय पदार्थ राख्न पनि नबिर्सनुहोस्‌। (१ तिमोथी ३:२, ३, ८; ५:२३; १ पत्रुस ४:३) “साँपलेझैं डस्न” सक्ने मद्य पेय पदार्थ पिउन कसैलाई पनि कर नगर्नुहोस्‌। (हितोपदेश २३:२९-३२) गीत-संगीत नि? जमघटमा गीत-संगीत बजाउन चाहनुहुन्छ भने गीतको शब्द र धुन-तालमा तपाईंले पक्कै पनि ध्यान दिनुहुनेछ। (कलस्सी ३:८; याकूब १:२१) राज्य धुनहरू (किङडम मेलोडिज) बजाउँदा वा ती गीतहरू गाउँदा जमघटको वातावरण निकै रमाइलो भएको थुप्रै मसीहीहरूले अनुभव गरेका छन्‌। (एफिसी ५:१९, २०) अनि बेला-बेलामा, बजाइरहेको गीतको आवाजमा ध्यान दिन नबिर्सनुहोस्‌ ताकि यसले रमाइलो कुराकानीमा बाधा नपुऱ्‍याओस्‌ र छिमेकीहरूलाई पनि हल्लाखल्ला नहोस्‌।—मत्ती ७:१२.

६. जमघटमा हुने कुराकानीका विषय वा अन्य गतिविधिमा जमघट आयोजना गर्ने व्यक्‍तिले कसरी आफ्नो विश्‍वासअनुसार काम गरिरहेको देखाउन सक्छन्‌?

६ सामाजिक जमघटमा मसीहीहरूले विभिन्‍न विषयमा कुराकानी गर्न, केही विषयवस्तु पढेर सुनाउन वा कुनै चाखलाग्दो अनुभव बताउन सक्छन्‌। कुराकानी मसीही स्तरभन्दा बाहिर गयो भने जमघट आयोजना गर्ने व्यक्‍तिले कौशलतापूर्वक त्यस कुराकानीलाई अर्कैतिर मोड्‌नुपर्छ। अरू कसैलाई बोल्न नदिई एक जनाले मात्र बोलेको बोलेकै हुन नदिन पनि तिनी होसियार हुनुपर्छ। त्यसो भएमा तिनले कौशलतापूर्वक त्यो व्यक्‍तिलाई रोकेर अरूले पनि भाग लिन मिल्ने खालका अन्य विषयहरूमा कुराकानी सुरु गर्न सक्छन्‌ र यसमा जवानहरूलाई पनि भाग लिन आमन्त्रित गर्न सकिन्छ। कुराकानीमा सबैले भाग लिन पाउँदा जवान, वृद्ध सबैलाई रमाइलो लाग्नेछ। तपाईंले यसरी बुद्धिमानी र कौशलतासाथ यी सबै कुराको रेखदेख गर्नुभयो भने जमघटमा उपस्थित सबैको अघि तपाईंको ‘व्यावहारिकता झल्किनेछ।’ (फिलिप्पी ४:५, NW) तिनीहरूले तपाईं आफ्नो जीवनको हर क्षेत्रमा असर गर्ने आफ्नो विश्‍वासअनुसार काम गरिरहनुभएको महसुस गर्नेछन्‌।

विवाह र विवाह भोज

७. विवाह र विवाह भोजको आयोजना गर्दा किन विचार पुऱ्‍याउनुपर्छ?

७ खुसियाली मनाउने एउटा विशेष अवसर मसीही विवाह हो। येशू र उहाँका चेलाहरू लगायत प्राचीन समयका यहोवाका सेवकहरू खुसीको अवसरमा हुने भोजहरूमा जान्थे। (उत्पत्ति २९:२१, २२; यूहन्‍ना २:१, २) तर अचेल विवाह र विवाह भोजमा व्यावहारिकता र मसीही सन्तुलन कायम राख्न झन्‌-झनै गाह्रो हुँदै गएको कुरा अनुभवहरूबाट स्पष्टै देखिएको छ। तर विवाह मानव जीवनको एउटा भाग हो र यस्ता अवसरहरूमा मसीहीहरूले आफ्नो विश्‍वास देखाउने मौका पाउँछन्‌।

८, ९. पहिलो यूहन्‍ना २:१६, १७ को कुरा अचेलका विवाहहरूसित कसरी मिल्दो छ?

८ परमेश्‍वरका सिद्धान्तहरू थाह नपाएका र ती वास्ता पनि नगर्ने व्यक्‍तिहरूले विवाहलाई अति नै बढी गर्ने अवसरको रूपमा लिन्छन्‌ वा अचाक्ली गरे पनि हुन्छ भन्‍ने सोचाइ राख्छन्‌। भर्खरै विवाह गरेकी एउटी स्त्रीले राजघरानाको जस्तै आफ्नो “राजकीय” विवाहबारे गरेको टिप्पणी युरोपबाट प्रकाशित हुने एउटा पत्रिकामा छापिएको थियो: ‘हामी दुलहा-दुलही चारवटा घोडाले तान्‍ने बग्गीमा बसेका थियौं र हाम्रो पछाडि १२ वटा घोडाले तान्‍ने बग्गीमा पाहुनाहरू थिए र त्यसपछिको अर्को बग्गीमा चाहिं ब्यान्ड बाजा थियो। अनि भोजमा राजाहरूले खानेजस्तै चौरासी व्यञ्जन थियो र त्यहाँ बजाइएको गीत-संगीतको त कुरै नगरौं। सबै कुरा सानदार थिए। मैले चाहेजस्तै त्यस दिनको लागि म रानी नै भएँ।’

९ ठाउँअनुसार चलनहरू फरक-फरक हुने भए तापनि उक्‍त स्त्रीको कुरा प्रेरित यूहन्‍नाले लेखेका कुरासित मिल्दो छ: “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” परिपक्व मसीही जोडीले “राजकीय” विवाह गरेर परीहरूको कथामा जस्तै भव्य भोज गर्न चाहेको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? बरु, तिनीहरूले विवाहको योजना बनाउँदा “परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” भन्‍ने कुरा मनमा राख्नुपर्छ।—१ यूहन्‍ना २:१६, १७.

१०. (क) विवाह भोजको सन्दर्भमा व्यावहारिक हुन किन योजना बनाउनु अत्यावश्‍यक छ? (ख) क-कसलाई बोलाउने भन्‍नेबारे कसरी निर्णय गर्नुपर्छ?

१० विवाह गर्ने तरखर गरिरहेका मसीही जोडीहरू देखावटी नभई व्यावहारिक हुन चाहन्छन्‌ र यस कुरामा बाइबलले उनीहरूलाई मदत गर्न सक्छ। हो, विवाहको दिन महत्त्वपूर्ण छ तर विवाह गर्नेहरूलाई यो कुरा पनि थाह छ कि यो त वैवाहिक जीवनको सुरुआत मात्र हो र उनीहरूको अगाडि अनन्त जीवन छ। विवाहपछि ठूलो भोज गर्नै पर्छ भन्‍ने छैन। भोज गर्ने नै निर्णय गरे तापनि उनीहरूले खर्चको हिसाब गर्नुपर्छ साथै भोज कस्तो खालको हुनुपर्छ भनेर पनि विचार गर्नुपर्छ। (लूका १४:२८) उनीहरूले सँगै सुरु गर्न लागेको मसीही जीवनमा पति शिर हुनेछन्‌। (१ कोरिन्थी ११:३; एफिसी ५:२२, २३) त्यसैले भोजको लागि मुख्यगरि दुलहा नै जिम्मेवार हुनेछन्‌। भोजमा को-कोलाई बोलाउने वा कति जनालाई बोलाउने भन्‍नेजस्ता विषयमा तिनले पक्कै पनि आफ्नो हुनेवाला पत्नीसित सर-सल्लाह गर्नेछन्‌। आफ्ना सबै साथी र नातेदारहरूलाई बोलाउनु सम्भव नहुन सक्छ र व्यावहारिक पनि हुनेछैन। त्यसैले व्यावहारिक भई निर्णय गर्नुपर्ने हुन्छ। भोजको निम्तो नपाएका मसीही भाइबहिनीहरूले उनीहरूको कुरा बुझिदिनेछन्‌ र चित्त दुखाउने छैनन्‌ भन्‍ने कुरामा दुलहा-दुलही विश्‍वस्त हुनुपर्छ।—उपदेशक ७:९.

“भोजका मुखिया”

११. ‘भोजका मुखियाले’ विवाह र विवाह भोजमा कस्तो भूमिका खेल्न सक्छन्‌?

११ विवाहको खुसियाली मनाउन दुलहा-दुलहीले भोज गर्ने निर्णय गर्छन्‌ भने उनीहरूले त्यो अवसर मर्यादित बनाउन के गर्न सक्छन्‌? येशू जानुभएको कानाको विवाह भोजको एउटा पक्ष कत्ति बुद्धिमानी छ भनी यहोवाका साक्षीहरूले बुझेका छन्‌ र तिनीहरूले त्यो कुरा व्यवहारमा उतारेको धेरै वर्ष भइसक्यो। त्यहाँ “भोजका मुखिया” थिए जो पक्कै पनि जिम्मेवार सँगी विश्‍वासी थिए। (यूहन्‍ना २:९, १०) त्यसैगरि बुद्धिमान्‌ दुलहाले यस महत्त्वपूर्ण कामको लागि आध्यात्मिक तवरमा परिपक्व भाइलाई छान्‍नेछन्‌। दुलहाको इच्छा र रुचि बुझिसकेपछि भोजका मुखियाले त्यसैअनुसार भोजअघि र भोजको बेला कामकुरा गर्न सक्छन्‌।

१२. भोजमा मद्य पेय पदार्थ राख्ने विषयमा दुलहाले कुन कुराहरूबारे विचार गर्नुपर्छ?

१२ अनुच्छेद ५ मा छलफल गरिएझैं केही दुलहा-दुलहीले विवाह भोजमा मद्य पेय पदार्थहरू नराख्ने निर्णय गर्छन्‌ किनभने उनीहरू रक्सीको दुरुपयोगले त्यस खुसीको अवसरमा खलल पुऱ्‍याएको चाहँदैनन्‌। (रोमी १३:१३; १ कोरिन्थी ५:११) तर रक्सी राखिएको छ भने दुलहाले ती ठिक्क मात्रामा मात्र दिइयोस्‌ भनेर पक्का गर्नुपर्छ। येशू जानुभएको कानाको भोजमा दाखमद्य राखिएको थियो र उहाँले पनि पछि असल दाखमद्यको प्रबन्ध गरिदिनुभयो। चाखलाग्दो कुरा, त्यस भोजका मुखियाले यस्तो टिप्पणी गरे: “हरेक मानिसले पहिले असल दाखमद्य टक्राउँछ, औ जब मानिसहरू मातेका हुन्छन्‌, तब कमसल चाहिं। तिमीले ता असल दाखमद्य अझसम्म जोगाइराखेका रहेछौ।” (यूहन्‍ना २:१०) येशूले दाखमद्य प्रबन्ध गरिदिनुभएर पक्कै पनि मातिने गरी पिउन प्रोत्साहन दिइरहनुभएको थिएन किनभने मातिनु उहाँको दृष्टिमा निन्दनीय काम थियो। (लूका १२:४५, ४६) दाखमद्य एकदमै असल खालको भएकोमा आश्‍चर्य व्यक्‍त गर्दै ती मुखियाले कुनै-कुनै विवाह भोजमा केही पाहुनाहरू मातेको पनि बताए। (प्रेरित २:१५; १ थिस्सलोनिकी ५:७) त्यसैले “दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो” भन्‍ने स्पष्ट निर्देशन पाहुनाहरू सबैले पालन गरेका छन्‌ कि छैनन्‌ भनेर दुलहा र भोजका मुखियाको रूपमा छानेका भरपर्दो मसीही भाइले पक्का गर्नुपर्छ।—एफिसी ५:१८, NRV; हितोपदेश २०:१; होशे ४:११.

१३. विवाह भोजमा गीत बजाउने निर्णय गरेमा दुलहा-दुलहीले के कुरा ध्यानमा राख्नुपर्छ र किन?

१३ अन्य जमघटहरूमा जस्तै विवाह भोजमा पनि गीत-संगीत बजाउने हो भने आवाजमा ध्यान दिनुपर्छ ताकि पाहुनाहरूले ठूल-ठूलो स्वरमा कुरा गर्न नपरोस्‌। एक जना मसीही प्राचीनले यसो भने: “साँझ ढल्कँदै जाँदा झन्‌-झनै जोसिंदै कुराकानी गर्न थालिन्छ वा नाचगान सुरु हुन्छ र गीतको आवाज पनि बढाइन्छ। सुरुमा ठिक्कको आवाजमा बजाइएको गीतको आवाज चर्को हुन थाल्छ र यसले कुराकानीमा बाधा पुग्न सक्छ। विवाह भोज रमाइलो सरसंगतिको आनन्द उठाउने अवसर हो। तर चर्को आवाजमा बजाइएको गीत-संगीतले यस्तो संगतिमा खलल पुऱ्‍यायो भने कत्ति नरमाइलो हुन्छ!” यस क्षेत्रमा पनि दुलहा र भोजका मुखियाले ध्यान दिनुपर्छ। गीतहरू छान्‍ने र त्यसको आवाज घटाउने-बढाउने कुरा गाउने-बजाउनेहरूकै हातमा छोड्‌नु हुँदैन, चाहे तिनीहरूलाई पैसा तिरेर राखेको नै किन नहोस्‌। पावलले यस्तो लेखे: “बात र काममा जे जे गर्छौ, सबै कुरा . . . प्रभु येशूको नाउँमा गर।” (कलस्सी ३:१७) विवाह भोजमा (वा जमघट) आएका पाहुनाहरूले दुलहा-दुलहीले छानेका गीतहरू सबै येशूको नाउँलाई सुहाउँदो थियो भनेर सम्झनेछन्‌? अवश्‍य सम्झनुपर्छ।

१४. मसीहीहरूले विवाहको सम्झना मीठो होस्‌ भन्‍नको निम्ति के गर्न सक्छन्‌?

१४ हो, व्यवस्थित रूपमा आयोजना गरिएको विवाहको सम्झना मीठो हुन्छ। विवाह गरेको ३० वर्ष भइसकेको एडम र एडिटाले एउटा विवाहबारे यसो भने: “त्यस बिहेमा मसीही स्तरअनुसारको वातावरण साँच्चै महसुस गर्न सकिन्थ्यो। यहोवाको प्रशंसा गर्ने गीतहरू त थिए नै साथै अन्य राम्रा खालका मनोरञ्जनहरू पनि थिए। गीत-संगीत तथा नाचगान नै सबैभन्दा महत्त्वपूर्ण कुरा थिएनन्‌। त्यो विवाह भोज रमाइलो र प्रोत्साहनजनक थियो। सबै कुरा बाइबल सिद्धान्तअनुरूपै थिए।” पक्कै पनि, दुलहा-दुलहीले आफ्नो विश्‍वास कामद्वारा देखाउन थुप्रै कुराहरू गर्न सक्छन्‌।

विवाहमा दिने उपहारहरू

१५. विवाहमा दिने उपहारको सन्दर्भमा कुन बाइबल सल्लाह लागू गर्न सकिन्छ?

१५ थुप्रै देशमा नातेदार तथा साथीहरूले दुलहा-दुलहीलाई उपहार दिने चलन छ। उपहार दिने हो भने तपाईंले कस्ता कुराहरू मनमा राख्नुपर्छ? प्रेरित यूहन्‍नाले ‘जीवनको शेखीबारे’ के भनेका थिए याद गर्नुहोस्‌ त। तिनले त्यस्तो शेखीलाई आफ्नो विश्‍वासअनुसार काम गरेर देखाउने मसीहीहरूसित होइन तर ‘बितेर जाने’ संसारसित गाँसे। (१ यूहन्‍ना २:१६, १७) यूहन्‍नाको प्रेरित लेखोटलाई ध्यानमा राख्दा दुलहा-दुलहीले उपहार दिने सबैको नाउँ घोषणा गर्नु के उचित हो? म्यासिडोनिया र अखैयाका मसीहीहरूले यरूशलेमका भाइहरूलाई चन्दा दिंदा तिनीहरूको नाउँ घोषणा गरेको कुनै संकेत पाइँदैन। (रोमी १५:२६) दुलहा-दुलहीलाई उपहार दिने थुप्रै मसीहीहरू आफ्नो नाउँ घोषणा गरेर आफूप्रति अरूको ध्यान अनावश्‍यक रूपमा खिच्न चाहँदैनन्‌। यस सन्दर्भमा मत्ती ६:१-४ मा पाइने येशूको सल्लाह याद गर्नुहोस्‌।

१६. विवाहमा दिइने उपहारको सन्दर्भमा दुलहा-दुलहीले अरूको भावनामा चोट नपुऱ्‍याउन के गर्न सक्छन्‌?

१६ उपहार दिने व्यक्‍तिहरूको नाउँ घोषणा गर्दा कसको राम्रो वा महँगो भन्‍ने होड चल्न सक्छ अर्थात्‌ “डाह” उत्पन्‍न हुन सक्छ। त्यसैले बुद्धिमान्‌ मसीही दुलहा-दुलहीले उपहार दिने व्यक्‍तिहरूको नाउँ घोषणा गर्दैनन्‌। नाउँ घोषणा गर्दा उपहार दिन नसकेकाहरूलाई अप्ठ्यारो लाग्न सक्छ। (गलाती ५:२६; ६:१०) हो, उपहारहरू क-कसले दिएको भनेर दुलहा-दुलहीले थाह पाउन चाहनु गलत होइन। त्यो त उनीहरूले उपहारसँगै दिएको कार्ड वा उपहारमै लेखिएको नाउँबाट थाह पाउन सक्छन्‌ तर ती नाउँ घोषणा भने गर्दैनन्‌। उपहार किन्‍ने, दिने वा पाउने जस्ता व्यक्‍तिगत कुराहरूमा पनि आफ्नो विश्‍वासअनुसार काम गर्छौं भनी देखाउने मौका पाउँछौं।a

१७. आफ्नो विश्‍वास र कामको सन्दर्भमा मसीहीहरूको लक्ष्य कस्तो हुनुपर्छ?

१७ विश्‍वासअनुसार जीवन बिताउनुको अर्थ नैतिक जीवन बिताउनु, मसीही सभाहरू धाउनु र प्रचारकार्यमा भाग लिनु मात्र पक्कै होइन। हाम्रो जीवनको हरेक पक्षमा विश्‍वासअनुसार काम गरेको देखाऔं अर्थात्‌ हाम्रो विश्‍वास जीवित छ भनी देखाऔं। हो, हामीले माथि छलफल गरेको जीवनको पक्षमा पनि विश्‍वासअनुसार ‘काम पूरा’ गरेका छौं भनी देखाउन सक्छौं।—प्रकाश ३:२.

१८. यूहन्‍ना १३:१७ का शब्दहरू मसीही विवाह र अन्य जमघटहरूमा कसरी साँचो साबित हुन सक्छ?

१८ चेलाहरूको खुट्टा धोएर तिनीहरूलाई नम्रताको पाठ सिकाउनुभएपछि येशूले यसो भन्‍नुभयो: “तिमीहरूले यी कुरा जानेर गऱ्‍यौ भने, तिमीहरू धन्य हौ।” (यूहन्‍ना १३:४-१७) आज हामी बस्ने इलाकामा पाहुनाको खुट्टा धोइदिने चलन त छैन होला। तर यस लेखमा हामीले छलफल गरेझैं सामाजिक जमघट र मसीही विवाहलगायत जीवनका अन्य पक्षमा अरूप्रति मायालु भएर, अरूको ख्याल राखेको देखाएर आफ्नो विश्‍वासको प्रमाण दिन सक्छौं। यसरी चाहे आफ्नो विवाहमा होस्‌ वा आफ्नो विश्‍वासलाई कामद्वारा देखाउन चाहने मसीहीहरूको विवाहमा वा त्यसको खुसियाली मनाउन दिइने भोजमा पाहुना हुन जाँदा, हामी आफ्नो विश्‍वासको प्रमाण दिन सक्छौं। (w 06 10/15)

[फुटनोट]

a विवाह र विवाह भोजका थप पक्षहरूबारे “आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌” लेखमा छलफल गरिएको छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

तपाईं कसरी आफ्नो विश्‍वास देखाउन सक्नुहुन्छ:

• सामाजिक जमघटको आयोजना गर्दा?

• विवाह भोज आयोजना गर्दा?

• विवाहमा उपहार दिंदा वा पाउँदा?

[पृष्ठ १७-मा भएको चित्र]

थोरै मानिसहरू मात्र बोलाउँदा पनि ‘माथिबाट आउने ज्ञानअनुसार’ गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने