के तपाईंको परिवारले उद्धार पाउन तयारी गर्दैछ?
१ यस दुष्ट संसारको अन्त्य नजिकिंदै गइरहेको छ भन्ने कुराको भरपर्दो प्रमाण पूरा भइसकेको बाइबल भविष्यवाणीले दिन्छ। अहिले हामी बाँचिरहेको समय जलप्रलयअगाडिको जस्तै नाजुक छ। (मत्ती २४:३७-३९) जलप्रलयको विनाशबाट नूह बचे किनकि “तिनी परमेश्वरको साथै हिंडनेगर्थे।” (उत्प. ६:९) नूहले निश्चय नै आफ्नो परिवारलाई पनि यहोवाको मार्ग सिकाएका थिए। त्यसैले तिनको परिवार विनाशबाट बच्न सक्यो। त्यसोभए, यस दुष्ट संसारको विनाश हुँदा बच्ने हो भने नूहले जस्तै के-के गर्न सक्छौं र स-परिवारले नै उद्धार पाउन कसरी तयार हुन सक्छौं?
२ धार्मिकताका प्रचारक: नूह लगभग ४० देखि ५० वर्षसम्म “धार्मिकताका प्रचारक”-को रूपमा लागिरहे। (२ पत्रु. २:५, NRV) मानव रूप धारण गरेका विद्रोही स्वर्गदूतको प्रभावमा परेकोले होस् वा अन्य कारणले, नूहले प्रचार गर्दा छिमेकीहरूले पक्कै पनि खिसी गरेको हुनुपर्छ। प्रचार गर्दा हामीलाई पनि मानिसहरूले अक्सर गिल्ला गर्छन् वा तिनीहरू भावशून्य हुन्छन्। यसले वर्तमान रीतिरिवाजको अन्त नजिकै छ भन्ने प्रमाण दिन्छ। (२ पत्रु. ३:३, ४) तर नूहको समयका मानिसहरूको ठीक विपरीत, थुप्रैले हाम्रो प्रयासको कदर गरेका छन् र यहोवाको उपासना गर्न ‘ओइरिरहेका छन्।’ (यशै. २:२) लगनशील भयौं भने मात्र हामीले ‘आफूलाई र हामीलाई सुन्नेलाई समेत’ बचाउनेछौं। (१ तिमो. ४:१६) त्यसैकारण, आमाबाबुले वचन र उदाहरणद्वारा आफ्ना छोराछोरीलाई प्रचार गर्नुको महत्त्व सिकाउनु कत्ति जरुरी छ!—२ तिमो. ४:२.
३ तिनले “सबै गरे”: यहोवाको आज्ञा मानेकोले नै नूह र तिनको परिवार बच्न सक्यो। (उत्प. ६:२२) त्यसैगरि, आज हामी पनि बाइबल र विश्वासी दासले दिने निर्देशन पालन गर्न “मृदुभाव”-को हुनुपर्छ अर्थात् “आज्ञा मान्न तयार” हुनुपर्छ। (याकू. ३:१७, NW) आफूहरू सानो छँदा बुबाले यहोवाको संगठनबाट पाएको सल्लाह लागू गरेको कुरा एउटा परिवारको हुर्किसकेका छोराछोरी सम्झन्छन्। उदाहरणको लागि, बुबाले हरेक हप्ता पारिवारिक अध्ययन सञ्चालन गर्थे र संगठनको सुझावअनुसारै हरेक सप्ताहन्त परिवारका सबैलाई प्रचारमा लान्थे। हरेक हप्ता कुनै एक छोराछोरीसँग प्रचारमा जाने प्रयास पनि गर्थे। ‘सबै गर्ने’ उनको दृढताले छोराछोरीमाथि गहिरो प्रभाव पाऱ्यो र उनका छ जना छोराछोरीमध्ये छ जना नै अहिले यहोवाको वफादार सेवक भएका छन्।
४ यस रीतिरिवाजको अन्त अकस्मात् हुनेछ। (लूका १२:४०) नूहको अनुकरण गऱ्यौं र उद्धार पाउन विश्वासमा लागिरह्यौं भने हामी र हाम्रो परिवार निश्चय नै तयार भएका हुनेछौं।—हिब्रू ११:७.