प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 फेब्रुअरी पृ. ८-१३
  • हाम्रो बुबा यहोवालाई हामी असाध्यै माया गर्छौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो बुबा यहोवालाई हामी असाध्यै माया गर्छौँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवासित नजिक भइरहनुहोस्‌
  • आज्ञाकारी भएर यहोवालाई माया गरेको देखाउनुहोस्‌
  • हाम्रो बुबालाई माया गर्न अरूलाई मदत गर्नुहोस्‌
  • हाम्रो बुबालाई माया गर्नुहोस्‌ अनि खुसी हुनुहोस्‌
  • हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • आध्यात्मिक परिवारसित नजिक हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 फेब्रुअरी पृ. ८-१३

अध्ययन लेख ७

हाम्रो बुबा यहोवालाई हामी असाध्यै माया गर्छौँ

“हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।”—१ युह. ४:१९.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचयa

१-२. यहोवाले किन हामीलाई उहाँको परिवारको भाग बनाउने बाटो खोल्नुभयो अनि कसरी त्यसो गर्नुभयो?

यहोवाले हामीलाई उहाँका उपासकहरू मिलेर बनेको परिवारको भाग हुन निम्तो दिनुभएको छ। कस्तो मन छुने निम्तो! यस परिवारमा परमेश्‍वरलाई जीवन समर्पण गर्ने र उहाँको छोराको फिरौतीको बलिदानमा विश्‍वास गर्ने मानिसहरू सामेल छन्‌। हाम्रो यो परिवार सुखी छ। साथै हामी अहिले अर्थपूर्ण जीवन बिताइरहेका छौँ अनि भविष्यमा कहिल्यै अन्त नहुने जीवन पाउने आशामा रमाउँछौँ, चाहे त्यो स्वर्गमा होस्‌ या पृथ्वीमा।

२ हामीलाई आफ्नो परिवारको भाग बनाउने बाटो खोल्न यहोवा हामीप्रतिको प्रेमले उत्प्रेरित हुनुभयो अनि उहाँले ठूलो त्याग गर्नुभयो। (युह. ३:१६) हामी “दाम तिरेर किनिएका” हौँ। (१ कोरि. ६:२०) यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएर उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सम्भव तुल्याउनुभयो। यस ब्रह्‍माण्डकै सबैभन्दा महान्‌ व्यक्‍तिलाई आफ्नो बुबा भनेर सम्बोधन गर्न पाउनु हाम्रो लागि सम्मानको कुरा हो। अनि अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवा नै उत्कृष्ट बुबा हुनुहुन्छ।

३. हाम्रो मनमा कस्ता प्रश्‍नहरू आउन सक्छन्‌? (“के यहोवा मलाई याद गर्नुहुन्छ?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

३ एक जना बाइबल लेखकले बताएझैँ हाम्रो मनमा पनि यो प्रश्‍न आउन सक्छ: “यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो म उहाँलाई के चढाऊँ?” (भज. ११६:१२) वास्तवमा स्वर्गमा बस्नुहुने बुबाले हाम्रो लागि गर्नुभएका सबै उपकारको साटो कहिल्यै तिर्न सक्दैनौँ। तैपनि हामी उहाँलाई माया गर्न जुरमुरिन्छौँ। प्रेषित युहन्‍नाले यस्तो लेखे: “हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ युह. ४:१९) हामी स्वर्गमा बस्नुहुने बुबालाई माया गरेको कसरी देखाउन सक्छौँ?

के यहोवा मलाई याद गर्नुहुन्छ?

एउटी स्त्री सडकमा उभिरहेकी छिन्‌, तिनको वरिपरि मानिसहरू हिँडिरहेका छन्‌। “के परमेश्‍वर मलाई याद गर्नुहुन्छ?” भनेर प्रश्‍न गरेझैँ तिनी माथितिर हेर्दै छिन्‌।

के तपाईँले कहिल्यै आफूलाई यो प्रश्‍न सोध्नुभएको छ, ‘पृथ्वीमा करोडौँ मानिस छन्‌ तर यहोवाले मलाई किन याद गर्नुहोला र?’ अरू असल मानिसहरूलाई पनि यस्तै लाग्छ। राजा दाउदले लेखे: “हे यहोवा, मानिस के हो र, जसको विषयमा तपाईँ सोच्नुहुन्छ? मरणशील मानिस के हो र, जसमा तपाईँ ध्यान दिनुहुन्छ?” (भज. १४४:३) यहोवाले दाउदलाई राम्ररी चिन्‍नुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। (१ इति. १७:१६-१८) तपाईँले यहोवालाई देखाउनुभएको प्रेम उहाँ याद गर्नुहुन्छ भनेर आफ्नो वचन र सङ्‌गठनमार्फत आश्‍वासन दिनुहुन्छ। यो सत्यतामा विश्‍वास गर्न परमेश्‍वरको वचनमा पाइने निम्न कुराहरू विचार गर्नुहोस्‌:

  • तपाईँ जन्मनुअघि नै यहोवाले तपाईँलाई देख्नुभएको थियो।—भज. १३९:१६.

  • यहोवा तपाईँको सोचाइ र भावना जान्‍नुहुन्छ।—१ इति. २८:९.

  • यहोवा आफैले तपाईँको हरेक प्रार्थना सुन्‍नुहुन्छ।—भज. ६५:२.

  • तपाईँको कामले यहोवाको भावनालाई असर गर्छ।—हितो. २७:११.

  • यहोवाले नै तपाईँलाई उहाँतर्फ खिच्नुभएको हो।—युह. ६:४४.

  • यहोवा तपाईँलाई यत्ति राम्ररी चिन्‍नुहुन्छ कि तपाईँ मर्नुभए पनि उहाँले तपाईँलाई फेरि जीवित पार्न सक्नुहुन्छ। उहाँले तपाईँको शरीर फेरि बनाउन सक्नुहुन्छ। तपाईँको दिमागमा फेरि पहिलेका सम्झनाहरू हालिदिनुहुनेछ अनि तपाईँको व्यक्‍तित्वका खास-खास पक्षहरू पनि पहिलेको जस्तै हुनेछ।—युह. ११:२१-२६, ३९-४४; प्रेषि. २४:१५.

यहोवासित नजिक भइरहनुहोस्‌

चित्रहरूको सँगालो: १. एउटी बहिनी टेबुलमा बसेर प्रार्थना गरिरहेकी छिन्‌, तिनको अगाडि बाइबल खुला छ। २. एक जवान भाइ स्कुलको साथीले दिएको चुरोट खान इन्कार गर्दै छन्‌। ३. एक भाइ फुड ट्रकको कुकलाई पर्चा देखाउँदै छन्‌।

स्वर्गमा बस्नुहुने बुबा यहोवासित प्रार्थनामार्फत घनिष्ठ भएर, उहाँको आज्ञा पालन गरेर अनि उहाँलाई माया गर्न अरूलाई मदत गरेर हामी उहाँलाई असाध्यै माया गरेको देखाउँछौँ (अनुच्छेद ४-१४ हेर्नुहोस्‌)

४. याकुब ४:८ अनुसार हामीले यहोवासित नजिक हुन किन प्रयत्न गर्नुपर्छ?

४ हामी यहोवासित नजिक भएको र उहाँसित कुरा गरेको उहाँ चाहनुहुन्छ। (याकुब ४:८ पढ्‌नुहोस्‌) उहाँ हामीलाई “प्रार्थनामा लागिरहो” भनेर आग्रह गर्नुहुन्छ अनि सधैँ हाम्रो कुरा सुन्‍न तयार हुनुहुन्छ। (रोमी १२:१२) हामीले आफ्नो कुरा व्यक्‍त गर्दा उहाँ सुन्‍नै नभ्याउनेगरि कहिल्यै व्यस्त हुनुहुन्‍न वा थकित भएर हाम्रो कुरा सुन्‍नै नसक्ने पनि हुनुहुन्‍न। उहाँको वचन बाइबल पढेर र त्यसमा लेखिएका कुराहरू बुझ्न मदत गर्ने प्रकाशनहरू पढेर हामी उहाँको कुरा सुन्छौँ। ख्रिष्टियन सभाहरूमा ध्यान दिँदा पनि उहाँको कुरा सुनिरहेका हुन्छौँ। जसरी नियमित कुराकानी गर्दा छोराछोरी र आमाबुबा घनिष्ठ भइरहन सक्छन्‌, त्यसरी नै यहोवासित नियमित कुराकानी गर्दा हामी उहाँसित घनिष्ठ भइरहन सक्छौँ।

एउटी बहिनी टेबुलमा बसेर प्रार्थना गरिरहेकी छिन्‌, तिनको अगाडि बाइबल खुला छ।

अनुच्छेद ५ हेर्नुहोस्‌

५. हामी आफ्नो प्रार्थनाको गुणस्तर कसरी बढाउन सक्छौँ?

५ तपाईँको प्रार्थनाको गुणस्तर कस्तो छ, विचार गर्नुहोस्‌। यहोवा हामीले प्रार्थना गरेर आफ्नो मनको बह पोखेको चाहनुहुन्छ। (भज. ६२:८) हामीले आफैलाई यो प्रश्‍न सोध्नु बेस हो: ‘के मेरो प्रार्थना औपचारिकता पूरा गर्ने र कसैले पहिल्यै लेखेर राखेको कुरा पढेको जस्तो छ कि मनैदेखिको अनि आफ्नै हातले लेखेको चिठीजस्तो छ?’ तपाईँ पक्कै पनि यहोवालाई औधी माया गर्नुहुन्छ अनि उहाँसितको सम्बन्ध घनिष्ठ बनाइराख्न चाहनुहुन्छ। त्यसो गर्न तपाईँले उहाँसित नियमित कुराकानी गर्नुपर्छ। उहाँलाई आफ्नो मनको भावना पोखाउनुहोस्‌। उहाँसित सुख-दुःख बाँड्‌नुहोस्‌। जुनसुकै बेलामा उहाँसित मदत माग्न सकिन्छ भनेर निश्‍चिन्त हुनुहोस्‌।

६. हामीले स्वर्गमा बस्नुहुने बुबासित घनिष्ठ भइरहन के गर्नुपर्छ?

६ स्वर्गमा बस्नुहुने बुबासित घनिष्ठ भइरहन हामी सधैँ उहाँप्रति धन्यवादी हुनुपर्छ। हामी भजनरचयिताले लेखेको यो कुरामा सहमत छौँ: “हे यहोवा मेरा परमेश्‍वर, तपाईँले हाम्रो लागि कत्ति धेरै आश्‍चर्यजनक कामहरू गर्नुभएको छ! अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्‌! तपाईँको बराबरीमा कोही आउन सक्दैन। मैले तीबारे बोल्न र बयान गर्न चाहेँ भने पनि त्यसको गन्ती नै गर्न सकिँदैन!” (भज. ४०:५) हामी धन्यवादी महसुस मात्र गर्दैनौँ बरु आफ्नो बोली र कामद्वारा यहोवाप्रति धन्यवादी भएको व्यक्‍त गर्छौँ। यसो गर्दा हामी संसारका धेरैजसो मानिसभन्दा भिन्‍नै भइरहेका हुन्छौँ। किनभने परमेश्‍वरले गरिदिनुभएका कुराहरूप्रति तिनीहरू कृतज्ञ छैनन्‌। वास्तवमा मानिसहरू कृतघ्न हुनु हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भन्‍ने एउटा प्रमाण हो। (२ तिमो. ३:१, २) हामी कहिल्यै त्यस्तो मनोभाव नदेखाऔँ!

७. यहोवा हामीले के गरेको चाहनुहुन्छ र किन?

७ छोराछोरी एकअर्कासित झगडा नगरी मिलेर बसेको आमाबुबा चाहन्छन्‌। त्यसैगरि यहोवा आफ्ना सबै छोराछोरी एकअर्कासित मिलेर बसेको चाहनुहुन्छ। वास्तवमा हामीबीच भएको प्रेमले नै हामी साँचो ख्रिष्टियन हौँ भन्‍ने प्रमाण दिन्छ। (युह. १३:३५) हामी भजनरचयिताले लेखेको यो कुरामा सहमत छौँ: “दाजुभाइहरू आपसमा मिलेर बस्नु कत्ति असल र मनोहर कुरा हो!” (भज. १३३:१) हामी ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई माया गर्छौँ भने यहोवालाई माया गरेको देखाइरहेका हुन्छौँ। (१ युह. ४:२०) ‘एकअर्काप्रति दया अनि कोमलताले भरिएको करुणा देखाउने’ दाजुभाइ दिदीबहिनी भएको परिवारको भाग हुन पाउनु कत्ति मनोहर कुरा हो!—एफि. ४:३२.

आज्ञाकारी भएर यहोवालाई माया गरेको देखाउनुहोस्‌

एक जवान भाइ स्कुलको साथीले दिएको चुरोट खान इन्कार गर्दै छन्‌।

अनुच्छेद ८ हेर्नुहोस्‌

८. पहिलो युहन्‍ना ५:३ अनुसार हामी यहोवाप्रति आज्ञाकारी हुनुको मुख्य कारण के हो?

८ छोराछोरीले आमाबुबाको आज्ञा पालन गरेको यहोवा चाहनुहुन्छ; त्यसैगरि हामीले पनि उहाँको आज्ञा पालन गरेको उहाँ चाहनुहुन्छ। (एफि. ६:१) हामी उहाँप्रति आज्ञाकारी हुनुपर्छ किनभने हाम्रो सृष्टिकर्ता र हाम्रो जीवन धान्‍ने उहाँ नै हुनुहुन्छ। अनि उहाँ सबै मानव बुबाभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। तर उहाँप्रति आज्ञाकारी हुनुको मुख्य कारण उहाँप्रतिको हाम्रो प्रेम हो। (१ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌) हुनत यहोवाको आज्ञा पालन गर्नुपर्ने थुप्रै कारण छन्‌ तर उहाँ हामीलाई कहिल्यै जबरजस्ती गर्नुहुन्‍न। यहोवाले हामीलाई छनौट गर्ने स्वतन्त्रताको वरदान दिनुभएको छ। त्यसैले हामीले प्रेमले उत्प्रेरित भएर उहाँको आज्ञा पालन गर्ने छनौट गर्दा उहाँलाई खुसी लाग्छ।

९-१०. यहोवाको स्तर थाह पाउनु र त्यसअनुसार चल्नु किन महत्त्वपूर्ण छ?

९ आफ्ना छोराछोरी सुरक्षित भएको आमाबुबा चाहन्छन्‌। त्यसैले आमाबुबा छोराछोरीको भलाइको लागि उनीहरूले गर्न हुने र गर्न नहुने कुराहरूको नियम बनाउँछन्‌। छोराछोरीले ती निर्देशनहरू पालन गर्दा आमाबुबालाई भरोसा र आदर गरेको देखिन्छ। त्यसोभए हामीले यहोवाको स्तर थाह पाउनु र त्यसअनुसार चल्नु झन्‌ कत्ति महत्त्वपूर्ण छ! यसो गर्दा हामी यहोवालाई माया र आदर गरेको देखाइरहेका हुन्छौँ अनि त्यसले हाम्रै फाइदा हुन्छ। (यसै. ४८:१७, १८) तर यहोवा र उहाँको स्तरलाई तिरस्कार गर्ने मानिसहरूले आफैलाई हानि पुऱ्‍याइरहेका हुन्छन्‌।—गला. ६:७, ८.

१० यहोवालाई खुसी तुल्याउने तरिकामा जीवन बिताउँदा हामी शारीरिक, भावनात्मक र आध्यात्मिक हानिबाट जोगिरहेका हुन्छौँ। हाम्रो लागि सबैभन्दा असल कुरा के हो, यहोवालाई थाह छ। अमेरिकामा बस्ने अरोरा नामकी बहिनी भन्छिन्‌, “मलाई थाह छ, यहोवाको आज्ञा पालन गर्दा सधैँ हाम्रै फाइदा हुन्छ।” यो अकाट्य सत्य हो। यहोवाले माया गरेर दिनुभएको निर्देशन पालन गर्दा तपाईँले कस्तो लाभ उठाउनुभएको छ?

११. प्रार्थनाले हामीलाई के गर्न मदत गर्छ?

११ प्रार्थनाले हामीलाई आज्ञाकारी हुन मदत गर्छ, चाहे त्यसो गर्न गाह्रो नै किन नहोस्‌। कहिलेकाहीँ यहोवाको आज्ञा पालन गर्न सङ्‌घर्ष गर्नुपर्ने होला तैपनि हामीले पाप गर्ने झुकावविरुद्ध हार नमानी लडिरहनुपर्छ। भजनरचयिताले परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्‌।” (भज. ५१:१२) डिनिस नाम गरेकी नियमित अग्रगामी यसो भन्छिन्‌, “यदि मलाई यहोवाको कुनै आज्ञा पालन गर्न गाह्रो लाग्यो भने जे सही छ, त्यो गर्न यहोवासित बल माग्छु।” यहोवाले सधैँ त्यस्तो किसिमको प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ।—लुका ११:९-१३.

हाम्रो बुबालाई माया गर्न अरूलाई मदत गर्नुहोस्‌

१२. एफिसी ५:१ अनुसार हामीले के गर्नुपर्छ?

१२ एफिसी ५:१ पढ्‌नुहोस्‌। हामी यहोवाका “प्यारा छोराछोरी” भएकोले उहाँको देखासिकी गर्न सक्दो गर्छौँ। हामी मायालु, दयालु र अरूप्रति क्षमाशील भएर उहाँको देखासिकी गर्छौँ। यहोवालाई नचिन्‍ने मानिसहरूले हाम्रो असल चालचलन देख्दा तिनीहरू उहाँबारे अझ सिक्न जुरमुरिन सक्छन्‌। (१ पत्रु. २:१२) ख्रिष्टियन आमाबुबाले यहोवाको देखासिकी गर्दै छोराछोरीसित व्यवहार गर्नुपर्ने जायज कारण छ। त्यसो गरेमा तिनीहरूका छोराछोरीमा पनि हाम्रो मायालु बुबासित मित्रता गाँस्ने इच्छा जाग्न सक्छ।

एक भाइ फुड ट्रकको कुकलाई पर्चा देखाउँदै छन्‌।

अनुच्छेद १३ हेर्नुहोस्‌

१३. साहसी हुन हामीले के गर्नुपर्छ?

१३ सानो बच्चा आफ्नो बुबामा गर्व गर्छ अनि तिनीबारे कुरा गर्दा खुसी हुन्छ। त्यसैगरि हामी स्वर्गमा बस्नुहुने बुबा यहोवामा गर्व गर्छौँ अनि अरूले पनि उहाँलाई चिनेको चाहन्छौँ। हामी राजा दाउदले व्यक्‍त गरेको भावनासित सहमत छौँ, जसले यसो भने: “म यहोवामा गर्व गर्नेछु।” (भज. ३४:२) तर यहोवाबारे अरूलाई बताउन हामीलाई डर लाग्छ भने नि? हामी कसरी साहसी हुन सक्छौँ? हामीले यहोवाबारे अरूलाई बताउँदा उहाँलाई धेरै खुसी लाग्छ अनि अरूले पनि उहाँबारे सिकेर धेरै लाभ उठाउन सक्नेछन्‌ भन्‍ने कुरा मनमा राख्दा साहसी हुन सक्छौँ। हामीलाई चाहिने साहस यहोवाले दिनुहुनेछ। उहाँले प्रथम शताब्दीका हाम्रा दाजुभाइ दिदीबहिनीलाई साहसी हुन मदत गर्नुभयो अनि हामीलाई पनि मदत गर्नुहुनेछ।—१ थिस्स. २:२.

१४. चेला बनाउने काममा भाग लिनु महत्त्वपूर्ण हुनुका केही कारण के-के हुन्‌?

१४ यहोवा पक्षपाती हुनुहुन्‍न अनि हामीले अरूको बेग्लै पृष्ठभूमिको बाबजुद तिनीहरूलाई माया गरेको देख्दा उहाँलाई खुसी लाग्छ। (प्रेषि. १०:३४, ३५) अरूलाई माया गरेको देखाउने उत्तम तरिकाहरूमध्ये एउटा तिनीहरूलाई सुसमाचार सुनाउनु हो। (मत्ति २८:१९, २०) यसको नतिजा कस्तो हुन्छ? हाम्रो कुरा सुन्‍ने मानिसहरूले अहिल्यै आफ्नो जीवन सुधार्न सक्छन्‌ अनि भविष्यमा प्रमोदवनमा अनन्त जीवन पाउने आशा राख्न सक्छन्‌।—१ तिमो. ४:१६.

हाम्रो बुबालाई माया गर्नुहोस्‌ अनि खुसी हुनुहोस्‌

१५-१६. हामी खुसी हुन सक्ने कस्ता कारणहरू छन्‌?

१५ मायालु बुबा हुनुभएकोले यहोवा आफ्नो परिवार सुखी भएको चाहनुहुन्छ। (यसै. ६५:१४) हामीले कठिनाइको सामना गर्नुपरे तापनि अहिल्यै खुसी हुन सक्ने धेरै कारण छन्‌। उदाहरणको लागि, स्वर्गमा बस्नुहुने हाम्रो बुबाले हामीलाई असाध्यै माया गर्नुहुन्छ भनेर ढुक्क छौँ। हामीसित परमेश्‍वरको वचन बाइबलको सही ज्ञान छ। (यर्मि. १५:१६) साथै हामी यहोवालाई माया गर्ने, उहाँको उच्च नैतिक स्तरलाई प्रेम गर्ने अनि एकअर्कालाई माया गर्ने मानिसहरू मिलेर बनेको विशेष परिवारको भाग हौँ।—भज. १०६:४, ५.

१६ हामी खुसी हुन सक्छौँ किनभने भविष्यमा जीवन अझ राम्रो हुनेछ भन्‍ने ग्यारेन्टी पाएका छौँ। यहोवाले चाँडै सबै दुष्टता हटाउनुहुनेछ अनि उहाँले आफ्नो राज्यमार्फत पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुहुनेछ भनेर हामीलाई थाह छ। साथै मरेका व्यक्‍तिहरू फेरि जीवित पारिने अनि आफ्ना प्रियजनहरूसित पुनर्मिलन हुने अद्‌भुत आशा पनि पाएका छौँ। (युह. ५:२८, २९) कत्ति खुसीको कुरा! सबैभन्दा महत्त्वपूर्ण कुरा, चाँडै स्वर्ग र पृथ्वीमा हुने सबैले स्वर्गमा बस्नुहुने हाम्रो बुबाको महिमा, प्रशंसा र उपासना गर्नेछन्‌, जसको उहाँ योग्य हुनुहुन्छ।

तपाईँको विचारमा निम्न कुराहरू किन गर्नुपर्छ?

  • प्रार्थनामा लागिरहनु

  • यहोवाप्रति आज्ञाकारी हुनु

  • स्वर्गमा बस्नुहुने हाम्रो बुबाबारे अरूलाई बताउनु

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

a हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ र उहाँका उपासकहरू मिलेर बनेको परिवारमा हामीलाई सामेल गर्नुभएको छ। त्यसैले हामी पनि उहाँलाई माया गर्न जुरमुरिन्छौँ। हाम्रो ख्याल राख्नुहुने बुबालाई कसरी माया देखाउन सक्छौँ? हामीले गर्न सक्ने केही खास कुराहरू यस लेखमा छलफल गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने