जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मार्च १४-२०
बाइबलमा पाइने अनमोल धन | १ समुएल १४-१५
बहुमूल्य रत्न
it-1-E पृ. ४९३
दया
अरूको दबाबमा परेर यहोवाको इच्छाविपरीत दया देखाउँदा त्यसले गम्भीर नतिजा निम्त्याउन सक्छ। राजा साउलको जीवनमा घटेको एउटा घटनाबाट यो कुरा स्पष्ट हुन्छ। यहोवा परमेश्वरले राजा साउललाई अमालेकीहरूलाई नाश गर्नू भनेर आज्ञा दिनुभएको थियो। मिश्रबाट निस्केपछि इस्राएलीहरूमाथि आक्रमण गर्ने पहिलो जाति तिनीहरू नै थिए। त्यसैले राजा साउलले यहोवा परमेश्वरको आज्ञा पालन गर्न तिनीहरूलाई कुनै दया देखाउनु हुँदैनथ्यो। तर आफ्ना मानिसहरूको दबाबमा परेकाले तिनले यहोवा परमेश्वरको आज्ञा पूर्णतया पालन गर्न सकेनन्। नतिजास्वरूप यहोवाले तिनलाई राजाको रूपमा तिरस्कार गर्नुभयो। (१स १५:२-२४) यदि कोही यहोवा परमेश्वरको मार्ग नै सही हो भनेर स्विकारेर उहाँप्रति वफादार रहिरहन्छ भने ऊ राजा साउलले जस्तो गल्ती गर्नदेखि र यहोवाको अनुमोदन गुमाउनदेखि जोगिनेछ।
मार्च २८–अप्रिल ३
बाइबलमा पाइने अनमोल धन | १ समुएल १८-१९
बहुमूल्य रत्न
it-2-E पृ. ६९५-६९६
भविष्यवक्ता
भविष्यवक्ताहरू यहोवा परमेश्वरको पवित्र शक्तिद्वारा नियुक्त भए तापनि उनीहरू सधैँ नै परमेश्वरको प्रेरणा पाएर बोल्थे जस्तो देखिँदैन। तर जुन बेला ‘उनीहरूमाथि पवित्र शक्ति आउँथ्यो,’ त्यसबेला उनीहरू यहोवा परमेश्वरबाट आएको सन्देश बताउँथे। (इज ११:४, ५; मिका ३:८) तर उनीहरूमाथि पवित्र शक्ति आएपछि उनीहरू बोल्नको निम्ति जुरमुरिन्थे। (१स १०:१०; यर्मि २०:९; आमो ३:८) पवित्र शक्ति पाएपछि उनीहरूले अचम्मका कामहरू त गर्थे नै तर त्यसका साथै उनीहरूको व्यवहारमा पनि असाधारण जोस र भावना देखिन्थ्यो। यसबाट कोही-कोही मानिसहरूले ‘भविष्यवक्ताको जस्तै व्यवहार गर्नुको’ अर्थ के हो भनेर केही हदसम्म बुझ्न सकिन्छ। (१स १०:६-११; १९:२०-२४; यर्मि २९:२४-३२; तुलना गर्नुहोस्: प्रे २:४, १२-१७; ६:१५; ७:५५) यसरी भविष्यवक्ताहरू आफूलाई सुम्पिएको काम साहसका साथ एकाग्र भई गर्दा कोही-कोही मानिसहरूलाई उनीहरूको व्यवहार पागलहरूको जस्तो अनौठो लाग्थ्यो। यो कुरा एक जना भविष्यवक्ताले सेनापति येहुलाई राजा अभिषेक गर्दा देखाएको व्यवहारबाट बुझ्न सकिन्छ। त्यतिबेला अरू सेनापतिले ती भविष्यवक्तालाई बौलाहा भन्ठाने तर तिनी भविष्यवक्ता रहेछन् भन्ने कुरामा पक्का भएपछि तिनको कुरालाई उनीहरूले गम्भीरतासाथ लिए। (२रा ९:१-१३; तुलना गर्नुहोस्: प्रे २६:२४, २५) साउलले दाउदलाई खेदेको बेला साउलले “भविष्यवक्ताहरूको जस्तै व्यवहार गरे।” तिनले आफ्नो लुगा फुकाले र “त्यस दिनभरि र रातभरि तिनी नाङ्गै बसे।” यही समयमा दाउद भागेको हुनुपर्छ। (१स १९:१८–२०:१) तर बाइबलका विवरणहरू केलाउने हो भने भविष्यवक्ताहरूले विनाकारण सधैँ त्यसो गरेको देखिँदैन। अर्को दुइटा विवरणमा भविष्यवक्ताहरू नाङ्गै रहनुको उद्देश्य आफूले गरेका भविष्यवाणीहरूको कुनै पक्ष बुझाउनु थियो। (यसै २०:२-४; मिका १:८-११) तर साउलको सन्दर्भमा तिनी नाङ्गो रहनुको कारण के हो भनेर बाइबलमा बताइएको छैन। राजकीय पोसाक फुकालेपछि तिनी एक जना साधारण मानिसजस्तै हुन् अनि यहोवाको शक्ति र अख्तियारको अगाडि केही पनि होइनन् भनेर देखाउन हो कि अरू नै कारणले हो, त्यसबारे केही खुलाइएको छैन।