पहिलो प्रेम नछोड्नुहोस्
१ महिमित येशूले एफिससमा भएको प्रथम शताब्दीको मण्डलीलाई यस्तो सल्लाह दिनुभयो: “तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोडिदिएका छौ।” (प्रका. २:४) सायद उनीहरूमध्ये धेरैले यहोवाप्रति सुरुमा जुन प्रेम थियो, त्यो छोडिदिएका थिए। सुरुमा सच्चाइ सिक्दै गर्दा हामीमा परमेश्वर र छिमेकीहरूप्रति गहिरो प्रेम जाग्यो अनि आफूले भर्खरै पाएको विश्वासबारे जोसका साथ बताउन अघि सऱ्यौं। हामीमा भएको पहिलो प्रेम नछोड्न र सेवकाईमा सुस्त नहुन कुन कुराले मदत गर्छ?
२ व्यक्तिगत अध्ययन र सभामा उपस्थिति: सुरुमा हामीले सच्चाइ सिक्दा परमेश्वर र छिमेकीहरूप्रति कसरी प्रेम जाग्यो? बाइबल अध्ययन गर्दा हामीले यहोवाबारे जे जति सिक्यौं, त्यसले गर्दा होइन र? (१ यूह. ४:१६, १९) त्यसैले हाम्रो “प्रेम झन्-झन् प्रशस्त” बनाउँदै लैजाने हो भने सही ज्ञान लिनुका साथै “परमेश्वरका गहिरा-गहिरा कुराहरू” खोजिरहनुपर्छ।—फिलि. १:९-११; १ कोरि. २:१०.
३ अहिले हामी आखिरी दिनमा बाँचिरहेकोले तीन थुप्रो चिन्ता र अलमल्याउने कुराहरूसित लड्नुपर्छ। (२ तिमो. ३:१) त्यसैले व्यक्तिगत अध्ययनको राम्रो तालिका कायम राख्न असाध्यै गाह्रो हुन सक्छ। हामीले आफ्नो तालिका मिलाउँदा आध्यात्मिक खाना खाने समय छुट्याउनै पर्छ। विशेष गरी “दिन नजिक-नजिक आइपुगेको” हुनाले मण्डलीका सभाहरूमा नियमित रूपले उपस्थित हुनु पनि महत्त्वपूर्ण छ।—हिब्रू १०:२४, २५.
४ सेवकाई: जोसका साथ सेवकाईमा भाग लिंदा यसले हामीलाई परमेश्वरप्रतिको पहिलो प्रेम नगुमाउन मदत गर्छ। सुसमाचार प्रचार गर्दा हामी यहोवाका मायालु प्रतिज्ञाहरू सम्झिरहन सक्छौं, जसले गर्दा हाम्रो आशा धमिलिन र प्रेम सेलाउन पाउँदैन। अरूलाई बाइबल सच्चाइ सिकाउनअघि हामी आफैले अनुसन्धान गरेर त्यो कुरा राम्ररी बुझेको हुनुपर्छ। यसरी हाम्रो विश्वास बलियो हुन्छ।—१ तिमो. ४:१५, १६.
५ यहोवा सबै कुरा ग्रहण गर्न योग्य हुनुहुन्छ अनि त्यसमा हाम्रो प्रेम पनि पर्छ। (प्रका. ४:११) आफ्नो प्रेम सेलाउन नदिनुहोस्। लगनशील भई व्यक्तिगत बाइबल अध्ययन गरेर, नियमित रूपले सभाहरूमा उपस्थित भएर अनि तपाईंलाई एकदमै प्रिय लागेको कुरा जोसका साथ अरूलाई पनि बताएर आफ्नो पहिलो प्रेम बलियो राखिरहनुहोस्।—रोमी १०:१०.