मण्डली पुस्तक अध्ययनमा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रयोग गर्ने
१ परमेश्वरको लिखित वचनमा भएको सन्देश शक्तिशाली छ। यसले विश्वका लाखौं मानिसको जीवन परिवर्तन गरेको छ। (हिब्रू ४:१२) बाइबल विवरणहरू पढ्दा र त्यसलाई कल्पना गर्दा परमेश्वरको वचनले व्यक्तिगत रूपमा असर पार्छ। हो, बाइबलका विवरणहरू पानामा मात्र सीमित इतिहास होइनन्; यी जीवित छन् र दुरुस्त पूरा भइरहेका छन्। मण्डली पुस्तक अध्ययनमा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रयोग गरेर परमेश्वरको लिखित वचन विस्तृत रूपमा छलफल गर्दा हामीले ठूलो मदत पाउनेछौं।
२ बाइबलका कथाहरू भएको मेरो पुस्तक-ले असाध्यै रोचक र बुझ्न सजिलो तरिकामा बाइबलको आधारभूत ज्ञान दिन्छ। बाइबल विवरणहरू ऐतिहासिक क्रमानुसार राखिएका छन्। यसमा सिकाउन असाध्यै उपयोगी थुप्रै रङ्गीन चित्र छन् जसले हामीलाई बाइबल विवरणहरूमा मनन गर्न मदत गर्छ। (भज. ७७:१२) यसरी मानौं, यस पुस्तकले हामीलाई परमेश्वरको डर राख्ने अब्राहाम, इसहाक, याकूबजस्ता कुलपिताहरूसँगै “हिंड्न” मदत गर्छ। सारा, रिबेका, वफादार मोआबी रूथजस्ता परमेश्वरको डर राख्ने स्त्रीहरूलाई “हेर्न” सक्छौं। येशू ख्रीष्टको बोली जस्तै: डाँडाको उपदेश “सुन्न” समेत सक्छौं। मण्डली पुस्तक अध्ययनको लागि राम्ररी तयार गर्दा पवित्र शास्त्रका यी सबै उत्तम निर्देशनबाट लाभ उठाउन सक्नेछौं। निःसन्देह, यो अध्ययनले परमेश्वरको वचन पढ्ने हाम्रो संकल्पलाई बलियो बनाउनेछ। यसरी पढ्दा हाम्रो आनन्द अझै बढ्नेछ र पढाइ अर्थपूर्ण हुनेछ!
३ बाइबलका कथाहरू पुस्तकको हरेक अध्यायको लागि दुई किसिमका प्रश्नहरू छन्। पहिलो किसिमको प्रश्नले कथा र त्यसमा भएका घटनाहरूको पुनरावृत्ति गर्छ। सम्पूर्ण कथा पढिसकेपछि अध्ययन सञ्चालकले पुनरावृत्तिका यी प्रश्नहरू सोध्नेछन्। कथामा भएकै विषयवस्तुमा आधारित छोटो र प्रश्नले माग गरेको जवाफ दिनुपर्छ। कृपया याद गर्नुहोस्, हरेक प्रश्न कथाको घटनाक्रमअनुसार छैन।
४ त्यसपछि, छलफल गरिएको कथाबाट सिक्न सकिने पाठलाई जोड दिन सञ्चालकले उपलब्ध दोस्रो किसिमका प्रश्नहरू सोध्नेछन्। प्रत्येक थप प्रश्नअघि बाइबल पदहरू उल्लेख गरिएका छन्। यिनीहरूमध्ये केही त असाध्यै लामा छन्। पुस्तक अध्ययनको लागि तयारी गर्दा नै सबैले यी पदहरू पढ्नुपर्नेछ। प्रत्येक थप प्रश्नहरूका पछाडि थुप्रै बाइबल पदहरू उल्लेख गरिएको पनि पाउनुहुनेछ। यी पदहरू जवाफ पत्ता लगाउन मदतकारी छन्। त्यसैले यी पदहरू विवरणमा जोड दिइएका कुरासँग कसरी सम्बन्धित छन् भनेर बुझाउन सञ्चालकले अर्थपूर्ण टिप्पणी निकाल्नुपर्छ। सञ्चालकले उपस्थित भएकाहरूलाई बाइबलका विषयवस्तुहरू र लागू गर्न सकिने यसका शिक्षाहरूमा ध्यान केन्द्रित गर्न मदत दिनुपर्छ।
५ पुस्तक अध्ययनमा यस पुस्तकको हरेक भागको परिचयलाई छुट्टै अध्यायको रूपमा लिइएको छ। हरेक भागको परिचय पढिसकेपछि सञ्चालकले आफैले तयार पारेका उपयुक्त प्रश्नहरू सोध्नेछन्। त्यस भागमा छलफल गरिने विषयवस्तुलाई यसरी पहिल्यै विचार गर्दा पछाडिका कथाहरूको लागि आधार बस्नेछ। यो पुस्तक अध्ययन गर्दा हाम्रो मन र हृदय आध्यात्मिक गुणहरूले भरियोस् र स्वर्गमा बस्नुहुने हाम्रा महान् पिता यहोवाको अझ नजिक हुन मदत गरोस्।—याकू. ४:८.