‘हरेकलाई कसरी जवाफ दिनुपर्छ, त्यो जान्नुहोस्’
अप्ठेरो परिस्थितिमा प्रचार गर्दा आइपर्ने चुनौती प्रेरित पावललाई राम्ररी थाह थियो। इस्वी संवत् ५६ तिर उनले यरूशलेममा सामना गरेको परिस्थिति विचार गर्नुहोस्। (प्रेरि. २१:२७, २८, ३०, ३९, ४०) यस्तो अवस्थामा पूर्वाग्रहको सामना गर्न र सुसमाचार प्रचार गर्दा आइपर्न सक्ने विरोध कम गर्न सही शब्द छानेर कुरा गर्नुपर्ने महत्त्व उनले बुझे। (प्रेरि. २२:१, २) पावलले प्रयोग गरेका शब्दहरू सुनेर त्यतिखेर मानिसहरू एकछिन भए पनि चुपो लागे। (प्रेरि. २२:२२) यस्तो अनुभव गरेकोले नै पावलले कलस्सीको मण्डलीलाई बाहिर रहेकाहरूतर्फ बुद्धिमानीसाथ चल्न, अनुग्रहसहितको वचन बोल्न र विरोध गर्नेहरूलाई ‘कसरी जवाफ दिनुपर्छ, त्यो जान्न’ प्रोत्साहन दिन सके। (कल. ४:५, ६) हामीले पनि प्रचारकार्यमा त्यसै गर्नुपर्छ।
प्रचार गर्ने र सिकाउने कामलाई शान्त र शिष्ट तरिकामा पूरा गर्ने प्रयास गर्दागर्दै पनि मानिसहरूले हामीलाई शंका गर्ने परिस्थिति आइपर्न सक्छ। हामीमाथि गैरकानुनी तरिकामा ‘धर्म परिवर्तन’ गरायौ भन्ने आरोप पनि आउन सक्छ। त्यतिखेर परिस्थितिलाई सफलतासाथ सँभाल्न पहिल्यै विचार पुऱ्याउनुपर्छ। एक जनाले सोधेको होस् वा भीडले, जवाफ दिंदा नहड्बडाउनुहोस्। यहोवा, पवित्र आत्माद्वारा तपाईंसित हुनुहुनेछ भनेर विश्वस्त हुनुहोस्। (मत्ती १०:१९, २०) शब्द-चयनले निकै ठूलो असर पार्छ भन्ने कुरा नबिर्सनुहोस्। अरूले उल्टो बुझ्न सक्ने वा गलत अर्थ लाग्न सक्ने शब्द प्रयोग गर्नदेखि होसियार हुनुहोस्। सायद, तपाईं ‘प्रचार गर्दैछु’ भन्नुको साटो परमेश्वरको वचनमा पाइने सुसमाचार ‘सुनाउँदैछु,’ अनि प्रकाशनहरू ‘बाँड्दैछु’ भन्नुको साटो पढ्न चाहनेहरूलाई साहित्य ‘दिंदैछु’ भन्न सक्नुहुन्छ। निश्चय नै, येशू ख्रीष्टको पछि लाग्ने हाम्रो जिम्मेवारी पूरा गर्न हामी लजाउँदैनौं। तर हामी चनाखो भने पक्कै हुन्छौं।
तपाईंलाई कसैले “प्रचार गरेको/धर्म परिवर्तन गराएको” भन्यो भने के जवाफ दिनुहुन्छ? तपाईं यस्तै केही भन्न सक्नुहुन्छ: “हामी धर्म परिवर्तन गर्नुपर्छ भनेर कसैलाई पनि भन्दैनौं। यस कुरामा ढुक्क हुनुभए हुन्छ। अनि हामी कसैलाई कुनै किसिमको लोभ-लालच पनि देखाउँदैनौं।” तपाईं पनि उनीहरूजस्तै कर्मचारी/गृहणी/विद्यार्थी हुनुहुन्छ भनेर बताउन पनि सक्नुहुन्छ। सायद तपाईं यसो भन्न सक्नुहुन्छ: “म तपाईंको छिमेकमै बस्छु र तपाईंलाई सान्त्वना अनि प्रोत्साहन दिने जानकारी दिन मात्र आएको हुँ। सुन्ने/नसुन्ने, त्यो हरेकको आफ्नै इच्छा हो।” अथवा यस्तै केही भन्न पनि सकिन्छ: “मैले सुनाइरहेको सन्देशलाई रेडियो/टिभीमा दिइने जानकारीसित तुलना गर्न सकिन्छ। कसैले सुन्छन् त कसैले सुन्दैनन्। यो उनीहरूको व्यक्तिगत छनौट हो। तर रेडियो/टिभीमा दिइएको जानकारी जीवन-मरणसँग सम्बन्धित रहेछ भने के गर्नुहुन्छ? पक्कै पनि सुन्नुहुन्छ नि, हैन र? मैले सुनाउन आएको सन्देश, हरेक जातिका मानिसहरू मिलेर बस्ने शान्तिमय नयाँ संसारबारे हो। तर यदि तपाईं सुन्न चाहनुहुन्न भने, म जान्छु।”
कसैकसैले यसरी निहुँ खोज्लान्: “तपाईंहरूले हामीलाई ‘मूर्तिहरू फाल्! पूजा गर्न छोड्!’ भन्न खोजेको हो?” प्रथम शताब्दीका ख्रीष्टियानहरूले पनि यस्तै अप्ठेरो सामना गर्नुपरेको थियो। (प्रेरि. १९:२३-४१) तपाईं यसो भन्न सक्नुहुन्छ: “यहोवाका साक्षीहरू अरूको लागि निर्णय गर्दैनन् वा यसरी नै उपासना गर्नुपर्छ भनेर भन्दैनन्। यो सृष्टिकर्ता र आफूबीचको व्यक्तिगत कुरा हो। मैले त व्यक्तिविशेष अनि परिवारलाई फाइदा हुने केही कुरा परमेश्वरको वचनबाट सुनाइरहेको मात्र हो। मेरो कुरा सुन्नैपर्छ भन्ने कर कसैलाई पनि छैन। तपाईंलाई सुन्न मन छैन भने भन्नुभए हुन्छ।” यसप्रकार, सही शब्द छानेर बोल्दा हाम्रो जिम्मेवारीलाई सम्झौता नगरिकनै समस्या उत्पन्न हुन सक्ने परिस्थितिलाई साम्य पार्न सक्नेछौं।
हामी किन प्रचारमा भाग लिन्छौं भनेर कहिलेकाहीं कसैले नबुझ्लान् र हामीमाथि विरोध आइपर्ला। तैपनि, यहोवाले हामीलाई मदत गर्नुहुन्छ भनेर विश्वस्त हुँदै आनन्दित भइरहन सक्छौं। (२ कोरि. २:१५-१७) हामीले भोग्न सक्ने जस्तोसुकै विरोधले हाम्रो आनन्द खोस्न नसकोस्। (नहे. ८:१०) हरेकलाई कसरी जवाफ दिनुपर्छ, त्यो पहिल्यै विचार गर्दा हाम्रो लक्ष्य शान्ति कायम गर्ने र अनुग्रहसहितका शब्द प्रयोग गर्ने हुन सकोस्!