जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
डिसेम्बर २५-३१
बाइबलमा पाइने अनमोल धन | मलाकी १-४
“के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ?”
jd-E पृ. १२५-१२६ अनु. ४-५
यहोवालाई खुसी बनाउने पारिवारिक जीवन
४ मलाकीको समय अर्थात् पाँचौं शताब्दीमा यहूदीहरू माझ सम्बन्धविच्छेद गर्नु भनेको सामान्य कुरा थियो। तिनीहरूलाई मलाकीले यसो भने: “परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनको स्वास्नीको बीचमा गरिएको करारको साक्षी हुनुहुन्छ—तिमीहरूका स्वास्नी जसलाई तिमीहरूले धोका दियौ।” पतिहरूबाट धोका पाएर “रोदन र सुस्केरा” हालेका ती पत्नीहरूको आँसुले परमेश्वरको वेदी भिजियो। अनि भ्रष्ट पुजारीहरूले त्यस्तो क्रूरतालाई क्षमा गरिदिए।—मलाकी २:१३, १४.
५ मलाकीको समयमा मानिसहरूले विवाहप्रति राखेको खराब मनोवृत्तिलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुभयो? मलाकीले यस्तो लेखे: “किनभने स्वास्नीलाई त्याग्ने कुरालाई म घीन गर्दछु, ‘परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ।’ ” तिनले यहोवाबारे थप यस्तो लेखे, ‘परमप्रभु कहिल्यै परिवर्तन हुनुहुन्न’। (मलाकी २:१६; ३:६) के तपाईंले यस पदमा बताएको कुरा बुझ्नुभयो? सुरुमा यहोवाले सम्बन्धविच्छेद विरुद्ध कडा अडान लिनुभयो। (उत्पत्ति २:१८, २४) मलाकीको समयमा पनि त्यस्तै अडान लिनुभयो। अनि अहिले हाम्रो समयमा पनि उहाँको अडान परिवर्तन भएको छैन। केही मानिसहरू आफ्नो पति वा पत्नी देखि असन्तुष्ट भएकोले सम्बन्धविच्छेद गर्न खोज्छन्। मानिसको हृदय छली हुनेभएकोले यहोवा त्यसको जाँच गर्नुहुन्छ। (यर्मिया १७:९, १०) मानिसले जतिसुकै तर्क गरे तापनि सम्बन्ध विच्छेद गर्नुको पछाडि छल र ईर्ष्या छ भनी यहोवा जान्नुहुन्छ। हो, “यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस् तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँसामु सबै कुरा खुला र उदाङ्ग छन्।”—हिब्रू ४:१३.