हर्षित आमाबाबुहरू!
१ तपाईं मसीही परिवारको जवान व्यक्ति हुनुहुन्छ भने तपाईंले आमाबाबुलाई विशेष तरिकाद्वारा खुशी तुल्याउन सक्नुहुन्छ। तपाईंले धार्मिक मार्ग पछ्याउनु भयो भने ‘तपाईंका आमाबाबु खुशी हुनुहुनेछन्।’ (हितो. २३:२२-२५) आमाबाबुले तपाईंको निम्ति सर्वोत्तम कुरा चाहनु स्वाभाविक हो। तपाईंले सत्यलाई आफ्नो जीवनको अभिन्न भाग बनाउनुभएर यहोवालाई समर्पण गरेको हेर्न पाउनुभन्दा खुशीको कुरा उहाँहरूको निम्ति अरू हुनै सक्दैन।
२ सत्यमा भएका आमाबाबुहरू पाउनुभएकोमा तपाईं कृतज्ञ हुन सक्नुहुन्छ। उहाँहरूले तपाईंलाई जन्मेदेखि खुवाउनुभयो, पहिराउनुभयो, बास दिनुभयो र साथै बिरामी पर्दा हेरचाह गर्नुभयो। अझ महत्त्वपूर्ण कुरा, उहाँहरूले तपाईंलाई यहोवा र उहाँका धार्मिक मार्गहरूबारे सिकाउन प्रयत्न गर्नुभयो। यही प्रशिक्षणले तपाईंलाई अनन्त जीवन प्राप्त गर्न मदत दिनेछ। (एफि. ६:१-४) तपाईं कसरी मूल्यांकन देखाउन सक्नुहुन्छ?
३ सत्यलाई आफ्नो अभिन्न भाग बनाउनुहोस्: तपाईंलाई आमाबाबुले गम्भीरतापूर्वक सत्य स्वीकार्न, आध्यात्मिक प्रगति गर्न र यहोवाको संगठनको नजीक हुन सिकाउने प्रयास गर्नुभएको छ। अरूको जबरजस्तीबिना पारिवारिक अध्ययनमा चासो देखाएर तपाईंले मूल्यांकन देखाउन सक्नुहुन्छ। सभामा समय अगावै पुग्न सकोस् भनेर तयार हुन आफै अग्रसर भई सभामा उपस्थित हुने इच्छुकता प्रदर्शन गर्नुहोस्। सभाहरूमा आफ्ना आमाबाबुहरू सँगै बस्नुहोस् र अध्ययन गर्दै गरेको प्रकाशनमा गहिरो ध्यान दिनुहोस्। सभाहरूमा टिप्पणी गरेर भाग लिन खोज्नुहोस्। ईश्वरतान्त्रिक सेवकाई पाठशालाको इच्छुक विद्यार्थी हुनुहोस्, कार्यभारहरू स्वीकार्नुहोस् र त्यसलाई पूरा गर्न यथाशक्य गर्नुहोस्। तपाईंको सहयोग मदतकारी हुनसक्ने क्षेत्रहरूमा राज्य भवनमा सघाएर मदत दिनुहोस्। तपाईं त्यस्ता कार्यहरूमा व्यस्त रहनुभयो भने आफ्नो हृदयलाई लाभदायी आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गराउन सक्नुहुन्छ।
४ प्रगतिशील लक्ष्यहरू राख्नुहोस्: क्षेत्र सेवकाईमा अर्थपूर्ण ढंगले सहभागी हुन खोज्नुहोस् र प्रकाशक हुन योग्य हुने इच्छा देखाउनुहोस्। सधैं साप्ताहिक बाइबल पढाइ गर्नु वा आफै अग्रसर भएर सम्पूर्ण बाइबल पढ्नु झनै लाभकारी हुन्छ। समर्पण र बप्तिस्माका लागि आवश्यकताहरू पूरा गर्न कटिबद्ध हुनुहोस्। तपाईंका आमाबाबुहरूले स्कूलमा तपाईंलाई विषयहरू छान्न मदत दिनसक्नुहुन्छ ताकि त्यसले तपाईंलाई यहोवाको सेवामा पूर्ण सहभागी हुन सुसज्जित हुने खालको प्रशिक्षण दिन सकोस्। त्यस्तो प्रकारको नाउँ कमाउने खालका गुनहरू विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुहोस् जसको फलस्वरूप अरूले तपाईंलाई अग्रगामी वा बेथेल सेवाजस्ता सुअवसरहरूका लागि सिफारिस गर्न सकोस्। (प्रे. १६:१, २) त्यस्ता लक्ष्यहरू प्राप्त गर्न खोज्दा “उच्च कुरालाई . . . धार्मिकताका फलले भरिपूर” हुन मदत गर्नेछ।—फिलि. १:११.
५ युवावस्था भनेको सिक्ने, अनुभव बटुल्ने र अरूसित व्यवहार गर्दा निपुणता हासिल गर्ने समय हो। यतिबेला तपाईंले वयस्क जीवन सँगसँगै आउने दबाब तथा जिम्मेवारीहरूबिना नै जीवनको आनन्द उठाउन सक्नुहुन्छ। सुलेमानले यसो भने: “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्।” (उप. ११:९) तपाईंले आफ्नो युवावस्थामा यहोवाको सेवा गर्ने निर्णय गर्नुभयो भने अनन्तकालीन आशिष्हरू प्राप्त गर्नुहुनेछ।—१ इति. २८:९.
६ तपाईंले “जवानीका अभिलाषाहरू[को]” साटो “धार्मिकता” पछ्याउनुभयो भने आफ्ना आमाबाबुलाई चिन्ता र तनाउको ठूलो बोझबाट मुक्त गर्नुहुनेछ। (२ तिमो. २:२२) तपाईंको हृदय आनन्दित हुनेछ। (हितो. १२:२५) सबैभन्दा महत्त्वपूर्ण त, तपाईंले सृष्टिकर्ता, यहोवा परमेश्वरलाई आनन्दित तुल्याउनुहुनेछ।—हितो. २७:११.