केटाकेटीहरूका लागि सुअवसर
१ अहिलेका थुप्रै आमाबाबुले सच्चाइमा हुर्कंदै गरेको केटाकेटी छँदा पत्रिका वितरण गर्ने सुअवसर पाएको मीठो सम्झना गर्छन्। यो काम सन् १९४९ देखि सबै मण्डलीहरूमा सुरु गरिएको थियो। हप्ताको कुनै एक दिन सबै जनाले सडक, घर घर, पसल पसल र अन्य तरिकामा प्रहरीधरहरा र ब्यूँझनुहोस्! वितरणमा ध्यान दिनुपर्थ्यो। केटाकेटी प्रकाशकहरू यस काममा भाग लिन उत्सुक देखिन्थे। किनभने यसले तिनीहरूलाई मण्डलीका वयस्कहरूले जस्तै यस काममा भाग लिने मौका दिन्थ्यो। केटाकेटी छँदा के तपाईंको पनि त्यस्तै अनुभव थियो?
२ तपाईंका केटाकेटीलाई सहभागी गराउनुहोस्: ढोका ढोकामा धर्मशास्त्रीय छलफल गर्न योग्य भइनसकेका केटाकेटीले पनि पत्रिकाहरू भने प्रस्तुत गर्न सक्छन्। त्यसो गर्न केही छोटामीठा वाक्यको एउटा सरल प्रस्तुति सिक्नुपर्छ। सायद, आवरण पृष्ठमा भएको चित्रबारे छोटो टिप्पणी पनि पर्याप्त होला। धेरै घरधनीहरूले हाम्रा कलिला केटाकेटीको निश्छल अनि असल आचरणको प्रशंसा गर्दै पत्रिकाहरू सजिलै स्वीकार्छन्। अलिकति सहयोग पाए भने केटाकेटीले यो सेवा राम्ररी गर्न सक्छन्। तिनीहरूको यो कामले राज्य समाचार विस्तारमा ठूलो टेवा दिन्छ। जसै केटाकेटी हुर्कंदै जान्छन्, तिनीहरूलाई साक्षी दिने सीपमा उन्नति गरिरहन आमाबाबुले अवश्य मदत गर्न चाहनेछन्।
३ मान्वेलले तीन वर्षको उमेरदेखि नै ढोका ढोकामा प्रचार गर्न सुरु गरे। तिनका आमाबाबुले तिनलाई छोटो प्रस्तुती कण्ठ गर्न सिकाए। तिनी आमाबाबुसँगसँगै प्रचार गर्दै थुप्रै पत्रिका, पुस्तिका अनि पर्चाहरू वितरण गर्छन्। तिनी अनौपचारिक प्रचार पनि गर्छन्। एक पटक तिनका आमाबाबुले तिनलाई एउटा पार्कमा मनोरञ्जनका लागि लगेका बेला त्यहाँ वरपर भएका मानिसहरूलाई पर्चा प्रस्तुत गर्न तिनी आफै अग्रसर भए। कलिलै उमेरमा सेवकाईप्रतिको तिनको त्यस्तो जोस, तिनका आमाबाबु र पूरै मण्डलीको लागि प्रोत्साहनदायी साबित भयो।—हितो. २२:६.
४ टु थाउजेन्ड क्यालेन्डर अफ जेहोभाज् विट्नेसेज-मा प्रत्येक शनिबारलाई “पत्रिका वितरण दिन” भनेर छुट्याइएको छ। आमाबाबु हो, हामी तपाईंहरूलाई एउटा अनुरोध गर्छौं—नयाँ उमंगसहित यस सेवाको सुअवसरमा आफ्ना केटाकेटीलाई सकेसम्म नियमित रूपमा भाग लिन सहयोग गर्नुहोस्।