प्रश्न पेटी
◼ हामीले मण्डलीका जिम्मेवारीहरू कसरी सँभाल्नुपर्छ?
संयुक्त प्रयासले गर्दा नै यहोवाका जनहरूको मण्डली शिष्ट रूपले चल्न सकेको छ। (१ कोरि. १४:३३, ४०) मण्डलीको एउटा सभा सञ्चालन गर्न मात्र पनि के-के गर्नुपर्छ, सोच्नुहोस्। कार्यक्रमबाहेक सभाअघि र पछि पनि भाइबहिनीहरूले विभिन्न जिम्मेवारीहरू सँभाल्दै थुप्रै कामहरू गरिरहेका हुन्छन्। मानिसहरूले प्रत्यक्ष नदेख्ने अन्य जिम्मेवारीहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। यस प्रबन्धमा हामी सबैले कसरी योगदान पुऱ्याउन सक्छौं?
आफूलाई उपलब्ध गराउनुहोस्। इच्छुक मनोभाव भएका व्यक्तिहरूले गर्नुपर्ने धेरै कामहरू भेट्टाउने छन्। (भज. ११०:३) बिरामी र वृद्धहरूप्रति चासो देखाउनुहोस्। राज्यभवन सरसफाइ गर्ने काममा सघाउनुहोस्। नअराईकन पनि हामी थुप्रै लाभदायी कामहरू गर्न सक्छौं। हामीसित केवल मदत गर्ने इच्छा हुनु जरुरी छ।
नम्र भई सेवा गर्नुहोस्। नम्र व्यक्तिहरू अरूको सेवा गर्न पाउँदा रमाउँछन्। (लूका ९:४८) नम्रताले हामीलाई आफ्नो क्षमताले नभ्याउने गरी जिम्मेवारीहरू स्वीकार्न लगाउने छैन। त्यति मात्र होइन, नम्रताले हामीलाई आफ्नो अधिकारभन्दा बाहिरको काम नगर्न पनि मदत गर्नेछ।—हितो. ११:२.
विश्वासयोग्य हुनुहोस्। प्राचीन इस्राएलमा जिम्मेवार ओहदामा काम गर्न मोशालाई “योग्य” अर्थात् विश्वासयोग्य मानिसहरू चुन्न प्रोत्साहित गरियो। (प्रस्थ. १८:२१) आज पनि यो गुण आवश्यक छ। तपाईंले पाउनुहुने हरेक जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई निभाउनुहोस्। (लूका १६:१०) कुनै जिम्मेवारी पूरा गर्न सक्नुहुन्न भने, तपाईंको अनुपस्थितिमा यसको हेरविचार गर्न अर्को व्यक्तिको उपयुक्त प्रबन्ध मिलाइएको छ कि छैन पक्का गर्नुहोस्।
सक्दो गर्नुहोस्। सांसारिक कामकुराहरूको सन्दर्भमा समेत तनमनले काम गर्न मसीहीहरूलाई आग्रह गरिएको छ। (कल. ३:२२-२४) साँचो उपासनालाई अघि बढाउने सन्दर्भमा यसो गर्ने झनै ठूलो कारण छ। कुनै काम सानो वा कम महत्त्वको देखिए तापनि त्यसलाई राम्रोसित पूरा गर्दा त्यसबाट मण्डलीले लाभ उठाउँछ।
हरेक जिम्मेवारीले हामीलाई यहोवा र हाम्रा भाइहरूप्रतिको हाम्रो प्रेम प्रदर्शन गर्ने मौका दिन्छ। (मत्ती २२:३७-३९) हामीलाई जस्तोसुकै जिम्मेवारी सुम्पिइए तापनि हामी त्यसलाई विश्वासीपूर्वक गर्न सकौं।