प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 नोभेम्बर पृ. ३
  • मन छुने शब्द!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मन छुने शब्द!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • बोअज र रूथको असामान्य विवाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “तिमी गुणवती छौ”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • रूथको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • रुथ विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 नोभेम्बर पृ. ३
एउटी स्त्री येशूसामु आएर घुँडा टेक्छिन्‌ र उहाँ ऊसित कुरा गर्न टुक्रुक्क बस्नुहुन्छ

मन छुने शब्द!

“नारी।” येशूले कहिलेकाहीं स्त्रीहरूलाई यसरी सम्बोधन गर्नुहुन्थ्यो। उदाहरणको लागि, बितेको १८ वर्षदेखि कुप्री भएकी एक जना अशक्‍त स्त्रीलाई निको पार्नु हुँदा उहाँले यसो भन्‍नुभयो: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्‍त भयौ।” (लूका १३:१०-१३) येशूको समयमा स्त्रीहरूलाई “ए नारी” भनेर सम्बोधन गर्ने चलन थियो र त्यो शिष्ट पनि मानिन्थ्यो। येशूले आफ्नी आमालाई त्यसरी नै सम्बोधन गर्नुभएको थियो। (यूह. १९:२६; २०:१३) तर बाइबलमा शिष्टताभन्दा अझै गहन अर्थ भएको अर्को शब्द पनि प्रयोग गरिएको पाइन्छ।

केही स्त्रीहरूको विषयमा बताउँदा बाइबलमा एउटा अत्यन्तै दयालु र कोमल शब्द चलाइएको छ। रगत बग्ने व्यथाले च्यापेको १२ वर्ष भइसकेको एक जना स्त्रीलाई सम्बोधन गर्दा येशूले त्यही शब्द प्रयोग गर्नुभयो। परमेश्‍वरको व्यवस्थाअनुसार त्यस्तो व्यथा लागेको स्त्री अशुद्ध हुन्थ्यो। त्यसैले ऊ येशूकहाँ आउनु हुँदैनथ्यो। त्यस्तो अवस्थामा ऊ अरूबाट अलग बस्नुपर्थ्यो भन्‍ने तर्क कसै-कसैले गर्न सक्छन्‌। (लेवी १५:१९-२७) तर ऊ जसरी भए पनि निको हुन चाहन्थिन्‌। भनौं भने, “उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च गर्दा पनि उसको अवस्था सुध्रिनुको सट्टा झनै नाजुक हुँदै गइरहेको थियो।”—मर्कू. ५:२५, २६.

कसैले थाहा नपाउने गरी भीडमा ऊ पछाडिबाट सुटुक्क आई र येशूको लुगाको किनारा छोई। त्यति नै खेर उसको रगत बग्न रोकियो। येशूको लुगा छोएर त्यहाँबाट सुटुक्क निस्किन्छु भन्ठानेकी थिई। तर त्यति नै खेर येशूले सोध्नुभयो: “मलाई छुने को हो?” (लूका ८:४५-४७) यो सुनेर ऊ डरले थरथर काम्दै उहाँसामु आई र घुँडा टेकेर “एक-एक गरी सबै सत्य कुरा बताई।”—मर्कू. ५:३३.

त्यस स्त्रीलाई सजिलो महसुस गराउन येशूले दयालु हुँदै भन्‍नुभयो: “हरेस नखाऊ नानी।” (मत्ती ९:२२) बाइबलविद्‌हरूअनुसार “नानी” भन्‍ने अर्थ बुझाउने हिब्रू र ग्रीक शब्दहरूले “दया र कोमलतालाई” बुझाउँछ। त्यस स्त्रीलाई ढुक्क पार्न येशूले अझै यसो भन्‍नुभयो: “तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।”—मर्कू. ५:३४.

“छोरी।” धनी इस्राएली बोअजले मोआबी रूथलाई यसरी सम्बोधन गरे। रूथसित पनि डराउनु पर्ने कारण थियो, किनभने तिनी एक अपरिचित मानिसको जौको खेतमा गएर शिला-बाला बटुल्दै थिइन्‌। यो देखेर बोअजले भने: “ए मेरी छोरी, सुन।” त्यसपछि बोअजले रूथलाई अरूको खेतमा नगई तिनकै खेतमा शिला-बाला बटुल्न भने। तब रूथ तिनको सामने झुकिन्‌ र एक जना विदेशीप्रति यत्तिको कृपा देखाउनुको कारण सोधिन्‌। बोअजले रूथलाई ढुक्क गराउँदै यस्तो जवाफ दिए: “तिमीले आफ्नो सासू [विधवा नाओमीप्रति] गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्‌। . . . परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्‌।”—रूथ २:८-१२.

एल्डरहरूका लागि येशू र बोअज अत्यन्तै राम्रा उदाहरण हुन्‌! कहिलेकाहीं कुनै ख्रीष्टियन बहिनीलाई बाइबलबाट मदत र प्रोत्साहन दिनुपर्ने हुन सक्छ। त्यतिखेर दुई जना एल्डरहरूले तिनलाई भेट्‌नु पर्ने हुन्छ। प्रार्थना गरेर यहोवासित डोऱ्‍याइ मागेपछि र ती बहिनीको कुरा ध्यान दिएर सुनेपछि ती एल्डरहरूले परमेश्‍वरको वचनबाट ढाडस र प्रोत्साहन दिन सक्छन्‌।—रोमी १५:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने