ख्रीष्ट जवानहरूको लागि नमुना
१ एउटा लामो बाइबल छलफलपश्चात् एक जवानले टिप्पणी गरे: “म येशू ख्रीष्टको प्रबल व्यक्तित्व देखेर प्रभावित भएँ। मैले भरोसा गर्नसक्ने नेता उहाँ नै हुनुहुन्छ।” आज कुनै राजनीतिज्ञ वा ख्यातिप्राप्त खेलाडी र लोकप्रिय अभिनेता अभिनेत्रीहरूबारे यस्तो भन्न सकिंदैन। खुल्लमखुल्ला सांसारिक स्तर तथा गैरमसीही जीवनशैली अपनाउनेहरूलाई साँचो मसीहीहरूले नमुनाको रूपमा हेर्दैनन्।—भज. १४६:३, ४.
२ जवान व्यक्तिहरूले येशू ख्रीष्टमा विश्वास गरेपछि तिनीहरूले आफैलाई परमेश्वरका भेडाको रूपमा प्रस्तुत गर्छन् र येशूले तिनीहरूलाई चिन्नु हुनेछ भनेर निश्चिन्त हुनसक्छन्। असल गोठालोले तिनीहरूको हेरचाह गर्नुहुन्छ। (यूह. १०:१४, १५, २७) ख्रीष्टलाई नमुनाको रूपमा पछ्याउने जवानहरू आशिषित् हुन्छन्।
३ हाल ब्रूकलिन बेथेलमा कार्यरत एक जना भाइले आठ वर्षको उमेरदेखि सेवा गर्ने यो सुअवसरलाई लक्ष्यको रूपमा राखेका थिए। तिनी हुर्कंदै जाँदा ख्रीष्टको उदाहरणलाई पछ्याउने व्यवहारिक तरिका बेथेल सेवा नै हो भनेर विचार गर्न तिनलाई प्रोत्साहन दिइयो। आमा-बाबुका साथसाथै परिभ्रमण निरीक्षकहरूले पनि तिनीसमक्ष यो लक्ष्य राखिदिए। तिनलाई यसको निम्ति तयार पार्न बेथेल परिवारका सदस्यहरूले जस्तै लगनशील भएर घरको कामकाज गर्न, राज्यभवनको स्याहारसम्भार गर्न र सेवकाईमा निपुण हुन प्रोत्साहन दिइयो। वर्षौंसम्म बेथेल सेवाको आनन्द उठाएपछि आफू हुर्कंदै जाँदा ख्रीष्टको उदाहरण पछ्याउन प्रयास गरेकोमा तिनी कृतज्ञ छन्।
४ येशू सांसारिक पेशाको पछि लाग्नुभएन; उहाँले सेवकाई रोज्नुभयो। एक जवान बहिनी आफ्नो स्कूल सकेपछि अग्रगामी गर्न चाहन्थिन् तर सुहाउँदो आंशिक कार्य नभेटाएकोले हिचकिचाइरहेकी थिइन्। उनी यसरी सोच्थिन्: ‘पहिला म काम खोज्छु अनि मेरो अग्रगामी आवेदन बुझाउँछु।’ उनी जति बढी पर्खिन्छिन् त्यति नै बढी पूर्ण-समय काम झनै लोभलाग्दो हुन्छ किनभने त्यो स्वीकार्न उनलाई रोक्ने केही पनि हुँदैन भनेर एक प्राचीनले उनलाई सम्झाए। उनी बताउँछिन्: “मलाई डोऱ्याउन यहोवाको आत्माको लागि मैले प्रार्थना गरें।” उनी तुरुन्तै सहायक अग्रगामीको हैसियतमा भर्ती भइन् र पछि नियमित अग्रगामी भइन्। त्यसको लगत्तैपछि उनले अग्रगामी तालिकालाई मिल्ने काम पाइन्।
५ येशूले निर्भयतासाथ राज्यको समाचार सबैलाई घोषणा गर्नुभयो। (मत्ती ४:२३) जवान मसीहीहरूले पनि अरूको डर नराखी निर्भयतासाथ प्रचार गर्न सिक्न सक्छन्। एक १४ वर्षीय साक्षीले टिप्पणी गरे: “म मसीही हुँ भनेर स्कूलमा सबैलाई थाह छ। . . . मसीहीको हैसियतले मेरो कामकुराबारे स्कूलका सबै परिचित छन्। प्रचार-कार्यमा भाग लिइरहेकै बेला मेरा साथीहरू भेट्दा पनि मलाई लाज लाग्दैन। साथीहरूले प्रायजसो सुन्छन् र साहित्यहरू स्वीकार्छन्।”
६ जवान व्यक्तिहरूले ख्रीष्टको उदाहरणलाई विचार गर्दा आफ्नो भविष्यबारे बुद्धिमतापूर्वक निर्णय गर्न मदत पाउनसक्छन्। सांसारिक कुराहरूमा व्यस्त हुनुको साटो यहोवाको कार्यमा जोशिलो भएर देखाएर तिनीहरू ‘आफ्ना सृष्टिकर्तालाई सम्झन्छन्।’ (उप. १२:१) ख्रीष्ट येशूले जस्तै तिनीहरू पनि “पिताको प्रेम” खेती गरिरहेका छन्। यसो गर्दा संसारले दिन सक्नेभन्दा धेरै राम्रा आशिष्हरू आउँछ। तिनीहरू यस पुरानो संसारसँगै ‘बितेर जानुको’ साटो “सधैंभरि रहिरहन” उत्सुकतासाथ पर्खनसक्छन्।—१ यूह. २:१५-१७.