जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अक्टोबर ७-१३
बाइबलमा पाइने अनमोल धन | याकुब ३-५
“परमेश्वरले दिनुहुने बुद्धिअनुरूप जीवन बिताउनुहोस्”
cl-E पृ. २२१-२२२ अनु. ९-१०
के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गरिरहेको छ?
९ “सर्वप्रथम शुद्ध।” शुद्ध हुनु भनेको बाहिरबाट मात्र नभई भित्रबाट पनि सफा र पवित्र हुनु हो। बाइबलमा बुद्धि र हृदयबीच गहिरो सम्बन्ध छ भनेर बताइएको छ। त्यसैले यदि हाम्रो हृदयमा दुष्ट विचार छ, हामी गलत कुराको चाहना गर्छौँ र हाम्रो मनसाय खराब छ भने परमेश्वरले दिनुहुने बुद्धि हामीमा हुँदैन। (हितोपदेश २:१०; मत्ति १५:१९, २०) हुनत हामी त्रुटिपूर्ण छौँ, तैपनि त्रुटिपूर्ण मानिसले सक्ने हदसम्म हामीले आफ्नो हृदयलाई शुद्ध राख्न भरमग्दुर प्रयास गऱ्यौँ भने ‘खराब काम त्यागेर जे असल छ’ त्यही गर्न सक्नेछौँ। (भजन ३७:२७; हितोपदेश ३:७) माथिबाट आउने बुद्धिमा हुनुपर्ने विभिन्न गुणमध्ये शुद्धतालाई सबैभन्दा पहिला उल्लेख गर्नु के उचित छैन र? हुन पनि यदि हामी नैतिक र आध्यात्मिक तवरमा शुद्ध छैनौँ भने माथिबाट आउने बुद्धिका अरू गुणहरू कसरी देखाउन सक्छौँ र?
१० “त्यसपछि शान्तिप्रिय।” परमेश्वरले दिनुहुने बुद्धिले हामीलाई शान्ति कायम गर्न उत्प्रेरित गर्छ। यो पवित्र शक्तिको फलको एउटा पक्ष हो। (गलाती ५:२२) यहोवाका सेवकहरूलाई एकतामा बाँध्ने “शान्तिको बन्धन”-लाई नखल्बल्याउन हामी हरप्रयास गर्छौँ। (एफिसी ४:३) शान्ति खलबलिएको अवस्थामा पनि हामी फेरि शान्ति कायम गर्न सक्दो कोसिस गर्छौँ। त्यसो गर्नु किन महत्त्वपूर्ण छ? बाइबलमा यस्तो लेखिएको छ: “शान्तिपूर्वक बाँचिरहो। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित रहनुहुनेछ।” (२ कोरिन्थी १३:११) त्यसैले जबसम्म हामी शान्ति कायम गरेर जिउँछौँ, तबसम्म शान्तिका परमेश्वर हामीसित रहनुहुनेछ। हाम्रा सङ्गी दाजुभाइ दिदीबहिनीसित हामी कस्तो व्यवहार गर्छौँ, त्यसले यहोवासितको हाम्रो सम्बन्धमा सीधै असर गर्छ। त्यसोभए हामी कसरी शान्ति कायम गर्ने व्यक्ति हौँ भनेर देखाउन सक्छौँ? एउटा उदाहरण विचार गरौँ।
cl-E पृ. २२३-२२४ अनु. १२
के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गरिरहेको छ?
१२ “व्यावहारिक।” व्यावहारिक हुनु भनेको के हो? बाइबलविद्हरूअनुसार याकुब ३:१७ मा लेखिएको “व्यावहारिक” भनेर अनुवाद गरिएको ग्रीक शब्दलाई जस्ताको त्यस्तै अनुवाद गर्न गाह्रो छ। यस शब्दलाई अनुवाद गर्न अनुवादकहरूले “नम्र”, “सहनशील” र “अरूको भावनाप्रति विचारशील” जस्ता अभिव्यक्ति प्रयोग गरेका छन्। नयाँ संसार अनुवाद—सन्दर्भसहित-को (अङ्ग्रेजी) फुटनोटमा यसको शाब्दिक अर्थ “विनयी” भनेर लेखिएको छ। परमेश्वरले दिनुहुने बुद्धिले उत्पन्न गर्ने यो गुणले हामीमा काम गरिरहेको छ भनेर कसरी देखाउन सक्छौँ?
cl-E पृ. २२४-२२५ अनु. १४-१५
के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गरिरहेको छ?
१४ “आज्ञाकारी।” “आज्ञाकारी” भनी अनुवाद गरिएको ग्रीक शब्द ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा अन्त कतै पनि चलाइएको छैन। एक बाइबलविद्अनुसार यो शब्द “प्रायजसो सैनिकहरूलाई दिइने अनुशासनलाई बुझाउन प्रयोग गरिन्छ।” यसले “राजी गराउन सजिलो” र “अधीनमा बस्ने” भन्ने अर्थ पनि दिन्छ। माथिबाट आउने बुद्धिअनुसार चल्ने व्यक्ति धर्मशास्त्रमा बताइएबमोजिम चल्न सधैँ राजी हुन्छ। त्यस्तो व्यक्तिले आफ्नै पूर्वनिर्धारित सोच राख्ने र आफ्नो सोचाइसित बाझिने तथ्यलाई इन्कार गर्ने गर्दैन। त्यसको विपरीत आफूले धर्मशास्त्रसित बाझिने गलत अडान लिएको वा गलत निष्कर्षमा पुगेको कुरा थाह पाउने बित्तिकै परिवर्तन गर्न तयार हुन्छ। के तपाईँलाई अरूले यस्तै व्यक्तिको रूपमा चिनेका छन्?
“कृपा र असल फलहरूले भरिपूर्ण”
१५ “कृपा र असल फलहरूले भरिपूर्ण।” माथिबाट आउने बुद्धिको एउटा महत्त्वपूर्ण पक्ष कृपा हो किनकि त्यस्तो बुद्धि ‘कृपाले भरिपूर्ण’ हुन्छ भनेर बताइएको छ। “कृपा” र “असल फलहरू” सँगसँगै उल्लेख गरिनु सुहाउँदो छ किनकि बाइबलमा बताइएअनुसार कृपा देखाउनु भनेको सक्रिय भई अरूप्रति चासो देखाउनु, दयाको भावनाले उत्प्रेरित हुँदै अरूको भलो हुने कामहरू गर्नु हो। एउटा किताबअनुसार कृपा देखाउनु भनेको “कसैले दुःख भोगेको देखेर दुःखी हुनु र त्यसलाई हटाउन आफ्नो तर्फबाट कोसिस गर्नु” हो। त्यसैले परमेश्वरले दिनुहुने बुद्धि रुखो वा कठोर किसिमको छैन अनि यो बुद्धि केवल हाम्रो सोचाइमा सीमित हुँदैन। बरु यो एउटा न्यानो र हृदयदेखि नै उत्पन्न हुने गुण हो र यो अरूको भावनाप्रति सजग हुन्छ। हामी कृपाले भरिपूर्ण छौँ भनेर कसरी देखाउन सक्छौँ?
cl-E पृ. २२६-२२७ अनु. १८-१९
के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गरिरहेको छ?
१८ “निष्पक्ष।” परमेश्वरले दिनुहुने बुद्धिले जात र राष्ट्रको आधारमा गरिने भेदभावलाई जित्छ। यदि हामी त्यस्तो बुद्धिअनुसार चलिरहेका छौँ भने भेदभाव गर्ने झुकावलाई आफ्नो मनबाट जरैदेखि उखेल्न प्रयत्न गर्नेछौँ। (याकुब २:९) हामी अरूको शैक्षिक योग्यता, आर्थिक स्तर वा मण्डलीमा पाएको जिम्मेवारीको आधारमा तिनीहरूसित फरक व्यवहार गर्दैनौँ। साथै अशिक्षित, विपन्न वा मण्डलीमा विशेष जिम्मेवारी नपाएका आफ्ना सङ्गी उपासकहरूलाई हामी हेय दृष्टिले हेर्दैनौँ। यहोवाले त्यस्ता व्यक्तिहरूलाई उहाँको प्रेम पाउन लायक सम्झनुभएको छ भने तिनीहरू हाम्रो प्रेम पाउन पनि अवश्य लायक छन् भन्ने कुरा हामी सम्झन्छौँ।
१९ “निष्कपट।” “कपटी” भनी अनुवाद गरिएको ग्रीक शब्दले “कुनै भूमिकामा अभिनय गर्ने कलाकार”-लाई बुझाउन सक्छ। प्राचीन समयका ग्रीक र रोमी कलाकारहरूले ठूलो मुकुन्डो लगाएर अभिनय गर्थे। त्यसैले “कपटी” भनी अनुवाद गरिएको ग्रीक शब्द ढोङ्गी व्यक्तिलाई बुझाउन प्रयोग हुन थाल्यो। परमेश्वरले दिनुहुने बुद्धिको यस पक्षले हामी अरूसित कस्तो व्यवहार गर्छौँ, त्यो मात्र होइन बरु तिनीहरूबारे कस्तो महसुस गर्छौँ, त्यो पनि विचार गर्न उत्प्रेरित गर्छ।
अक्टोबर १४-२०
बाइबलमा पाइने अनमोल धन | १ पत्रुस १-२
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ५६५ अनु. ३
निरीक्षक
सर्वोच्च निरीक्षक। पहिलो पत्रुस २:२५ मा “बाटो बिराएका भेडाहरू” भनेर उल्लेख गरिएको भाग यसैया ५३:६ बाट उद्धरण गरिएको हुनुपर्छ। त्यसपछि पत्रुस यसो भन्छन्: “तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।” यहाँ “गोठालो” र “जीवनको रेखदेख गर्ने” व्यक्तिले यहोवालाई जनाएको हुनुपर्छ। किनकि पत्रुसले जसलाई यो पत्र लेखेका थिए, तिनीहरू बाटो बिराएर येसु ख्रिष्टबाट टाढा भएका थिएनन् बरु तिनीहरू येसुद्वारा यहोवा परमेश्वरकहाँ फर्काएर ल्याइएका थिए, जो आफ्ना जनहरूको महान् गोठालो हुनुहुन्छ। (भज २३:१; ८०:१; यर्मि २३:३; इज ३४:१२) साथै यहोवा रेखदेख गर्ने व्यक्ति अर्थात् निरीक्षक पनि हुनुहुन्छ, जसले आफ्ना मानिसहरूको जाँच गर्नुहुन्छ। (भज १७:३) उहाँले गर्नुहुने जाँचमा (ग्रीक, एपिस्कोपे) उहाँको न्यायदण्ड समावेश हुन सक्छ, जसको एउटा उदाहरण इस्वी संवत् प्रथम शताब्दीको यरुसलेम हो। त्यस सहरले आफ्नो “जाँच [ग्रीक, एपिस्कोपेस] भइरहेको” समयलाई चिन्न सकेन। (लुका १९:४४) साथै उहाँले गर्नुहुने जाँचले सकारात्मक प्रभाव पार्न वा राम्रो नतिजा ल्याउन सक्छ। उदाहरणको लागि, परमेश्वरले “जाँच्नुहुने [ग्रीक, एपिस्कोपेस] दिनमा” उहाँको महिमा गर्ने मानिसहरू हुनेछन्।—१प २:१२.