“कसैले नबताईकन म कसरी . . . ?”
१ सुसमाचारका प्रचारक फिलिपले इथियोपियाली नपुंसकलाई तिनले पढिरहेको कुरा बुझ्दैछन् कि छैनन् भनेर सोध्दा तिनले यस्तो जवाफ दिए: “कसैले नबताईकन म कसरी बुझौंला र?” फिलिपले तिनलाई येशूको सुसमाचार बुझ्न खुसीसाथ मदत गरे फलतः ती मानिसले तुरुन्तै बप्तिस्मा लिए। (प्रेरि. ८:२६-३८) ‘सबै देशका जातिहरूलाई चेला बनाओ, बप्तिस्मा देओ र सिकाओ’ भन्ने ख्रीष्टको आज्ञा फिलिपले पालन गरिरहेका थिए।—मत्ती २८:१९, २०.
२ फिलिपले जस्तै हामीले पनि चेला बनाउने यो आज्ञा पालन गर्नुपर्छ। तथापि, हामीसित बाइबल अध्ययन गर्ने मानिसहरूले इथियोपियाली नपुंसकले जस्तै चाँडचाडो आध्यात्मिक उन्नति गरेको प्रायजसो देखिंदैन। यहूदी धर्म मान्ने ती मानिसको हृदय ग्रहणशील थियो र येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर मात्र स्वीकार्न बाँकी थियो। हामीसित अध्ययन गर्नेहरू बाइबलसित अपरिचित छन्, झूटा धार्मिक शिक्षाहरूको बहकाउमा परेका छन् वा कठिन व्यक्तिगत समस्याको बोझले दबिएका छन् भने त्यसो गर्नु चुनौतीपूर्ण नै हुन्छ। बाइबल विद्यार्थीहरूलाई समर्पण र बप्तिस्मा लिने हदसम्म पुऱ्याउन हामीलाई केले मदत गर्छ?
३ बाइबल विद्यार्थीको आध्यात्मिक आवश्यकता सन्तुष्ट पार्नुहोस्: बाइबल विद्यार्थीले बिस्तारै नै भए पनि उन्नति गरिरहेको र आफूले सिकिरहेको कुराप्रति कदर गरेको प्रस्ट देखिन्छ भने, बाइबलले सिकाउँछ पुस्तकबाट अध्ययन सिद्धिएपछि पनि उपासना पुस्तकबाट बाइबल अध्ययन गरिनै रहनुहोस्। हामीले अध्ययन गर्ने हरेक जिज्ञासु व्यक्तिसित घनिष्ठ हुनु र उनीहरूप्रति व्यक्तिगत चासो देखाउनु ख्रीष्टियान प्रेमको चिनारी हो। विद्यार्थीहरूलाई परमेश्वरको वचनमा पाइने सत्य अझ गहिरोसँग बुझ्न मदत दिनु हाम्रो उद्देश्य हो। त्यसपछि तिनले प्राप्त ज्ञानको आधारमा सोचीसम्झी सच्चाइको लागि दृढ अडान लिन सक्छन् र बप्तिस्मा लिएर यहोवाप्रति समर्पण जाहेर गर्न सक्छन्।—भज. ४०:८; एफि. ३:१७-१९.
४ इथियोपियाली नपुंसकले बप्तिस्मा लिएपछि के भयो तपाईंले सम्झनुभएको छ? येशू ख्रीष्टको नयाँ चेला भएकोले तिनी “रमाई रमाईकन आफ्नो बाटो लागे।” (प्रेरि. ८:३९, ४०) हामीलगायत हामीले सफलतासाथ सच्चाइको बाटोमा डोऱ्याएका मानिसहरूले यहोवा परमेश्वरको सेवामा अहिले र सदासर्वदै आनन्द पाउन सकौं!