प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr22 नोभेम्बर पृ. १-४
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२२
  • उपशीर्षकहरू
  • नोभेम्बर ७-१३
  • नोभेम्बर १४-२०
  • नोभेम्बर २८-डिसेम्बर ४
  • डिसेम्बर १९-२५
  • डिसेम्बर २६–जनवरी १
जीवन र सेवा अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री—२०२२
mwbr22 नोभेम्बर पृ. १-४

जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

नोभेम्बर ७-१३

बाइबलमा पाइने अनमोल धन | २ राजा ५–६

“तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”

it-1-E पृ. ७१६ अनु. ४

एलिसा

इस्राएलले सिरियाबाट छुटकारा पाउँछ। इस्राएलका राजा यहोरामको शासनकालमा सिरियाले इस्राएलमाथि अचानक आक्रमण गर्ने योजना बनाउँछ। बेनहदद द्वितीयले इस्राएलमाथि आक्रमण गर्न बनाएका योजनाहरू एलिसाले केही पटक विफल पारिदिन्छन्‌। कसरी? सिरियालीहरूले इस्राएलमाथि गर्न लागेको आक्रमणबारे राजा यहोरामलाई पहिल्यै बताइदिएर। बेनहददलाई सुरुमा आफ्ना सेवकहरूमध्ये कोही इस्राएलको राजापट्टि लागेको हो कि भन्‍ने शङ्‌का लाग्छ। तर वास्तवमा त्यसो होइन रहेछ भनेर तिनले थाह पाउँछन्‌। त्यसपछि तिनले एलिसालाई पक्रन घोडाहरू र रथहरूसहित आफ्नो ठूलो सेना दोथान पठाउँछन्‌ र सहरलाई घेरा हाल्छन्‌। (चित्र, खण्ड १, पृ. ९५०) एलिसाका चाकर असाध्यै डराउँछन्‌ तर तिनी आफ्नो चाकरको आँखा खोलिदिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्छन्‌। नभन्दै “उनले एलिसाको चारैतिरका डाँडा अग्निमय घोडाहरू र रथहरूले भरिएको” देख्छन्‌। एलिसाले सिरियालीहरू आफूतर्फ अघि बढ्‌दै गरेको देख्छन्‌ अनि तिनले यसपटक चाहिँ यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गर्छन्‌: “बिन्ती छ, यिनीहरूलाई अन्धो बनाइदिनुहोस्‌।” त्यसपछि एलिसा सिरियालीहरूलाई भन्छन्‌: “मेरो पछि आओ।” ती सिरियालीहरू साँच्चै अन्धो भएका थिएनन्‌ किनभने एलिसाले तिनीहरूलाई हातै समातेर डोऱ्‍याएका थिएनन्‌। तर तिनीहरूको दिमाग बोधो भएको थियो। हामी किन यसो भन्‍न सक्छौँ? किनभने तिनीहरू एलिसालाई पक्रन आएका थिए तर तिनीहरूले एलिसालाई चिन्‍न सकेनन्‌ र आफूहरूलाई कहाँ लगिँदै छ भनेर थाहै पाएनन्‌।—२रा ६:८-१९.

it-1-E पृ. ३४३ अनु. १

अन्धोपन

एलिसाले यहोवालाई बिन्ती गरेपछि सिरियालीहरू अन्धो भएका थिए र यो अन्धोपन तिनीहरूले साँच्चै आँखा नदेखेको नभई तिनीहरूको दिमाग बोधो भएको हुनुपर्छ। यदि पूरै सेना अन्धो भएको भए तिनीहरूलाई हातै समातेर डोऱ्‍याउनुपर्ने थियो। तर बाइबलमा एलिसाले तिनीहरूलाई यसो भनेको पाउँछौँ: “तिमीहरूले बाटो बिरायौ। तिमीहरू जुन सहरमा जान खोज्दै छौ, त्यो सहर यो होइन। मेरो पछि आओ।” यो अवस्थाबारे प्रिन्सिपल्स अफ साइकोलोजी (१९८१, खण्ड १, पृ. ५९) भन्‍ने किताबमा विलियम जेम्स यस्तो लेख्छन्‌: “मस्तिष्कको गडबडी हुँदा त्यसको एउटा असर भनेको दिमाग बोधो हुनु हो। यसको मतलब मानिसले आफ्नो अगाडि भइरहेका कुराहरू देख्न त देख्छन्‌ तर वास्तवमा के भइरहेको छ भनेर बुझ्न सक्दैनन्‌। मनोवैज्ञानिक पक्षबाट भन्‍नुपर्दा मानिसले देखेका कुराहरूबीचको सम्बन्ध के हो र त्यसको अर्थ के हो भनेर बुझ्न सक्दैनन्‌।” यस्तै प्रकारको अन्धोपन सिरियाली सेनालाई पनि भएको थियो र तिनीहरू सामरिया पुगेपछि यहोवाले तिनीहरूको आँखा खोलिदिनुभयो। (२रा ६:१८-२०) यस्तै अन्धोपन लुतको समयमा सदोमका मानिसहरूलाई पनि भएको थियो। विवरण पढ्‌ने हो भने अन्धो भएकोमा विचलित हुनुको साटो तिनीहरूले छामछाम छुमछुम गर्दै लुतको घरको ढोका खोज्न थालेका थिए।—उत्प १९:११.

नोभेम्बर १४-२०

बाइबलमा पाइने अनमोल धन | २ राजा ७–८

“मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो”

it-1-E पृ. ७१६-७१७

एलिसा

बेनहदद द्वितीय आफ्नो सेना भेला गर्छन्‌ अनि सामरियालाई योजनाबद्ध रूपमा घेराबन्दी गर्छन्‌। घेराबन्दीले सामरियाभरि अनिकाल पर्छ। त्यो घेराबन्दी यति चर्को थियो कि एक जना स्त्रीले आफ्नै छोरालाई मारेर खाएको कुरा राजाकहाँ रिपोर्ट गरिन्छ। “हत्याराको छोरा” भनेर चिनिने आहाबका छोरा राजा यहोरामले भविष्यवक्‍ता एलिसालाई मार्ने कसम खान्छन्‌। तर तिनी आफ्नो कसमअनुसार गर्न सक्दैनन्‌। यहोराम सेनाका सहायक अफिसरसित एलिसाको घरमा पुग्छन्‌ र यहोवाबाट मदतको कुनै आशा नभएको कुरा तिनलाई सुनाउँछन्‌। तर एलिसाले अर्को दिन प्रशस्तै खानेकुरा हुनेछ भनेर राजालाई आश्‍वासन दिन्छन्‌। तर त्यो कुरालाई ती अफिसरले हाँसोमा उडाउँछन्‌। त्यसैले एलिसाले तिनलाई यसो भन्छन्‌: “तिमीले आफ्नै आँखाले त्यो पूरा भएको देख्नेछौ तर त्यसबाट खान भने पाउनेछैनौ।” यहोवाले सिरियालीहरूको छाउनीमा एउटा ठूलो आवाज गराउनुहुन्छ, जसले गर्दा सिरियालीहरूलाई आफूहरूविरुद्ध राष्ट्रहरूको एउटा विशाल सेना आइरहेको छ जस्तो लाग्छ र आफ्नो छाउनीमा खानेकुरा छोडेर भाग्छन्‌। जब राजाले इस्राएलीहरू भागेको थाह पाउँछन्‌, तब तिनले आफ्नो सहायक अफिसरलाई सामरियाको मूलढोकामा निगरानी गर्न खटाउँछन्‌। तर इस्राएलीहरू खानेकुरा लिनको लागि दौडेर आउँदा तिनलाई कुल्चेर मार्छन्‌। यसरी तिनले खानेकुरा देख्न त देख्छन्‌ तर त्यसबाट खान भने पाउँदैनन्‌।—२रा ६:२४–७:२०.

बहुमूल्य रत्न

it-2-E पृ. १९५ अनु. ७

दियो

दाउदको घरानाका राजाहरू। यहोवा परमेश्‍वरले दाउदलाई इस्राएलको राजा बनाउनुभयो र उहाँको निर्देशनबमोजिमै त्यस राष्ट्रलाई बुद्धिमानीपूर्वक डोऱ्‍याएर उनी त्यहाँको असल अगुवा साबित भए। त्यसैले उनलाई “इस्राएलको दियो” भनियो। (२स २१:१७) दाउदलाई राज्य दिने करार गर्नुहुँदा यहोवाले उनीसित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।” (२स ७:११-१६) यहोवाले दाउदको घरानासित गर्नुभएको करारअनुसार उनी र उनका छोराहरूको “दियो” सधैँ बलिरह्‍यो।—१रा ११:३६; १५:४; २रा ८:१९; २इ २१:७.

नोभेम्बर २८-डिसेम्बर ४

बाइबलमा पाइने अनमोल धन | २ राजा ११–१२

बहुमूल्य रत्न

it-1-E पृ. १२६५-१२६६

यहोआस

प्रधानपुजारी यहोयादाले बाँचुञ्जेल यहोआसलाई एक जना बुबा र सल्लाहकारले जस्तै डोऱ्‍याए। यी पुजारीले बाटो देखाउञ्जेल यहोआसले यहोवाको नजरमा जे सही छ, त्यही गरिरहे। तिनले २१ वर्ष पुग्दा दुई वटी केटीसित विवाह गरिसकेका थिए, जसमध्ये एक जनाको नाम यहोअद्दान थियो। उनीहरूबाट तिनका छोराछोरी जन्मिए। यसरी मसीह देखा पर्ने दाउदको वंश जोगियो किनभने त्यो झण्डै नाश हुन लागिसकेको थियो।—२रा १२:१-३; २इ २४:१-३; २५:१.

डिसेम्बर १९-२५

बाइबलमा पाइने अनमोल धन | २ राजा १८–१९

“विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?”

w१०-E ७/१५ पृ. १३ अनु. ३

“नडराऊ, म तिमीलाई मदत गर्नेछु”

रबसाकेले छली तर्कहरू गरेर इस्राएलीहरूको मनमा शङ्‌काको बिउ रोप्न खोजे। तिनले भने: “के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू अनि वेदीहरू हिजकियाहले हटाए? . . . यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’” (२ राजा १८:२२, २५) रबसाकेले यहोवा इस्राएलीहरूसित अप्रसन्‍न हुनुभएकोले तिनीहरूको पक्षमा लडाइँ लड्‌नुहुनेछैन भन्‍ने झूटो तर्क गरेर झुक्क्याउन खोजे। तर वास्तवमा कुरा त्यस्तो थिएन। यहोवा हिजकियाहसित र साँचो उपासनातर्फ फर्केका यहुदीहरूसित प्रसन्‍न हुनुहुन्थ्यो।—२ राजा १८:३-७.

yb७४-E पृ. १७७ अनु. १

भाग २—जर्मनी

नाजी सेनाले शिविरमा ल्याइएकाहरूलाई अक्सर सम्झौता-पत्रमा हस्ताक्षर गराउन असाध्यै धुर्त चाल चल्थ्यो। यदि कसैले हस्ताक्षर गरिहाल्यो भने पनि प्रायजसो तिनको झनै खिल्ली उडाइन्थ्यो अनि दुःख दिने गरिन्थ्यो। यस्तै हुन्थ्यो भनेर पुष्टि गर्दै कार्ल क्रस्टले यसो भने: “यातना शिविरहरूमा धुर्त चाल चलेर त्यसको सिकार बनाइने प्रायजसो व्यक्‍तिहरू यहोवाका साक्षीहरू नै हुन्थे। तिनीहरूलाई झुक्यार सम्झौता-पत्रमा हस्ताक्षर गराउन सकिन्छ जस्तो उनीहरूलाई लाग्थ्यो। हामीलाई पनि बारम्बार हस्ताक्षर गर्न भनिएको थियो। कोही-कोहीले हस्ताक्षर त गरे तर त्यसपछि पनि शिविरबाट मुक्‍त हुन तिनीहरूले एक वर्षभन्दा लामो समय कुर्नुपऱ्‍यो। अनि त्यस समयको दौडान पनि ती सिपाहीहरूले तिनीहरूलाई कपटीहरू अनि डरपोकहरू भनेर सबैको अगाडी हाँसोमा उडाउँथे र तिनीहरू धोकेबाजहरू हुन्‌ भनी देखाउन तिनीहरूका भाइबहिनीसामु हिँड्‌न लगाउँथे। त्यसपछि मात्र तिनीहरूलाई शिविरबाट मुक्‍त गरिन्थ्यो।”

बहुमूल्य रत्न

it-1-E पृ. १५५ अनु. ४

पुरातत्त्व

उदाहरणको लागि, बाइबलमा अस्सेरियाका राजा सनहेरिबको हत्या उनका दुई जना छोरा अद्रम-मेलेक र सारेजेरले गरे अनि उनका अर्का छोरा एसर-हद्दोन राजा भए भनेर लेखिएको छ। (२रा १९:३६, ३७) तर बेबिलोनी इतिहासमा तेबेथ महिनाको २० औँ दिनमा सनहेरिबका एक छोराले विद्रोह गरेर उनको हत्या गरे भनी लेखिएको छ। इसापूर्व तेस्रो शताब्दीका बेबिलोनी पुजारी बेरोसस र इसापूर्व छैटौँ शताब्दीका बेबिलोनी राजा नाबोनिडसले पनि त्यही कुरा बताएका छन्‌। तर हालै पत्ता लागेको एसर-हद्दोनबारे लेखिएको एउटा लेखोटमा, तिनका दुवै जना दाइले विद्रोह गरेर आफ्नो बुबालाई मारेको र भागेको कुरा लेखिएको छ। फिलिप बिबरफिल्डले युनिभर्सल जुविस हिस्ट्री (१९४८, खण्ड १, पृ. २७) भन्‍ने किताबमा यस्तो टिप्पणी गरेका छन्‌: “नाबोनिड र बेरोससले लेखेका कुरा अनि बेबिलोनी इतिहास गलत थिए; बाइबल विवरण मात्र साँचो साबित भएको छ। यस घटनाको स-सानो विवरण पनि एसर-हद्दोनबारे लेखिएको लेखोटले पुष्टि गरेको छ। अनि यस घटनाबारे बेबिलोनी इतिहासले बताएको कुराभन्दा बाइबलले बताएको कुरा सही साबित भयो। यसबाट के बुझिन्छ भने, बाइबलमा लेखिएको कुरा र पुरातात्त्विक प्रमाणहरू मेल खाएन भने ती प्रमाणहरूमा विश्‍वास गरिहाल्नुको साटो त्यसबारे अझ विस्तृत अनुसन्धान गर्नुपर्छ।”

डिसेम्बर २६–जनवरी १

बाइबलमा पाइने अनमोल धन | २ राजा २०–२१

“यहोवाले प्रार्थना सुनेर कदम चाल्नुभयो”

ip-1-E पृ. ३९४ अनु. २३

विश्‍वास देखाएकोले एक जना राजाले इनाम पाउँछन्‌

२३ सनहेरिब यहुदाविरुद्ध पहिलो चोटि युद्ध गर्न आउँदा हिजकियाह सिकिस्त बिरामी पर्छन्‌। यसैयाले तिनी निको हुनेछैनन्‌, तिनी मर्नेछन्‌ भनेर बताउँछन्‌। (यसैया ३८:१) यो सुनेर राजा स्तब्ध हुन्छन्‌। त्यतिबेला तिनी जम्मा ३९ वर्षका थिए। तिनी आफ्नो बारेमा मात्र नभई आफ्ना मानिसहरूको भविष्य कस्तो होला भन्‍ने कुराले पनि एकदम चिन्तित भए। यरुसलेम र यहुदालाई असेरियालीहरूले आक्रमण गरेर कब्जा गर्ने खतरा थियो। यदि हिजकियाह नै मरे भने युद्धमा नेतृत्व कसले लिने थियो? त्यसबेला हिजकियाहपछि राजा हुनको लागि तिनको कुनै छोरा पनि थिएन। त्यसैले तिनी यहोवालाई व्यग्र प्रार्थना गर्दै आफूमाथि दया देखाउन उहाँलाई बिन्ती गर्छन्‌।—यसैया ३८:२, ३.

बहुमूल्य रत्न

it-2-E पृ. २४० अनु. १

साहुल

कुनै भवनलाई राम्रोसित निर्माण गर्न वा त्यो कत्तिको बलियो छ भनेर जाँच्न साहुल प्रयोग गरिन्छ। यहोवाले उहाँदेखि तर्किएको यरुसलेमबारे यस्तो भविष्यवाणी गर्नुभयो: “मैले जुन डोरीले सामरियालाई नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु र जुन साहुलले आहाबको घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु।” यहोवाले सामरिया र आहाबको घरानालाई नाप्नुभयो र तिनीहरूलाई नैतिक रूपमा भ्रष्ट पाउनुभयो। त्यसैले तिनीहरूको विनाश भयो। त्यसैगरि यहोवाले यरुसलेम र त्यसका शासकहरूलाई पनि नाप्नुहुने थियो र तिनीहरूको भ्रष्टता उदाङ्‌ग हुने थियो अनि त्यस सहरको विनाश हुने थियो। वास्तवमा यो घटना ईसापूर्व ६०७ मा भयो। (२रा २१:१०-१३; १०:११) यरुसलेमका दुष्ट मानिस र शासकहरूमाथि आइपर्ने विपत्ति र आफूले घोषणा गर्नुभएको कुरा यहोवाले यसैयामार्फत बताउनुभएको थियो। यहोवाले यस्तो भन्‍नुभएको थियो: “म न्यायलाई नाप्ने डोरी बनाउनेछु र न्यायोचित कामलाई साहुल बनाउनेछु।” न्याय र न्यायोचित कामसम्बन्धी यहोवाको स्तरले कुनै व्यक्‍ति यहोवाको उपासक हो कि होइन भन्‍ने कुरा छुट्ट्याउने थियो र त्यसले नै तिनी नाश हुने हुन्‌ कि बचाइने हुन्‌ भन्‍ने कुरा निर्धारित गर्ने थियो।—यसै २८:१४-१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने