जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अक्टोबर ५-११
बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३१-३२
“मूर्तिपूजाबाट भाग्नुहोस्”
w१०-E ५/१५ पृ. २१
पाठकहरूको प्रश्न
यहोवाले मूर्तिपूजा गर्न निषेध गर्नुभए तापनि हारुनले सुनको बाछो बनाउँदा उहाँले तिनलाई किन दण्ड दिनुभएन?
प्रस्थान अध्याय ३२ को विवरणअनुसार हारुनले सुनको बाछो बनाएर परमेश्वरले मूर्तिपूजासम्बन्धी दिनुभएको नियम तोडे। (प्रस्थ. २०:३-५) त्यसैले “यहोवा परमेश्वर हारुनसित यत्ति रिसाउनुभएको थियो कि उहाँले तिनलाई पनि नाश गर्नै लाग्नुभएको थियो। तर [मोसाले] तिनको लागि पनि उत्कट बिन्ती [चढाए]।” (व्यव. ९:१९, २०) धर्मी मानिस मोसाले गरेको बिन्तीले हारुनको मामिलामा “ठूलो काम” गऱ्यो त? (याकु. ५:१६) पक्कै गऱ्यो। त्यस्तो बिन्तीले र कम्तीमा पनि अन्य दुइटा कारणले गर्दा यहोवाले मोसाको प्रार्थना सुन्नुभयो अनि हारुनलाई सजाय दिनुभएन जस्तो देखिन्छ।
एउटा कारण हारुन लामो समयदेखि वफादार भएकोले हुन सक्छ। यहोवाले मोसालाई फारोसामु हाजिर हुन र इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन आज्ञा दिनुहुँदा उहाँले हारुनलाई मोसासँगै जान अनि तिनको प्रवक्ताको रूपमा बोल्न नियुक्त गर्नुभयो। (प्रस्थ. ४:१०-१६) यी दुई पुरुष आज्ञाकारी भई मिश्रको राजासामु धेरै पटक हाजिर भए। फारोको हृदय कठोर हुँदै गएकोले तिनीहरूले उनको कठोर व्यवहार सहे। त्यसैले मिश्रमै छँदा हारुनले वफादार भएको अनि तनमनले यहोवाको सेवा गरेको प्रमाण दिएका थिए।—प्रस्थ. ४:२१.
हारुन किन सुनको बाछो बनाउन पुगे, त्यो पनि विचार गर्नुहोस्। मोसा ४० दिनदेखि सिनै डाँडामा थिए। “मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि इस्राएलीहरूले” हारुनलाई तिनीहरूको निम्ति एउटा मूर्ति बनाउन मनाए। हारुन तिनीहरूको कुरामा सहमत भए अनि सुनको एउटा बाछो बनाए। (प्रस्थ. ३२:१-६) तर त्यसपछि हारुनले चालेको कदमबाट के देखिन्छ भने मूर्तिपूजा गर्ने कुरा तिनको मनमा थिएन। तिनले दबाबमा परेर त्यस्तो गरेका हुन सक्छन्। मोसाले मूर्तिपूजाको विवादलाई टुङ्गो लगाउने बेला हारुनलगायत लेविका सबै छोरा दृढ भई यहोवाको पक्षमा खडा भए। तीन हजार मूर्तिपूजकहरू प्रमुख दोषी ठहरिए अनि मूर्तिपूजा गरेकोले मारिए।—प्रस्थ. ३२:२५-२९.
त्यसपछि मोसाले मानिसहरूलाई यसो भने: “तिमीहरूले घोर पाप गऱ्यौ।” (प्रस्थ. ३२:३०) त्यसैले गल्तीको दोष हारुनलाई मात्र दिन मिल्दैन। तिनले र अरू मानिसले यहोवाको अपार कृपाबाट लाभ उठाए।
यहोवाले सुनको बाछोको घटनापछि हारुनलाई प्रधानपुजारी नियुक्त गर्न मोसालाई आज्ञा दिनुभयो। परमेश्वरले मोसालाई यसो भन्नुभयो: “तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू, तिनलाई अभिषेक गर्नू र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्।” (प्रस्थ. ४०:१२, १३) अन्ततः यहोवाले हारुनलाई क्षमा दिनुभयो। हारुन साँचो उपासनालाई मनैदेखि समर्थन गर्थे, तिनी विद्रोही मूर्तिपूजक थिएनन्।
अक्टोबर १२-१८
बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३३-३४
“यहोवाका मनमोहक गुणहरू”
it-2-E पृ. ४६६-४६७
नाम
परमेश्वरको भौतिक सृष्टिले उहाँको अस्तित्वको प्रमाण दिन्छ तर उहाँको नाम प्रकट गर्दैन। (भज १९:१; रोमी १:२०) कसैलाई परमेश्वरको नामबारे थाह हुनु भनेको त्यो शब्द थाह हुनु मात्र होइन। (२इ ६:३३) उहाँको नाम थाह हुनुको अर्थ उहाँलाई चिन्नु हो। भन्नुको मतलब, बाइबलले प्रकट गरेअनुसार उहाँका उद्देश्यहरू, कामहरू र गुणहरूबारे जान्नु हो। (१रा ८:४१-४३; ९:३, ७; नहे ९:१० तुलना गर्नुहोस्।) यो कुरा यहोवाले मोसालाई भन्नुभएको कुराबाट थाह हुन्छ। यहोवाले तिनलाई “मैले तिमीलाई नामैले चिनेको छु” भन्नुभयो अर्थात् उहाँले तिनलाई नजिकबाट चिन्नुभएको कुरा बताउँदै हुनुहुन्थ्यो। (प्रस्थ ३३:१२, फु.) तिनले यहोवाको महिमा प्रकट भएको अनि उहाँले “आफ्नो नाम यहोवाबारे घोषणा” गर्नुभएको हेर्ने मौका पाए। (प्रस्थ ३४:५) त्यो घोषणा यहोवा नाम दोहोऱ्याउन मात्र गरिएको थिएन तर त्यसले उहाँका गुणहरू र कामहरूबारे पनि प्रकट गऱ्यो। “यहोवा, हो म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्दिनँ। बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।” (प्रस्थ ३४:६, ७) त्यसैगरि मोसाले गाएको भजनमा “यहोवाको नाम म घोषणा गर्नेछु” भन्ने शब्दहरूले परमेश्वरले इस्राएलीहरूसित गर्नुभएको व्यवहार र उहाँको व्यक्तित्वको सम्झना गराउँछ।—व्य ३२:३-४४.
अक्टोबर २६–नोभेम्बर १
बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३७-३८
“वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका”
it-1-E पृ. ८२ अनु. ३
वेदी
धूप बाल्ने वेदी। धूप बाल्ने वेदी (यसलाई “सुनको वेदी” पनि भनिन्छ [प्रस्थ ३९:३८]) बबुलको काठले बनाइएको थियो। यसको माथिल्लो भाग र चारैतिरको भाग सुनले मोहोरिएको थियो। वेदीको माथिल्लो भागको चारैतिर सुनको बिटले मोहोरिएको थियो। वेदीको वर्गाकार ४४.५ से.मि. (१७.५ इ.) र उचाइ ८९ से.मि. (२.९ फि.) थियो अनि त्यसको माथिल्लो भागको चारै कुनाबाट “सिङ्हरू” उठाइएका थिए। त्यसको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाइएको थियो अनि वेदी बोक्न सुनले मोहोरिएका बबुल काठका डन्डीहरू ती मुन्द्राहरूमा छिराइन्थ्यो। ती मुन्द्राहरू सुनले मोहोरिएको वेदीको बिटमुनि थिए। (प्रस्थ ३०:१-५; ३७:२५-२८) यो वेदीमा हरेक दिन बिहान र साँझ विशेष किसिमको धूप बालिन्थ्यो। (प्रस्थ ३०:७-९, ३४-३८) धूप बाल्न धुपौरो वा धूपदानीको प्रयोगबारे अरू पदहरूमा उल्लेख गरिएको छ अनि वेदीमा धूप बाल्न पनि ती सामानहरू प्रयोग गरिन्थ्यो जस्तो देखिन्छ। (लेवी १६:१२, १३; हिब्रू ९:४; प्रका ८:५; तुलना गर्नुहोस्: २इ २६:१६, १९) धूप बाल्ने वेदी वासस्थानभित्र महापवित्र कोठाको पर्दाको ठ्याक्कै अगाडि राखिन्थ्यो। त्यसैले यो “साक्षीपाटी राखिएको सन्दुकअगाडि” छ भनिएको हो।—प्रस्थ ३०:१, ६; ४०:५, २६, २७.
it-1-E पृ. ११९५
धूप
इस्राएलीहरू निर्जनभूमिमा भएको बेला वासस्थानमा प्रयोग गर्नको लागि तिनीहरूले अनुदानस्वरूप दिएका महँगो सामग्रीहरू मिसाएर पवित्र धूप बनाइन्थ्यो। (प्रस्थ २५:१, २, ६; ३५:४, ५, ८, २७-२९) यहोवाले चार वटा मसला मिसाएर यो धूप बनाउन मोसालाई निर्देशन दिनुहुँदा यसो भन्नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू: गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप। यी सबै मिसाएर धूप तयार पार्नू। सबै मसला ठीक-ठीक मात्रामा मिसाउनू अनि त्यसमा नुन पनि हाल्नू। यो धूप शुद्ध र पवित्र होस्। यसबाट अलिकति धूप लिनू र त्यसलाई कुटेर मसिनो धुलो पार्नू अनि यो मसिनो धुलोबाट अलिकति लिएर त्यसलाई भेट हुने पालमा भएको साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्छु। यो मसिनो धुलोलाई तिमीहरूले महापवित्र ठान्नू।” त्यसपछि यहोवाले तिनीहरूलाई यो उहाँको लागि अलग पारिएको र पवित्र भएको कुरा स्पष्ट पार्न अझ यसो भन्नुभयो: “जसले यसको बास्ना मन पराएर आफ्नो निम्ति यस्तै धूप बनाउँछ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।”—प्रस्थ ३०:३४-३८; ३७:२९.
it-1-E पृ. ८२ अनु. १
वेदी
वासस्थानका वेदीहरू। वासस्थान निर्माण गरिँदा यहोवाले दिनुभएको नमुनाअनुसार दुई वटा वेदी बनाइएको थियो। अग्निभेटी चढाउने वेदी (यसलाई “तामाको वेदी” पनि भनिन्छ [प्रस्थ ३९:३९]) बबुल काठको बनाइएको थियो र त्यो भित्रपट्टि खोक्रो थियो। त्यसको माथि अनि तल ढाकिएको थिएन जस्तो देखिन्छ। त्यसको वर्गाकार २.२ मि. (७.३ फि.) र उचाइ १.३ मि. (४.४ फि.) थियो र चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा “सिङ” बनाइएको थियो। त्यो तामाले मोहोरिएको थियो। तामाको जाली वेदीको चारैपट्टिको “बिटमुनि” राखिएको थियो; त्यो जाली वेदीको “बीचतिर” थियो। जालीको चारै कुनामा एक-एक वटा मुन्द्राहरू लगाइएका थिए। यी त्यही मुन्द्रा हुन सक्छ, जसबाट तामाले मोहोरिएका बबुल काठका डन्डीहरू घुसाएर वेदी बोकिन्थ्यो। सायद जाली छिराउन वेदीको दुई तीर लामो कटाइ थियो र मुन्द्राहरू दुवैतिरबाट बाहिर निस्किएका थिए। यस विषयमा विज्ञहरूको आ-आफ्नै विचार छ। धेरैजसोको विचारमा सायद मुन्द्राहरूको दुई जोडी थिए र मुन्द्राहरूको दोस्रो जोडीमा डन्डीहरू घुसाइन्थ्यो र ती वेदीको बाहिरपट्टि निस्किएका हुन्थे। खरानी उठाउन तामाका बाल्टिनहरू र साबेलहरू बनाइएका थिए। तामाका बाटाहरूमा जनावरको रगत थापिन्थ्यो, तामाका काँटाहरूले जनावरको मासु चलाइन्थ्यो र कोइला राख्ने भाँडाहरू पनि तामाबाट बनाइएका थिए।—प्रस्थ २७:१-८; ३८:१-७, ३०; गन ४:१४.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ३६
बबुल
बबुल रूखको हाँगाबिँगा फैलिएको हुन्छ र यसमा लामो-लामो काँडा हुन्छ। साधारणतया यसको हाँगाबिँगा अर्को नजिकको बबुलको रूखको हाँगाबिँगासित जेलिन्छ अनि बाक्लो झाडीजस्तै देखिन्छ। त्यसैले बाइबलमा प्रायजसो ठाउँमा यसको बहुवचन रूप सित्तिम प्रयोग गरिएको छ। यो ६ देखि ८ मि. (२० देखि २६ फि.) अग्लो हुन्छ तर हेर्दा झाडीजस्तै देखिन्छ। यसको पात मुलायम र फरर्र परेको हुन्छ। यसमा मीठो बास्ना आउने पहेँलो फूल पनि फुल्छ अनि पछि घुमौरो कोसा लाग्छ। यस रूखको बाहिरको बोक्रा खस्रो र कालो हुन्छ र भित्रपट्टि कडा मसिनो रेसा भएको बलियो काठ हुन्छ। यस काठलाई कीराले सजिलै बिगार्न सक्दैन। यी विशेषताहरू भएकोले अनि यो निर्जनभूमिमा सजिलै पाइने भएकोले वासस्थान र त्यसका सरसामान बनाउन यो एकदमै उपयोगी थियो। यो काठ प्रयोग गरेर करारको सन्दुक (प्रस्थ २५:१०; ३७:१), भेटीको रोटी राखिने टेबुल (प्रस्थ २५:२३; ३७:१०), वेदीहरू (प्रस्थ २७:१; ३७:२५; ३८:१), समानहरू बोक्ने डन्डीहरू (प्रस्थ २५:१३, २८; २७:६; ३०:५; ३७:४, १५, २८; ३८:६), पर्दा झुन्ड्याइने खामाहरू (प्रस्थ २६:३२, ३७; ३६:३६) अनि चौकोसहरू (प्रस्थ २६:१५; ३६:२०) र तिनका डन्डीहरू (प्रस्थ २६:२६; ३६:३१) बनाइएको थियो।