यहोवाले चाहनुहुने कुरा हामी गर्न सक्छौं
१. कहिलेकाहीं हामीले कस्ता भावनाहरूको सामना गर्नुपर्ने हुन्छ र किन?
१ यहोवाका व्यवस्था तथा सिद्धान्तहरू अनुसार चल्नु सर्वोत्कृष्ट जीवन शैली हो र यसले हामीलाई अनन्त भविष्यको लागि असल जग बसाल्न मदत गर्छ। (भज. १९:७-११; १ तिमो. ६:१९) तथापि, शैतानको संसारले हामीलाई तनावमा पार्न सक्छ। हाम्रो आफ्नै असिद्ध शरीरले गर्दा अवस्था झनै नाजुक हुन्छ। आफ्ना धर्मशास्त्रीय जिम्मेवारीहरू पूरा गर्ने कोसिस गर्दा-गर्दा कहिलेकाहीं हामी हैरान महसुस गर्न सक्छौं। (भज. ४०:१२; ५५:१-८) यहोवाले हामीबाट चाहनुहुने सम्पूर्ण कुरा हामी गर्न सक्छौं कि सक्दैनौं होला भनेर पनि हामी अन्योलमा पर्न सक्छौं। यस्ता समयहरूमा, कुन कुराले हामीलाई हाम्रो आध्यात्मिक सन्तुलन कायम राख्न मदत गर्न सक्छ?
२. हामीबाट आशा गर्नुहुने कुरामा यहोवा कसरी व्यावहारिक हुनुहुन्छ?
२ यहोवाका आज्ञाहरू बोझिला छैनन्: यहोवाले हामीबाट कहिल्यै अव्यावहारिक मागहरू गर्नुहुन्न। उहाँका आज्ञाहरू बोझिला छैनन् तर हाम्रै भलाइका लागि हुन्। (व्य. १०:१२, १३; १ यहू. ५:३) उहाँलाई हाम्रा मानव कमीकमजोरीहरू थाह छ र “मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनहुन्छ।” (भज. १०३:१३, १४) परमेश्वरको सेवा गर्न हामीले गर्ने यथासक्दो प्रयास हाम्रो परिस्थितिले गर्दा सीमित नै किन नहोस्, त्यसलाई उहाँले दयापूर्वक स्वीकार्नुहुन्छ। (लेवी ५:७, ११; मर्कू. १४:८) हाम्रा भारी उहाँमा बिसाउन उहाँ हामीलाई निमन्त्रणा दिनुहुन्छ र हामीलाई विश्वासी रहन मदत गर्ने आश्वासन दिनुहुन्छ।—भज. ५५:२२; १ कोरि. १०:१३.
३. यहोवाले हामीलाई धैर्य धारण गर्न कसरी बल प्रदान गर्नुहुन्छ?
३ धीरजको खाँचो: एलिया, यर्मिया र पावलजस्ता निष्ठापालक व्यक्तिहरूको बाइबल विवरणहरूले धैर्य धारण गर्नुपर्ने खाँचोलाई देखाउँछ। (हिब्रू १०:३६) दुःखको समयमा र निरुत्साहित भएको बेला यहोवाले उनीहरूलाई सँभाल्नुभयो। (१ राजा १९:१४-१८; यर्मि. २०:७-११; २ कोरि. १:८-११) अनि वर्तमान समयका हाम्रा भाइहरूको वफादारिताले गर्दा हामी उत्साहित भएका छौं। (१ पत्रु. ५:९) यस्ता उदाहरणहरूमा मनन गर्दा त्यसले हामीलाई निरुत्साहित नहुन मदत गर्न सक्छ।
४. परमेश्वरका प्रतिज्ञाहरूलाई सधैं सम्झिरहनु किन महत्त्वपूर्ण छ?
४ परमेश्वरका प्रतिज्ञाहरूमा आशा राख्नु “प्राणको लङ्गर” हो। (हिब्रू ६:१९) यसले अब्राहाम र सारालाई आफ्नो घर छोड्नू भन्ने यहोवाको आग्रह स्वीकार्न र ‘प्रतिज्ञाको देशमा प्रवासी भएर बसोबास’ गर्न उत्प्रेरित गऱ्यो। यसले मोशालाई साँचो उपासनाको लागि साहसिक अडान लिन बल प्रदान गऱ्यो। यसले येशूलाई शासनाको खम्बामा पीडा सहन बलियो बनायो। (हिब्रू ११:८-१०, १३, २४-२६; १२:२, ३) धार्मिक नयाँ संसारबारे परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई आफ्नो हृदयमा उज्यालो बनाइराख्दा त्यसले हामीलाई पनि दृढ रहन मदत गर्नेछ।—२ पत्रु. ३:११-१३.
५. विगतमा हामीले देखाएको वफादारिताका कार्यहरूलाई सम्झनु किन प्रोत्साहनदायी हुन सक्छ?
५ विगतमा हामीले देखाएको वफादारिता, आत्मत्याग र साहसलाई सम्झँदा पनि त्यसले हामीलाई आफ्नो सेवामा अझ जाँगरिलो बनाउँछ। (हिब्रू १०:३२-३४) यसले हामीलाई यहोवाले हामीबाट चाहनुहुने कुरा अर्थात् उहाँलाई हाम्रो तनमनको भक्ति चढाउँदा अनुभव गरेको आनन्दको स्मरण गराउँछ।—मत्ती २२:३७.