मैले कुनचाहिं बाइबल अनुवाद प्रयोग गर्नुपर्छ?
अंग्रेजी इलाकामा प्रचार गर्नेहरूको लागि त यस विषयमा कुनै प्रश्नै उठ्दैन किनभने हामी न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स भन्दा उत्तम साधन अर्को पाउन सक्दैनौं। तथापि, हामीले भेट्ने धेरैजसो मानिसहरू नेपाली नै पढ्न रुचाउँछन् भने तिनीहरूले बुझ्ने भाषामा परमेश्वरको वचन पढ्न सक्नु राम्रो कुरा हो।
नेपाली भाषामा कम्तीमा पनि चारवटा अनुवाद उपलब्ध छन् र भारतमा बोलिने १,६५० भाषाहरूमा अझ धेरै अनुवादहरू उपलब्ध छन् तर तीमध्ये केही मात्र सजिलै पाउन सकिन्छ। बाइबललाई आधार मानेर उद्धरण गर्दा हामी सजिलै बुझिने भाषामा राम्ररी अनुवाद गरिएको बाइबल चलाउन रुचाउँछौं र हामीले चलाउने बाइबल स्थानीय मानिसहरूले चलाउने गरेको हुनुपर्छ। दुःखको कुरा, यी दुवै आवश्यकता पूरा गर्ने अनुवादहरू कमै मात्रामा छन्। त्यसैकारण हामी साधारणतया हाम्रो इलाकाका प्रायजसो मानिसहरूसित भएको र उनीहरूले प्रयोग गर्ने गरेको बाइबल प्रयोग गर्न चाहन्छौं। प्रहरीधरहरा-को दोस्रो पृष्ठमा हेर्नुभयो भने, सोसाइटीले हाम्रा प्रकाशनहरूमा उद्धरण गर्ने गरेको मुख्य बाइबल वा अन्य बाइबलहरू उल्लेख गरेको पाउनुहुनेछ। क्षेत्र सेवकाईमा र बाइबल अध्ययनहरू गर्दा वा राज्यभवनमा त्यही अनुवाद प्रयोग गर्न हामी तपाईंहरूलाई प्रोत्साहन दिन्छौं। तर यसको मतलब, शास्त्रपद वा सैद्धान्तिक बुँदाहरूलाई प्रस्ट पार्न अरू अनुवादहरू प्रयोग गर्नै हुँदैन भन्न खोजिएको चाहिं होइन। यद्यपि, एकरूपताको लागि एउटै बाइबल अनुवादलाई आधार मानिएको छ।
आफ्नो बाइबलसित राम्ररी परिचित हुनुहोस्: नेपाली पवित्र बाइबल पाइसकेपछि यसका केही पक्षहरूबारे तपाईंलाई राम्ररी थाह हुनुपर्छ। न्यु वर्ल्ड ट्रान्सलेसन-ले पुरै बाइबलमा परमेश्वरको नाउँ प्रयोग गरेको छ, तर नेपाली बाइबलले नि? न्यु वर्ल्ड ट्रान्सलेसन-का सबै पदहरूमा हिब्रू शब्द नेफेस-लाई अंग्रेजीमा शोल भनी अनुवाद गरिएको छ तर नेपाली बाइबलले त्यस शब्दलाई कसरी अनुवाद गर्छ? येशूले प्रमोदवनबारे भन्नुभएको कुरा बुझाउन, सर्वशक्तिमान् परमेश्वर येशू हुनुहुन्न भनेर देखाउन, परमेश्वरको नाउँ प्रयोग गर्नु पर्ने महत्त्वलाई स्पष्ट पार्न हामी न्यु वर्ल्ड ट्रान्सलेसन-का केही पदहरू चलाउने गर्छौं। यी बुँदाहरू पाठकहरूले बुझेका छन् कि छैनन् भनेर के तपाईंले आफ्नो नेपाली बाइबलमा यी पदहरू जाँच्नुभएको छ? (लूका २३:४३; यूह. १:१; रोमी १०:१३); यदि कुनै-कुनै पदको अनुवाद मसीहीजगत्का सिद्धान्तहरूद्वारा प्रभावित छन् भने के हामी यी बाइबल सत्यहरूलाई हाम्रो भाषामा स्पष्ट पार्न त्यसको सट्टा अर्कै पदहरू देखाउन सक्छौं?
चर्चाका लागि बाइबल विषयहरू नामक प्रकाशनले उपयोगी पदहरू देखाउन मदत गर्न सक्छ। त्यसकारण, समय-समयमा त्यसमा उल्लेख गरिएका केही विषयहरू पुनरावलोकन गर्ने र नेपाली बाइबलमा ती बुँदाहरू स्पष्ट छन् कि छैनन् भनेर पक्का गर्ने बानी बसाल्नुभए कसो होला?
आफ्नो भाषामा उपलब्ध अन्य बाइबल अनुवादहरू संकलन गरेर तपाईं निजी पुस्तकालय बनाउन सक्नुहुन्छ र बाइबल सत्यलाई कसरी अनुवाद गरिएको छ भनेर हेर्न एक अर्कालाई तुलना गर्न सक्नुहुन्छ। आधार मानेर चलाइरहेको बाइबलले स्पष्ट पार्न नसकेका बुँदालाई स्पष्ट पार्न यो प्रक्रिया मदतकारी हुन सक्छ। बाइबल आधारित विषयवस्तुमा अनुसन्धान गर्दा वा दिनहुँ बाइबल पढ्दा यस प्रक्रियालाई अपनाइएको खण्डमा तपाईंको व्यक्तिगत अध्ययनको गुणस्तर बढ्नुका साथै यसले तपाईंको सोच्ने क्षमतालाई पनि तीक्ष्ण बनाउँछ।
क्षेत्र सेवकाईमा नेपाली बाइबल प्रयोग गर्नुहोस्: न्यु वर्ल्ड ट्रान्सलेसन उपलब्ध हुनुभन्दा ५० वर्षअघिसम्म यहोवाका साक्षीहरूले आफ्नो जन सेवकाईमा मसीहीजगत्का विभिन्न गुटहरूले अनुवाद गरेका अंग्रेजी भाषाका बाइबलहरू चलाए। हुन त यी अनुवादहरू न्यु वर्ल्ड ट्रान्सलेसन जत्तिको विशुद्ध थिएनन्, तैपनि निष्कपट हृदय भएका धेरै मानिसहरूले यी बाइबलहरूबाटै यहोवाको वचन सुने। हामीले सिकाउन चाहेका कुराहरू परमेश्वरको वचन हुन् भनेर नबिर्सनुहोस्। आफूले बताउन चाहेको कुरा बाइबलबाटै देखाएको खण्डमा हाम्रो सन्देश “मानिसको वचन” होइन भनी हामी प्रमाणित गर्छौं। (१ थिस्स. २:१३) हरेक पटक सेवकाईमा जानुहुँदा नेपाली बाइबल लैजान नबिर्सनुहोस् अनि यसको सक्दो सदुपयोग गर्ने प्रयास गर्नुहोस्। हाम्रो इलाकाका अधिकांश मानिसहरूले बाइबल कहिल्यै देखेका छैनन् होला, कमैले मात्र यसलाई आफ्नो हातमा लिएर यसका केही अंश पढेका होलान्। तिनीहरूलाई यसो गर्ने अवसर दिएको खण्डमा थोरैले मात्र यसलाई पवित्र ग्रन्थको रूपमा स्वीकारे तापनि यसले तिनीहरू सबैको हृदयमा अमेट छाप छोड्न सक्छ। परमेश्वरको वचन प्रयोग गरेर हामी यसको आदर गर्छौं भन्ने कुरा सबैसामु प्रस्ट होस्।—यूह. १७:७.
हो, परमेश्वरको वचन जीवित छ र यसमा मानिसहरूको जीवन परिवर्तन गर्ने शक्ति छ। (हिब्रू ४:१२) आफ्नो इलाकामा बोलिने भाषाको बाइबल सधैं बोक्नुहोस्। आफूले बोल्ने भाषामा “सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न” निपुण बन्नुहोस्।—२ तिमो. २:१५.
[पृष्ठ ४-मा भएको पेटी]
पवित्र बाइबल
पवित्र बाइबल (नयाँ संशोधित संस्करण)
नेपाली पवित्र बाइबलको नयाँ करार (नयाँ नियम मात्र)
नयाँ नियम, न्यू नेपाली बाइबल भरसन (नयाँ नियम मात्र)