जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मे ७-१३
बाइबलमा पाइने अनमोल धन | मर्कूस ७-८
“आफ्नो यातनाको खम्बा उठाओ र निरन्तर मेरो पछि लाग”
nwtsty-E मर्कू ८:३४ को अध्ययन नोट
उसले आफूलाई इन्कार गरोस्: वा “आफूमाथिको सबै अधिकार त्यागोस्।” यसले कोही व्यक्ति आफूलाई पूरै इन्कार गर्न वा आफूमाथिको सारा अधिकार परमेश्वरलाई सुम्पन इच्छुक हुनुलाई बुझाउँछ। यहाँ प्रयोग गरिएको ग्रीक अभिव्यक्तिलाई “उसले आफूलाई ‘नाइँ’ भन्नै पर्छ” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसो भन्नु सुहाउँदो छ किनभने येशूको पछि लाग्दा आफ्नो व्यक्तिगत चाहना, लक्ष्य अनि आफूलाई बानी परेका कुराहरूलाई “नाइँ” भन्नुपर्ने हुन सक्छ। (२को ५:१४, १५) पत्रुसले येशूलाई चिन्न इन्कार गर्दाको विवरण उल्लेख गर्दा पनि मर्कूसले यही ग्रीक क्रिया चलाए।—मर्कू १४:३०, ३१, ७२.
jy-E पृ. १४३ अनु. ४
मानिसको छोरा को हो?
हो, येशूको अनुमोदन पाउनको लागि योग्य हुन उहाँका चेलाहरू साहसी र आत्मत्यागी हुनै पर्छ। येशू यसो भन्नुहुन्छ: “मेरो चेला बन्न र मेरा वचनहरूमा विश्वास गर्न जसले सरम मान्छ, मानिसको छोरा पनि आफ्नो बुबाले दिनुभएको गौरवसहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा उसलाई स्वीकार्न सरम मान्नेछ।” (मर्कूस ८:३८) हो, येशू आउनुहुँदा उहाँले “हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल” दिनुहुनेछ।—मत्ती १६:२७.
मे १४-२०
बाइबलमा पाइने अनमोल धन | मर्कूस ९-१०
“विश्वास बलियो बनाउने दर्शन”
nwtsty-E मर्कूस ९:७ को अध्ययन नोट
आवाज: सुसमाचारका किताबहरूमा यहोवा परमेश्वरले मानिसहरूसित सीधै कुरा गर्नुभएको तीन वटा विवरण पाउँछौँ। तीमध्ये यो दोस्रो विवरण हो।—मर्कू १:११ को अध्ययन नोट हेर्नुहोस्; यूह १२:२८.
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मर्कू १०:१७, १८ को अध्ययन नोट
असल गुरु: यहाँ “असल गुरु” भन्ने शब्दहरू चलाएर यी मानिस सायद येशूलाई फुस्ल्याउँदै एउटा औपचारिक उपाधि दिँदै थिए। किनभने त्यतिबेलाका धर्मगुरुहरू त्यस्तै उपाधिको माग गर्थे। हुनत मानिसहरूले येशूलाई “गुरु” अनि “प्रभु” भनेर सम्बोधन गर्दा उहाँले कुनै आपत्ति जनाउनुभएन (यूह १३:१३) तर उहाँले सबै महिमा यहोवालाई नै दिनुभयो।
असल त परमेश्वरबाहेक अरू कोही छैन: येशू यहाँ यहोवा नै सबैभन्दा असल हुनुहुन्छ भनेर चिनाउँदै हुनुहुन्छ, जससित मात्र के असल र के खराब भनेर तोक्ने अधिकार छ। असल र खराबको ज्ञान दिने रूखको फल खाएर विद्रोही आदम र हव्वाले त्यो अधिकार आफ्नो हातमा लिन खोजे। तर येशू तिनीहरूजस्तो हुनुहुन्थेन। उहाँले नम्र भएर असल र खराबको स्तर तोक्ने अधिकार आफ्नो बुबाको हातमा छोडिदिनुभयो। आफ्नो वचनमार्फत परमेश्वरले असल के हो भनेर स्पष्ट पार्नुभएको छ।—मर्कू १०:१९.
ख्रीष्टियन जीवन
“जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ . . . ”
nwtsty-E मर्कू १०:४ को अध्ययन नोट
छोडपत्र: वा “सम्बन्धविच्छेदको प्रमाणपत्र।” मोशाको व्यवस्थाअनुसार, श्रीमतीसित सम्बन्धविच्छेद गर्न चाहने पुरुषले एउटा कानुनी कागजपत्र तयार गर्नुपर्थ्यो र सायद बूढा-प्रधानहरूसित सरसल्लाह पनि गर्नुपर्थ्यो। यस्तो प्रबन्धले गर्दा ती पुरुषले यत्ति गम्भीर निर्णय गर्नुअघि त्यसबारे पुनर्विचार गर्न समय पाउँथे। मानिसहरूले सम्बन्धविच्छेदलाई हल्कासित नलेऊन् र स्त्रीहरूले पनि केही हदसम्म कानुनी सुरक्षा पाऊन् भनेर व्यवस्थामा यस्तो प्रबन्ध गरिएको हुनुपर्छ। (व्य २४:१) तर येशूको समयमा धर्मगुरुहरूले सम्बन्धविच्छेद गर्न निकै सजिलो बनाइदिएका थिए। पहिलो शताब्दीका इतिहासकार जोसेफस, जो एक फरिसी थिए र आफैले पनि सम्बन्धविच्छेद गरेका थिए, तिनले लेखेअनुसार “जुनसुकै कारण देखाएर सम्बन्धविच्छेद गर्न पाइन्थ्यो (र धेरैजसो अवस्थामा त्यसो गर्नेहरू पुरुषहरू नै हुन्थे)।”
nwtsty-E मर्कू १०:११ को अध्ययन नोट
आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ: वा “आफ्नी पत्नीलाई निकाल्छ।” मर्कूस १०:११ मा पाइने येशूका शब्दहरूको अर्थ स्पष्टसित बुझ्न उहाँको यस भनाइको पूरै अंशलाई विचार गर्नुपर्छ, जुन मत्ती १९:९ मा पाउँछौँ। त्यस पदमा हेर्ने हो भने “अवैध यौनसम्बन्धबाहेक अन्य कारणले” भन्ने अभिव्यक्ति पाउँछौँ। यसबाट के प्रस्ट हुन्छ भने यदि कसैले आफ्नो जोडीले “अवैध यौनसम्बन्ध” (ग्रीक भाषामा पोर्निया) राखेको कारणबाहेक अन्य कारण देखाउँदै सम्बन्धविच्छेद गर्छ भने मर्कूस १०:११ मा येशूले बताउनुभएको कुरा लागू हुन्छ।
परस्त्रीसित यौनसम्बन्ध राखेर आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ: वा “आफ्नी पत्नीविरुद्ध व्यभिचार गरेको ठहरिन्छ।” यो कुरा बताएर येशूले त्यसबेला प्रचलित यहूदी धर्मगुरुहरूको शिक्षालाई तिरस्कार गर्नुभयो, जुन शिक्षाअनुसार पुरुषहरूले “जुनसुकै कारण देखाएर” पत्नीसित सम्बन्धविच्छेद गर्न सक्थे। (मत्ती १९:३, ९) कुनै पुरुषले पनि आफ्नी पत्नीविरुद्ध व्यभिचार गर्न सक्छ भन्ने कुरा प्रायजसो यहूदीहरूका लागि नौलो थियो। यहूदी धर्मगुरुहरूले व्यभिचार भन्ने कुरा पुरुषले गर्नै सक्दैन; आफ्नो जोडीसित विश्वासघात गर्नेहरू त स्त्रीहरू मात्र हुन्छन् भनेर सिकाउँथे। तर येशूले भने पति र पत्नी दुवैको लागि एउटै नैतिक स्तर तोक्नुभयो। यसरी उहाँले स्त्रीहरूको सम्मान गर्नुभयो र तिनीहरूलाई पनि मर्यादित स्थान दिनुभयो।
मे २१-२७
बाइबलमा पाइने अनमोल धन | मर्कूस ११-१२
“सबै जनाले भन्दा उनले धेरै खसाली”
nwtsty-E मर्कू १२:४१, ४२ को अध्ययन नोट
दानपात्रहरू: पुरातन यहूदी स्रोतहरूले देखाएअनुसार यी अनुदान बाकसहरू वा भाँडाहरू तुरही वा सिङजस्तो हुन्थे र त्यस्ता दानपात्रहरूको मुख सानो हुन्थ्यो। मानिसहरू त्यसमा विभिन्न भेटीहरू खसाल्थे। यहाँ प्रयोग गरिएको ग्रीक शब्द यूह ८:२० मा पनि पाइन्छ, जहाँ यसलाई “दानपात्रहरू राखिएको ठाउँ” भनेर अनुवाद गरिएको छ। यसले स्त्रीहरूको चोकमा भएको एउटा ठाउँलाई बुझाएको हुनुपर्छ। केही यहूदी स्रोतहरूले देखाएनुसार त्यस चोकको वरिपरिको भित्तामा १३ वटा दानपात्रहरू राखिएका थिए। कसै-कसैको भनाइअनुसार दानपात्रहरूबाट सङ्कलन गरिएको पैसा जम्मा गर्न मन्दिरमा एउटा मुख्य ढुकुटी पनि थियो।
दुई साना सिक्का: शाब्दिक, “दुई लेप्टन।” ग्रीक शब्द लेप्टन-को अर्थ सानो अनि पातलो वस्तु भन्ने हुन्छ। एक लेप्टन बराबर एक दिनारको १/१२८ भाग हुन्छ। यो सिक्का इस्राएलमा प्रयोग गरिने तामा वा काँसाको सबैभन्दा सानो सिक्का थियो।
असाध्यै थोरै मोलका: शाब्दिक, “एक क्वाड्रन बराबरको।” ग्रीक शब्द कोड्रानतेस-ले (ल्याटिन शब्द क्वाड्रन्स) तामा वा काँसाको रोमी सिक्कालाई बुझाउँछ, जुन एक दिनारको १/६४ भागबराबर हुन्थ्यो। यहूदीहरूले सामान्यतया प्रयोग गर्ने सिक्काको मोलबारे बुझाउन मर्कूसले यहाँ रोमी मुद्रा उल्लेख गरेका छन्।
w८७-E १२/१ पृ. ३० अनु. १
के तपाईँ यहोवालाई अनमोल कुरा दिँदै हुनुहुन्छ?
हामी यस विवरणबाट थुप्रै बहुमूल्य पाठ सिक्न सक्छौँ। तीमध्ये एउटा पाठ विचार गरौँ। हुनत हामी सबैले साँचो उपासनालाई टेवा पुऱ्याउन केही भौतिक कुराहरू अनुदान दिने मौका पाएका छौँ। तर हामीले आफूलाई खासै आवश्यक नपर्ने कुरा होइन, बरु आफूले अनमोल ठानेको कुरा अनुदान दिँदा यहोवा त्यसको साँच्चै कदर गर्नुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा, के हामी आफूसित भए पनि वा नभए पनि केही फरक नपर्ने कुराहरू दिँदै छौँ? वा जे दिँदै छौँ, के त्यो साँच्चै त्याग हो?
cl-E पृ. १८५ अनु. १५
“परमेश्वरको वचन”-मा पाइने बुद्धि
१५ त्यस दिन मन्दिरमा थुप्रै मानिसहरू थिए। तर बाइबलमा यी विधवाबारे मात्र उल्लेख गरियो। के यो कुरा साँच्चै उल्लेखनीय छैन र? यस विवरणबाट यहोवा हामीलाई उहाँ कदर गर्ने परमेश्वर हुनुहुन्छ भनेर सिकाउँदै हुनुहुन्छ। हामीले मनैदेखि दिएको उपहारको उहाँ असाध्यै मोल गर्नुहुन्छ, चाहे हामीले दिने कुरा अरूले दिने कुराको तुलनामा सानो होस् या ठूलो। यस्तो मन छुने कुरा सिकाउन यहोवाले यस गरिब विधवाको विवरण चलाउनु कत्ति उपयुक्त छ नि, होइन र?
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मर्कू ११:१७ को अध्ययन नोट
सबै जातिका लागि प्रार्थनाको घर: यशै ५६:७ उद्धरण गर्ने सुसमाचारका पुस्तकहरूका तीन लेखकहरूमध्ये मर्कूसले मात्र “सबै जातिका [मानिसहरूका] लागि” भन्ने अभिव्यक्ति समावेश गरेका छन्। (मत्ती २१:१३; लूका १९:४६) यरूशलेमको मन्दिर इस्राएलीहरू र परमेश्वरको डर राख्ने विदेशीहरू दुवैले यहोवाको उपासना गर्न र उहाँलाई प्रार्थना गर्न सकून् भन्ने उद्देश्यले बनाइएको थियो। (१रा ८:४१-४३) येशूले मन्दिरमा व्यापार गरिरहेका यहूदीहरूको भर्त्सना गर्नु उपयुक्त थियो किनभने तिनीहरूले मन्दिरलाई डाँकुहरूको ओडार बनाएका थिए। तिनीहरूको यस्तो कामले सबै जातिका मानिसहरूलाई प्रार्थनाको घरमा आएर यहोवाको नजिक जानदेखि निरुत्साहित गर्थ्यो र यसले गर्दा तिनीहरू परमेश्वरलाई चिन्नदेखि वञ्चित भइरहेका थिए।
jy-E पृ. २४४ अनु. ७
विश्वासबारे पाठ सिकाउनका लागि येशू अन्जीरको रूखको उदाहरण चलाउनुहुन्छ
केही समयपछि येशू र उहाँका चेलाहरू यरूशलेम आउनुहुन्छ। आफ्नो बानीअनुसार येशू मन्दिरमा जानुहुन्छ र सिकाउन थाल्नुहुन्छ। सायद अघिल्लो दिन येशूले मन्दिरमा पैसा साट्नेहरूसित गर्नुभएको व्यवहार सम्झँदै मुख्य पुजारीहरू र बूढा-प्रधानहरू येशूसित निहुँ खोज्न आउँछन् अनि यसो भन्छन्: “तपाईं कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? अथवा तपाईंलाई यसो गर्ने अख्तियार कसले दियो?”—मर्कू ११:२८.
मे २८–जून ३
बाइबलमा पाइने अनमोल धन | मर्कूस १३-१४
“मानिसको डरको पासोमा नपर्नुहोस्”
it-2-E पृ. ६१९ अनु. ६
पत्रुस
पत्रुस र अर्का एक जना चेला, जो सम्भवतः पत्रुससँगै हिँडिरहेका थिए वा तिनको पछि-पछि लागिरहेका थिए, प्रधान पुजारीको घरमा पुग्छन्। ती अर्का चेलाकै मदतले पत्रुस पनि प्रधान पुजारीको घरको चोकभित्र जान पाउँछन्। (यूह. १८:१५, १६) त्यहाँ पुगेपछि पत्रुस अरूले आफूलाई याद नगरोस् भनेर चुपचाप कुनामा बस्दैनन् बरु गएर आगो ताप्न थाल्छन्। आगोको उज्यालोले गर्दा त्यहाँ भएका अरू मानिसहरूले तिनी येशूसँगै हिँड्ने व्यक्ति हुन् भनेर चिन्छन्। साथै तिनको गालीली लबजले गर्दा तिनीहरू त्यस कुरामा झनै पक्का हुन्छन्। तर पत्रुस तीन पटकसम्म तिनीहरूको कुरा नकार्छन् अनि येशूलाई चिन्दै-चिन्दिनँ भनेर समेत बताउँछन्। साथै आफूले झूटो बोलेको हो भने सराप लागोस् भनेर कसम पनि खान्छन्। त्यसैबेलातिर दोस्रो पटक भाले बासेको सुनिन्छ अनि येशूले ‘फर्केर पत्रुसलाई हेर्नुहुन्छ।’ पत्रुस बाहिर जान्छन् र पछुतो मान्दै धुरुधुरु रुन्छन्। (मत्ती २६:६९-७५; मर्कू. १४:६६-७२; लूका २२:५४-६२; यूह. १८:१७, १८) तर येशूले केही समयअघि पत्रुसको खातिर उत्कट बिन्ती चढाउनुभएको थियो। यहोवाले त्यसको जवाफ दिनुहुन्छ। त्यसैले पत्रुसको विश्वास पूर्ण रूपमा डगमगिन पाउँदैन।—लूका २२:३१, ३२.
बहुमूल्य रत्न खोजौँ
jy-E पृ. २८७ अनु. ४
येशूलाई पहिला हन्नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
कसैले आफू परमेश्वरको छोरा हुँ भनी दाबी गर्दा यहूदीहरू कत्तिको चिढिन्छन् भन्ने कुरा कैयाफालाई थाह छ। एक पटक, येशूले परमेश्वरलाई आफ्नो बुबा भन्नुहुँदा यहूदीहरूले उहाँलाई मार्न खोजेका थिए किनभने तिनीहरूको दाबीअनुसार येशूले ‘आफैलाई परमेश्वरको बराबर बनाइरहनुभएको थियो।’ (यूहन्ना ५:१७, १८; १०:३१-३९) यहूदीहरूबारे यस्तो कुरा थाह भएकोले कैयाफा बडो चतुऱ्याइँसित येशूलाई भन्छन्: “जीवित परमेश्वरको नाममा कसम खाएर हामीलाई सत्य कुरा भन्, के तँ परमेश्वरको छोरा, ख्रीष्ट होस्!” (मत्ती २६:६३) येशूले आफू परमेश्वरको छोरा हुँ भनी पटक-पटक स्विकार्नुभएको छ। (यूहन्ना ३:१८; ५:२५; ११:४) यदि उहाँले यतिखेर यो कुरा नस्विकार्नुभएको भए उहाँ परमेश्वरको छोरा अनि ख्रीष्ट होइन भन्ने अर्थ लाग्न सक्ने थियो। त्यसैले येशू भन्नुहुन्छ: “म हुँ। अनि तपाईंहरूले मानिसको छोरालाई सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”—मर्कूस १४:६२.