प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१५ पृ. १२-१६
  • कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जागिर र पेसा
  • मनोरञ्जन
  • पारिवारिक सम्बन्ध
  • बुद्धिमानी छनौट गर्नुहोस्‌
  • के तपाईंको मनोरञ्जन फाइदाजनक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ६. मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१५ पृ. १२-१६

कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌!

“तिमीहरूले कसको सेवा गर्ने, आजै तिमीहरूले रोज।”—यहो. २४:१५.

जवाफ दिनुहोस्‌

  • जागिर र पेसालाई कसरी उचित स्थानमा राख्न सक्नुहुन्छ?

  • मनोरञ्जनको सन्दर्भमा कसरी सही छनौट गर्न सक्नुहुन्छ?

  • परिवारको कुनै सदस्यले यहोवालाई त्याग्दा हुने पीडा कसरी सहन सक्नुहुन्छ?

१-३. (क) यहोशू हाम्रो लागि किन राम्रो उदाहरण हुन्‌? (ख) निर्णय गर्दा हामीले कुन कुरा सम्झनुपर्छ?

हाम्रो रोजाइले निकै फरक पार्छ। जीवन कतातिर लैजाने हो, त्यो आफ्नो रोजाइमा निर्भर हुन्छ। यो उदाहरण विचार गर्नुहोस्‌: एक जना मानिस हिंड्‌दै गर्दा दोबाटोमा आइपुग्छ। अब कुन बाटो रोज्ने? उसलाई आफ्नो गन्तव्य राम्ररी थाह छ भने उसले गन्तव्यबाट टाढा लैजाने बाटो होइन, गन्तव्यतिर लैजाने बाटो रोज्नेछ।

२ यस्तै अवस्था सामना गरेका थुप्रै व्यक्‍तिबारे बाइबलमा बताइएको छ। उदाहरणको लागि, कयिनले रिसको झोंकमा कदम चाल्ने कि आफ्नो रिसलाई वशमा राख्ने भनेर छनौट गर्नुपर्थ्यो। (उत्प. ४:६, ७) यहोशूले साँचो परमेश्‍वरको सेवा गर्ने कि झूटा देवताहरूको पूजा गर्ने भनी रोज्नुपर्थ्यो। (यहो. २४:१५) यहोशूको लक्ष्य यहोवासित नजिक हुनु थियो। त्यसैले तिनले त्यही लक्ष्यमा पुऱ्‍याउने बाटो रोजे। कयिनको लक्ष्य स्पष्ट थिएन। त्यसैले तिनले आफूलाई यहोवाबाट टाढा लैजाने बाटो रोजे।

३ कहिलेकाहीं हामीले पनि कुन बाटो रोज्ने भनी निर्णय गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा आफ्नो लक्ष्य अर्थात्‌ गन्तव्यलाई सम्झनुहोस्‌। त्यो हो, सधैं यहोवाको महिमा गर्ने अनि उहाँबाट टाढा लैजाने जुनसुकै कुराबाट अलग्गै बस्ने। (हिब्रू ३:१२ पढ्‌नुहोस्‌) हामीलाई यहोवाबाट टाढा लैजान सक्ने सातवटा क्षेत्रबारे यो र यसपछिको लेखमा विचार गर्नेछौं।

जागिर र पेसा

४. काम गर्नु किन महत्त्वपूर्ण छ?

४ आफू र आफ्नो परिवारको हेरचाह गर्नु प्रत्येक ख्रीष्टियनको दायित्व हो। कसैले आफ्नो परिवारका सदस्यहरूको हेरविचार गर्न चाहँदैन भने ऊ विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ भनी बाइबल सङ्‌केत गर्छ। (२ थिस्स. ३:१०; १ तिमो. ५:८) काम गर्नु महत्त्वपूर्ण छ। तर होसियार हुनुभएन भने जागिर र पेसाले तपाईंलाई यहोवाबाट टाढा लैजान सक्छ। कसरी?

५. जागिर स्वीकार्नुअघि कस्ता कुराहरू विचार गर्नु महत्त्वपूर्ण छ?

५ मानौं, तपाईं जागिर खोज्दै हुनुहुन्छ। तपाईंको देशमा जागिर पाउन गाह्रो छ भने जे भेट्यो, त्यही काम गरूँ जस्तो लाग्न सक्छ। तर त्यो जागिर बाइबलका सिद्धान्तहरूसित मेल खाँदैन भने नि? जागिरमा धेरै खटिनुपर्ने भएकोले ख्रीष्टियन गतिविधिमा बाधा पुऱ्‍याउँछ वा परिवारबाट टाढा राख्छ भने नि? जागिरै नहुनु भन्दा त यही बेस भनेर त्यो जागिर स्वीकार्नुहुन्छ कि? नबिर्सनुहोस्‌, गलत निर्णयले तपाईंलाई यहोवाबाट तर्काउन सक्छ। (हिब्रू २:१) जागिर खोजिरहनुभएको होस्‌ वा जागिर परिवर्तन गर्नेबारे सोचिरहनुभएको, तपाईं कसरी बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ?

६, ७. (क) जागिर खानुपछाडि कस्ता कारण हुन सक्छन्‌? (ख) कस्तो लक्ष्यले तपाईंलाई यहोवासित नजिक लैजानेछ र किन?

६ माथि बताइएझैं आफ्नो गन्तव्य नबिर्सनुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘जागिरबाट म के चाहन्छु?’ जागिरलाई यहोवाको सेवा गर्न आफू र आफ्नो परिवार धान्‍ने माध्यम ठान्‍नुहुन्छ भने उहाँले तपाईंलाई मदत गर्नुहुनेछ। (मत्ती ६:३३) जागिर गुम्दा वा अचानक आर्थिक उथलपुथल हुँदा तपाईंलाई कसरी मदत गर्ने, यहोवा जान्‍नुहुन्छ। (यशै. ५९:१) “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने, . . . सो यहोवा जान्‍नुहुन्छ।”—२ पत्रु. २:९.

७ तर तपाईंको लक्ष्य धनी हुनु हो भने नि? धन त कमाउनु होला। तर त्यसो गर्दा ठूलो मोल चुकाउनुपर्छ, सायद त्यो मोल तपाईंको लागि असाध्यै महँगो पर्नेछ। (१ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌) पैसा र जागिरलाई बढ्‌तै महत्त्व दियौं भने यहोवाबाट टाढा हुनेछौं।

८, ९. जागिरबारे आमाबाबुले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? व्याख्या गर्नुहोस्‌।

८ तपाईंका छोराछोरी छन्‌ भने आफ्नो उदाहरणले तिनीहरूलाई कस्तो प्रभाव पार्छ, विचार गर्नुहोस्‌। तपाईंले कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठानेको तिनीहरू देख्छन्‌—जागिरलाई कि यहोवासितको मित्रतालाई? ओहदा, मान-सम्मान र धनसम्पत्तिलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ भने तपाईंका छोराछोरीले पनि गलत बाटो नरोज्लान्‌ र? तपाईंप्रति तिनीहरूको आदर नघट्‌ला र? एउटी ख्रीष्टियन बहिनी भन्छिन्‌: “म सानो छँदादेखि नै बुबा सधैं काममा व्यस्त हुनुहुन्थ्यो। सुरु-सुरुमा त उहाँ हाम्रै लागि मरिमेट्‌नुभएको हो जस्तो लाग्थ्यो। हामीलाई कुनै कुराको कमी नहोस्‌ भन्‍ने चाहनुहुन्थ्यो। तर अहिले भने कुरा अर्कै भएको छ। उहाँ आफ्नो सम्पूर्ण समय काममै बिताउनुहुन्छ। अनि हाम्रो लागि महँगा-महँगा कुराहरू किनिदिनुहुन्छ, जबकि ती हामीलाई आवश्‍यकै छैन। यसले गर्दा हामी यहोवाको सेवा गर्न अरूलाई प्रोत्साहन दिने परिवारको रूपमा होइन तर एकदम धेरै पैसा भएको परिवारको रूपमा चिनिन्छौं। बुबाले यति धेरै पैसा कमाउनुको साटो आफ्नो परिवारलाई यहोवासित नजिक बनाउनुभएको भए खुसी हुनेथिएँ।”

९ आमाबाबु हो, जागिरलाई अत्यन्तै महत्त्व दिएर आफूलाई यहोवाबाट टाढा नलैजानुहोस्‌। सबैभन्दा बहुमूल्य धन भनेको यहोवासितको सम्बन्ध हो, पैसा होइन भनेर आफ्नो उदाहरणद्वारा छोराछोरीलाई देखाउनुहोस्‌।—मत्ती ५:३.

१०. जागिर रोज्नुअघि जवान व्यक्‍तिले कुन कुरा विचार गर्नुपर्छ?

१० तपाईं जवान हुनुहुन्छ र जागिरबारे सोचिरहनुभएको छ भने कसरी सही बाटो रोज्न सक्नुहुन्छ? हामीले छलफल गरेझैं तपाईंले रोजेको बाटोले तपाईं जीवनबाट के चाहनुहुन्छ भनेर देखाउँछ। आफूले रोजेको जागिर र तालिमले के तपाईंलाई परमेश्‍वरको राज्यसम्बन्धी कामकुरामा भाग लिन अझ सजिलो बनाउनेछ वा यहोवाबाट टाढा लैजानेछ? (२ तिमो. ४:१०) तपाईं कसको जीवनशैली अनुकरण गर्न चाहनुहुन्छ? बैंकमा कति पैसा छ अनि सेयरबजार कस्तो छ, त्यसको आधारमा खुसी वा दुःखी हुने मानिसको? अथवा यहोवामा पूरा भरोसा राख्ने दाऊदको? दाऊदले लेखे: “जवान थिएँ, र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भज. ३७:२५) नबिर्सनुहोस्‌, एउटा बाटोले तपाईंलाई यहोवाबाट टाढा लैजानेछ तर अर्को बाटोले तपाईंलाई सर्वोत्तम जीवनतर्फ डोऱ्‍याउनेछ। (हितोपदेश १०:२२; मलाकी ३:१० पढ्‌नुहोस्‌) तपाईं कुन बाटो रोज्नुहुन्छ?a

मनोरञ्जन

११. बाइबलले मनोरञ्जनबारे के बताउँछ? हामीले कुन कुरा बिर्सनु हुँदैन?

११ बाइबल मनोरञ्जन विरोधी होइन। अनि मनोरञ्जन गर्नुलाई बाइबलले समयको फजुल खर्च पनि भन्दैन। पावलले तिमोथीलाई लेखे: “शारीरिक तालिमबाट केही फाइदा त हुन्छ।” (१ तिमो. ४:८) बाइबलले “हाँस्ने एउटा समय” छ र “नाच्ने एउटा समय” छ भनी बताउनुका साथै पर्याप्त आराम गर्न पनि सल्लाह दिन्छ। (उप. ३:४; मर्कू. ६:३१) तर होसियार हुनुभएन भने मनोरञ्जनले तपाईंलाई यहोवाबाट टाढा लैजान सक्छ। कसरी? गलत किसिमको मनोरञ्जन रोजेर अनि त्यसमा धेरै समय बिताएर।

सही किसिमको अनि सही मात्राको मनोरञ्जनले स्फूर्ति दिन्छ

१२. मनोरञ्जन रोज्दा कस्ता कुराहरूमा विचार पुऱ्‍याउनुपर्छ?

१२ पहिला, मनोरञ्जनको किसिम विचार गर्नुहोस्‌। आजकाल पाइने प्रायजसो मनोरञ्जनले परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूको गुनगान गाउँछ, जस्तै हिंसा, प्रेतवाद र अवैध यौनसम्बन्धको। तर राम्रो किसिमको मनोरञ्जन पटक्कै नपाइने चाहिं होइन। त्यसैले कस्तो मनोरञ्जन रोज्ने भनेर एकदमै होस पुऱ्‍याउनुपर्छ। तपाईंले रोजेको मनोरञ्जनले तपाईंमाथि कस्तो असर पार्छ? हिंसा, अचाक्ली प्रतिस्पर्धा वा राष्ट्रियतालाई उक्साउँछ कि? (हितो. ३:३१) धेरै पैसा खर्च हुन्छ कि? अरूलाई ठक्कर पुऱ्‍याउँछ कि? (रोमी १४:२१) आफूले रोजेको मनोरञ्जनले गर्दा कस्ता प्रकारका मानिसहरूसित सङ्‌गत गर्नुपर्ने हुन्छ? (हितो. १३:२०) के यसले तपाईंलाई गलत काम गर्न जुरमुऱ्‍याउँछ?—याकू. १:१४, १५.

१३, १४. मनोरञ्जनमा कति समय बिताउने भनी निर्णय गर्दा कस्ता कुराहरू विचार गर्नुपर्छ?

१३ मनोरञ्जनमा कति समय बिताउनुहुन्छ, त्यो पनि विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘के म प्रचारकार्यमा भाग लिन अनि सभामा जान फुर्सतै नहुने गरी मनोरञ्जनमा धेरै समय बिताउँछु?’ मनोरञ्जनमा धेरै समय बिताउनुभयो भने त्यसले तपाईंलाई खासै स्फूर्ति दिंदैन। भनौं भने, मनोरञ्जनमा थोरै समय खर्च गर्नेहरूले धेरै स्फूर्ति पाइरहेका हुन्छन्‌। किन? किनभने सबैभन्दा महत्त्वपूर्ण कुराहरू गरिसकेपछि मात्र मनोरञ्जन गरेको हुँदा तिनीहरूलाई पछुतो हुँदैन।—फिलिप्पी १:१०, ११ पढ्‌नहोस्‌।

१४ मनोरञ्जनमा धेरै समय बिताउनु रमाइलो जस्तो देखिएला तर त्यसले तपाईंलाई यहोवाबाट टाढा लैजान सक्छ। किम नाम गरेकी २० वर्षीया बहिनीले यो पाठ सिकिन्‌। उनी भन्छिन्‌, “म कुनै पनि पार्टी छुटाउँदिनथें। हरेक हप्ता—शुक्रबार, शनिबार र आइतबार कतै न कतै पार्टी त भइहाल्थ्यो। तर अहिले भने आफूले गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू थुप्रै छन्‌ भनेर बुझेकी छु। जस्तै, म अहिले अग्रगामीको रूपमा सेवा गर्छु अनि प्रचारकार्यमा भाग लिन बिहान छ बजे उठ्‌छु। त्यसैले राती एक दुई बजेसम्म पार्टीमै मस्त भइरहें भने बिहान कहाँ उठ्‌न सक्छु र? हुन त, सबै जमघट खराब हुँदैनन्‌ तर त्यसले पक्कै अलमल्याउँछ। अरू कुरालाई जस्तै त्यसलाई पनि ठीक ठाउँमा राख्नुपर्छ।”

१५. स्फूर्तिदायी मनोरञ्जन रोज्न आमाबाबुले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

१५ आमाबाबुले आफू र आफ्ना छोराछोरीको भौतिक आवश्‍यकता पूरा गर्नुपर्छ अनि यहोवासित सम्बन्ध गाँस्न परिवारलाई मदत दिनुपर्छ। साथै उनीहरूको भावनात्मक आवश्‍यकता पनि पूरा गर्नुपर्छ। यसमा मनोरञ्जनको प्रबन्ध मिलाउनु समावेश छ। सबै किसिमको मनोरञ्जन गलत हुन्‌ भन्‍ने सोचाइ नराख्नुहोस्‌। तर हानिकारक मनोरञ्जनबारे भने होसियार हुनुहोस्‌। (१ कोरि. ५:६) राम्रो सोचविचार गरेर मनोरञ्जन रोज्दा त्यसले पूरै परिवारलाई स्फूर्ति दिन्छ।b यसरी मनोरञ्जन रोज्दा तपाईं र तपाईंका छोराछोरी यहोवासित नजिक हुनेछन्‌।

पारिवारिक सम्बन्ध

१६, १७. थुप्रै आमाबाबुले कस्तो पीडा भोगेका छन्‌? यहोवा तिनीहरूको पीडा बुझ्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?

१६ आमाबाबु र छोराछोरीबीचको बन्धन अत्यन्तै प्रगाढ हुन्छ। यहोवाले पनि आफ्ना जनलाई एउटी आमाले जस्तै माया गर्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (यशै. ४९:१५) त्यसकारण परिवारको कुनै सदस्यले यहोवालाई त्याग्दा गहिरो पीडा महसुस गर्नु स्वाभाविक हो। छोरी बहिष्कृत भएपछि एउटी आमाले यसो भनिन्‌: “मेरो मुटु छियाछिया भयो। उसले यहोवालाई किन त्यागी होला जस्तो लाग्यो। गल्ती मेरै हो भन्दै आफैमाथि दोष थोपरें।”

१७ यहोवाले तपाईंको पीडा बुझ्नुहुन्छ। उहाँको पहिलो मानव छोराले र जलप्रलयअघिका प्रायजसो मानिसले उहाँको विद्रोह गर्दा “उहाँ मनमा साह्रै दु:खित हुनुभयो।” (उत्प. ६:५, ६) यस्तो अवस्था नभोगेकाहरूलाई त्यो पीडा कत्तिको असह्‍य हुन्छ भनेर कल्पना गर्न गाह्रो होला। तैपनि परिवारको कोही सदस्य बहिष्कार हुँदा तपाईं यहोवाबाट टाढा हुनु ठीक होइन। त्यसोभए परिवारको कुनै सदस्यले यहोवालाई छोड्‌दा महसुस गर्ने गहिरो चोट तपाईं कसरी सहन सक्नुहुन्छ?

१८. छोराछोरीले यहोवालाई त्याग्दा आमाबाबुले किन आफूलाई दोषी ठान्‍नु पर्दैन?

१८ जे भयो, त्यसको लागि आफूलाई दोषी नठान्‍नुहोस्‌। यहोवाले प्रत्येक मानिससामु छनौट राखिदिनुभएको छ। समर्पण र बप्तिस्मा गरेका प्रत्येक सदस्यले “आफ्नो भारी आफै” बोक्नुपर्छ अनि यहोवाको सेवा गर्ने कि नगर्ने भनेर निर्णय गर्नुपर्छ। (गला. ६:५) पाप गर्ने व्यक्‍ति नै आफ्नो निर्णयको लागि जिम्मेवार हुन्छ, तपाईं होइन। (इज. १८:२०) साथै, अरूमाथि दोष नथोपर्नुहोस्‌। अनुशासन दिने यहोवाको प्रबन्धलाई आदर गर्नुहोस्‌। मण्डलीको सुरक्षा गर्ने गोठालोहरूविरुद्ध होइन, दियाबलविरुद्ध खडा हुनुहोस्‌।—१ पत्रु. ५:८, ९.

आफूले माया गरेको व्यक्‍ति फर्कनेछ भनी आशा गर्नु गलत होइन

१९, २०. (क) छोराछोरी बहिष्कार हुँदाको पीडा आमाबाबुले कसरी सहन सक्छन्‌? (ख) ती आमाबाबुले कस्तो आशा गर्छन्‌?

१९ तर यहोवासित रिसाउनुभयो भने तपाईं उहाँबाट टाढा हुनुहुनेछ। वास्तवमा भन्‍ने हो भने, तपाईं परिवारलाई भन्दा यहोवालाई अझ धेरै माया गर्न कटिबद्ध हुनुहुन्छ भनेर तपाईंको परिवारको त्यस सदस्यले प्रस्ट देख्नुपर्छ। त्यसकारण यस्तो अवस्था सामना गर्दा यहोवासितको सम्बन्ध बलियो बनाइराख्नुहोस्‌। विश्‍वासी ख्रीष्टियन भाइबहिनीहरूबाट आफूलाई अलग नबनाउनुहोस्‌। (हितो. १८:१) प्रार्थनामा यहोवालाई आफ्ना भावनाहरू पोख्नुहोस्‌। (भज. ६२:७, ८) बहिष्कार भएको सदस्यसित ईमेल वा फोनद्वारा सम्पर्क कायम राख्ने बहाना नखोज्नुहोस्‌। (१ कोरि. ५:११) परमेश्‍वरको सेवामा व्यस्त रहनुहोस्‌। (१ कोरि. १५:५८) माथि उल्लिखित आमा भन्छिन्‌: “यहोवाको सेवामा व्यस्त भएर उहाँसित बलियो सम्बन्ध कायम राख्नुपर्छ भनेर मलाई थाह छ। यसो गरेको खण्डमा मात्र मेरी छोरी यहोवाकहाँ फर्कंदा म उसलाई मदत गर्न सक्ने अवस्थामा हुनेछु।”

२० प्रेमले “सबै कुराको आशा गर्छ” भनी बाइबल बताउँछ। (१ कोरि. १३:४, ७) आफूले माया गरेको व्यक्‍ति फर्कनेछ भनी आशा गर्नु गलत होइन। वर्षेनी, बहिष्कार भएका थुप्रै व्यक्‍तिले पश्‍चात्ताप गर्छन्‌ र तिनीहरू यहोवाको सङ्‌गठनमा फर्कन्छन्‌। तिनीहरूले पश्‍चात्ताप गरिसकेपछि यहोवा तिनीहरूसित रिसाइरहनुहुन्‍न। बरु ‘क्षमा गर्न’ तयार हुनुहुन्छ।—भज. ८६:५.

बुद्धिमानी छनौट गर्नुहोस्‌

२१, २२. तपाईं कस्तो छनौट गर्न चाहनुहुन्छ?

२१ यहोवाले मानिसहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। (व्यवस्था ३०:१९, २० पढ्‌नुहोस्‌) तर त्यो स्वतन्त्रतासँगसँगै जिम्मेवारी पनि आउँछ। हरेक ख्रीष्टियनले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘म कुन बाटोमा हिंड्‌दै छु? के म जागिर, मनोरञ्जन वा पारिवारिक सम्बन्धको कारण यहोवाबाट टाढा भएको छु?’

२२ यहोवा आफ्ना जनलाई सधैं माया गर्नुहुन्छ। आफैले गलत बाटो रोज्यौं भने मात्र हामी यहोवाबाट टाढा हुन्छौं। (रोमी ८:३८, ३९) तर त्यसो हुन नदिनुहोस्‌! कुनै पनि कुराले आफूलाई यहोवाबाट टाढा लैजान नदिनुहोस्‌। यसो हुन सक्ने थप चारवटा क्षेत्रबारे अर्को लेखमा छलफल गर्नेछौं।

a जागिर अथवा पेसासम्बन्धी थप जानकारीको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड १ पुस्तकको अध्याय २२ हेर्नुहोस्‌।

b थप सुझावको लागि अक्टोबर १५, २०११ को प्रहरीधरहरा, पृष्ठ ८-१२ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने