प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ७/१ पृ. २५-२९
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दुश्‍मनीको सामना गर्न साहसी हुनु आवश्‍यक
  • येशूलाई साहसी भई प्रचार गर्न प्रेमले उत्प्रेरित गऱ्‍यो
  • साहसी भई प्रचार गर्न पवित्र आत्माले सक्षम बनाउँछ
  • आज ख्रीष्टियानहरू साहसी भई प्रचार गर्छन्‌
  • के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • निडर हुनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ७/१ पृ. २५-२९

येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌

“सुसमाचार प्रचार गर्न हामीलाई . . . साहस मिलेको थियो।”—१ थिस्स. २:२, NRV.

१. राज्यको सुसमाचार किन यत्तिको हृदयस्पर्शी छ?

राम्रो समाचार सुन्‍न पाउनु कत्ति आनन्दको कुरा! त्यसमा पनि सबैभन्दा राम्रो, परमेश्‍वरको राज्यको सुसमाचार हो। यसले हामीलाई कष्ट, बिमारी, दुःख-पीडा, अनि मृत्युको अन्त हुने आश्‍वासन दिन्छ। यसले अनन्त जीवनतर्फ डोऱ्‍याउने बाटो खोल्छ, परमेश्‍वरको उद्देश्‍य प्रकट गर्छ अनि उहाँसित कसरी सुमधुर सम्बन्ध गाँस्न सकिन्छ त्यो देखाउँछ। तपाईंलाई लाग्दो होला येशूले मानवजातिलाई बाँडेको यो समाचार सुनेपछि त सबै जना खुसी हुन्छन्‌। तर दुःखको कुरा त्यसो होइन।

२. “अलग गराउन आएँ” भन्‍ने येशूको अभिव्यक्‍तिलाई व्याख्या गर्नुहोस्‌।

२ येशूले चेलाहरूलाई भन्‍नुभयो: “म पृथ्वीमा मेल गराउन आएको हुँ भनी नसम्झ। मेल गराउनलाई ता होइन, तर तरवार चलाउनलाई म आएको हुँ। किनकि म मानिसलाई उसको बाबुको विरुद्धमा, र छोरीलाई उसकी आमाको विरुद्धमा, र बुहारीलाई उसकी सासुको विरुद्धमा अलग गराउन आएँ। मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्‌।” (मत्ती १०:३४-३६) थुप्रैले सुसमाचारलाई अँगाल्नुको साटो तिरस्कार गर्छन्‌। कोही-कोहीले आफूलाई यसका प्रचारकहरूको शत्रु बनाउँछन्‌—परिवारकै सदस्यहरू भए तापनि।

३. प्रचार गर्ने जिम्मा पूरा गर्न हामीलाई के चाहिन्छ?

३ येशूले घोषणा गरेकै सत्य हामी पनि घोषणा गर्छौं अनि त्यतिबेला सुन्‍नेहरूले उहाँलाई जस्तो प्रतिक्रिया देखाएका थिए अहिले पनि त्यस्तै प्रतिक्रिया देखाउँछन्‌। यो नौलो कुरा होइन। येशूले चेलाहरूलाई भन्‍नुभयो: “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूह. १५:२०) थुप्रै मुलुकमा हामीले खुलेआम विरोधको सामना नगरे तापनि तिरस्कार र उदासीनताको सामना गर्नुपर्ने हुन्छ। तसर्थ साहसी भई सुसमाचार प्रचार गरिरहन हामीलाई विश्‍वास र आँट चाहिन्छ।—२ पत्रुस १:५-८ पढ्‌नुहोस्‌।

४. प्रचार गर्न पावल किन साहसी हुनुपऱ्‍यो?

४ सायद कहिलेकाहीं तपाईंलाई सेवकाईमा भाग लिन गाह्रो लाग्छ अथवा सेवकाईका केही पक्षमा सहभागी हुन डर लाग्छ। यदि त्यसो हो भने यस्तो महसुस गर्ने तपाईं मात्र होइन। प्रेरित पावल साहसी र निर्भयी प्रचारक थिए। तिनीसित सत्यको एकदमै राम्रो ज्ञान थियो तर तिनले पनि प्रचार गर्दा संघर्ष गर्नुपऱ्‍यो। थिस्सलोनिकीका ख्रीष्टियानहरूलाई तिनले लेखे: “तिमीहरू जान्दछौ, फिलिप्पीमा अगाडि दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नालाई, अति विरोधमा [अर्थात्‌ “संघर्ष गर्दै,” NW ] पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।” (१ थिस्स. २:२) फिलिप्पीमा अधिकारीहरूले पावल र तिनका साथी सिलासलाई छडीले पिटे, झ्यालखानामा हाले र ठिङ्‌गुरामा राखे। (प्रेरि. १६:१६-२४) त्यसो भए तापनि पावल र सिलास निरन्तर प्रचार गर्न ‘निर्भयी’ अर्थात्‌ साहसी भए। हामी पनि कसरी साहसी हुन सक्छौं? जवाफको लागि आउनुहोस्‌, बाइबल समयको परमेश्‍वरका सेवकहरूलाई साहसी भई यहोवाबारे सत्य बोल्न केले सक्षम बनायो र हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं, विचार गरौं।

दुश्‍मनीको सामना गर्न साहसी हुनु आवश्‍यक

५. यहोवाप्रति वफादार रहनेहरूलाई किन सधैं नै साहस चाहिएको छ?

५ आँट र साहसको उत्कृष्ट नमुना पक्कै पनि येशू ख्रीष्ट हुनुहुन्थ्यो। यद्यपि मानव इतिहासको सुरुदेखि नै यहोवाप्रति वफादार सबैलाई साहसी हुनुपरेको छ। किन? अदनमा भएको विद्रोह पश्‍चात्‌ यहोवाले उहाँको सेवा गर्ने र शैतानको सेवा गर्नेहरूबीच दुश्‍मनी हुनेछ भन्‍नुभयो। (उत्प. ३:१५) जब धर्मी व्यक्‍ति हाबिल तिनका दाइद्वारा मारिए तब यो दुश्‍मनी लगत्तै देखियो। पछि अर्का विश्‍वासी व्यक्‍ति हनोक जो जलप्रलय अघिका थिए तिनले पनि दुश्‍मनी मोल्नुपऱ्‍यो। तिनले भविष्यवाणी गरे, परमेश्‍वर आफ्ना हजारौं-हजार पवित्र जनका साथ अधर्मीहरूलाई न्यायदण्ड दिन आउनुहुनेछ। (यहू. १४, १५) थुप्रैलाई यो सन्देश मन परेन। मानिसहरूले तिनलाई घृणा गरे। यदि परमेश्‍वरले तिनलाई उठाइ नलग्नुभएको भए मानिसहरूले अवश्‍यै तिनको ज्यान लिने थिए। हनोकको कस्तो साहस!—उत्प. ५:२१-२४.

६. फिरऊनसित कुरा गर्दा मोशालाई किन साहस चाहियो?

६ मोशाले फिरऊनसित कुरा गर्दा देखाएको साहस पनि कल्पना गर्नुहोस्‌। फिरऊनलाई देवताहरूको प्रतिनिधि होइन देवता नै ठानिन्थ्यो—सूर्य देवता रा-को छोरा। हुन सक्छ अरू फिरऊनले जस्तै तिनले पनि आफ्नै प्रतिमाको उपासना गरे। फिरऊनको बोली नै कानुन थियो; अनि उनकै एकछत्र शासन चल्थ्यो। शक्‍तिशाली, घमन्डी अनि हठी फिरऊनलाई अरूको राय सुन्‍ने बानी नै थिएन। हो, यिनै व्यक्‍तिसामु नम्र गोठाला मोशा नबोलाइए तापनि अनि स्वागत नगरिए तापनि बारम्बार देखा परे। अनि तिनले के भविष्यवाणी गरे? विनाशकारी विपत्तीहरूबारे। अनि तिनले के माग राखे? लाखौं-लाख फिरऊनका दासहरूलाई मिश्रबाट जान दिने अनुमति! के मोशालाई साहस चाहियो? अवश्‍य!—गन्ती १२:३; हिब्रू ११:२७.

७, ८. (क) पुरातन समयका विश्‍वासी जनहरूलाई कस्तो कठिनाई आइलाग्यो? (ख) शुद्ध उपासनालाई कायम राख्न र त्यसलाई बढवा दिन प्रथम शताब्दीअघिका जनहरूलाई केले सक्षम बनायो?

७ त्यसपछिको शताब्दीयौंसम्म अगमवक्‍ताहरू र अरू विश्‍वासी सेवकहरूले शुद्ध उपासनाको लागि दह्रो अडान लिइरहे। शैतानको संसारले तिनीहरूलाई घृणा गऱ्‍यो। पावल बताउँछन्‌: “तिनीहरू ढुङ्‌गाले हानिए, करौतीले चिरिए, तिनीहरू परीक्षामा परे, तिनीहरू तरवारले मारिए, भेडा र बाख्राका छालाहरू लगाए, गरिबी भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुल्नुपऱ्‍यो।” (हिब्रू ११:३७) परमेश्‍वरका ती वफादार सेवकलाई दृढ रहन केले मदत गऱ्‍यो? अगाडिका केही पदहरूमा पावलले हाबिल, अब्राहाम, सारा र अरूलाई केले सहन बल दियो त्यो औंल्याएका छन्‌। तिनले भने: “यी सबै प्रतिज्ञाहरू नपाइकन, तर तिनीहरूलाई टाढैबाट देखेर स्वागत गरी . . . विश्‍वासैमा तिनी मरे।” (हिब्रू ११:१३) साँचो उपासनाको लागि साहससाथ अडान लिने प्रथम शताब्दीअघिका अगमवक्‍ताहरू; जस्तो कि एलिया, यर्मिया र अन्य विश्‍वासी जनहरूले पनि परमेश्‍वरको प्रतिज्ञामा ध्यान दिएकोले सहने बल पाए भन्‍नेमा कुनै शंका छैन।—ती. १:२.

८ प्रथम शताब्दीअघिका ती विश्‍वासी जनहरूले उज्ज्वल र मनमोहक भविष्यमा दृष्टि लगाए। तिनीहरूले पुनरुत्थान भएपछि ख्रीष्ट येशू अनि उप-पूजाहारीहरू १,४४,००० ले गरेको पूजाहारी सेवामार्फत अन्ततः सिद्धता र “विनाशको बन्धनबाट छुटकारा” पाउनेछन्‌। (रोमी ८:२१) साथै पुरातन समयका यर्मिया अनि परमेश्‍वरका अरू साहसी सेवकहरू यहोवाको आश्‍वासनले गर्दा आँटिला भए। त्यो आश्‍वासन यर्मियालाई गरेको प्रतिज्ञामा पनि झल्किन्छ: “तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु।” (यर्मि. १:१९) आज, हाम्रो भविष्यको लागि उहाँका प्रतिज्ञाहरू अनि आध्यात्मिक सुरक्षाको आश्‍वासनलाई विचार गर्दा हामी पनि त्यसरी नै बलियो हुन्छौं।—हितो. २:७; २ कोरिन्थी ४:१७, १८ पढ्‌नुहोस्‌।

येशूलाई साहसी भई प्रचार गर्न प्रेमले उत्प्रेरित गऱ्‍यो

९, १०. कुन-कुन तरिकामा येशूले साहस देखाउनुभयो (क) धर्मगुरुहरूअघि, (ख) सिपाहीहरूको दलअघि (ग) प्रधान पूजाहारीअघि (घ) पिलातसअघि?

९ हाम्रा नमुना येशूले विभिन्‍न तरिकामा साहस देखाउनुभयो। उदाहरणको लागि, अख्तियार पाएका प्रभावशाली व्यक्‍तिहरूले घृणा गरे तापनि परमेश्‍वरले मानिसहरूलाई थाह दिन चाहेको सन्देशलाई उहाँले फितलो पार्नुभएन। उहाँले निर्भयताका साथ शक्‍तिशाली धर्मगुरुहरूको आत्मधर्मीपन र गलत शिक्षा उदाङ्‌ग पारिदिनुभयो। उहाँले तिनीहरूलाई सीधै र स्पष्ट तरिकामा निन्दा गर्नुभयो। एक अवसरमा उहाँले यसो भन्‍नुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसी हो, कपटीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्‌, तर भित्रपट्टि भने मुर्दाहरूका हाडहरू र सबै अशुद्ध वस्तुले भरिएका हुन्छन्‌। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र अत्याचारले भरिएका छौ।”—मत्ती २३:२७, २८.

१० येशूले गेतसमनीको बगैंचामा सिपाहीहरूको दलसामु आफूलाई साहसीपूर्वक चिनाउनुभयो। (यूह. १८:३-८) पछि उहाँलाई सभाघरमा लगियो अनि प्रधान पूजाहारीले सोधपुछ गरे। प्रधान पूजाहारीले मार्न निहुँ खोज्दैछन्‌ भन्‍ने थाह पाउँदा-पाउँदै पनि येशूले निर्भयतासाथ आफू नै ख्रीष्ट अनि परमेश्‍वरको पुत्र हुँ भन्‍नुभयो। उहाँले यसो पनि भन्‍नुभयो, तिनीहरूले उहाँलाई “शक्‍तिको दाहिने हातमा बसिरहेको र आकाशका बादलमा आइरहेको” देख्नेछन्‌। (मर्कू. १४:५३, ५७-६५) त्यसको केही समयपछि येशूलाई पिलातससामु उभ्याइयो, जसले उहाँलाई छुटाउन सक्थे। तर आफूमाथि अभियोग लगाइँदा येशू चुप लाग्नुभयो। (मर्कू. १५:१-५) यी सबै गर्न निक्कै आँट चाहिन्थ्यो।

११. साहस कसरी प्रेमसित सम्बन्धित छ?

११ येशूले पिलातसलाई भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूह. १८:३७) यहोवाले येशूलाई सुसमाचार प्रचार गर्न अह्राउनुभएको थियो। अनि उहाँले खुसीसाथ त्यो गर्नुभयो किनभने स्वर्गमा बस्नुहुने आफ्ना पितालाई उहाँ प्रेम गर्नुहुन्थ्यो। (लूका ४:१८, १९) येशू मानिसहरूलाई पनि प्रेम गर्नुहुन्थ्यो। उहाँलाई थाह थियो, तिनीहरू कठिन परिस्थितिमा छन्‌ भनेर। त्यसैगरि, यहोवा अनि छिमेकीलाई गहिरो प्रेम गर्ने भएकोले नै हामी पनि साहसी र निर्भयी भई प्रचार गर्न सक्छौं।—मत्ती २२:३६-४०.

साहसी भई प्रचार गर्न पवित्र आत्माले सक्षम बनाउँछ

१२. सुरुका चेलाहरू केले गर्दा रमाए?

१२ येशूको मृत्यु भएको केही हप्तापछि यहोवाले नयाँ चेलाहरू थपिदिनुभएकोले चेलाहरू रमाए। मात्रै एक दिनमा, थुप्रै मुलुकबाट यरूशलेममा पेन्तिकोसको चाड मनाउन आएका यहूदी अनि धर्म परिवर्तन गरेर यहूदी बनेका गरी करिब ३,००० जनाले बप्तिस्मा लिए! त्यो घटनाबारे यरूशलेममा हुनेहरू सबैले नै कुरा गरे होलान्‌। बाइबल बताउँछ: “हरेक प्राणीलाई डर भयो। औ धेरै अचम्मका काम र चिह्नहरू प्रेरितहरूद्वारा भए।”—प्रेरि. २:४१, ४३.

१३. भाइहरूले किन साहसको लागि प्रार्थना गरे र परिणाम के भयो?

१३ धर्मगुरुहरू रीसले चूर भए अनि पत्रुस र यूहन्‍नालाई समाते, रातभर थुनामा राखे र येशूबारे केही नबोल्न आदेश दिए। थुनाबाट छुटेपछि ती दुईले के भयो भाइहरूलाई बताइदिए अनि तिनीहरू सबैले सामना गर्नुपरेको विरोधको लागि प्रार्थना गरे। तिनीहरूले यस्तो बिन्ती गरे: “हे प्रभु, . . . तपाईंका दासहरूलाई बिल्कुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।” परिणाम? “तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्‍वरको वचन बोले।”—प्रेरि. ४:२४-३१.

१४. पवित्र आत्माले हामीलाई प्रचारकार्यमा कसरी मदत गर्छ?

१४ याद गर्नुहोस्‌, ती चेलाहरूलाई परमेश्‍वरको वचन साहससाथ बोल्न मदत गर्ने कुरा भनेको यहोवाको शक्‍तिशाली पवित्र आत्मा थियो। अरूलाई, हाम्रो सन्देश विरोध गर्नेहरूलाई समेत—आँटिलो भई सत्य बताउनु हाम्रो हातको कुरा होइन। यदि यहोवालाई पवित्र आत्मा माग्यौं भने उहाँले त्यो दिन सक्नुहुन्छ र दिनु पनि हुन्छ। आइपर्ने कुनै पनि विरोधको सामना गर्न यहोवाको मदतले हामीलाई साहस दिन्छ।—भजन १३८:३ पढ्‌नुहोस्‌।

आज ख्रीष्टियानहरू साहसी भई प्रचार गर्छन्‌

१५. सत्यप्रति मानिसहरूले आज कस्ता भिन्‍न-भिन्‍न प्रतिक्रिया देखाउँछन्‌?

१५ पहिलेजस्तै अहिले पनि सत्यप्रति मानिसहरूको प्रतिक्रिया भिन्‍न-भिन्‍न छ। केहीले समर्थन जनाउँछन्‌, अरूले भने न हाम्रो उपासनालाई बुझ्छन्‌ न त त्यसको मोल नै गर्छन्‌। येशूले भविष्यवाणी गर्नुभएझैं कोही-कोहीले हाम्रो आलोचना गर्छन्‌, खिल्ली उडाउँछन्‌, अझ त अझ घृणा समेत गर्छन्‌। (मत्ती १०:२२) कहिलेकाहीं हामी सञ्चार माध्यमले फैलाउने गलत समाचार अनि द्वेषपूर्ण प्रचार-प्रसारको तारो बन्छौं। (भज. १०९:१-३) तैपनि यहोवाका जनहरू साहससाथ पृथ्वीभरि सुसमाचार फैलाउँदैछन्‌।

१६. साहसले, प्रचार गरेका मानिसहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ भन्‍ने कुन उदाहरणले देखाउँछ?

१६ हाम्रो साहसले राज्य सन्देशप्रति मानिसहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ। किर्गिजस्तानको एउटी बहिनी भन्छिन्‌: “प्रचारमा जाँदा एक जना घरधनीले यसो भने: ‘हेर्नुस्‌, म परमेश्‍वरमा विश्‍वास गर्छु तर ख्रीष्टियान परमेश्‍वरलाई होइन, बुझ्नुभयो। यदि फेरि आउनुभयो भने कुकुर छोडिदिन्छु!’ उनको पछाडि साङ्‌लाले बाँधेको ठूलो कुकुर थियो। तर ‘धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?’ विषयको राज्य समाचार नम्बर ३७ को वितरण अभियानमा त्यो घरमा परिवारको अरू कुनै सदस्य भेटिन्छ कि भन्‍ने आसमा फेरि जाने निधो गरें। तर उनैले ढोका खोले! मैले झट्टै यहोवालाई प्रार्थना गरें र यसो भनें: ‘नमस्कार! हामीले तीन दिनअघि गरेको कुराकानी मलाई अझै याद छ अनि तपाईंको कुकुरलाई पनि मैले भुलेकी छैन। तर म यहाँ नपसी अर्को घरमा जानै सकिनँ किनभने तपाईंजस्तै म पनि एक जना साँचो परमेश्‍वरमा विश्‍वास गर्छु! र परमेश्‍वरले चाँडै नै उहाँलाई अनादर गर्ने धर्महरूलाई सजाय दिनुहुनेछ। यसबारे तपाईंले यो पर्चा पढेर अझै बढी जानकारी लिन सक्नुहुन्छ।’ कस्तो अचम्म! उनले राज्य समाचार पर्ची लिए। त्यसपछि अर्को घरमा गएँ। केही मिनेटपछि उनी हातमा राज्य समाचार पर्ची लिएर कुद्दै आए र भने: ‘सुन्‍नुस्‌ त, मैले पढें। परमेश्‍वरको रीसबाट जोगिन मैले के गर्नुपर्छ?’ ” उनीसित अध्ययन सुरु भयो र ख्रीष्टियान सभाहरू पनि धाउन थाले।

१७. एउटी बहिनीको साहसले कसरी डराइरहेकी बाइबल विद्यार्थीलाई बलियो बनायो?

१७ ‘फलामले फलामलाई उध्याउँछ’ भनेझैं हाम्रो साहसले अरूलाई पनि साहसी हुने उत्प्रेरणा दिन्छ। रसियामा एउटी बहिनीले बसमा यात्रा गर्दा सँगै बस्ने स्त्रीलाई पत्रिका प्रस्तुत गरिन्‌। त्यतिबेला अर्को मान्छे सीटबाट जुरुक्क उठ्यो, बहिनीको हातबाट पत्रिका स्वाट्ट तान्यो र कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो। ठूल्ठूलो स्वरले नानाभाँती भन्दै उसले बहिनीको ठेगाना माग्यो अनि त्यो गाउँमा प्रचार नगर्न चेतावनी दियो। बहिनीले मदतको लागि यहोवालाई प्रार्थना गरिन्‌ अनि येशूका यी शब्दहरू याद गरिन्‌: “शरीर मार्ने[सँग] . . . नडराओ।” (मत्ती १०:२८) तिनले शान्तपूर्वक उठेर त्यो मान्छेलाई भनिन्‌, “हेर्नुस्‌ म तपाईंलाई आफ्नो ठेगाना दिन सक्दिनँ अनि यो गाउँमा प्रचार गर्न पनि बन्द गर्दिनँ।” यति भनेर तिनी बसबाट ओर्लिन्‌। यो घटना घट्‌दा तिनका बाइबल विद्यार्थी पनि त्यही बसमा थिइन्‌ भन्‍ने कुरा तिनलाई थाहै थिएन। ती विद्यार्थीले मानिसको डरले गर्दा ख्रीष्टियान सभाहरू धाउन छाडेकी थिइन्‌। तर बहिनीको साहस देखेर उनले फेरि ख्रीष्टियान सभाहरू धाउने निधो गरिन्‌।

१८. येशूले साहसी भई प्रचार गर्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?

१८ परमेश्‍वरबाट बिरानो यो संसारमा येशूले जस्तै प्रचार गर्न साहस चाहिन्छ। तपाईंलाई कुन कुराले यसो गर्न मदत गर्छ? भविष्यमा दृष्टि लगाउनुहोस्‌। परमेश्‍वर र छिमेकीप्रतिको प्रेमलाई बलियो बनाइराख्नुहोस्‌। आँटको लागि यहोवालाई पुकार्नुहोस्‌। तपाईं कहिल्यै एकलो हुनुहुन्‍न, येशू तपाईंको साथमा हुनुहुन्छ भन्‍ने कुरा सधैं सम्झिराख्नुहोस्‌। (मत्ती २८:२०) पवित्र आत्माले तपाईंलाई बलियो बनाउनेछ। अनि यहोवाले तपाईंलाई आशिष्‌ दिनुहुनेछ र साथ पनि। त्यसकारण हामी साहसी भई यसो भन्‍न सकौं: “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ?”—हिब्रू १३:६. ( w 09 7/15)

तपाईं के भन्‍नुहुन्छ?

• परमेश्‍वरका सेवकहरूलाई किन साहस चाहिन्छ?

• साहसी हुने सन्दर्भमा हामी यिनीहरूबाट के सिक्छौं:

ख्रीष्टअघिका विश्‍वासी जनहरू?

येशू ख्रीष्ट?

प्रथम शताब्दीका ख्रीष्टियानहरू?

आजका सँगी ख्रीष्टियानहरू?

[पृष्ठ २७-मा भएको चित्र]

येशूले निर्भयताका साथ धर्मगुरुहरूको पोल खोलिदिनुभयो

[पृष्ठ २७-मा भएको चित्र]

यहोवाले हामीलाई प्रचार गर्ने आँट दिनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने