प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१५ पृ. ३-५
  • के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूलाई मदत दिने साधन
    हाम्रो राज्य सेवकाई—२००४
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
  • हाम्रा निरीक्षक येसुलाई समर्थन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१५ पृ. ३-५
एक यहोवाको साक्षी रैथाने भाषाको प्रहरीधरहरा पत्रिका पढ्‌दै

के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?

हामी सबैभन्दा कठिन समयमा बाँचिरहेका छौं। (२ तिमो. ३:१-५) यहोवालाई माया गर्न र उहाँको आज्ञा मान्‍न हामीलाई सधैं सजिलो हुँदैन। येशूलाई यो कुरा राम्ररी थाह थियो। त्यसैले चेलाहरूले अन्तसम्म सहने बल पाउनेछन्‌ भनी सान्त्वना दिनुभयो। (मत्ती २४:३, १३; २८:२०) तिनीहरूलाई ‘ठीक समयमा आध्यात्मिक भोजन’ दिएर बलियो पार्न येशूले विश्‍वासी दास रोज्नुभयो।—मत्ती २४:४५, ४६.

सन्‌ १९१९ मा येशूले विश्‍वासी दास रोज्नुभयो। त्यसदेखि यता विभिन्‍न भाषा बोल्ने “घरका अरू दासहरू” परमेश्‍वरको सङ्‌गठनमा ओइरिरहेका छन्‌ र ती लाखौं मानिसले आध्यात्मिक भोजन पाइरहेका छन्‌। (मत्ती २४:१४; प्रका. २२:१७) तर सबैले एउटै मात्रामा यस्तो भोजन पाएका छैनन्‌। धेरैले हाम्रो वेबसाइटमा राखिएका भिडियोहरू हेर्न र लेखहरू पढ्‌न पाएका छैनन्‌। तर त्यसो भन्दैमा तिनीहरू यहोवासित नजिक भइरहन सक्दैनन्‌ भन्‍न मिल्छ? यसबारे बुझ्न चारवटा प्रश्‍न विचार गरौं।

१. यहोवाले दिनुभएको मुख्य भोजन के हो?

ढुङ्‌गालाई रोटी बनाउन लगाएर सैतानले येशूको परीक्षा गर्न खोज्यो। उहाँले यस्तो जवाफ दिनुभयो, “मानिस रोटीको भरमा मात्र बाँच्नुहुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।” (मत्ती ४:३, ४) बाइबलमा यहोवाको वचन पाइन्छ। (२ पत्रु. १:२०, २१) त्यसैले यहोवाले दिनुभएको मुख्य भोजन बाइबल हो।—२ तिमो. ३:१६, १७.

यहोवाको सङ्‌गठनले पवित्र बाइबल—नयाँ संसार अनुवाद पूरा वा केही भाग गरी १२० भन्दा धेरै भाषामा अनुवाद गरिसकेको छ। साथै हरेक वर्ष अझ धेरै भाषामा अनुवाद गरिंदै छ। बाइबलका अरू अनुवाद पनि करोडौं प्रति छापिन्छन्‌ अनि पूरा वा केही भाग हजारौं भाषामा प्रकाशित हुन्छन्‌। किन? किनभने यहोवा “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने” चाहनुहुन्छ। (१ तिमो. २:३, ४) “यस्तो कुनै सृष्टि छैन, जो [यहोवाको] नजरबाट लुकेको होस्‌।” त्यसैले “परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस” गर्नेहरूलाई उहाँ आफ्नो सङ्‌गठनतर्फ डोऱ्‍याउनुहुन्छ अनि आध्यात्मिक भोजन खुवाउनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—हिब्रू ४:१३; मत्ती ५:३, ६; यूह. ६:४४; १०:१४.

२. हाम्रा प्रकाशनहरूले आध्यात्मिक भोजन लिन कसरी मदत गर्छ?

विश्‍वास बलियो बनाउन बाइबल पढेर मात्र पुग्दैन; पढेको कुरा राम्ररी बुझ्नै पर्छ र पालन गर्नै पर्छ। (याकू. १:२२-२५) प्रथम शताब्दीका एक इथियोपियाली नपुंसकले पनि यसै गर्नुपरेको थियो। तिनले परमेश्‍वरको वचन पढिरहेको बेला प्रचारक फिलिपले सोधे, “के तपाईंले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” तिनले यस्तो जवाफ दिए, “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?” (प्रेषि. ८:२६-३१) फिलिपले तिनलाई बाइबल ठीकसित बुझ्न मदत दिए। सिकेको कुराले तिनको मन छोयो र तिनले बप्तिस्मा गरे। (प्रेषि. ८:३२-३८) त्यसैगरि हाम्रा प्रकाशनहरूले हामीलाई बाइबल ठीकसित बुझ्न मदत गर्छ। हाम्रो मन छुने ती प्रकाशनहरूले सिकेको कुरा पालन गर्न जुरमुऱ्‍याउँछन्‌।—कल. १:९, १०.

यी प्रकाशनहरू पढेर यहोवाका जनहरूले प्रशस्त मात्रामा आध्यात्मिक भोजन पाएका छन्‌। (यशै. ६५:१३) जस्तै: २१० भन्दा धेरै भाषामा छापिने प्रहरीधरहरा पत्रिकाले बाइबल भविष्यवाणीहरूको अर्थ बुझ्न मदत गर्छ। साथै बाइबलमा भएका सत्य कुराहरू अझ राम्ररी बुझ्न र बाइबल सिद्धान्तअनुसार चल्न मदत गर्छ। लगभग १०० भाषामा प्रकाशित हुने ब्यूँझनुहोस्‌! पत्रिकाले यहोवाको सृष्टिबारे बुझ्न र बाइबलका सल्लाहहरू पालन गर्न मदत गर्छ। (हितो. ३:२१-२३; रोमी १:२०) विश्‍वासी दासले बाइबलआधारित प्रकाशनहरू ६८० भन्दा धेरै भाषामा तयार गरेको छ। के तपाईं हरेक दिन बाइबल पढ्‌नुहुन्छ? के तपाईं आफ्नो भाषाको नयाँ पत्रिका तथा प्रकाशनहरू एउटै पनि नछुटाइ पढ्‌नुहुन्छ?

यहोवाको सङ्‌गठनले सभा, सम्मेलन र अधिवेशनमा दिइने भाषणको रूपरेखा पनि तयार गर्छ। त्यस्ता जमघटहरूमा प्रस्तुत गरिने भाषण, नाटक, प्रदर्शन तथा अन्तरवार्ताहरू तपाईंलाई पक्कै पनि मनपर्छ होला। यसरी यहोवाले हाम्रो लागि आध्यात्मिक भोज तयार गर्नुभएको छ।—यशै. २५:६.

३. सबै प्रकाशन आफ्नो भाषामा नहुँदैमा के तपाईं आध्यात्मिक रूपमा कमजोर हुनुहुनेछ?

त्यसो त होइन। यहोवाका केही सेवकहरूले अरूले भन्दा धेरै आध्यात्मिक भोजन पाएका छन्‌। यो देख्दा हामी छक्क पर्नु पर्दैन। किन? प्रेषितहरूबारे सोच्नुहोस्‌। तिनीहरूले अरू चेलाहरूले भन्दा धेरै सिक्न पाएका थिए। (मर्कू. ४:१०; ९:३५-३७) तैपनि अरू चेलाहरू आध्यात्मिक रूपमा कमजोर थिएनन्‌। उनीहरूले पनि चाहिने जति आध्यात्मिक भोजन पाएका थिए।—एफि. ४:२०-२४; १ पत्रु. १:८.

साथै, पृथ्वीमा हुनुहुँदा येशूले भन्‍नुभएको र गर्नुभएको एक-एक कुरा सुसमाचारको पुस्तकमा लेखिएको छैन। प्रेषित यूहन्‍नाले लेखे, “वास्तवमा येशूले अरू पनि धेरै कुरा गर्नुभएको थियो। मलाई लाग्छ, ती सबै एक-एक बयान गरेर लेखिएका भए, ती मुठाहरू संसारमा अटाउने थिएनन्‌।” (यूह. २१:२५) येशूका चेलाहरूसित भन्दा हामीसित येशूबारे थोरै मात्र जानकारी छ। तैपनि हामीले उहाँको पदचिन्ह पछ्याउन चाहिनेजति जानकारी पाएका छौं।—१ पत्रु. २:२१.

प्रेषितहरूले मण्डलीहरूलाई पठाएका चिठीबारे पनि विचार गर्नुहोस्‌। पावलले लेखेका चिठीहरूमध्ये कम्तीमा एउटा बाइबलमा छैन। (कल. ४:१६) हामीले त्यो चिठी पढ्‌न पाएका छैनौं भन्दैमा चाहिनेजति आध्यात्मिक भोजन पाएका छैनौं भन्‍न मिल्छ र? मिल्दैन। हामीलाई के चाहिन्छ भनी यहोवालाई थाह छ अनि आध्यात्मिक रूपमा बलियो हुन चाहिनेजति कुरा दिनुभएको छ।—मत्ती ६:८.

हामीलाई के चाहिन्छ भनी यहोवालाई थाह छ अनि आध्यात्मिक रूपमा बलियो हुन चाहिनेजति कुरा दिनुभएको छ।

आज यहोवाका केही सेवकहरूले अरूले भन्दा धेरै आध्यात्मिक भोजन पाएका छन्‌। तपाईंको भाषामा थोरै मात्र प्रकाशन होला। तर यहोवा तपाईंको पनि ख्याल राख्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। आफूसँग भएका प्रकाशनहरू पढ्‌नुहोस्‌। सक्नुहुन्छ भने आफूले बुझ्ने भाषाको सभामा जानुहोस्‌। यसो गर्नुभयो भने यहोवासित नजिक भइरहन सक्नुहुनेछ।—भज. १:२; हिब्रू १०:२४, २५.

४. तपाईंसित हाम्रो वेबसाइटमा राखिएका सामग्रीहरू छैन भन्दैमा आध्यात्मिक रूपमा कमजोर हुनुहुनेछ?

हाम्रो वेबसाइटमा पत्रिकाहरू र अन्य प्रकाशनहरू राखिएका छन्‌। यसमा दम्पती, किशोरकिशोरी र साना केटाकेटी भएका आमाबुबालाई काम लाग्ने सामग्रीहरू पनि राखिएका छन्‌। पारिवारिक उपासनामा यी सामग्रीहरू छलफल गर्न सकिन्छ। साथै यो वेबसाइटमा गिलियडको दीक्षान्त समारोह र वार्षिक सभाजस्ता विशेष कार्यक्रमहरूबारे बताइएको हुन्छ। हाम्रा भाइबहिनीले भोगिरहेको प्राकृतिक प्रकोप अनि कानुनी मामिलाहरूबारे पनि जानकारी दिइएको हुन्छ। (१ पत्रु. ५:८, ९) प्रतिबन्ध लगाइएका मुलुकहरूमा समेत भाइबहिनीले यो वेबसाइट चलाएर सुसमाचार सुनाइरहेका छन्‌।

तपाईंसित हाम्रो वेबसाइट प्रयोग गर्ने सुविधा नभए पनि यहोवासित नजिक भइरहन सक्नुहुन्छ। घरका अरू दासहरूले चाहिने मात्रामा आध्यात्मिक भोजन पाऊन्‌ भनेर विश्‍वासी दासले पर्याप्त साहित्यहरू छापिरहेको छ। हाम्रो वेबसाइट चलाउनकै लागि भनेर कुनै इलेक्ट्रोनिक साधन किन्‍नै पर्छ भन्‍ने नसोच्नुहोस्‌। वेबसाइटमा राखिएका केही साहित्यहरू छापेर इन्टरनेटको सुविधा नभएकाहरूलाई दिन सकिन्छ। तर मण्डलीले त्यस्तो प्रबन्ध मिलाउनु आवश्‍यक छैन।

येशूले आफ्नो प्रतिज्ञाअनुसारै हामीलाई आध्यात्मिक भोजन दिइरहनुभएको छ। त्यसैले हामी उहाँप्रति आभारी छौं। अन्त नजिकिंदै जाँदा यहोवाले हामीलाई “ठीक समयमा भोजन” दिइरहनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने