बहुभाषी इलाकामा चेला बनाउने
१ सा.यु. ३३ पेन्तिकोसमा एउटा एकदमै आश्चर्यचकित पार्ने भाषण सुन्न विभिन्न जातिका मानिसहरूको ठूलो भीड भेला भएको थियो। तिनीहरूले यसो भने: “हेर, के यी सबै बोल्नेहरू गालीली होइनन् र? त कसरी तिनीहरू हरेकले हाम्रा मातृ-भाषामा बोलेको हामी सुन्छौं? (प्रेरि. २:७, ८) तिनीहरूले अलि-अलि युनानी अथवा हिब्रू भाषा बोल्थे होलान् तरैपनि आफ्नै भाषामा यस सुसमाचारको सन्देश सुन्न पाउँदा तिनीहरू असाध्यै खुसी भए र लगभग ३००० ले बप्तिस्मा लिए।
२ आज भारतमा ५० प्रतिशतभन्दा बढी प्रकाशकहरू एकभन्दा बढी भाषा बोलिने ठूलठूला शहरहरूमा बसोबास गर्छन्। यसबाहेक, कोही-कोहीले अंग्रेजी अथवा अर्कै भाषामा शिक्षा आर्जन गर्छन् र अरूसित कुराकानी गर्दा पनि त्यही भाषा प्रयोग गर्न रुचाउँछन्। अन्य भाषा बोल्ने समूहका इच्छुक व्यक्तिहरूलाई प्रगति गर्न मदत दिन तपाईं के गर्न सक्नुहुन्छ? उनीहरूले कसरी आफ्नै भाषामा सन्देश सुन्न सक्छन्? सभाहरूबाट उनीहरूले लाभ उठाउन सकून् भन्नाखातिर कस्ता प्रबन्धहरू मिलाउनु आवश्यक पर्ला?
३ विभिन्न भाषा बोल्ने चमत्कारी वरदान अहिले प्रदान नगरिए तापनि परमेश्वरको पार्थिव संगठनमा पवित्र आत्मा सक्रिय भएकोले एकै चोटि धेरै भाषामा अनुवादित प्रकाशनहरू प्रबन्ध गर्न सम्भव भएको छ। स्थानीय भाषा त्यति राम्ररी नबुझे तापनि नयाँ व्यक्तिहरूले सभामा प्रस्तुत गरिने सबै कार्यक्रम बुझ्न सक्छन्।
४ कुनै-कुनै मण्डलीहरूमा प्राचीनहरूले कार्यक्रम उल्था गर्ने प्रबन्ध मिलाएर दुईवटा भाषामा सभा सञ्चालन गर्ने निर्णय गरेका छन्। सभाहरू उल्था गरिंदा वक्ताले गर्न खोजेको तर्क त्यति स्पष्ट नहुनुका साथै छिनछिनमा रोकिरहनुपर्ने हुन्छ। एकदमै अनुभवी अनुवादक प्रयोग गर्दासमेत प्रस्तुत गर्न चाहेको सामग्रीमध्ये लगभग ६० प्रतिशत जति मात्रै प्रस्तुत गर्न सकिन्छ, जसको मतलब हो, मूल्यवान् आध्यात्मिक आहार सबै प्रस्तुत गर्न सकिंदैन।
५ कहिलेकाहीं कसै-कसैले प्रकाशकहरूलाई कुनै पनि भाषामा टिप्पणी गर्न अथवा सभाका कुनै-कुनै भागहरू प्रस्तुत गर्नसमेत प्रोत्साहित गर्छन्। यसो गर्दा अवस्था प्रथम शताब्दीको जस्तै हुन सक्छ: “सबै जनाले विभिन्न भाषामा बोले भने, र अपठित अथवा विश्वास नगर्नेहरू त्यहाँ आएमा के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन् र?” (१ कोरि. १४:२३) सबैले बुझ्ने गरी सभाहरू व्यवस्थित रूपले सञ्चालन गर्नुपर्ने विषयमा पावलले थप उल्लेख गरे।—१ कोरि. १४:२६-४०.
६ अर्को भाषामा नयाँ मण्डली बिस्तारै सुरु गर्न प्रोत्साहन दिनु राम्रो कुरा हो। यदि योग्य भाइले कुनै अर्को भाषा राम्ररी बोल्छ र त्यही भाषा बोल्ने समुदायका थुप्रै व्यक्तिहरू सभाहरूमा उपस्थित भइरहेका छन् भने, थप निर्देशनको लागि प्राचीनहरूले शाखा कार्यालयलाई पत्राचार गर्न सक्छन्।
७ तथापि, थुप्रै अवस्थाहरूमा यस्ता व्यक्तिहरूले स्थानीय भाषा बोल्न सक्छन् अनि तिनीहरूको आत्मविश्वास बढेपछि त मजाले फर्रर बोल्न सक्ने हुन्छन्। कुनै एउटा खास भाषा बोल्न सक्छु भन्ने गर्व वा अर्को भाषा बोल्न अनिच्छुक भएकोले नयाँ भाषा समूह खडा गर्नुभन्दा उनीहरूलाई स्थानीय भाषामै अझ दक्ष हुन प्रोत्साहित गर्नु बेस हुनेछ। निष्कपट हृदय भएका मानिसहरू सत्यको सन्देशप्रति आकर्षित हुनुका साथै उनीहरू यो सत्य आफूले बुझ्ने भाषामा सिक्न अक्सर इच्छुक हुन्छन्।
८ एक चोटि अन्य भाषा बोल्नेहरूको समूह खडा भइसकेपछि मण्डलीका सबैले अलि टाढै भए पनि इच्छुक व्यक्तिहरूलाई उनीहरूको भाषा बोलिने सभाहरूमा आउन मदत गर्न सक्छन्। तपाईंले उनीहरूको भाषा फर्रर बोल्न सक्नुहोला तर उनीहरूकै भाषा बोल्ने मण्डलीका कुनै प्रकाशकलाई आफूसँगै लैजाउनु बेस हुन्छ। यस प्रकाशकले उनीहरूलाई परिपक्वतातर्फ बढ्न र आफ्नो मण्डलीका सभाहरूमा उपस्थित हुन निरन्तर मदत गरिरहन सक्छन्।
९ तपाईंको इलाकाको एउटा भागका बहुसंख्यक मानिसहरूले अरू नै भाषा बोल्छन् भने त्यसबारे तपाईंका स्थानीय प्राचीनहरूलाई जानकारी दिनुहोस्। उनीहरूले यस क्षेत्रलाई त्यही भाषा बोल्ने नजिकको मण्डलीलाई जिम्मा दिने निर्णय गर्न सक्छन्। मण्डलीहरूबीच राम्रो सहयोग हुनुपर्छ। तपाईंको भाषा राम्ररी बुझ्ने अथवा तपाईंको भाषा रुचाउने मानिसहरूलाई विशेष ध्यानमा राखेर आफ्नो सेवकाईमा दत्तचित्त हुँदा परिणाम निकै राम्रो हुन सक्छ।
१० कहिलेकाहीं आमाबाबुलाई आफ्नै मातृभाषा मनपर्छ तर उनीहरूका छोराछोरीहरूचाहिं अंग्रेजी माध्यममा पढाइने स्कूलमा पढ्छन् र उनीहरू अंग्रेजी नै प्रयोग गर्न रुचाउँछन्। यसलाई ध्यानमा राखेर कुनै-कुनै मण्डलीहरूले सभाहरू दुइटा भाषामा र दुई चोटि प्रहरीधरहरा अध्ययन सञ्चालन गर्छन्। यदि छोराछोरीहरू सभाको लागि दोस्रो कक्षामा बसे भने, उनीहरूले सभामा भाग लिइरहेका छन् कि छैनन्, त्यसबारे आमाबाबुहरू अनभिज्ञ हुनुका साथै उनीहरूले आध्यात्मिक प्रगति गरे, नगरेको केही थाह नहुन सक्छ। यी कारणहरूले गर्दा परिवारहरूले आध्यात्मिक शिक्षाको लागि कुन भाषा रोज्ने हो सो निर्णय गर्नुका साथै त्यही भाषा प्रयोग गर्दै ईश्वरतान्त्रिक गतिविधिहरूमा एकताबद्ध भएर भाग लिनु आवश्यक छ। कुनै-कुनै परिवारहरू आफ्ना छोराछोरीहरूको खातिर अंग्रेजी भाषाका मण्डलीमा सरेका छन्।
११ दिइएका निर्देशनहरू पछ्याउँदा सबैले ईश्वरतान्त्रिक शिक्षाका सम्पूर्ण कार्यक्रमबाट आनन्द उठाउनेछन्। नयाँ व्यक्तिहरूले आफ्नै भाषामा सुसमाचार सुन्नुका साथै यसमा के-के बिथोलित छन् भनेर थाह पाउँदा उनीहरू पनि हाम्रा महान् शिक्षक, यहोवा परमेश्वरको प्रशंसा गर्न उत्प्रेरित हुनेछन्।