हाम्रा पाठकहरू सोध्छन् . . .
के प्रमोदवनमा अनन्त जीवन पट्टाइलाग्दो हुनेछ?
▪ पृथ्वीमा हुने प्रमोदवनमा हामी सधैंभरि बाँच्न सक्नेछौं भनी बाइबलले आशा दिएको छ। (भजन ३७:२९; लूका २३:४३) कुनै कुराको अभाव नहुने वातावरणमा सधैंभरि बाँच्नु पट्टाइलाग्दो पो हुने हो कि?
यस प्रश्नको जवाफ खोज्नु भनेको समय बर्बाद गर्नु होइन। लामो समयसम्मको पट्टाइले मानिसलाई चिन्तित, निराश र जोखिम मोल्ने स्वभावको बनाउन सक्छ भनी अनुसन्धानकर्ताहरू बताउँछन्। जीवनमा कुनै उद्देश्य नभेट्टाएकाहरू वा दिनदिनै एउटै प्रकारको कामकुराले गर्दा आजित भएकाहरूलाई पट्टाइ लाग्न सक्छ। के प्रमोदवनमा बस्नेहरूको जीवनमा कुनै उद्देश्य नै हुनेछैन? के त्यतिबेलाको दैनिक कामकुरा उराठलाग्दो हुनेछ?
विचार गर्नुपर्ने पहिलो कुरा, अनन्त जीवनको आशा दिनुहुने व्यक्ति बाइबलका ग्रन्थकार यहोवा परमेश्वर हुनुहुन्छ। (यूहन्ना ३:१६; २ तिमोथी ३:१६) परमेश्वरको प्रमुख गुण प्रेम हो। (१ यूहन्ना ४:८) यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ र अहिले हामीले उपभोग गरिरहेको हरेक असल थोक उहाँले दिनुभएको हो।—याकूब १:१७.
आनन्दित हुन हामीले उद्देश्यपूर्ण काम गर्नुपर्छ भनी हाम्रो सृष्टिकर्तालाई थाह छ। (भजन १३९:१४-१६; उपदेशक ३:१२) प्रमोदवनमा काम गर्नेहरूले आफूलाई रोबटजस्तो महसुस गर्नेछैनन्। तिनीहरूको कामले आफू र आफ्ना प्रियजनलाई प्रत्यक्ष लाभ पुऱ्याउनेछ। (यशैया ६५:२२-२४) दिनभरि रोचक अनि रमाइलो काम पाउनुभयो भने के तपाईंलाई आफ्नो जीवन पट्टाइलाग्दो लाग्नेछ?
साथै विचार गर्नुपर्ने अर्को कुरा, यहोवा परमेश्वरले जोसुकैलाई पनि प्रमोदवनमा बस्न दिनुहुनेछैन। उहाँ तिनीहरूलाई मात्र अनन्त जीवनको वरदान दिनुहुन्छ, जसले उहाँको छोरा येशूको अनुकरण गर्छन्। (यूहन्ना १७:३) पृथ्वीमा हुँदा येशू आफ्नो बुबाको इच्छाअनुसार गर्न खुसी हुनुभयो। लिंदा भन्दा दिंदा आनन्द प्राप्त गर्न सकिन्छ भनी उहाँले आफ्ना अनुयायीहरूलाई आफ्नो बोली र कामबाट सिकाउनुभयो। (प्रेषित २०:३५) पुनर्स्थापित प्रमोदवनमा मानिसहरू सबैभन्दा ठूला दुई आज्ञा पालन गरेर अर्थात् परमेश्वरलाई प्रेम गरेर र आफ्ना छिमेकीहरूलाई प्रेम गरेर जीवन बिताउनेछन्। (मत्ती २२:३६-४०) तपाईंलाई माया गर्ने अनि आफ्नो कामलाई मन पराउने निःस्वार्थ मानिसहरूको बीचमा हुन पाउँदा कस्तो लाग्ला, कल्पना गर्नुहोस् त! यति धेरै माया गर्नेहरूको साथ पाउँदा के तपाईंलाई पट्टाइ लाग्ला र?
प्रमोदवनमा अरू के-कस्ता कुराहरू हामी गर्न सक्नेछौं? हरेक दिन हाम्रा सृष्टिकर्ताबारे केही नयाँ कुरा सिक्न सक्नेछौं। अनुसन्धानकर्ताहरूले यहोवाको सृजनात्मक कार्यहरूबारे अनेकौं रोचक कुराहरू पत्ता लगाइसकेका छन्। (रोमी १:२०) तर अहिलेसम्म यहोवाको सृष्टिबारे हामीले एकछेउ मात्र बुझ्न सकेका छौं। हजारौं वर्षअघि वफादार पुरुष अय्यूबले परमेश्वरको सृजनात्मक कार्यहरूबारे आफूलाई थाह भएको कुरामा मनन गरे। तिनले निकालेको निष्कर्ष आज पनि उत्तिकै सत्य छ: “यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, औ हामीले सुन्ने उहाँको मधुर-स्वर कति मधुरो छ। परमेश्वर साँच्चिनै कस्तो महान् हुनुहुन्छ भनी कसले पत्ता लाउन सक्छ र?”—अय्यूब २६:१४.
हामी सधैंभरि बाँचे तापनि यहोवा परमेश्वर र उहाँका कार्यहरूबारे सिक्नुपर्ने कुराहरू कहिल्यै सिद्धिनेछैन। परमेश्वरले हाम्रो मनमा सधैंभरि बाँच्ने चाहना राखिदिनुभएको छ भनी बाइबल बताउँछ। तर बाइबल यसो पनि भन्छ कि उहाँले हामीलाई “शुरुदेखि अन्तसम्म परमेश्वरको कार्य बुझ्ने शक्ति दिनुभएको छैन।” (उपदेशक ३:१०, ११) आफ्नो सृष्टिकर्ताबारे नयाँ कुराहरू सिक्न पाउँदा के तपाईंलाई कहिल्यै पट्टाइ लाग्ला र?
अरूको भलाइ हुने र परमेश्वरको महिमा गर्ने काममा व्यस्त भएकाहरूलाई अहिले पनि कहिल्यै पट्टाइ लागेको छैन। हामी यो कुरामा विश्वस्त हुन सक्छौं कि यस्तै काममा व्यस्त रह्यौं भने सधैंभरि बाँचे पनि हामीलाई कहिल्यै पट्टाइ लाग्नेछैन। ( w11 -E 05/01)