यहोवाको दिन नजिकै छ
१ मसीहीहरू आउँदै गरेको यहोवाको दिनको उत्सुकतासाथ इच्छा गर्छन् जुन दिन उहाँले वर्तमान रीतिरिवाजलाई नाश गरेर धार्मिकताले बास गर्ने एउटा नयाँ संसार बसाल्नुहुनेछ। (२ पत्रु. ३:१२, १३) त्यो दिन कहिले आउँछ सो हामीलाई ठ्याक्क थाह नभएकोले हामी जागा रहिरहनै पर्छ र अरूलाई पनि त्यसै गर्न मदत दिनुपर्छ। (इज. ३३:७-९; मत्ती २४:४२-४४) परमेश्वरको भविष्यसूचक वचनमा मनन गऱ्यौं भने ‘यहोवाको भयानक दिन नजिकै छ’ भन्ने हाम्रो विश्वस्तता सुदृढ हुनेछ।—सप. १:१४.
२ विश्वशक्तिहरूको शृङ्खलाबद्ध उत्थान: प्रकाश १७:९-११ मा लिपिबद्ध गरिएअनुसार सातवटा विश्वशक्तिको शृङ्खलाबद्ध उत्थानलाई सङ्केत गर्ने “सात राजाहरू[बारे]” प्रेरित यूहन्ना बताउँछन्। यूहन्ना “एउटा आठौं” राजाबारे पनि बताउँछन् जसले हाल संयुक्त राष्ट्रसंघलाई सङ्केत गर्छ। के हामी अरू विश्वशक्तिहरू पनि देखापरेको आशा गर्न सक्छौं? अहँ, सक्दैनौं किनभने यो आठौं राजा “सत्यानाशमा जानेछ” भनी भविष्यवाणी बताउँछ र यसपछि अन्य पार्थिव राजाहरूबारे केही पनि उल्लेख गरिएको पाउँदैनौं। समयको रफ्तारमा हामी कहाँ छौं भन्ने कुरा बुझ्न के यस भविष्यवाणीले तपाईंलाई मदत गर्दैन र?
३ दानियल २:३१-४५ ले हामीलाई आउँदै गरेको यहोवाको दिनबारे बुझ्न मदत गर्छ। त्यस भविष्यवाणीमा नबूकदनेसरले सपनामा देखेको विशाल मूर्तिले विश्वशक्तिहरूको शृङ्खलाबद्ध उत्थानलाई सङ्केत गर्छ। यी सबै शक्तिहरू देखापरिसकेका छन्। आज हामी इतिहासको कुन कालक्रममा बाँचिरहेका छौं? मूर्तिको खुट्टाले चित्रण गर्ने समयमा। भविष्यवाणीमा अब के हुनेछ भन्ने कुराको ज्वलन्त विवरण दिइएको छ। मानव शासनलाई पूर्णतया खत्तम पारिनेछ र ‘कहिल्यै नाश नहुने एउटा राज्य खडा’ हुनेछ। यहोवाको दिन नजिकै छ भनेर यसले कसरी देखाउँछ, के तपाईं बुझ्न सक्नुहुन्छ?
४ थप प्रमाण: यहोवाको दिन नजिकै छ भन्ने कुराको थप प्रमाण हामीले आफ्नै आँखाले देखेका छौं। प्रेरित पावलले “आखिरी दिनमा” मानिसहरूको स्वभावबारे जे-जस्तो भविष्यवाणी गरे त्यसको पूर्ति हामीले देखिरहेका छौं। (२ तिमो. ३:१-५) अनि अन्त आउनुभन्दा अघि विश्वव्यापी रूपमा गर्नुपर्ने साक्षीकार्यमा हामीले भाग लिइरहेका छौं। (मत्ती २४:१४) हाम्रो जन सेवकाईले स्वर्गदूतले गरेको यस घोषणाको अविलम्बी भाव झल्काइरहोस्: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।”—प्रका. १४:६, ७.