गैर-साक्षी जीवनसाथीलाई सहयोग गर्नुहोस्
१ विवाहित दम्पतीहरूले एकताबद्ध भएर साँचो उपासना गर्दा अपार आनन्द पाउँछन्। तथापि, थुप्रै परिवारमा पति वा पत्नीले मात्र सत्य स्वीकारेका छन्। हामी कसरी गैर-साक्षी जीवनसाथीलाई आफूसँगसँगै यहोवाको उपासना गराउन सहयोग तथा प्रोत्साहन दिनसक्छौं।—१ तिमो. २:१-४.
२ तिनीहरूको विचार बुझ्नुहोस्: कोही कोही गैर-साक्षी पति वा पत्नीहरूले साक्षी पति वा पत्नीको विश्वासप्रति आपत्ति जनाउनसक्ने भए तापनि बेवास्ता वा मनमुटावले गर्दा अक्सर समस्या खडा हुन्छ। गैर-साक्षी पति वा पत्नीलाई आफ्नो बेवास्ता गरिएको महसुस हुनसक्छ वा आफ्नो पति वा पत्नीले भर्खरै पाएको आध्यात्मिक चासोप्रति ईर्ष्या लाग्नसक्छ। एक पति सम्झन्छन्, “घरमा एक्लै हुनुपर्दा त्यागिएको जस्तो लाग्थ्यो।” त्यसरी नै अर्को पति भन्छन्, “मानौं मेरी पत्नी र छोराछोरीले मलाई छोडेर गएको जस्तो महसुस हुन्थ्यो।” कतिपय पुरुषहरूलाई धर्मले गर्दा आफ्नो परिवार गुम्दै गइरहेको छ जस्तो लाग्नसक्छ। (अगस्त १५, १९९०, प्रहरीधरहरा [अंग्रेजी] पृष्ठ २०-३ हेर्नुहोस्।) त्यसैकारण सम्भव भएमा, पत्नीसित गृह बाइबल अध्ययन गर्दा उनका पतिलाई पनि सुरुदेखि नै समावेश गराउने प्रबन्ध मिलाउनु उचित हुन्छ।
३ पत्नीसँगसँगै पतिसित पनि अध्ययन गर्नुहोस्: एक साक्षी दम्पतीले विवाहित मानिसहरूलाई सत्य सिकाउन प्रभावशाली ढंगमा एकसाथ काम गरे। बहिनीले पत्नीसित अध्ययन थालेपछि भाइले चाहिं पतिलाई भेट्ने गर्थे। ती भाइ पतिसित अध्ययन गर्न प्रायजसो सफल हुन्थे।
४ मित्रैलो र आतिथेय हुनुहोस्: साँचो उपासनामा अझसम्म एकताबद्ध नभएका परिवारहरूलाई मण्डलीका परिवारहरूले चासो देखाएर मदत गर्नसक्छन्। गैर-साक्षी पति वा पत्नीसित कहिलेकाहीं भेटघाट गर्दा यहोवाका साक्षीहरू एकअर्काको भलो चाहने न्यानो र अरूको वास्ता गर्ने मसीहीहरू रहेछन् भनेर तिनीहरूले बुझ्ने मदत पाउनसक्छन्।
५ गैर-साक्षी पति वा पत्नीहरूलाई सहयोग गर्न भर्खरै गरिएका प्रयासहरू प्राचीनहरूले समय समयमा पुनरावलोकन गर्नुका साथै यहोवाप्रति तिनीहरूको हृदय जित्न अझ के गर्न सकिन्छ, त्यसबारे ध्यान दिनसक्छन्।—१ पत्रु. ३:१.