जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मार्च २-८
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८५३ अनु. ५-६
पूर्व-ज्ञान, पूर्व-निर्धारण
यहोवा भविष्यबारे थाह पाउने आफ्नो क्षमता अवस्था विचार गरेर प्रयोग गर्नुहुन्छ। यहोवा कसैको भाग्य लेख्ने गर्नुहुन्न। बरु अवस्था विचार गरेर अनि समझ चलाएर भविष्यबारे थाह पाउने आफ्नो क्षमता प्रयोग गर्नुहुन्छ। तर यहोवा आफ्नो यस्तो क्षमता उहाँका धार्मिक स्तरहरूसित सम्झौता हुनेगरि वा बाइबलमा उहाँले आफूबारे प्रकट गर्नुभएका कुराहरूसित बाझिनेगरि कहिल्यै प्रयोग गर्नुहुन्न। उहाँको वचनमा भाग्य लेखिने कुरालाई समर्थन गर्ने कुनै विवरण पाइँदैन। बरु विभिन्न बाइबल विवरणमा यहोवाले वर्तमान परिस्थितिको जाँच गर्नुभएको र त्यसअनुसार निर्णय गर्नुभएको कुरा पाउँछौँ।
त्यसैले उत्पत्ति ११:५-८ मा परमेश्वरले पृथ्वीमा ध्यान लगाउनुभयो र बाबेलमा खडा भएको परिस्थिति नियाल्नुभयो भनी बताइएको छ। त्यसपछि उहाँले त्यहाँका मानिसहरूले उहाँको इच्छाविपरीत अगाडि बढाइरहेको निर्माण परियोजना रोक्न उचित कदम चाल्नुभयो। सदोम र गमोरा सहरमा दुष्टता बढ्दै गएपछि यहोवाले अब्राहामलाई (आफ्ना स्वर्गदूतहरूमार्फत) तल ओर्लेर ‘आफूले सुनेको तिनीहरूविरूद्धको गुनासो सही हो कि होइन, आफै पक्का गर्छु’ भनी बताउनुभयो। (उत्प १८:२०-२२; १९:१) यहोवाले अब्राहामबारे यसो भन्नुभएको थियो: “म अब्राहामलाई राम्ररी चिन्छु।” तर जब अब्राहामले आफ्नो छोरा इसहाकलाई झन्डै बलि चढाउन लागेका थिए, तब उहाँले यसो पनि भन्नुभयो: “तिमी परमेश्वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।”—उत्प १८:१९; २२:११, १२; नहे ९:७, ८ तुलना गर्नुहोस्; गला ४:९.
कुराकानी गर्ने सीप तिखारौँ
भाषण
it-1-E पृ. ६०४ अनु. ५
ख्रिष्टको मृत्यु हुनुअघि नै अब्राहामलाई कसरी धर्मी ठहराइयो?
त्यसैले अब्राहामले पनि विश्वास कामद्वारा देखाएकाले “तिनी . . . धर्मी ठहरिए [गनिए, साबित भए वा ठानिए]।” (रोमी ४:२०-२२) यसको मतलब तिनी र ख्रिष्टियनहरूको समयअघिका अन्य वफादार मानिसहरू त्रुटिरहित थिए वा निष्पाप थिए भन्ने पटक्कै होइन। बरु तिनीहरूले “सन्तान”-बारे परमेश्वरले गर्नुभएको प्रतिज्ञामा विश्वास गरेकाले अनि परमेश्वरको आज्ञा पालन गर्न यथासक्दो गरेकाले तिनीहरू संसारका अरू मानिसहरूजस्तो कुर्कमीहरूको वर्गमा परेनन्, जो परमेश्वरसामु खडा हुन योग्य थिएनन्। (उत्प ३:१५; भज ११९:२, ३) यहोवाले तिनीहरूलाई आफूबाट तर्केका मानिसहरूसित दाँज्नुभयो अनि निर्दोष ठहराएर प्रेम देखाउनुभयो। (भज ३२:१, २; एफि २:१२) त्यसैले परमेश्वरले तिनीहरूको विश्वासको कारण त्यस्ता त्रुटिपूर्ण मानिसहरूसित व्यवहार गर्नुहुँदा अनि तिनीहरूलाई आशिष् दिनुहुँदा पनि आफ्नो सिद्ध न्यायिक स्तर कायम राख्न सक्नुहुन्थ्यो। (भज ३६:१०) अर्कोतर्फ, त्यस्ता मानिसहरूले पापबाट छुटकारा पाउनु आवश्यक छ भनेर महसुस गरे अनि परमेश्वरले त्यसको प्रबन्ध मिलाउनुहुने समयको प्रतीक्षा गरे।—भज ४९:७-९; हिब्रू ९:२६.
मार्च ९-१५
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २४
“इसहाकको निम्ति पत्नी”
wp१६.०३-E पृ. १४ अनु. ३
“अँ, म जान्छु”
इसहाकको लागि पत्नी हुन कनानी स्त्री नखोज्नू भनेर अब्राहामले एलिएजरलाई शपथ खान लगाए। किन? किनकि कनानीहरू यहोवा परमेश्वरको आदर अनि उपासना गर्दैनथे। यहोवाले त्यस्ता दुष्ट मानिसहरूलाई तिनीहरूको खराब कामको लागि उचित समयमा सजाय दिनुहुनेछ भनेर अब्राहामलाई थाह थियो। तिनी आफ्नो छोरा इसहाक त्यस्ता खराब मानिसहरूको प्रभावमा परेको वा तिनीहरूको अनैतिक आचरणमा फसेको चाहँदैनथे। साथै, आफ्नो छोराले परमेश्वरको प्रतिज्ञा पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा पनि तिनलाई थाह थियो।—उत्पत्ति १५:१६; १७:१९; २४:२-४.
wp१६.०३-E पृ. १४ अनु. ४
“अँ, म जान्छु”
हारानको इनार नजिकै पुग्दा आफूले यहोवालाई प्रार्थना गरेको कुरा एलिएजरले अब्राहामका नातेदारहरूलाई बताए। तिनले एक अर्थमा यहोवालाई नै इसहाकको लागि केटी रोजिदिन आग्रह गरेका थिए। कसरी? यहोवाले इसहाकको पत्नी हुनको लागि रोज्नुभएको केटी त्यस इनारमा आऊन् भनेर तिनले बिन्ती गरे। अनि एलिएजरले पानी माग्दा ती केटीले एलिएजरका साथै तिनका ऊँटहरूलाई समेत पानी दिनुपर्ने थियो। (उत्पत्ति २४:१२-१४) यी एक-एक काम गर्ने केटी को थिइन्? हो, रिबेका। एलिएजरले यी सब कुरा आफ्नो परिवारलाई सुनाउँदा रिबेकाले पनि सुनेकी थिइन् भने तिनले कस्तो महसुस गरिन् होली, कल्पना गर्नुहोस् त!
wp१६.०३-E पृ. १४ अनु. ६-७
“अँ, म जान्छु”
केही हप्ताअघि एलिएजरले अब्राहामलाई त्यही चिन्ता व्यक्त गरेका थिए। तिनले सोधेका थिए: “तर ती केटी मसँगै यस ठाउँमा आउन मानिनन् भने नि?” अनि अब्राहामले यस्तो जवाफ दिएका थिए: “तब तिमी यस शपथबाट मुक्त हुनेछौ।” (उत्पत्ति २४:३९, ४१) साथै, बतुएलको घरमा पनि ती जवान केटीको इच्छा बुझ्नु आवश्यक थियो। एलिएजर आफूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न सकेकोमा यत्ति उत्साहित थिए कि तिनले भोलिपल्टै रिबेकालाई पनि सँगै लिएर कनान फर्कने प्रस्ताव राखे। तर परिवारका सदस्यहरू भने रिबेकालाई कमसेकम अझै दस दिन आफूसितै राख्न चाहन्थे। अन्तमा उनीहरूले यस कुराको समाधान यसरी निकाले: “त्यसोभए रिबेकालाई बोलाएर उसैलाई सोधौँ न।”—उत्पत्ति २४:५७.
यो रिबेकाको जीवनको निकै महत्त्वपूर्ण घडी थियो। तिनले कस्तो निर्णय गर्ने थिइन्? के तिनी आफ्नो बुबा र दाइलाई आफूमाथि दया देखाउन र आफूलाई त्यस्तो नौलो परिस्थितिमा बाँधिनबाट जोगाइदिन बिन्ती गर्ने थिइन्? वा यी सब कुरामा यहोवाकै हात छ भन्ने कुरा मानिलिएर उहाँको उद्देश्यमा टेवा पुऱ्याउन आफ्नो तर्फबाट केही दिनुलाई सुअवसर ठान्ने थिइन्? आफ्नो जीवनमा आइपर्न सक्ने त्यत्रो ठूलो परिवर्तनबारे तिनले आफ्नो विचार यसरी पोखिन्: “अँ, म जान्छु।”—उत्पत्ति २४:५८.
बहुमूल्य रत्न खोजौँ
wp१६.०३-E पृ. १२-१३
“अँ, म जान्छु”
साँझतिर, पानी भरिसकेपछि रिबेकालाई भेट्न एक जना पाको व्यक्ति दौडँदै आए। तिनले रिबेकालाई यसो भने “नानी, तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन दिन्छ्यौ कि?” तिनले एकदमै नम्रतापूर्वक रिबेकालाई बिन्ती बिसाएका थिए। ती पाको व्यक्तिले कति लामो यात्रा गरेर आएका छन् भनेर रिबेकाले ठम्याइहालिन्। त्यसैले तिनले आफ्नो काँधमा बोकिरहेको गाग्रो तल झारिन् र तिनलाई स्वच्छ पानी पिउन दिइन्। तिनले उनको पछाडि दसवटा उँट पनि देखिन् र डुँड रित्तो भएकोले ती उँटहरूले पानी पिउन नपाएको कुरा याद गरिन्। मदत पाउने आसमा ती पाको व्यक्ति आफूलाई ध्यान दिएर हेरिरहेका छन् भनेर रिबेकालाई थाह थियो। तिनी उनलाई सक्दो मदत गर्न चाहन्थिन्। त्यसैले तिनले यसो भनिन्, “म तपाईँका उँटहरूलाई पनि इनारबाट पानी ल्याएर नअघाउन्जेल दिन्छु।”—उत्पत्ति २४:१७-१९.
याद गर्नुहोस्, रिबेकाले दसवटै उँटलाई नअघाउन्जेल पानी दिइन्। असाध्यै तिर्खाएको उँटले ९५ लिटरभन्दा धेरै पानी पिउन सक्छ। ती दसैवटा उँट असाध्यै तिर्खाएका थिए भने रिबेकाले कति घण्टासम्म पानी ओसार्नुपर्थ्यो होला, कल्पना गर्नुहोस् त! घटनाक्रम हेर्दै जाने हो भने ती उँट त्यति सारो तिर्खाएका थिए जस्तो देखिँदैन। तर उँटहरू कत्तिको तिर्खाएका छन् भनेर के रिबेकालाई थाह थियो र? अहँ, थिएन। तैपनि तिनी मदत गर्न इच्छुक थिइन्, ती पाको व्यक्तिलाई अतिथिसत्कार देखाउन जति पनि मेहनत गर्न तयार थिइन्। ती पाको व्यक्तिले रिबेकाको प्रस्ताव स्विकारे। सबै उँटले पानी नखाउन्जेल रिबेका घरीघरी तल इनारतिर दौडेर पानी ओसारिरहेको कुरा तिनले ध्यान दिँदै हेर्न थाले।—उत्पति २४:२०, २१.
wp१६.०३-E पृ. १३ को फुटनोट
“अँ, म जान्छु”
साँझ परिसकेको थियो। रिबेका घण्टौँसम्म इनारमा अलमलिएर बसेको विवरण बाइबलमा पाइँदैन। तिनी फर्कँदा तिनको परिवार सुतिसकेको वा तिनले काम भ्याउन किन यति लामो समय लगाइन् भनेर कोही तिनलाई खोज्न आएको विवरण बाइबलमा बताइएको छैन।
wp१६.०३-E पृ. १५ अनु. ३
“अँ, म जान्छु”
आखिरमा, हामीले यस लेखको सुरुमा चर्चा गरेको घटना घट्ने दिन आइपुग्छ। साँझतिर उँटको लावालस्कर नेगेब आइपुग्छ। रिबेका खेतमा एक जना मानिस हिँडिरहेको देख्छिन्। ती मानिस केही कुरा मनन गर्दै थिए। त्यसपछि रिबेका “तुरुन्तै उँटबाट ओर्लिन्,” हुन सक्छ रिबेकाले उँट भुइँमा बसुन्जेल पनि कुरिनन्। त्यसपछि तिनले सोधिन्: “हामीलाई भेट्न खेतबाट आउँदै गरेका मानिस को हुन्?” ती मानिस इसहाक हुन् भनेर थाह पाएपछि रिबेकाले घुम्टोले आफ्नो शिर ढाकिन्। (उत्पत्ति २४:६२-६५) किन? यसरी घुम्टोले शिर ढाकेर तिनले आफ्नो भावी पतिप्रति आदर झल्काइरहेकी थिइन्। यस्तो अधीनतालाई आज कोही-कोही पुरानो जमानाको कुरा भन्छन्। तर वास्तवमा भन्नुपर्दा पुरुष तथा स्त्रीहरूले रिबेकाको नम्रताबाट निकै पाठ सिक्न सक्छन्। आखिर हामीमध्ये कसलाई पो यो मनमोहक गुण चाहिँदैन होला र?
ख्रिष्टियन जीवन
yb०८-E पृ. ११ अनु. ३
संयुक्त राज्य अमेरिका
सोह्र वर्षकी ज्याकलिन बहिनीले आफ्नी शिक्षिकालाई स्मरणार्थ उत्सवको निम्तो दिइन् र त्यस उत्सवको महत्त्व बताइन्। अचम्मको कुरा, तिनकी शिक्षिका स्मरणार्थमा आइन्। स्मरणार्थ उत्सव यहोवाका साक्षीहरूको सम्मेलन भवनमा आयोजना गरिएको थियो। त्यसैले स्मरणार्थपछि ज्याकलिनले आफ्नी शिक्षिकालाई सम्मेलन भवनको भ्रमण गराइन्। सबै कुरा सफा-चिटिक्क र व्यवस्थित भएको देख्दा अनि खासगरि त्यो भवन स्वयंसेवकहरूले निर्माण गरेको र स्याहारसम्भार गरेको कुरा थाह पाउँदा ती शिक्षिका छक्क परिन्। उनले स्मरणार्थको भाषण असाध्यै मन परेको कुरा बताइन् र ज्याकलिन बहिनीलाई सोधिन्, “वक्ताले भन्नुभएको त्यो बाइबल अध्ययन गर्न मैले के गर्नुपर्छ?” उत्साहित हुँदै ज्याकलिन बहिनीले भनिन्, “तपाईँ मैसँग बाइबल अध्ययन गर्न सक्नुहुन्छ!” ज्याकलिनले हरेक सोमबार स्कुलपछि ती शिक्षिकालाई बाइबल अध्ययन गराउन थालिन्।
yb०८-E पृ. १४ अनु. १
अस्ट्रेलिया
यहोवाका साक्षीहरूसित अध्ययन गरिरहेका एक जना किशोर भाइले आफूले काम गर्ने व्यायामशालामा मानिसहरूसित बाइबलबारे कुरा गर्न थाले। एक जना महिलाले तिनले दिएको स्मरणार्थको निम्तो स्विकारिन्। सानो छँदा उनले घरनजिकैको राज्यभवनमा मानिसहरूले गीत गाइरहेको सुनेकी रहेछिन् र राज्यभवन जान आमाबुबासित अनुमति मागेकी रहेछिन्। आमाबुबाले भने यहोवाका साक्षीहरूसित बोल्दा पनि नबोल्नू भनेर हप्काएका रहेछन्। तर जेहोस्, तिनी केही सभामा उपस्थित भएकी रहेछिन् अनि त्यो ठाउँबाट बसाइँ सरेपछि साक्षीहरूसित सम्पर्क टुटेको रहेछ। स्मरणार्थमा उनले एक जना बहिनीलाई भेटिन् र तिनीसितै अध्ययन गर्न थालिन्। उनी नियमित रूपमा सभामा आउन थालिन् अनि उनको पतिले पनि बाइबलको कुरामा चासो देखाउन थाले। यता व्यायामशालामा काम गर्ने ती किशोर भाइ पनि बप्तिस्मा नगरेको प्रकाशकको रूपमा सेवा गर्न योग्य भएका छन् र बप्तिस्मातर्फ अघि बढ्दै छन्।
मार्च १६-२२
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २५-२६
“एसावले आफ्नो ज्येष्ठ अधिकार बेचे”
it-1-E पृ. १२४२
याकुब
इसहाकको प्यारो छोरा एसाव जङ्गली अनि अस्थिर स्वभावको र डुलिहिँड्ने शिकारी थिए। तर याकुब भने “शान्त स्वभावका [हिब्रूमा, ताम] थिए र तिनी पालमै बसिरहन्थे।” याकुब सीधा-साधा थिए र गोठालो काम गर्थे; घर-व्यवहारको लागि तिनी भरोसायोग्य थिए। त्यसैले तिनकी आमा रिबेका तिनलाई धेरै माया गर्थिन्। (उत्प २५:२७, २८) हिब्रू शब्द ताम बाइबलका अरू पदहरूमा यहोवाको अनुमोदन पाएका व्यक्तिहरूलाई बुझाउन चलाइएको छ। जस्तै; “हत्याराहरूले निर्दोष मानिसलाई घृणा गर्छन्” तर यहोवाले प्रतिज्ञा गर्नुभएको छ कि “भविष्यमा [निर्दोष मानिस] शान्तिसित जिउनेछ।” (हित २९:१०; भज ३७:३७) आफ्नो निष्ठा कायम राख्ने अय्युब “निर्दोष [हिब्रूमा, ताम] र सत्यनिष्ठ थिए।”—अयु १:१, ८; २:३.
it-1-E पृ. ८३५
पहिलो सन्तान
मानव इतिहासको सुरुदेखि नै परिवारमा पहिलो सन्तानले गरिमामय स्थान पाएका हुन्थे अनि परिवारको शिरको भूमिका पनि बुबापछि तिनकै काँधमा आइपर्थ्यो। तिनले आफ्नो बुबाबाट धनसम्पत्तिको दुई भाग पाउँथे। (व्य २१:१७) आफ्ना दाजुभाइसित खाना खाँदा युसुफले उनीहरूलाई सबैभन्दा जेठोदेखि अर्थात् रूबेनदेखि बसाएका थिए। (उत्प ४३:३३) तर बाइबलमा हरेक पटक नै सन्तानका नामहरू जेठोदेखि क्रमानुसार राखिएको भने छैन। बाइबलमा सन्तानहरूको नाम लेखिँदा जेठोको भन्दा पनि सन्तानहरूमध्ये सबैभन्दा प्रभावशाली वा वफादारको नाम सुरुमा लेख्ने गरिएको छ।—उत्प ६:१०; १इ १:२८; उत्प ११:२६, ३२ तुलना गर्नुहोस्; १२:४.
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. २४५ अनु. ६
झूट
हुनत बाइबलमा खराब नियतले झूट बोल्नु गलत हो भनेर स्पष्टसित बताइएको छ तर त्यसको मतलब कुनै विषयमा सरोकारै नभएका व्यक्तिलाई पनि भएभरको सबै जानकारी दिनुपर्छ भन्ने चाहिँ होइन। येसुले यसो भन्नुभयो: “पवित्र थोक कुकुरहरूलाई नदेओ अनि आफ्ना मोती सुँगुरहरूको अगाडि नफाल नत्र त त्यसलाई आफ्ना खुट्टाले कुल्चीमिल्ची गरेर ती तिमीहरूतिर फर्कनेछन् र आक्रमण गर्नेछन्।” (मत्ति ७:६) त्यसैले सबै तथ्य बताउँदा अनावश्यक समस्या निम्तिन सक्छ जस्तो लागेको बेला येसुले पनि कहिलेकाहीँ मानिसहरूलाई सबै तथ्य बताउनुभएन वा प्रश्नको सीधै जवाफ दिनुभएन। (मत्ति १५:१-६; २१:२३-२७; युह ७:३-१०) अब्राहाम, इसहाक, राहाब र एलिसाले यहोवाको उपासना नगर्ने व्यक्तिहरूलाई झुक्क्याएको वा सम्पूर्ण तथ्य नबताएको घटनालाई पनि त्यसरी नै व्याख्या गर्न सकिन्छ।—उत्प १२:१०-१९; यहो २:१-६; या २:२५; २रा ६:११-२३.
मार्च २३-२९
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २७-२८
“याकुब आफूले पाउनुपर्ने आशिष् पाउँछन्”
w०७-E १०/१ पृ. ३१ अनु. २-३
पाठकहरूको प्रश्न
रिबेका र याकुबले किन त्यसो गरे भनेर बाइबलमा सबै विवरण खुलाइएको छैन तर त्यसो गर्नुपर्ने अवस्था एक्कासि खडा भएको थियो भनेर चाहिँ बाइबलले सङ्केत गरेको छ। याद गर्नुहोस्, परमेश्वरको वचनले तिनीहरूको कामलाई सही ठहऱ्याउन वा तिनीहरूले गल्ती गरे भनेर दोषी ठहऱ्याउन खोजेको छैन। त्यसैले यस विवरणलाई झूट बोल्ने वा अरूलाई छक्याउने आधार बनाउन मिल्दैन। साथै हामी बाइबलमा त्यस घटनाका केही प्रसङ्ग पाउन सक्छौँ।
एउटा त, आफ्नो बुबाबाट आशिष् याकुबले नै पाउनुपर्थ्यो भनेर यस विवरणले प्रस्ट पारेको छ, एसावले होइन। केही समयअघि, याकुबले आफ्नो कृतघ्न दाइ एसावबाट उनको ज्येष्ठ अधिकार किनिसकेका थिए, जसले आफ्नो भोक मेटाउन एक छाकको लागि आफ्नो ज्येष्ठ अधिकार बेचे। एसावले “आफ्नो ज्येष्ठ अधिकारलाई केही मोलको गनेनन्।” त्यसैले आफ्नो बुबासित कुरा गर्न जाँदा याकुबले आफ्नो अधिकारमै भएको आशिष् मागिरहेका थिए।
it-1-E पृ. ३४१ अनु. ६
आशिष्
कुलपिताहरूको समयमा, आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि बुबाले छोराहरूलाई आशिष् दिने गर्थे। यस्तो आशिष्को निकै महत्त्व हुन्थ्यो अनि त्यसको धेरै कदर गरिन्थ्यो। इसहाकले एसाव भन्ठानेर याकुबलाई आशिष् दिन्छन्। इसहाक त्यतिबेला वृद्ध र देख्न नसक्ने भइसकेका थिए। इसहाक याकुबले आशिष् पाओस् र तिनको फलिफाप होस् भनेर यहोवासित बिन्ती गर्दै तिनलाई आशिष् दिन्छन्। (उत्प २७:१-४, २३-२९; २८:१, ६; हिब्रू ११:२०; १२:१६, १७) पछि इसहाक सब कुरा थाह पाउँछन् र याकुबलाई अझ धेरै आशिष् दिन्छन्। (उत्प २८:१-४) आफ्नो मृत्यु हुनुभन्दा अगाडि याकुबले सुरुमा युसुफका दुई छोरालाई र त्यसपछि आफ्ना बाँकी छोराहरूलाई आशिष् दिएका थिए। (उत्प ४८:९, २०; ४९:१-२८; हिब्रू ११:२१) त्यसैगरि मोसाले पनि आफ्नो मृत्यु हुनुअघि सारा इस्राएल राष्ट्रलाई आशिष् दिएका थिए। (व्य ३३:१) यी सब विवरणका नतिजाले देखाएअनुसार तिनीहरूले भविष्यसूचक तरिकामा आशिष् दिएका थिए। कुनै-कुनै अवस्थामा आशिष् दिने व्यक्तिले आफ्नो हात आशिष् पाउने व्यक्तिको शिरमा राख्ने गर्थे।—उत्प ४८:१३, १४.
बहुमूल्य रत्न खोजौँ
w०६-E ४/१५ पृ. ६ अनु. ३-४
जीवनसाथीसित कसरी खुलस्त कुराकानी गर्ने
के इसहाक र रिबेका एकअर्कासित खुलस्त कुराकानी गर्थे? तिनीहरूका छोरा एसावले दुई हित्ती स्त्रीहरूसित विवाह गरेपछि परिवारमा गम्भीर समस्या खडा भयो। रिबेकाले “दिनहुँ” इसहाकलाई यसो भन्न थालिन्: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो। याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!” (उत्प २६:३४; २७:४६) स्पष्ट छ, रिबेका आफ्ना चिन्ताहरू खुलेर इसहाकलाई बताउने गर्थिन्।
त्यसपछि इसहाकले एसावका जुम्ल्याहा भाइ याकुबलाई कनानी स्त्रीसित विवाह नगर्न सल्लाह दिन्छन्। (उत्प २८:१, २) हो, रिबेकाले आफूले चाहेको कुरा इसहाकलाई स्पष्टसित बताएकी थिइन्। यस दम्पतीले अत्यन्तै संवेदनशील पारिवारिक विषयमा खुलस्त कुराकानी गरेका थिए र यसरी तिनीहरूले आज हाम्रो लागि राम्रो उदाहरण बसाले। तर कुनै विषयमा पति-पत्नी सहमत हुन सकेनन् भने नि? त्यस्तो बेला के गर्न सकिन्छ?
मार्च ३०–अप्रिल ५
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २९-३०
“याकुब विवाह गर्छन्”
w०७-E १०/१ पृ. ८-९
दुई व्याकुल दिदीबहिनी, जसबाट “इस्राएल राष्ट्रको जन्म भयो”
के लेआले याकुबलाई झुक्क्याउन षड्यन्त्र रचेकी थिइन्? वा केवल आफ्नो बुबाको आज्ञा मात्र पालन गरेकी थिइन्? अनि त्यतिबेला राहेल कहाँ थिइन्? के तिनलाई परिवारमा के भइरहेको छ भनेर थाह थियो? थाह थियो भने तिनले त्यसबारे कस्तो महसुस गरिन्? के तिनी हुकुमत चलाउन खोज्ने आफ्नो बुबाको इच्छाविपरीत जान खोज्ने थिइन्? यी प्रश्नहरूको जवाफ बाइबलले दिएको छैन। राहेल र लेआले उक्त घटनाबारे जस्तोसुकै सोचाइ राखेका होऊन्, आफूलाई त्यसरी धोका दिइएको कुरा थाह पाएपछि याकुब भने रिसाए। तर तिनी राहेल र लेआसित नभई तिनीहरूका बुबा लाबानसित रिसाएका थिए। तिनले आफ्नो आक्रोश यसरी पोखे: “‘मैले राहेलसित बिहे गर्न तपाईँकहाँ काम गरेको होइन? तपाईँले मलाई किन झुक्क्याउनुभयो?’ त्यसपछि लाबानले भने: ‘हाम्रो चलनअनुसार . . . कान्छीको बिहे पहिला गरिदिनु हुँदैन। यो एक हप्ता लेआसँगै बिताऊ। त्यसपछि म राहेलको बिहे पनि तिमीसितै गरिदिन्छु। तर तिमीले अर्को सात वर्ष मकहाँ काम गर्नुपर्छ।’” (उत्प २९:२५-२७) यसरी याकुब बहुविवाह गर्नुपर्ने अवस्थामा बाँधिन पुगे, जसले गर्दा दुई दिदीबहिनीबीच डाहको बिउ रोपियो।
it-2-E पृ. ३४१ अनु. ३
विवाह
उत्सव। इस्राएलमा विवाहको लागि कुनै खास रीति त थिएन तर विवाहको बेला धूमधामसित उत्सव भने मनाउने गरिन्थ्यो। विवाहको दिन आफ्नै घरमा दुलहीले आफूलाई सिँगार्न विस्तृत तयारी गर्थिन्। सुरुमा तिनी नुहाइधुवाइ गर्थिन् अनि शरीरमा सुगन्धित तेल दल्थिन्। (रुथ ३:३ तुलना गर्नुहोस्; इज २३:४०) कुनै-कुनै अवस्थामा, सहेलीहरूको मदत लिएर तिनी आफ्नो भित्री वस्त्र लगाउँथिन् अनि सेतो लुगा पनि लगाउँथिन्। परिवार आर्थिक रूपमा सम्पन्न छ भने त्यस्तो सेतो लुगा निकै बुट्टेदार बनाइएका हुन्थे। (यर्मि २:३२; प्रका १९:७, ८; भज ४५:१३, १४) साथै आर्थिक रूपमा सम्पन्न छिन् भने दुलही गरगहना पनि पहिरिन्थिन् (यसै ४९:१८; ६१:१०; प्रका २१:२), त्यसपछि घुम्टोले आफूलाई ढाक्थिन्। त्यस्तो घुम्टो शिरदेखि पाउसम्मै ढाक्ने किसिमको हुन्थ्यो। (यसै ३:१९, २३) यसबाट हामी लाबानले कसरी याकुबलाई सजिलै झुक्क्याउन सके भनेर बुझ्न सक्छौँ। लाबानले राहेलको सट्टा लेआसित विवाह गराइदिएको याकुबले चालै पाएनन्। (उत्प २९:२३, २५) रिबेकाले पनि इसहाकसित भेट्न जाने बेला घुम्टो हालेकी थिइन्। (उत्प २४:६५) यसरी घुम्टो हाल्नुले दुलही आफ्नो दुलहाको अधीनमा बसेको कुरा चित्रण गर्थ्यो।—१को ११:५, १०.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ५०
धर्मपुत्र बनाउने
राहेल र लेआ दुवैले आफ्ना दासीहरूबाट याकुबले जन्माएका छोराछोरीलाई ‘आफ्नै निम्ति’ जन्मिएका छोराछोरी ठाने। (उत्प ३०:३-८, १२, १३, २४) यी छोराहरूले याकुबले लेआ र राहेलबाट जन्माएका छोराहरूसँगसँगै पैतृक अधिकार पाए। ती दासीहरूले जन्माएका छोराहरू याकुबबाटै जन्मेका थिए अनि ती दासीहरू राहेल र लेआका सम्पत्तिसरह थिए। त्यसैले ती दासीहरूबाट जन्मिएका छोराहरूमाथि पनि राहेल र लेआको हक लाग्थ्यो।