‘म के गर्नसक्छु?’
१ ‘म के गर्नसक्छु?’ निस्सन्देह, १८७० को दशकमा चार्ल्स टेज रसलले संगठित गरेको सानो बाइबल अध्ययन समूहका सदस्यहरूको मनमा पनि यही प्रश्न उठेको हुनुपर्छ। परमेश्वरको इच्छा बुझ्दै गएपछि ती सुरुका बाइबल स्टुडेन्ट्हरूले अरूलाई पनि परमेश्वरको उद्देश्यबारे सिक्न मदत गर्न के गर्न सकिन्छ भनेर सोचे होलान्। आफूले पाइरहेको बाइबल ज्ञान संसारभरिका मानिसहरूलाई बताउनु पक्कै पनि एउटा विशाल कार्य थियो।
२ तर खुसीको कुरा, तिनीहरूले सफलतापूर्वक त्यो चुनौती सामना गरे। कसरी? प्रत्येक व्यक्तिले आफूले गर्ने काम नगण्य जस्तो लागे तापनि त्यसलाई पूरा गरे। यसले गर्दा नै आज यहोवाका साक्षीहरू विश्वभरि परिचित छन्। तिनीहरूको संगठनमा झन्डै साठी लाख राज्य उद्घोषकहरू छन् अनि २३४ वटा देश तथा टापुहरूस्थित झन्डै ९०,००० मण्डलीमा तिनीहरू सेवारत छन्!—यशै. ६०:२२.
३ र्ण समर्थन गर्नुहोस्: येशूले आखिरी दिनमा पूरा हुन्छ भनी भविष्यवाणी गर्नुभएको यस विशाल कार्यमा हामी प्रत्येकले कुनै न कुनै तरिकामा भाग लिनुपर्छ। (मर्कू. १३:१०) निश्चय पनि यो काम सीमित संख्यामा भएका प्राचीनहरूको काँधमा मात्र छोड्न सकिंदैन नता प्रचार गर्ने काम अग्रगामीहरूको मात्रै हो। वास्तवमा प्रत्येक समर्पित मसीहीले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। हामी सबैले प्रचार कार्यको कुनै न कुनै पक्षमा भाग लिनसक्छौं। (१ तिमो. १:१२) हामीले गरेको यथासम्भव कामले हामी आफैलाई अनि अरूलाई पनि लाभ पुऱ्याउँछ।—१ तिमो. ४:१६.
४ हामी प्रत्येकले अन्य तरिकाहरूमा पनि हाम्रो मसीही भ्रातृत्वलाई पूर्णतया समर्थन गर्नसक्छौं। हामी नियमित तवरमा सभाहरूमा उपस्थित भएर अनि उत्साहपूर्वक भाग लिएर मण्डलीका सभाहरूलाई समर्थन गर्नसक्छौं। (भज. १२२:१, ८, ९) त्यस्तै गरी, मण्डलीलाई नैतिक तवरमा स्वच्छ राख्न पनि हामी आफ्नो तर्फबाट केही गर्नसक्छौं। आफ्नो औकातले भ्याएअनुसार विश्वव्यापी कार्यका लागि आर्थिक सहयोग दिएर समर्थन गर्नसक्छौं। हामी राज्यभवनको सफाइमा भाग लिनसक्छौं। मण्डलीमा नयाँ, जवान तथा वृद्ध सबैलाई मदत गरेर न्यानो प्रेम र एकताको मनोभाव बढाउनसक्छौं।—कल. ३:१२, १४.
५ त्यसैले आफैसित यस्तो प्रश्न गर्न सक्नुहुन्छ, ‘म के गर्नसक्छु?’ तपाईंले गर्नसक्ने कुरा थोरै नै देखिए तापनि आफ्नो काम पूरा गर्दा त्यसले मण्डलीलाई बलियो, सक्रिय र स्वस्थ बनाउन योगदान पुऱ्याइरहेको हुनेछ। अतः यहोवाको नाउँ आदर गर्ने काममा हामी सबैको महत्त्वपूर्ण भूमिका छ!