स्वर्गदूतहरूले हामीलाई मदत गरिरहेका छन्
१ “हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” येशूले दिनुभएको आज्ञा पालन गर्ने सबैका लागि ती शब्दहरू कत्ति प्रोत्साहनदायी छन्: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ”! (मत्ती २८:१८-२०) येशू साँचो मसीहीहरूका साथमा हुनुहुने एउटा उल्लेखनीय तरिका आफ्ना स्वर्गदूतहरूको माध्यमद्वारा हो। (मत्ती १३:३६-४३) यी विश्वासी आत्मिक प्राणीहरूसँग काँधमा काँध मिलाएर “अनन्त सुसमाचार” घोषणा गर्न पाउनु कत्ति रोमाञ्चकारी कुरा हो!—प्रका. १४:६, ७.
२ हाम्रो सेवकाईमा: स्वर्गदूतहरू “मुक्तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नालाई पठाइएका” हुन्छन् भनी बाइबलमा उल्लेख गरिएको छ। (हिब्रू १:१४) प्रथम शताब्दीमा स्वर्गदूतहरूले येशूका अनुयायीहरूलाई योग्य जनहरू खोज्न सघाए। (प्रेरि. ८:२६) आज पनि परमेश्वरका सेवकहरूले स्वर्गदूतीय निर्देशनको प्रमाण पाइरहेका छन्। थुप्रै अवसरमा, साक्षीहरू आफ्नो घरमा आउँदा मदतको लागि प्रार्थना गरिरहेका थियौं भनी घरधनीहरूले बताएका छन्। यस्ता व्यक्तिहरूले राज्यसन्देश स्वीकार्दा स्वर्गदूतहरू सँगसँगै हामी पनि खुसीले कत्ति गद्गद हुन्छौं!—लूका १५:१०.
३ सतावटको सामना गर्दा: दानियल, तिनका तीन जना हिब्रू सँगी, प्रेरित पत्रुस अनि कठोर परीक्षाहरूमा परेका अन्य थुप्रैले “शक्तिमान वीर” स्वर्गदूतहरू मार्फत यहोवाले प्रदान गर्नुभएको सुरक्षा अनुभव गरेका छन्। (भज. १०३:२०; दानि. ३:२८; ६:२१, २२; प्रेरि. १२:११) कहिलेकाहीं विरोध खप्नुपर्दा निस्सहाय महसुस हुने भए तापनि एलीशाको चाकरको अनुभवबाट हामी प्रोत्साहन पाउन सक्छौं किनभने तिनले “हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्” भन्ने कुरा थाह पाए। (२ राजा ६:१५-१७) हाम्रा मसीही भाइहरूदेखि हामीलाई जबरजस्ती अलग्याइयो भने पनि हामीले हरेस खानुपर्दैन। परमेश्वरको वचन हामीलाई यस्तो आश्वासन दिन्छ: “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्।”—भज. ३४:७.
४ अब चाँडै स्वर्गदूतहरूको पल्टन ख्रीष्टको राजत्वको विरोध गर्न उत्रनेहरू सबैलाई नामेट पार्न अघि बढ्नेछ। (प्रका. १९:११, १४, १५) त्यो दिन पर्खंदै गर्दा ख्रीष्टको आज्ञाअन्तर्गत चल्ने स्वर्गीय पल्टनको शक्तिशाली समर्थनमा पूरा निर्धक्क हुँदै हामी साहसपूर्वक यहोवाको प्रशंसा गरिरहन सकौं।—१ पत्रु. ३:२२.