जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
डिसेम्बर ७-१३
बाइबलमा पाइने अनमोल धन | लेवी १०-११
“परिवारलाई भन्दा यहोवालाई प्रगाढ प्रेम गर्नुहोस्”
it-1-E पृ. ११७४
निषेधित
निषेध गरिएको आगो र धूप। लेवी १०:१ मा हिब्रू शब्द जार (स्त्रीलिङ्गी, जाराह; शाब्दिक, अनौठो) प्रयोग गरिएको छ। यसले “यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो”-लाई बुझाउँछ, जुन उहाँले ल्याउन “आज्ञा दिनुभएको थिएन।” हारुनका छोराहरू नादाब र अबिहुले त्यो आगो चढाएकोले यहोवाले तिनीहरूलाई आगोले नाश गर्नुभयो। (लेवी १०:२; गन ३:४; २६:६१) पछि यहोवाले हारुनलाई यसो भन्नुभयो: “तिमी र तिम्रा छोराहरू दाखमद्य वा अरू किसिमको मद्य पिएर भेट हुने पालमा कहिल्यै नआउनू नत्र त तिमीहरू मर्नेछौ। यो नियम तिमीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ। तिमीले पवित्र र अपवित्र अनि शुद्ध र अशुद्धबीचको भिन्नता छुट्ट्याउन सक अनि यहोवाले मोसामार्फत भन्नुभएका सबै नियम इस्राएलीहरूलाई सिकाउन सक भनेर तिमीलाई यो नियम दिइएको हो।” (लेवी १०:८-११) यसबाट नादाब र अबिहु रक्सीले मात्तिएका थिए, जसले गर्दा तिनीहरू निषेध गरिएको आगो चढाउन तम्सिए जस्तो देखिन्छ। तिनीहरूले आगो चढाएको समय, ठाउँ वा तरिकाले गर्दा त्यो आगो अनुचित थियो अथवा तिनीहरूले प्रस्थान ३०:३४, ३५ मा उल्लेख गरिएको धूपभन्दा बेग्लै धूप चढाएका हुन सक्थे। तिनीहरूले रक्सीले मात्तिएको अवस्थामा त्यसो गरे तापनि यहोवाले तिनीहरूलाई क्षमा दिनुभएन।
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. १११ अनु. ५
जीवजन्तु
खानेकुरासम्बन्धी दिइएका यी नियमहरू मोसाको व्यवस्थाको अधीनमा रहेकाहरूलाई अर्थात् इस्राएलीहरूलाई मात्र लागू हुन्छ किनभने लेवी ११:८ मा यस्तो लेखिएको छ: “यिनीहरू तिमीहरूका निम्ति अशुद्ध छन्।” येसु ख्रिष्टको फिरौतीले त्यो व्यवस्था अनि ती नियमहरू खारेज गऱ्यो। त्यसले गर्दा परमेश्वरले जलप्रलयपछि नुहलाई दिनुभएको अनुमतिअनुसार मानिसहरू पुनः “सबै किसिमका जीवजन्तु” खान सक्ने भए।—कल २:१३-१७; उत्प ९:३, ४.
डिसेम्बर १४-२०
बाइबलमा पाइने अनमोल धन | लेवी १२-१३
“कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्”
wp१६.४-E पृ. ९ अनु. १
के तपाईँलाई थाह थियो?
बाइबलकालीन समयका यहुदीहरूलाई त्यसबेला फैलिएको कुष्ठरोगको डर थियो। त्यस डरलाग्दो रोगले रोगीको नसामा असर गर्न सक्थ्यो, जसले गर्दा शरीरमा पूर्ण रूपमा हानि पुग्नुका साथै कुरूप पनि हुन सक्थ्यो। त्यसको कुनै उपचार थिएन। त्यसैले कुष्ठरोग लागेकाहरू अलग बस्नुपर्थ्यो र आफ्नो अवस्थाबारे अरूलाई होसियार गराउनुपर्थ्यो।—लेवी १३:४५, ४६.
it-2-E पृ. २३८ अनु. ३
कुष्ठरोग वा ढुसी
लुगामा र घरमा। ढुसी ऊन वा मलमलको लुगामा अथवा छालाबाट बनेको कुनै सामानमा लाग्न सक्थ्यो। धोएपछि ढुसी हराउन सक्थ्यो र त्यो सामानलाई अलग्गै राख्ने प्रबन्ध गरिएको थियो। पहेँलोपहेँलो खालको हरियो दाग वा रातो दाग रहिरेमा त्यो सर्ने किसिमको ढुसी हुन्थ्यो र त्यस सामानलाई जलाउनुपर्थ्यो। (लेवी १३:४७-५९) घरको भित्तामा पहेँलोपहेँलो हरियो रङ्गको वा रातो रङ्गको दाग देखिएमा पुजारीले त्यस घरलाई बन्द गराउनुपर्थ्यो। दाग लागेका ढुङ्गाहरू निकाल्नुपर्ने र भित्ता खुर्किनुपर्ने हुन सक्थ्यो अनि ती ढुङ्गाहरू र खुर्कदा निस्केको ढुङ्गाहरूबीचको माटोलाई सहरबाहिर फोहोर फाल्ने ठाउँमा फाल्नुपर्थ्यो। दाग फेरि देखा परेमा त्यो घर अशुद्ध ठहरिन्थ्यो र त्यसलाई पूरै भत्काइन्थ्यो अनि त्यसको सबै सामान फोहोर फाल्ने ठाउँमा फालिन्थ्यो। तर शुद्ध ठहराइएको घरको भने शुद्धिकरण गर्ने प्रबन्ध गरिएको थियो। (लेवी १४:३३-५७) लुगामा वा घरमा लाग्ने ढुसी, ढुसीका विभिन्न प्रकारमध्ये एक हो भनेर धेरैले तर्क गर्छन् तर यो कुरा पक्का भने भएको छैन।
डिसेम्बर २१-२७
बाइबलमा पाइने अनमोल धन | लेवी १४-१५
“शुद्ध उपासना चढाउनको लागि शुद्ध हुनै पर्छ”
it-1-E पृ. २६३
नुहाउनु
विभिन्न कारणले गर्दा इस्राएलीहरूले विधिपूर्वक नुहाउनुपर्थ्यो। कुष्ठरोग निको भएका व्यक्ति, ‘रगत बगेकी’ स्त्रीले छोएका कुराहरू छुने व्यक्ति, वीर्य निस्केको पुरुष, महिनावारी वा अत्यधिक रक्तस्राव भएकी स्त्री वा यौनसम्पर्क राखेका व्यक्तिहरू “अशुद्ध” हुन्थे र तिनीहरूले नुहाउनुपर्थ्यो। (लेवी १४:८, ९; १५:४-२७) मरेको मानिस भएको पालभित्र हुनेहरू वा लास छोएकाहरू “अशुद्ध” हुन्थे र तिनीहरूलाई चोख्याउने पानीले शुद्ध पार्नुपर्थ्यो। कसैले यी निर्देशनहरू लागू गर्न इन्कार गरेमा ‘उसलाई समुदायबाट हटाउनुपर्थ्यो किनभने उसले यहोवा परमेश्वरको पवित्र स्थानलाई अशुद्ध पारेको हुन्थ्यो।’ (गन १९:२०) त्यसैले धुनुले प्रतीकात्मक रूपमा यहोवासामु चोखो हुनुलाई चित्रण गर्छ। (भज २६:६; ७३:१३; यसै १:१६; इज १६:९) यहोवाको वचनको सत्यलाई पानीको रूपमा चित्रण गरिएको छ र यसमा पवित्र पार्ने शक्ति छ।—एफि ५:२६.
it-2-E पृ. ३७२ अनु. २
महिनावारी
महिनावारीको समयबाहेक अरू नै समयमा रगत बग्यो वा “अघिपछिको बेलाभन्दा लामो समयसम्म रगत बग्यो भने” स्त्री अशुद्ध हुन्थिन्। साथै उनी सुतेको ओछ्यान र बसेका कुराहरू पनि अशुद्ध हुन्थे अनि ती कुराहरू छुने व्यक्ति पनि अशुद्ध हुन्थे। त्यसरी रगत बग्न छोडेको सात दिनपछि उनी शुद्ध हुन्थिन्। आठौँ दिनमा उनले दुई वटा ढुकुर वा परेवाको दुई वटा बचेरा पुजारीकहाँ ल्याउँथिन् र पुजारीले ती स्त्रीको निम्ति प्रायश्चित गरिदिन्थे। ती पुजारीले एउटालाई पापभेटी र अर्कोलाई अग्निभेटीको रूपमा यहोवालाई चढाउँथे।—लेवी १५:१९-३०; शुद्ध, सफा हेर्नुहोस्।
it-1-E पृ. ११३३
पवित्र ठाउँ
२. भेट हुने पाल र पछि मन्दिर। वासस्थान वरिपरिको चोक अनि मन्दिर वरिपरिको चोकका साथै पूरै बनोट पवित्र थियो। (प्रस्थ ३८:२४; २इ २९:५; प्रे २१:२८) चोकमा रहेका मुख्य सामानहरू बलिदान चढाउने वेदी र तामाको बाटा थिए। यी सामानहरू पवित्र थिए। विधिपूर्वक शुद्ध भएकाहरू मात्र जुनसुकै समयमा पनि वासस्थानको चोकमा प्रवेश गर्न सक्थे। त्यसैगरि कोही पनि अशुद्ध भएको अवस्थामा मन्दिरको चोकमा प्रवेश गर्न सक्दैनथे। उदाहरणको लागि, अशुद्ध भएकी स्त्रीले कुनै पनि पवित्र थोक छुनु हुँदैन थियो र पवित्र ठाउँमा पनि जानु हुँदैन थियो। (लेवी १२:२-४) स्पष्टतः इस्राएलीहरूले आफूलाई शुद्ध नपारेर अशुद्ध रहिरहेको खण्डमा वासस्थानलाई अशुद्ध पारेको ठानिन्थ्यो। (लेवी १५:३१) कुष्ठरोगबाट शुद्ध हुन आएका व्यक्तिहरूले भेटी चढाउन ल्याउँदा चोकको प्रवेशद्वारसम्म मात्र भेटी ल्याउन सक्थे। (लेवी १४:११) कोही पनि अशुद्ध व्यक्तिले वासस्थानमा वा मन्दिरमा मेलबलि खानु हुँदैन थियो नत्र त उसले मृत्युदण्ड पाउने थियो।—लेवी ७:२०, २१.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ६६५ अनु. ५
कान
इस्राएलमा पुजारीको रूपमा हारुन र उनका छोराहरूलाई नियुक्त गर्दा मोसालाई एउटा आज्ञा दिइएको थियो। तिनले पुजारी नियुक्त गर्दा चढाइने थुमाको रगत लिएर उनीहरूको दाहिने कानको लोती, दाहिने हात र दाहिने खुट्टामा लगाइदिनुपर्थ्यो। यसले अबदेखि उनीहरूले सुन्ने कुरा, गर्ने काम र हिँड्ने मार्ग यहोवाको इच्छाअनुसारै हुनुपर्ने कुरालाई सङ्केत गर्थ्यो। (लेवी ८:२२-२४) त्यसैगरि शुद्ध हुन आएका कुष्ठरोगीको सन्दर्भमा व्यवस्थाअनुसार पुजारीले दोषभेटीस्वरूप चढाइएको थुमाको अलिकति रगत र दोषभेटीको रूपमा चढाइएको अलिकति तेल लिएर कुष्ठरोगीको दाहिने कानको लोतीमा लगाइदिनुपर्थ्यो। (लेवी १४:१४, १७, २५, २८) जिन्दगीभर मालिकको दास हुने इच्छा गरेका दासको लागि पनि यस्तै किसिमको प्रबन्ध गरिएको थियो। यस्तो अवस्थामा मालिकले आफ्नो दासलाई ढोकाको चौकोसमा ल्याएर सियोले तिनको कान छेडिदिनुपर्थ्यो। सुन्ने अङ्गमा छेडिने कुराले दासले आज्ञाकारी भएर मालिकको सेवा गर्ने इच्छा व्यक्त गरेको कुरा देखाउँथ्यो।—प्रस्थ २१:५, ६.
डिसेम्बर २८–जनवरी ३
बाइबलमा पाइने अनमोल धन | लेवी १६-१७
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. २२६ अनु. ३
अजाजेल
प्रेषित पावलले बताएअनुसार मानिसजातिको पापको प्रायश्चितको लागि येसुले आफ्नो त्रुटिरहित मानव शरीर बलिदानस्वरूप दिनुभएर “बहर र बोकाहरूको रगतले” तिर्ने मोलभन्दा कता हो कता ठूलो मोल तिर्नुभयो। (हिब्रू १०:४, ११, १२) त्यसैले उहाँले “हराउने पाठो”-को रूपमा सेवा गर्नुभयो किनभने उहाँले ‘हाम्रो सबै रोगबिमार बोक्नुभयो’ र ‘हाम्रो अपराधको लागि उहाँको शरीर छेडियो।’ (यसै ५३:४, ५; मत्ति ८:१७; १प २:२४) उहाँले चढाउनुभएको बलिदानमाथि विश्वास गर्ने सबैको पाप उहाँले ‘बोक्नुभयो।’ परमेश्वरले पापी अवस्थालाई पूर्ण रूपमा हटाउन गर्नुभएको प्रबन्ध उहाँले प्रकट गर्नुभयो। यस्ता तरिकामा “अजाजेलको निम्ति छुट्टयाइएको पाठो”-ले येसु ख्रिष्टको बलिदानलाई चित्रण गर्छ।