शनिबारको प्रचारकार्यमा भाग लेऔं!
१. पावल र तिनका सहयात्रीहरूले फिलिप्पीमा आराम नगरी प्रचारकार्यमा लागेको कुराबाट हामी के सिक्न सक्छौं?
१ विश्राम-दिनमा फिलिप्पी सहरका धेरैजसो यहूदीहरू आराम गर्थे। पावल र तिनका सहयात्रीहरू आफ्नो एउटा मिसनरी यात्राको दौडान त्यस सहरमा भ्रमण गर्दै थिए। त्यसैले त्यो दिन प्रचार नगरी तिनीहरूले आराम गरेका भए पनि कसैले आपत्ति जनाउने थिएनन्। तर तिनीहरूलाई के थाह थियो भने त्यस दिन यहूदीहरू सहरबाहिर प्रार्थना गर्न भेला हुन्थे। त्यसैले तिनीहरूले मौकाको फाइदा उठाउँदै यहूदीहरूलाई प्रचार गरे। सुसमाचार सुनेर लिडिया र उनको घरमा हुने सबैले बप्तिस्मा गर्दा पावल र तिनका सहयात्रीहरू कत्ति खुसी भए होलान्! (प्रेषि. १६:१३-१५) आज थुप्रै देशमा मानिसहरू आइतबारको दिन (नेपालमा शनिबार) आराम गर्छन्। त्यसैले शनिबार केही समय प्रचारकार्यमा बिताउनुभए कसो होला?
२. आइतबारका दिन प्रचारकार्यमा विनारोकटोक भाग लिन सक्न यहोवाका जनहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्यो?
२ आइतबारको प्रचारको लागि सङ्घर्ष: सन् १९२७ मा यहोवाका साक्षीहरूलाई प्रत्येक आइतबार केही समय प्रचारकार्यमा बिताउन प्रोत्साहन दिइयो। तर तिनीहरूले तुरुन्तै विरोध खप्नुपऱ्यो। आइतबार विश्राम लिनुपर्ने नियम तोडेको, शान्ति खलबल्याएको र विनाअनुमति प्रकाशनहरू बिक्री-वितरण गरेको आरोपमा अमेरिकाका थुप्रै भाइबहिनी पक्राउमा परे। तर यहोवाका जनहरूले हार मानेनन्। सन् १९३० को दशकमा साक्षीहरूलाई समूह-समूहमा विभाजन गरेर प्रचार गर्न एउटा विशेष अभियानको प्रबन्ध मिलाइयो। जसअनुसार एउटा इलाका ढाक्न वरपरका मण्डलीका प्रकाशकहरू त्यहाँ ओइरिन्थे। प्रकाशकहरू पक्राउमा पर्दा तिनीहरू यत्ति धेरै हुन्थे कि त्यहाँका अख्तियारवालाहरूलाई के गरौं, कसो गरौं हुन्थ्यो। आइतबारका दिन (नेपालमा शनिबार) प्रचारकार्यमा विनारोकटोक भाग लिन सकियोस् भनेर ती भाइहरूले गरेको त्यागको के तपाईं साँच्चै मोल गर्नुहुन्छ?
३. प्रचारकार्यमा भाग लिन शनिबार किन राम्रो दिन हो?
३ प्रचार गर्ने सर्वोत्तम दिन: शनिबार थुप्रैको छुट्टी हुने भएकोले तिनीहरू घरमै हुन्छन्। त्यस दिन तिनीहरू अक्सर आराम गर्ने गर्छन् र फुर्सदिला हुन्छन्। धर्मकर्म गर्नेहरू त्यस दिन भगवान्बारे कुरा गर्न बढी इच्छुक हुन सक्छन्। अनि हाम्रो सभा पनि शनिबारै हुने भएकोले प्रचारकार्यको लागि उपयुक्त लुगा पहिल्यै लगाइसकेका हुन्छौं। त्यसकारण सभाअघि वा पछि क्षेत्र सेवामा भाग लिने योजना बनाउनुभए कसो होला? भोक लाग्छ भने हल्काफुल्का खाजा लान सक्नुहुन्छ।
४. शनिबार प्रचारकार्यमा केही समय बितायौं भने कस्तो आनन्द प्राप्त गर्न सक्छौं?
४ शनिबार प्रचारकार्यमा केही समय बितायौं भने पनि हामीलाई आराम गर्न चाहिने समय त अझै बाँकी हुन्छ। अनि यसरी आराम गर्दा पवित्र सेवामा भाग लिएर पाइने सन्तुष्टि अनुभव गर्न सक्नेछौं। (हितो. १९:२३, NRV) लिडियाजस्तै कसैलाई भेट्टाउँदाको आनन्द पनि हामीले महसुस गर्न सक्नेछौं!