प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 मे पृ. २६-३१
  • तपाईँ कसरी सही निर्णयसम्म पुग्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी सही निर्णयसम्म पुग्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • डेटिङको उद्देश्‍य
  • एकअर्कालाई राम्ररी चिन्‍नुहोस्‌
  • विचार गर्नुपर्ने अन्य कुराहरू
  • डेटिङ गरिरहेकाहरूलाई अरूले कसरी साथ दिन सक्छन्‌?
  • तपाईँ कसरी सुहाउँदो जीवनसाथी भेट्टाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउन मैले के गर्नुपर्ला?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • टाढाको मान्छेसित माया बस्यो भने त्यसलाई कसरी कायम राख्ने?
    ब्यूँझनुहोस्‌!—१९९९
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 मे पृ. २६-३१

अध्ययन लेख २२

गीत १२७ म कस्तो मानिस बनूँ?

तपाईँ कसरी सही निर्णयसम्म पुग्न सक्नुहुन्छ?

“मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो तर समझदार मानिसले त्यो तानेर निकाल्छ।”​—हितो. २०:५.

सिक्न सकिने कुरा

डेटिङ गरिरहेकाहरूलाई सही निर्णयसम्म पुग्न केले मदत गर्न सक्छ र मण्डलीका अरूले तिनीहरूलाई कसरी साथ दिन सक्छन्‌?

१-२. डेटिङबारे कोही-कोही के भन्छन्‌?

डेटिङ रमाइलो अनि हर्षको समय हो। तपाईँ अहिले डेटिङ गर्दै हुनुहुन्छ भने तपाईँहरू सँगै रमाइलो समय बिताउन चाहनुहुन्छ होला। अनि थुप्रै जोडीले यस्तै समय बिताएका छन्‌। इथियोपियाकी सियानa बहिनी यसो भन्छिन्‌: “मेरो जीवनको एउटा एकदमै रमाइलो समय डेटिङ गरेको समय पनि हो। त्यतिबेला हामीले गहन विषयहरूमा पनि कुरा गऱ्‍यौँ अनि रमाइलो कुराकानी गरेर सँगै हाँस्यौँ पनि। मैले माया गर्न सक्ने अनि मलाई माया गर्ने व्यक्‍ति पाएकोमा मेरो खुसीको सीमै थिएन।”

२ तर नेदरल्याण्ड्‌सका एलेसो भाइ यसो भन्छन्‌: “डेटिङको बेला एकअर्कालाई चिन्‍न पाएकोमा हामी असाध्यै खुसी थियौँ तर चुनौतीहरू पनि थिए।” यस लेखमा हामी डेटिङ गर्दा आइपर्न सक्ने केही चुनौतीबारे र सही निर्णयसम्म पुग्न मदत गर्ने केही बाइबल सिद्धान्तबारे छलफल गर्नेछौँ। साथै मण्डलीका अरूले डेटिङ गरिरहेकाहरूलाई कसरी साथ दिन सक्छन्‌, त्यसबारे पनि विचार गर्नेछौँ।

डेटिङको उद्देश्‍य

३. डेटिङको उद्देश्‍य के हो? (हितोपदेश २०:२५)

३ हुनत डेटिङ रमाइलो हुन्छ तर यो एउटा गम्भीर कदम पनि हो। किनकि यसले विवाहसम्म पुऱ्‍याउन सक्छ। विवाहको दिन दुलहा र दुलहीले बाँचुन्जेल एकअर्कालाई प्रेम र आदर गर्ने वाचा यहोवासामु गर्छन्‌। कुनै पनि भाकल अर्थात्‌ वाचा गर्नुअघि हामीले राम्ररी सोचविचार गर्नुपर्छ। (हितोपदेश २०:२५ पढ्‌नुहोस्‌।) विवाह वाचा गर्ने सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। डेटिङले एकअर्कालाई राम्ररी चिन्‍न अनि सही निर्णय गर्न मदत गर्छ। कहिलेकाहीँ त्यो निर्णय विवाह गर्ने हुन सक्छ भने कहिलेकाहीँ सम्बन्ध टुटाउने। यदि कुनै जोडीले सम्बन्ध टुटाउने निर्णय गऱ्‍यो भने त्यो डेटिङ विफल भयो भन्‍ने होइन। बरु त्यसले आफ्नो उद्देश्‍य पूरा गऱ्‍यो। त्यो हो​—विवाह गर्ने कि नगर्ने भनेर सही निर्णयसम्म पुग्ने।

४. डेटिङप्रति सही दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?

४ डेटिङप्रति सही दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ? किनभने डेटिङप्रति सही दृष्टिकोण छ भने अविवाहितहरूले जोसित विवाह गर्ने विचारै छैन, ऊसित डेटिङ गर्नेछैनन्‌। तर अविवाहितहरूले मात्र होइन, हामी सबैले डेटिङप्रति सही दृष्टिकोण राख्नुपर्छ। कसै-कसैको विचारमा डेटिङ गरिरहेकाहरूले विवाह गर्नै पर्छ। यस्तो दृष्टिकोणले अविवाहित भाइबहिनीमा कस्तो प्रभाव पार्छ? अमेरिकाकी अविवाहित बहिनी मेलिसा भन्छिन्‌: “कसै-कसैले डेटिङ गरिरहेकाहरूलाई विवाह गर्नै पर्छ भनेर दबाब दिन्छन्‌। यस्तो दबाबले गर्दा कोही-कोही आफूले डेटिङ गरिरहेको व्यक्‍ति आफ्नो लागि सुहाउँदो जोडी होइन भनेर थाह भइसकेपछि पनि सम्बन्ध टुटाउँदैनन्‌। अर्कोतर्फ केही अविवाहित भने डेटिङ नै गर्दैनन्‌। यस्तो दबाबले गर्दा निकै तनाव हुन्छ।”

एकअर्कालाई राम्ररी चिन्‍नुहोस्‌

५-६. डेटिङ गरिरहेकाहरूले एकअर्काबारे कस्तो कुरा थाह पाउने प्रयास गर्नुपर्छ? (१ पत्रुस ३:४)

५ डेटिङ गर्दै हुनुहुन्छ भने विवाह गर्ने कि नगर्ने भनेर निर्णय गर्न तपाईँलाई केले मदत गर्नेछ? सुरुमा एकअर्कालाई राम्ररी चिन्‍नुपर्छ। तपाईँले डेटिङ सुरु गर्नुअघि नै अर्को व्यक्‍तिबारे केही न केही कुरा थाह पाइसक्नुभएको हुन सक्छ। तर अब भने तपाईँले तिनको भित्री हृदय कस्तो छ भनेर अझ राम्ररी थाह पाउने मौका पाउनुहुन्छ। (१ पत्रुस ३:४ पढ्‌नुहोस्‌।) जस्तै: तिनको आध्यात्मिकता, व्यक्‍तित्व र सोचाइ। समयको दौडान तपाईँले यी प्रश्‍नहरूको जवाफ दिन सक्नुपर्छ: ‘के तिनी मेरो लागि सुहाउँदो जोडी हुन सक्छन्‌?’ (हितो. ३१:२६, २७, ३०; एफि. ५:३३; १ तिमो. ५:८) ‘के हामी एकअर्कालाई माया गरेको र ख्याल राखेको महसुस गराउन सक्छौँ?’ ‘के हामी एकअर्काको सानोतिनो कमीकमजोरीलाई बेवास्ता गर्न सक्छौँ?’b (रोमी ३:२३) एकअर्कालाई चिन्दै गर्दा एउटा कुरा नबिर्सनुहोस्‌: तपाईँहरूको जोडी मिल्नको लागि तपाईँहरू दुवैको स्वभाव उस्तै हुनुपर्छ भन्‍ने छैन बरु तपाईँहरू छाँटकाँट गर्न र एकअर्काको कमीकमजोरीलाई सहन तयार हुनुपर्छ।

६ तपाईँहरूले डेटिङको बेला एकअर्काबारे अरू कस्तो कुरा थाह पाउनुपर्छ? तिनीसित भावनात्मक रूपमा एकदमै नजिकिनुअघि तपाईँले केही महत्त्वपूर्ण विषयबारे बुझ्नु बेस हुन्छ। जस्तै: तिनका लक्ष्यहरू। तर स्वास्थ्य, आर्थिक समस्या वा विगतका तीता अनुभवहरूजस्ता व्यक्‍तिगत विषयहरूबारे चाहिँ के भन्‍न सकिन्छ? तपाईँले डेटिङको सुरुमै यस्ता विषयहरूमा कुरा गर्नुपर्छ भन्‍ने छैन। (युहन्‍ना १६:१२ तुलना गर्नुहोस्‌।) यदि तपाईँलाई कुनै व्यक्‍तिगत खालका प्रश्‍नहरूको जवाफ दिन अप्ठ्यारो लाग्यो वा तिनले त्यस विषयमा कुरा गर्न हतार गरेको जस्तो लाग्यो भने त्यसबारे तिनलाई बताउनुहोस्‌। तपाईँले कुनै न कुनै बेला यी कुराहरू इमानदार भई तिनलाई बताउनुपर्छ। किनभने समयको दौडान तिनलाई सही निर्णय गर्न यस्तो जानकारी चाहिन्छ।

७. डेटिङ गरिरहेकाहरूले एकअर्कालाई कसरी चिन्‍न सक्छन्‌? (“टाढा बस्ने व्यक्‍तिसित डेटिङ गर्दा” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।) (चित्रहरू पनि हेर्नुहोस्‌।)

७ तपाईँ तिनको भित्री हृदयको कुरा कसरी थाह पाउन सक्नुहुन्छ? एउटा राम्रो तरिका खुलस्त अनि इमानदार भई कुराकानी गर्नु हो। (हितो. २०:५; याकु. १:१९) यसको लागि तपाईँ प्रश्‍नहरू सोध्न सक्नुहुन्छ र जवाफ ध्यान दिएर सुन्‍न सक्नुहुन्छ। साथै तपाईँहरू कुनै गतिविधिमा सँगै भाग लिन सक्नुहुन्छ। जस्तै: सँगै खाना खाने, सार्वजनिक ठाउँमा टहल्ने र साक्षीकार्यमा भाग लिने। यसो गर्दा एकअर्कासित कुराकानी गर्ने मौका पाउनुहुनेछ। तपाईँहरूले साथीहरू र परिवारसित समय बिताउँदा पनि एकअर्कालाई चिन्‍न सक्नुहुन्छ। साथै तिनी फरक-फरक परिस्थितिमा कस्तो प्रतिक्रिया देखाउँछन्‌ अनि फरक-फरक व्यक्‍तिसित कस्तो व्यवहार गर्छन्‌ भनेर थाह पाउन विभिन्‍न गतिविधिमा भाग लिने योजना बनाउनुहोस्‌। नेदरल्यान्ड्‌सका अस्विन अलिसासित डेटिङ गर्दाको अनुभवबारे यसो भन्छन्‌: “हामी एकअर्कालाई चिन्‍न मदत गर्ने गतिविधिमा भाग लिन्थ्यौँ। त्यसको लागि ठूलै कुरा गर्नुपर्छ भन्‍ने छैन। जस्तै: हामी सँगै मिलेर खाना पकाउँथ्यौँ वा अरू कुनै काम गर्थ्यौँ। यसरी सँगै काम गर्दा हामीले एकअर्काको बलियो पक्ष अनि कमजोर पक्ष देख्न सक्यौँ।”

चित्रहरूको सँगालो: १. डेटिङ गरिरहेकाहरू एउटा क्याफेमा कुराकानी गर्दै छन्‌; तिनीहरू खुसी देखिन्छन्‌। २. डेटिङ गरिरहेको अर्को जोडी एउटा जमघटमा सँगै खानेकुरा तयारी गर्दै छ। ३. एक भाइ र बहिनी भिडियो कल गर्दै छन्‌। तिनीहरू jw.org मा भएको “के मैले वैवाहिक जीवन कस्तो हुन्छ भनेर बुझेको छु?​—भाग १” (अङ्‌ग्रेजी) भन्‍ने लेख पढ्‌दै छन्‌। ती भाइको अगाडि खुला बाइबल छ।

एकअर्कासित कुराकानी गर्न मिल्ने गतिविधिमा भाग लिनुभयो भने तपाईँहरूले एकअर्कालाई अझै राम्ररी चिन्‍न सक्नुहुनेछ (अनुच्छेद ७-८ हेर्नुहोस्‌)


टाढा बस्ने व्यक्‍तिसित डेटिङ गर्दा

यदि तपाईँ टाढा बस्ने व्यक्‍तिसित डेटिङ गर्दै हुनुहुन्छ भने यस लेखमा दिइएका सुझावहरू भिडियो कल वा फोनमार्फत पनि लागू गर्न सक्नुहुन्छ। टाढा भए पनि तपाईँहरू इमानदार भई एकअर्कालाई आफ्नो कुरा बताउन सक्नुहुन्छ र ध्यान दिएर सुन्‍न सक्नुहुन्छ। तर भेटघाट नगरी एकअर्कालाई चिन्‍न गाह्रो हुन सक्छ। त्यसैले सम्भव हुँदा एकअर्कालाई भेट्‌न जानुहोस्‌। तपाईँले अरू कुरा पनि विचार गर्नुपर्छ। जस्तै: के तपाईँ तिनी बसेको ठाउँमा सर्न तयार हुनुहुन्छ? के तपाईँ तिनको संस्कृतिमा भिज्न अनि भाषा सिक्न तयार हुनुहुन्छ? के तपाईँ डेटिङको बेला एकअर्कालाई भेट्‌न अनि विवाहपछि एकअर्काको परिवार र साथीहरूलाई भेट्‌न यातायात खर्च जुटाउन सक्नुहुन्छ?​—लुका १४:२८.

८. डेटिङ गरिरहेकाहरूले सँगै अध्ययन गर्दा कस्तो लाभ उठाउन सक्छन्‌?

८ सँगै अध्ययन गरेर पनि तपाईँहरू एकअर्कालाई चिन्‍न सक्नुहुन्छ। यदि तपाईँहरूले विवाह गर्नुभयो भने पारिवारिक उपासनाको लागि समय निकाल्नुपर्छ। यसो गर्दा तपाईँहरूको वैवाहिक जीवनमा परमेश्‍वरको महत्त्वपूर्ण स्थान छ भनेर देखाइरहनुभएको हुनेछ। (उप. ४:१२) त्यसैले डेटिङ गरेको समयदेखि नै सँगै अध्ययन गर्ने तालिका बनाउनुभए कसो होला? हुनत डेटिङ गरिरहेकाहरू परिवार भइसकेका हुँदैनन्‌ अनि ती भाइ परिवारको शिर पनि भइसकेका हुँदैनन्‌। तर नियमित रूपमा सँगै अध्ययन गर्दा तपाईँहरूले एकअर्काको आध्यात्मिकताबारे थाह पाउन सक्नुहुन्छ। यसो गर्दा भएको लाभबारे अमेरिकाको एउटा दम्पती म्याक्स र लिसा यसो भन्छन्‌: “डेटिङको सुरु-सुरुतिर हामीले डेटिङ, वैवाहिक सम्बन्ध र पारिवारिक जीवनजस्ता विषयहरूमा अध्ययन गर्न थाल्यौँ। ती प्रकाशनहरू पढ्‌दा हामीले थुप्रै महत्त्वपूर्ण विषयमा कुराकानी गर्न सक्यौँ, जुन विषयहरू साधारण कुराकानी गर्दा आफसेआफ आउने थिएनन्‌।”

विचार गर्नुपर्ने अन्य कुराहरू

९. डेटिङबारे कसलाई बताउने भनेर निर्णय गर्नुअघि तपाईँहरूले कस्ता कुराहरू विचार गर्नुपर्छ?

९ तपाईँहरूले आफ्नो डेटिङबारे कसलाई बताउनुपर्छ? यो निर्णय गर्ने जिम्मेवारी तपाईँहरूकै हो। डेटिङ गरेको सुरु-सुरुतिर तपाईँहरूले केही व्यक्‍तिलाई मात्र त्यसबारे बताउने निर्णय गर्न सक्नुहुन्छ। (हितो. १७:२७) यसो गर्दा तपाईँहरूले अनावश्‍यक दबाब र प्रश्‍नहरूको सामना गर्नुपर्नेछैन। अर्कोतर्फ तपाईँहरूले कसैलाई पनि बताउनुभएन भने अरूले थाह पाउलान्‌ भन्‍ने डरले दुई जना मात्रै लुकीछिपी भेट्‌ने खतरा हुन सक्छ। यस्तो भेटघाटले तपाईँहरूलाई गलत काम गर्ने हदसम्म पुऱ्‍याउन सक्छ। त्यसैले तपाईँहरूलाई राम्रो सल्लाह र व्यावहारिक मदत दिन सक्ने सीमित व्यक्‍तिलाई थाह दिनु बुद्धिमानी हुन्छ। (हितो. १५:२२) जस्तै: परिवारको कसैलाई, परिपक्व साथीहरूलाई वा एल्डरहरूलाई।

१०. डेटिङको बेला तपाईँहरू कसरी नैतिक रूपमा स्वच्छ रहिरहन सक्नुहुन्छ? (हितोपदेश २२:३)

१० डेटिङको बेला तपाईँहरू कसरी नैतिक रूपमा स्वच्छ रहिरहन सक्नुहुन्छ? एकअर्कालाई चिन्दै जाँदा तपाईँहरू एकअर्काप्रति अझै आकर्षित हुनुहुनेछ। तपाईँहरूलाई नैतिक रूपमा स्वच्छ रहिरहन कुन कुराले मदत गर्न सक्छ? (१ कोरि. ६:१८) यौन उत्तेजना जगाउने खालको कुराकानी नगर्नुहोस्‌, धेरै रक्सी नपिउनुहोस्‌ र दुई जना मात्र हुने ठाउँमा नभेट्‌नुहोस्‌। (एफि. ५:३) यी कुराहरूले तपाईँको यौनइच्छालाई बढाउन सक्छ र सही कुरा गर्ने तपाईँको सङ्‌कल्पलाई कमजोर बनाउन सक्छ। नैतिक रूपमा स्वच्छ रहिरहन कस्ता कदमहरू चाल्न सकिन्छ भन्‍नेबारे नियमित रूपमा सँगै छलफल गर्नुभए कसो होला? (हितोपदेश २२:३ पढ्‌नुहोस्‌।) इथियोपियाका दाविट र अल्माझलाई कुन कुराले मदत गऱ्‍यो, याद गर्नुहोस्‌। तिनीहरू यसो भन्छन्‌: “हामी मानिसहरू भएको ठाउँमा वा अरू साथीहरूसँगै डेटिङमा जान्थ्यौँ। हामी दुई जना मात्र हुन सक्ने अवस्थाहरूदेखि जोगिन्थ्यौँ। जस्तै; कारमा वा घरमा। यसो गर्दा हामी प्रलोभनहरूमा पर्नदेखि जोगियौँ।”

११. डेटिङ गरिरहेकाहरूले माया व्यक्‍त गर्ने सन्दर्भमा कस्ता कुराहरू विचार गर्नुपर्छ?

११ एकअर्कालाई माया व्यक्‍त गर्नेबारे चाहिँ के भन्‍न सकिन्छ? प्रेम बढ्‌दै जाँदा तपाईँहरूले उचित तरिकामा माया व्यक्‍त गर्ने निर्णय गर्न सक्नुहुन्छ। तर यौनइच्छा एकदमै तीव्र भएको बेला तपाईँलाई बुद्धिमानी निर्णय गर्न गाह्रो हुन सक्छ। (श्रेष्ठ. १:२; २:६) माया व्यक्‍त गर्दा तपाईँको आत्मसंयम सजिलै गुम्न सक्छ र यहोवालाई दुःखी तुल्याउने हदसम्म पुग्न सक्नुहुन्छ। (हितो. ६:२७) त्यसैले डेटिङ सुरु गर्दा नै यहोवाका स्तरहरूबारे छलफल गर्नुहोस्‌ अनि माया व्यक्‍त गर्दा के गर्ने/के नगर्ने भनेर स्पष्ट सीमा तोक्नुहोस्‌।c (१ थिस्स. ४:३-७) दुवै मिलेर यस्ता प्रश्‍नहरू विचार गर्नुहोस्‌: ‘हामीले एकअर्कालाई माया व्यक्‍त गरेको देख्दा हामी बस्ने ठाउँका मानिसहरूलाई कस्तो लाग्छ? माया व्यक्‍त गर्दा के त्यसले हामीमा यौनइच्छा जगाउँछ?’

१२. समस्याहरू आइपर्दा डेटिङ गरिरहेकाहरूले कस्तो कुरा विचार गर्नुपर्छ?

१२ तपाईँहरू खटपट पर्दा र समस्याहरू आइपर्दा त्यसलाई कसरी सम्हाल्न सक्नुहुन्छ? तपाईँहरूको बेलाबेलामा खटपट परिरहन्छ कि? यसको मतलब तपाईँहरू एकअर्काको लागि सुहाउँदो जोडी हुनुहुन्‍न भन्‍ने हो? हो नै भन्‍न त सकिँदैन किनकि खटपटै नपर्ने जोडी कुनै हुँदैन। समस्याहरू आइपर्दा दुवै जना मिलेर समाधान गर्ने व्यक्‍तिहरूको वैवाहिक सम्बन्ध बलियो हुन्छ। त्यसैले तपाईँहरू अहिले समस्याहरू कसरी समाधान गर्नुहुन्छ भन्‍ने कुराले वैवाहिक जीवन सफल हुन्छ कि हुँदैन भन्‍ने कुराको सङ्‌केत दिन्छ। तपाईँहरू दुवैले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: ‘के हामी कुनै समस्याबारे शान्तपूर्वक अनि आदरपूर्ण तरिकामा कुराकानी गर्न सक्छौँ? के हामी आफ्नो कमीकमजोरी तुरुन्तै स्विकार्छौँ र त्यसलाई सुधार्ने प्रयास गर्छौँ? के हामी तुरुन्तै क्षमा माग्ने र क्षमा दिने गर्छौँ? के हामी आफ्नै कुरामा मात्र जिद्दी गर्छौँ?’ (एफि. ४:३१, ३२) तर तपाईँहरूको भनाभन अनि खटपट परिरहन्छ भने विवाह गरेपछि ती कुराहरू आफसेआफ सुध्रिन्छ भनेर नसोच्नुहोस्‌। यदि तपाईँलाई तिनी आफ्नो लागि सही जोडी होइनन्‌ जस्तो लाग्यो भने सम्बन्ध टुटाउनुमा नै तपाईँहरू दुवैको भलो हुन्छ।d

१३. कति समयसम्म डेटिङ गर्ने भनेर निर्णय गर्न कस्ता कुराहरूले मदत गर्न सक्छ?

१३ डेटिङ कति समयसम्म गर्नुपर्छ? हतारमा निर्णय गर्दा अक्सर नतिजा नराम्रो हुन सक्छ। (हितो. २१:५) त्यसैले एकअर्कालाई राम्ररी चिन्‍न पर्याप्त समय लिनुहोस्‌। तर डेटिङलाई अनावश्‍यक रूपमा नतन्काउनुहोस्‌। बाइबलमा यसो भनिएको छ: “आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ।” (हितो. १३:१२) साथै एकअर्कासित धेरै समय बिताउँदा यौनइच्छालाई काबूमा राख्न अझै गाह्रो हुन सक्छ। (१ कोरि. ७:९) कति समयसम्म डेटिङ गर्ने भन्‍ने कुरामा ध्यान दिनुको साटो आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘तिनीसित विवाह गर्ने कि नगर्ने भनेर निर्णय गर्न मैले कस्तो कुरा थाह पाउन बाँकी छ?’

डेटिङ गरिरहेकाहरूलाई अरूले कसरी साथ दिन सक्छन्‌?

१४. डेटिङ गरिरहेकाहरूलाई अरूले कसरी साथ दिन सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१४ हामी डेटिङ गरिरहेकाहरूलाई कसरी साथ दिन सक्छौँ? हामी तिनीहरूलाई सँगै खाना खान, पारिवारिक उपासना गर्न वा सँगै रमाइलो गर्न बोलाउन सक्छौँ। (रोमी १२:१३) त्यतिबेला तिनीहरूले एकअर्कालाई अझ राम्ररी चिन्‍ने मौका पाउन सक्छन्‌। के तिनीहरूलाई डेटिङमा सँगै गइदिने साथी चाहिएको छ? कुराकानी गर्न ठाउँ चाहिएको छ कि? छ भने तपाईँ तिनीहरूलाई मदत दिन सक्नुहुन्छ कि? (गला. ६:१०) अघि उल्लेख गरिएकी अलिसा आफ्नो डेटिङको समय सम्झँदै यसो भन्छिन्‌: “केही भाइबहिनीले हामीलाई ‘कुराकानी गर्न हाम्रो घरमा आउनुभए पनि हुन्छ’ भन्‍नुहुँदा हामी खुसी हुन्थ्यौँ। किनभने हामी दुई जना मात्रै हुन सक्ने अवस्थामा पर्दैनथ्यौँ।” यदि तपाईँलाई डेटिङ गरिरहेको जोडीले सँगै कतै जाऔँ भन्यो भने त्यसलाई आफ्नो साथीलाई मदत गर्ने मौकाको रूपमा हेर्नुहोस्‌। डेटिङ गरिरहेकाहरूलाई दुई जना मात्र हुनेगरि नछोड्‌नुहोस्‌ तर दुई जना मजाले कुराकानी गर्न मिल्ने वातावरण पनि बनाइदिनुहोस्‌।​—फिलि. २:४.

डेटिङ गरिरहेको एउटा जोडी एउटा जमघटमा छुट्टै बसेर कुराकानी गर्दै छ।

हामी डेटिङ गरिरहेकाहरूलाई साथ दिने व्यावहारिक तरिकाहरू खोज्न सक्छौँ (अनुच्छेद १४-१५ हेर्नुहोस्‌)


१५. डेटिङ गरिरहेकाहरूलाई हामी अरू कुन तरिकामा साथ दिन सक्छौँ? (हितोपदेश १२:१८)

१५ के बोल्ने र के नबोल्ने भन्‍ने कुरामा विचार पुऱ्‍याएर पनि हामी डेटिङ गरिरहेकाहरूलाई साथ दिन सक्छौँ। कहिलेकाहीँ भने आत्मसंयम देखाउँदै केही नबोल्ने निर्णय गर्नुपर्ने पनि हुन सक्छ। (हितोपदेश १२:१८ पढ्‌नुहोस्‌।) जस्तै: कसैले डेटिङ गरिरहेको हामीले थाह पायौँ भने त्यसबारे अरूलाई बताउन सकसक लाग्न सक्छ तर तिनीहरू आफैले अरूलाई बताउने सोचिरहेका हुन सक्छन्‌। हामीले डेटिङ गरिरहेकाहरूबारे कुरा काट्‌दै हिँड्‌नु हुँदैन वा तिनीहरूको निजी मामिलाबारे टीकाटिप्पणी गर्नु हुँदैन। (हितो. २०:१९; रोमी १४:१०; १ थिस्स. ४:११) साथै हामीले डेटिङ गरिरहेकाहरूलाई विवाह गर्न दबाब महसुस गराउने खालको कुनै पनि कुरा भन्‍नु वा प्रश्‍न सोध्नु हुँदैन। एलिसी र तिनका पति यसो भन्छन्‌: “अरूले हामीलाई विवाह गर्ने योजनाबारे सोध्दा निकै अप्ठ्यारो लाग्थ्यो किनकि त्यतिबेलासम्म हामीले त्यस विषयमा कुरै गरेका थिएनौँ।”

१६. कसैले सम्बन्ध टुटायो भने हामीले के गर्नु हुँदैन बरु के गर्नुपर्छ?

१६ यदि कसैले सम्बन्ध टुटाउने निर्णय गर्छ भने नि? हामीले तिनीहरूलाई व्यक्‍तिगत प्रश्‍नहरू सोध्नु वा एक जनाको पक्ष लिँदै अर्कोलाई सम्बन्ध टुटाएकोमा दोषी ठहराउनु हुँदैन। (१ पत्रु. ४:१५) लिया बहिनी यसो भन्छिन्‌: “मेरो ब्रेकअप भएको कारणबारे अरूहरूले अनेक अड्‌कल काटिरहेका रहेछन्‌। त्यो सुन्दा असाध्यै चित्त दुख्यो।” सुरुमा उल्लेख गरिएजस्तै कसैले सम्बन्ध टुटाउने निर्णय गऱ्‍यो भने त्यो डेटिङ विफल भयो भन्‍ने होइन बरु त्यसले आफ्नो उद्देश्‍य पूरा गऱ्‍यो। त्यो हो—विवाह गर्ने कि नगर्ने भन्‍ने सही निर्णयसम्म पुग्ने। तर सम्बन्ध टुटाउने निर्णय गर्दा तिनीहरूलाई भावनात्मक रूपमा पीडा भइरहेको हुन सक्छ र तिनीहरूले एक्लो महसुस गरिरहेका हुन सक्छन्‌। त्यसैले हामी तिनीहरूलाई साथ दिने तरिकाहरू खोज्न सक्छौँ।​—हितो. १७:१७.

१७. डेटिङ गरिरहेकाहरूले कस्तो कोसिस गरिरहनुपर्छ?

१७ हामीले सिकेझैँ डेटिङ गर्दा थुप्रै चुनौती आइपर्छन्‌ तर यो रमाइलो समय पनि हो। जेसिका यसो भन्छिन्‌: “डेटिङको बेला एकअर्कालाई राम्ररी चिन्‍न आफ्नो समय र शक्‍ति खर्च गर्नुपर्छ। अनि हामीले त्यसै गरेकोमा खुसी छौँ।” यदि तपाईँहरू डेटिङ गर्दै हुनुहुन्छ भने एकअर्कालाई राम्ररी चिन्‍ने कोसिस गरिरहनुहोस्‌। यसो गर्नुभयो भने तपाईँहरूको डेटिङ सफल हुनेछ। त्यसले तपाईँहरूलाई विवाह गर्ने कि नगर्ने भनेर सही निर्णयसम्म पुग्न मदत गर्नेछ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • डेटिङको उद्देश्‍य के हो?

  • डेटिङ गरिरहेकाहरूले एकअर्कालाई राम्ररी चिन्‍न के गर्न सक्छन्‌?

  • डेटिङ गरिरहेकाहरूलाई अरूले कसरी साथ दिन सक्छन्‌?

गीत ४९ यहोवाको मन खुसी राखौँ!

a केही नाम परिवर्तन गरिएका छन्‌।

b विचार गर्न सकिने थप प्रश्‍नको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ (अङ्‌ग्रेजी), पृ. ३९-४० हेर्नुहोस्‌।

c अर्को व्यक्‍तिको यौन अङ्‌ग खेलाउनु अवैध यौनसम्बन्धमा पर्छ। यस्तो मामिला सम्हाल्न एल्डरहरूले न्यायिक समिति गठन गर्नुपर्ने हुन्छ। कसैले स्तन सुमसुम्याउँदा र मेसेज वा फोनमार्फत यौन उत्तेजना जगाउने खालको कुराकानी गर्दा पनि अवस्थाअनुसार न्यायिक समिति गठन गर्नुपर्ने हुन सक्छ।

d थप जानकारीको लागि अगस्त १५, १९९९ अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने