कौशलतासाथ सुसमाचार सुनाउने
१ थुप्रै राज्यहरूमा बढ्दो साम्प्रदायिक तनाउको कारण अरू धर्मबारे कुरा गर्दा मानिसहरू संवेदनशील भएको हामीले याद गरेका छौं होला। यी “आखिरी दिन” हुन् र पावलले यी दिनहरूमा मानिसहरू “खुसी नहुने . . . असंयमी, निष्ठूर, . . . उत्ताउला” हुनेछन् भनी वर्णन गरे। (२ तिमो. ३:१-४) त्यसैकारण यस्तो समयमा सुसमाचार सुनाउँदा यहोवाका जनहरू कौशल हुनु जरुरी छ भनी स्पष्ट हुन्छ।
२ कौशलता भनेको के हो? एउटा शब्दकोशको परिभाषा यस्तो छ: “कठिन वा जटिल परिस्थितिमा पनि अरूसित राम्रो सम्बन्ध कायम राख्न अथवा अरूलाई रिस नउठाउनको लागि के गर्ने वा के भन्ने विषयमा राम्रो ज्ञान हुनु हो।” मसीहीहरूको हैसियतमा हामी निश्चय पनि सबै समुदायका मानिसहरूसित राम्रो सम्बन्ध कायम राख्न चाहन्छौं र अरूलाई बेकारमा रिस उठाउन चाहँदैनौं। त्यसैकारण, ‘सक्दोभर हामी सबै मानिसहरूसँग वचन र काममा शान्तिमा रहनेछौं।’—रोमी १२:१८.
३ कौशल मसीही साक्षीको सन्दर्भमा पावल असल उदाहरण थिए। एथेन्सवासीहरूसित कुरा गर्दा तिनले के भने सम्झनुहोस्, उनीहरूले मूर्तिपूजा र विभिन्न झूटा देवताहरूको उपासना गर्दा आफ्नो आत्मामा बेचैनी भए तापनि पावलले उनीहरूलाई गाली गरेनन् वा हप्काएनन्। (प्रेरि. १७:१६) एथेन्सका मानिसहरूलाई दिएको भाषणमा पावलले कौशलतासाथ तिनीहरूको धेरै देवताहरूको उपासना गर्ने कुरालाई नै परिचयको रूपमा प्रयोग गरे।—प्रेरि. १७:२२-३१.
४ हामी पनि आफ्नै धार्मिक समुदायलाई मात्र महत्त्व दिने मानिसहरू भेट्नेछौं र उनीहरूले हामीसित आफ्नैबारेमा मात्र कुरा गर्नेछन्। यतिखेर हामीले के गर्नुपर्छ? हामी कौशल हुनै पर्छ। हामी जिद्दीवाल, झगडालु वा आलोचनात्मक हुनुहुँदैन। बरु, हुन सके दुवै जना सहमत हुने विषय खोज्नुपर्छ र त्यसै विषयमा कुरा गर्नुपर्छ। हाम्रो सन्देशसित सहमत नभएका व्यक्तिले विरोध गर्दा तिनको हरेक कुराको खण्डन वा विवाद गरिरहनु आवश्यक छैन।
५ ध्यान दिएर सुन्ने: कौशलतामा यो पनि समावेश छ। आफू मात्र बोलेको बोल्यै गर्नु सजिलो छ तर कौशलतासाथ घरधनीलाई उसको विचार र दृष्टिकोण बताउन लगाउँदा हामी तिनको सोचाइ बुझ्न सक्नेछौं। प्रश्नहरू सोध्नु मदतकारी हुन्छ तर सोधिएको प्रश्नले घरधनीलाई अप्ठ्यारोमा नपार्न हामी होसियार हुनुपर्छ। बरु, आफ्नो मनको कुरा पोख्न लगाउन र उसलाई बोल्न प्रोत्साहित गर्न प्रश्नहरू चलाउनुपर्छ।
६ हाम्रो बोली र अनुहारको हाउभाउमा सबैप्रति व्यक्तिगत चासो, दया र मित्रभाव झल्किन्छ भने, मानिसहरूले यो याद गर्नेछन् र हाम्रो कुरा सुन्न अक्सर तयार हुन्छन्। पावलले दिएको यो सल्लाह सम्झनुहोस्: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।”—कल. ४:६.