प्रश्न पेटी
▪छोराछोरीले क्षेत्र सेवकाईमा भाग लिंदा आमाबाबु कुन-कुन कुरामा होसियार हुनुपर्छ?
क्षेत्र सेवकाईमा जाँदा मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई सँगै लगेर राज्यको सुसमाचार अरूलाई बाँड्ने तरिका सिकाउनु ठीक कुरा हो। तथापि, क्षेत्रमा आइपर्ने खतरा र “सुरक्षित” टोलहरूमा समेत हुनसक्ने आपत्तिले गर्दा आफ्ना छोराछोरीमाथि नजर राख्नु आवश्यक छ। हामी बाँचिरहेको “कठिन समय[को]” बढ्दो लालच र यौन भ्रष्टताले गर्दा झन् धेरै केटाकेटीहरू हिंसा र दुर्व्यवहारको सिकार बनिरहेका छन्। (२ तिमो. ३:१-५) आमाबाबुले आफ्ना कलिला बच्चाहरूलाई यस्ता सिकारीहरूबाट बचाउन उचित कदम चाल्नु अत्यावश्यक छ। कस्तो कदम चाल्न सकिन्छ त?
आइपर्नसक्ने खतराहरूदेखि बच्न हामी पहिल्यै होसियार हुनुपर्छ भनेर बाइबलले सल्लाह दिन्छ। (हितो. २२:३; मत्ती १०:१६) हुन त यहाँ कुनै खास नियम बनाउन चाहेको होइन तर आमाबाबु र अरू ठूलाबडाले बच्चालाई क्षेत्रमा साथ लिएर जानु बुद्धिमानी हुनेछ। यदि दुई जिम्मेवार कलिला उमेरका प्रकाशक एकसाथ काम गर्छन् भने आमाबाबु र ठूलाबडालाई उनीहरूमाथि सधैं नजर राख्ने सल्लाह दिइन्छ। केटाकेटी हुर्किसकेपछि अनि जिम्मेवारी लिनसक्ने भएपछि भने उनीहरूमाथि नजर राखिरहनु आवश्यक छ कि छैन आमाबाबुले निर्णय गर्नसक्छन्।—नोभेम्बर १९९२, हाम्रो राज्य सेवकाई को प्रश्न पेटी पनि हेर्नुहोस्।
गाडीमा यात्रा गर्दा अनि हिंड्दा पनि सुरक्षाबारे सधैं ध्यान दिइरहनु बुद्धिमानी कुरा हो। सधैं होसियार भएर काम गर्दा प्रायः दुर्घटना, दुखान्त घटनाहरू, औषधी खर्च र कानुनी झन्झटबाट पनि बच्नसकिन्छ।
केटाकेटीहरूले “यहोवाको नामको प्रशंसा” गर्नु भन्ने सल्लाह साह्रै सुहाउँदो छ। (भज. १४८:१२, १३) उनीहरूले क्षेत्र सेवकाईमा प्रयोग गरेका मीठो बोली र देखाएका असल आचरणले उनीहरूको कुरा सुन्ने र देख्ने मानिसहरू साँच्चै प्रभावित हुन्छन्। त्यसले गर्दा यहोवाको प्रशंसा भइरहेको हुन्छ। आमाबाबु हो, हर किसिमले आफ्ना छोराछोरीलाई सुसमाचार बाँड्ने काममा नियमित रूपमा भाग लिइरहन मदत गर्नुहोस् र सम्भाव्य खतराहरूदेखि बचाउन सधैं होसियार हुनुहोस्।