प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 फेब्रुअरी पृ. २०-२४
  • “म कहिल्यै एक्लो थिइनँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म कहिल्यै एक्लो थिइनँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो आमाबुबाको उदाहरण
  • नयाँ ठाउँमा एक्लो महसुस गरेँ
  • पापुआ न्यु गिनी
  • हाम्रो परिवार
  • फेरि एक्लो महसुस हुँदा
  • यहोवा हामीबाट टाढा हुनुहुन्‍न
  • “सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मालिक ख्रीष्टको पछि लाग्न मैले विभिन्‍न कुरा छोडें
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 फेब्रुअरी पृ. २०-२४
एन्जेलिटो बाल्बोआ।

जीवनी

“म कहिल्यै एक्लो थिइनँ”

एन्जेलिटो बाल्बोआको वृत्तान्तमा आधारित

विभिन्‍न कारणले गर्दा हामीलाई एक्लो महसुस हुन सक्छ। जस्तै, प्रियजनको मृत्यु हुँदा, नयाँ ठाउँमा बसाइँ सर्दा र आफूवरपर कोही नहुँदा। मैले यी सबै कुरा अनुभव गरेको छु। तर आफ्नो जीवनलाई फर्केर हेर्दा म वास्तवमा कहिल्यै एक्लो थिइनँ। मलाई त्यस्तो लाग्नुको कारण के हो, म तपाईँहरूलाई बताउँछु।

मेरो आमाबुबाको उदाहरण

मेरो आमाबुबा कट्टर क्याथोलिक गर्नुहुन्थ्यो। तर उहाँहरूले बाइबलबाट परमेश्‍वरको नाम यहोवा हो भनेर थाह पाउनुभएपछि दुवै जना जोसिलो यहोवाको साक्षी बन्‍नुभयो। बुबा सिकर्मी हुनुहुन्थ्यो र उहाँले येसुका मूर्तिहरू पनि कुँद्‌नुहुन्थ्यो। तर साक्षी भइसकेपछि उहाँले त्यसो गर्न छोड्‌नुभयो। बरु उहाँले आफ्नो सीप प्रयोग गर्दै हाम्रो घरको भुईँतलालाई सभाभवन बनाउनुभयो। यो सभाभवन नै फिलिपिन्सको राजधानी मनिलाको सान ह्वान डेल मोन्टे भन्‍ने ठाउँको पहिलो सभाभवन थियो।

मेरो आमाबुबा र परिवारका अरू सदस्यहरूसित

मेरो जन्म १९५२ मा भयो। चार जना दाइ, तीन जना दिदी र म गरेर हाम्रो परिवारमा जम्मा आठ जना छोराछोरी थियौँ। आमाबुबाले हामी सबैलाई राम्रो आध्यात्मिक शिक्षा दिएर हुर्काउनुभयो। म अलि ठूलो भएपछि बुबाले मलाई हरेक दिन बाइबलको एउटा अध्याय पढ्‌न प्रोत्साहन दिनुभयो। उहाँले मलाई हाम्रा थुप्रै प्रकाशनहरूबाट अध्ययन गराउनुभयो। कहिलेकाहीँ आमाबुबाले क्षेत्रीय निरीक्षकहरू र शाखा कार्यालयबाट आएका प्रतिनिधिहरूलाई हाम्रो घरमा बस्न निम्तो दिनुहुन्थ्यो। उहाँहरूसित सङ्‌गत गर्न पाउँदा हामीलाई निकै रमाइलो लाग्थ्यो र उहाँहरूबाट प्रोत्साहन पनि पाउँथ्यौँ। यसले गर्दा हामी सबैले यहोवाको सेवालाई आफ्नो जीवनमा पहिलो स्थान दिन सक्यौँ।

मेरो आमाबुबाले यहोवाप्रति वफादार रहने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो। मैले उहाँहरूबाट धेरै कुरा सिकेँ। आमा बित्नुभएपछि बुबा र मैले १९७१ मा अग्रगामी सेवा गर्न थाल्यौँ। पछि १९७३ मा बुबाको पनि मृत्यु भयो। त्यतिबेला म २० वर्षको मात्रै थिएँ। आमाबुबा दुवै गुमाउनुपर्दा असाध्यै खोक्रो र एक्लो महसुस गरेँ। तर बाइबलमा पाइने “पक्का र अटल” आशाले मलाई भावनात्मक र आध्यात्मिक तवरमा स्थिर रहन मदत गऱ्‍यो। (हिब्रू ६:१९) बुबाको मृत्यु भएको केही समय नबित्दै मलाई पालावान प्रान्तको कोरोन टापुमा विशेष अग्रगामीको रूपमा खटाइयो।

नयाँ ठाउँमा एक्लो महसुस गरेँ

म कोरोन टापुमा जाँदा २१ वर्षको थिएँ। सहरमा हुर्केकोले मलाई त्यो ठाउँ एकदमै नौलो लाग्यो। किनभने त्यहाँ बिजुली-बत्ती अनि पानीको त्यत्ति सुविधा थिएन। गाडी र मोटरसाइकल पनि थोरै मात्र थिए। त्यहाँ केही साक्षीहरू त थिए तर मेरो पायोनियर पार्टनर नभएकोले कहिलेकाहीँ एक्लै साक्षीकार्यमा जानुपर्थ्यो। सुरुको महिना त मलाई असाध्यै गाह्रो भयो। मलाई आफ्नो परिवार र साथीभाइको यादले असाध्यै सतायो। राती म आकाशमा टोलाएर हेरिरहन्थेँ अनि मेरो आँखाबाट धरधरी आँसु बगिरहन्थ्यो। मलाई आफ्नो असाइनमेन्ट छोडेर घर फर्कूँ जस्तो लाग्थ्यो।

एक्लो महसुस हुँदा म यहोवालाई आफ्नो मनको बह पोखाउँथेँ। म बाइबल र हाम्रा प्रकाशनहरूमा भएका सान्त्वनादायी कुराहरू पनि सम्झन्थेँ। मैले अक्सर सम्झने गरेको एउटा पद भजन १९:१४ थियो। त्यहाँ यहोवा “मेरा चट्टान र मेरा उद्धारक” हुनुहुन्छ भनिएको छ। मैले उहाँका गुणहरू र उहाँका कामहरूमा मनन गरेँ भने उहाँ साँच्चै मेरो चट्टान र उद्धारक हुनुहुनेछ भनेर महसुस गरेँ। “तिमी कहिल्यै एक्लो छैनौ” भन्‍ने प्रहरीधरहरा-को लेखबाटa पनि मैले निकै मदत पाएँ। मैले त्यो दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढेँ। एक्लै हुँदा म प्रार्थना, अध्ययन र मनन गर्थेँ। त्यसैले यहोवा मेरो साथमा हुनुहुन्छ जस्तो लाग्थ्यो।

कोरोन गएको केही समय नबित्दै म एल्डरको रूपमा नियुक्‍त भएँ। त्यहाँ म मात्रै एल्डर भएकोले सबै सभाहरू आफैले सञ्चालन गर्नुपर्थ्यो। हरेक हप्ता जनभाषण पनि दिनुपर्थ्यो। त्यसैले हरेक दिन असाध्यै व्यस्त भएकोले एक्लो महसुस गर्ने त फुर्सदै हुँदैनथ्यो।

कोरोनमा साक्षीकार्य एकदमै रमाइलो थियो। मेरा केही बाइबल विद्यार्थीले पछि बप्तिस्मा पनि गरे। तर केही चुनौतीहरू पनि थिए। कहिलेकाहीँ इलाकासम्म पुग्न आधा दिन हिँड्‌नुपर्थ्यो। राती कहाँ सुत्ने, त्यो पनि ठेगान हुँदैनथ्यो। हाम्रो मण्डलीको इलाकामा थुप्रै ससाना टापुहरू पनि थिए। म अक्सर मोटरबोटमा यात्रा गर्थेँ। कहिलेकाहीँ त बेस्सरी आँधी चलिरहेको हुन्थ्यो। त्यसमाथि मलाई पौडी खेल्न पनि आउँदैनथ्यो। विभिन्‍न चुनौतीहरूको सामना गर्नुपरे तापनि यहोवाले मलाई सधैँ जोगाउनुभयो र सम्हाल्नुभयो। मैले पछि के महसुस गरेँ भने यहोवाले मलाई अर्को असाइनमेन्टमा आइपर्ने अझ ठूला चुनौतीहरूको लागि तयार पार्दै हुनुहुन्थ्यो।

पापुआ न्यु गिनी

सन्‌ १९७८ मा मलाई पापुआ न्यु गिनी खटाइयो। त्यो पहाडी देश हो र अस्ट्रेलियाको उत्तरतिर पर्छ। त्यहाँका लगभग ३० लाख मानिसले ८०० भन्दा धेरै भाषा बोल्दा रहेछन्‌ भनेर थाह पाउँदा म छक्कै परेँ। त्यहाँका धेरैजसो मानिसले बोल्ने भाषाचाहिँ तोक पिसिन थियो।

मलाई केही समयको लागि पापुआ न्यु गिनीको राजधानी पोर्ट मोरेस्बीको अङ्‌ग्रेजी मण्डलीमा खटाइएको थियो। पछि म तोक पिसिन भाषाको मण्डलीमा सरेँ र ल्याङ्‌ग्वेज क्लास लिन थालेँ। म ल्याङ्‌ग्वेज क्लासमा सिकेको कुरा साक्षीकार्यमा पनि चलाउँथेँ। त्यसले गर्दा छिटो-छिटो भाषा सिक्न सकेँ। थोरै समयमै मैले तोक पिसिन भाषामा जनभाषण दिन सकेँ। पापुआ न्यु गिनी गएको एक वर्ष पनि नबित्दै मलाई तोक पिसिन भाषाका मण्डलीहरूमा क्षेत्रीय निरीक्षकको रूपमा खटाइयो।

मण्डलीहरू एकदमै टाढा-टाढा भएकोले मैले धेरै यात्रा गर्नुपर्थ्यो अनि विभिन्‍न ठाउँमा क्षेत्रीय सम्मेलनहरू पनि आयोजना गर्नुपर्थ्यो। त्यहाँ मेरो लागि सबै कुरा नयाँ थियो—नयाँ देश, नयाँ भाषा, नयाँ रहनसहन। मलाई आफू कस्तो ठाउँमा आइपुगेँ जस्तो लाग्थ्यो। पहाडी इलाका अनि बाटोघाटो पनि राम्रो नभएकोले एउटा मण्डलीबाट अर्को मण्डलीमा जान हरेक हप्ताजसो प्लेन चढ्‌नुपर्थ्यो। कहिलेकाहीँ त सानो र थोत्रो प्लेनमा म एक जना मात्र प्यासेन्जर हुन्थेँ। त्यस्तो प्लेनमा यात्रा गर्दा मलाई असाध्यै डर लाग्थ्यो।

त्यहाँ थोरैसित मात्र टेलिफोन थियो। त्यसैले मण्डलीहरूलाई चिठी नै लेख्नुपर्थ्यो। कहिलेकाहीँ त चिठी पुग्नुअघि नै म पुगिसकेको हुन्थेँ अनि साक्षीहरू कहाँ-कहाँ छन्‌ भनेर स्थानीयहरूलाई सोध्नुपर्थ्यो। यसरी खोज्न सजिलो त हुँदैनथ्यो तर भेटेपछि भाइबहिनी असाध्यै खुसी हुन्थे र मलाई न्यानो स्वागत गर्थे। त्यसपछि त मलाई आफ्नो प्रयास खेर गएन जस्तो लाग्थ्यो। यहोवाले मलाई विभिन्‍न तरिकामा साथ दिनुभयो र उहाँसितको मेरो सम्बन्ध झन्‌झन्‌ बलियो हुँदै गयो।

बुगनभिल भन्‍ने टापुमा पहिलो चोटि भ्रमणको लागि जाँदा एउटा दम्पतीले मुस्कुराउँदै मलाई सोध्यो, “हामीलाई चिन्‍नुभयो?” म पोर्ट मोरेस्बी गएको सुरु-सुरुतिर यस दम्पतीलाई साक्षी दिएको थिएँ। मैले तिनीहरूसित बाइबल अध्ययन पनि सुरु गरेको थिएँ तर पछि एक जना स्थानीय भाइलाई त्यो अध्ययन दिएको थिएँ। तिनीहरू दुवै जनाले बप्तिस्मा गरिसकेका रहेछन्‌! तिनीहरूलाई देख्दा मलाई असाध्यै खुसी लाग्यो। पापुआ न्यु गिनीमा तीन वर्ष सेवा गर्दा मैले अरू पनि थुप्रै आशिष्‌ पाएँ।

हाम्रो परिवार

एडेलसँग

कोरोनमा छँदै एडेलसित मेरो चिनजान भएको थियो। उनी हँसिली र आत्मत्यागी थिइन्‌। उनी दुई जना छोराछोरी स्यामुएल र सर्लीलाई हुर्काउँदै नियमित अग्रगामी सेवा गर्दै थिइन्‌। उनी आफ्नी वृद्ध आमाको पनि हेरचाह गर्दै थिइन्‌। सन्‌ १९८१ को मे महिनामा म फिलिपिन्स फर्केँ र एडेलसित विवाह गरेँ। विवाहपछि हामीले सँगै नियमित अग्रगामी सेवा गऱ्‍यौँ र परिवारको पनि हेरचाह गऱ्‍यौँ।

पालावानमा एडेल, छोरा स्यामुएल र छोरी सर्लीसँग

हुनत मेरा पारिवारिक जिम्मेवारीहरू थिए। तैपनि १९८३ मा मलाई फेरि विशेष अग्रगामीको रूपमा नियुक्‍त गरियो। त्यसपछि मलाई पालावान प्रान्तको लिनापाकान टापुमा खटाइयो। हामी पूरै परिवार त्यहाँ बसाइँ सऱ्‍यौँ। तर त्यहाँ कोही पनि साक्षी थिएनन्‌। त्यहाँ सरेको लगभग एक वर्षपछि एडेलकी आमा बित्नुभयो। तर साक्षीकार्यमा व्यस्त भइरहेकोले त्यो पीडा सहन सक्यौँ। हामीले थुप्रै राम्रा बाइबल विद्यार्थीहरू पनि पायौँ। त्यसैले एउटा सभाभवन नै चाहिने भयो। हामी आफैले एउटा सानो सभाभवन बनायौँ। हामी लिनापाकान टापुमा गएको तीन वर्षपछि नै स्मरणार्थ उत्सवमा ११० जना मानिस आए। तीमध्ये धेरैले पछि बप्तिस्मा पनि गरे।

सन्‌ १९८६ मा मलाई कुल्योन टापुमा खटाइयो। पछि एडेल पनि विशेष अग्रगामी नियुक्‍त भइन्‌। त्यहाँ कुष्ठरोगीहरूको एउटा बस्ती थियो। सुरु-सुरुमा हामीलाई कुष्ठरोगले गर्दा कुरूप भएका मानिसहरूलाई साक्षी दिन डर लाग्थ्यो। त्यहाँका भाइबहिनीले हामीलाई ती कुष्ठरोगीहरूले उपचार पाइसकेकोले रोग सर्ने खतरा छैन भनेर बताउनुभयो। केही कुष्ठरोगीहरू एक जना बहिनीको घरमा हुने सभाहरूमा पनि आउँथे। बिस्तारै त्यस्ता व्यक्‍तिहरूलाई साक्षी दिन हामीलाई डर लाग्न छोड्यो। परमेश्‍वरबाट र मानिसहरूबाट त्यागिएजस्तो महसुस गरेका ती मानिसहरूलाई बाइबलको सुन्दर आशाबारे बताउँथ्यौँ। अब चाँडै यस्तो डरलाग्दो रोगबाट मुक्‍ति पाइन्छ र पूर्ण रूपमा स्वस्थ हुन सकिन्छ भनेर थाह पाउँदा तिनीहरू असाध्यै खुसी हुन्थे। यो देख्दा हामीलाई पनि असाध्यै खुसी लाग्थ्यो।—लुका ५:१२, १३.

हाम्रा छोराछोरीलाई कुल्योनमा घुलमिल हुन सजिलो होस्‌ भनेर हामीले कोरोनबाट दुई जना जवान बहिनीलाई पनि बोलाएका थियौँ। स्यामुएल, सर्ली र यी बहिनीहरू पनि रमाउँदै साक्षीकार्यमा भाग लिन्थे। तिनीहरू चार जनाले थुप्रै केटाकेटीलाई बाइबल अध्ययन गराए। एडेल र म भने तिनीहरूका आमाबुबालाई अध्ययन गराउँथ्यौँ। एकचोटि त हामीले ११ वटा परिवारलाई अध्ययन गराइरहेका थियौँ। थुप्रै बाइबल विद्यार्थीले राम्रो प्रगति गरिरहेको हुँदा हामीले चाँडै नै एउटा नयाँ मण्डली पनि बनाउन सक्यौँ।

फिलिपिन्सको पालावान प्रान्तको नक्सामा एन्जेलिटोले आफ्नो परिवारसित सेवा गरेका ठाउँहरू देखाइएको छ: कोरोन, कुल्योन, हाल्सी, मारिली र लिनापाकान टापु।

सुरु-सुरुतिर कुल्योन र वरपरको इलाकामा म मात्रै एल्डर थिएँ। कुल्योनमा आठ जना अनि मारिली गाउँमा नौ जना प्रकाशक थिए। कुल्योनबाट मारिलीसम्म पुग्न डुङ्‌गामा तीन घण्टा यात्रा गर्नुपर्थ्यो। शाखा कार्यालयले मलाई हरेक हप्ता कुल्योनमा र मारिलीमा सभाहरू सञ्चालन गर्न खटायो। यी दुई वटा ठाउँमा सभा सञ्चालन गरिसकेपछि हामी सपरिवार पहाडी बाटो हुँदै घण्टौँ हिँडेर हाल्सी भन्‍ने गाउँमा जान्थ्यौँ अनि थुप्रैलाई बाइबल अध्ययन गराउँथ्यौँ।

मारिली र हाल्सीमा थुप्रैले सत्य स्विकारे र हामीले दुवै ठाउँमा सभाभवनहरू बनायौँ। लिनापाकानमा जस्तै यी ठाउँहरूमा पनि भाइबहिनीले र सत्य सिकिरहेका व्यक्‍तिहरूले सभाभवन निर्माण गर्न चाहिने सरसामग्रीहरू दिए र निर्माणकार्यमा भाग लिए। मारिलीको सभाभवनमा २०० जना अटाउँथ्यो र त्यसलाई अझ ठूलो बनाउन पनि मिल्थ्यो। त्यसैले त्यहाँ हामीले सम्मेलनहरू पनि गऱ्‍यौँ।

फेरि एक्लो महसुस हुँदा

छोराछोरी हुर्किसकेपछि १९९३ मा मलाई फिलिपिन्समा क्षेत्रीय निरीक्षकको रूपमा खटाइयो। एडेल र मैले विभिन्‍न मण्डलीहरूमा भ्रमण गऱ्‍यौँ। सन्‌ २००० मा मलाई मिनिस्टेरियल ट्रेनिङ स्कुलमा प्रशिक्षकको तालिम लिन बोलाइयो। यो असाइनमेन्ट सम्हाल्न मैले अयोग्य महसुस गरेँ। तर एडेलले मलाई सधैँ प्रोत्साहन दिइरहन्थिन्‌। तिनले मलाई यो नयाँ असाइनमेन्ट सम्हाल्न यहोवाले नै बल दिनुहुनेछ भनेर सम्झाइरहन्थिन्‌। (फिलि. ४:१३) एडेल यो कुरामा विश्‍वस्त थिइन्‌ किनभने तिनले विभिन्‍न स्वास्थ्य समस्याहरू झेल्दै आफ्नो असाइनमेन्ट पूरा गरिरहेकी थिइन्‌।

सन्‌ २००६ मा एडेललाई नसासम्बन्धी रोग (पार्किन्सन) लागेको पत्ता लाग्यो। यो सुनेपछि हामी छाँगाबाट खसेझैँ भयौँ। मैले एडेललाई अब हाम्रो असाइनमेन्ट छोडौँ कि भनेर बताउँदा तिनले यसो भनिन्‌, “एउटा राम्रो डाक्टर खोज्नुस्‌ न! चिन्ता नगर्नुस्‌! यहोवाले हामीलाई आफ्नो असाइनमेन्टमा लागिरहन मदत गर्नुहुनेछ भनेर म ढुक्क छु।” त्यसपछि पनि छ वर्षसम्म तिनी आफ्नो असाइनमेन्टमा लागिरहिन्‌ र कहिल्यै गुनासो गरिनन्‌। रोगले च्याप्दै लगेपछि तिनी हिँड्‌नै नसक्ने भइन्‌। तैपनि तिनी ह्वीलचेयरमा बसेर साक्षीकार्यमा भाग लिन्थिन्‌। पछि तिनलाई बोल्न पनि गाह्रो भयो। तर सभाहरूमा एउटा-दुइटा शब्द मात्र बोलेर भए पनि टिप्पणी दिन्थिन्‌। एडेलले सहनशीलता देखाएकोले गर्दा थुप्रैले तिनको प्रशंसा गर्दै मेसेजहरू पठाउँथे। तर दुःखको कुरा, २०१३ मा तिनको मृत्यु भयो। तिनी वफादार र मायालु सहयोगी थिइन्‌। हामीले सँगै ३० वर्षभन्दा धेरै समय बिताएका थियौँ। तिनलाई गुमाउनुपर्दा मलाई असाध्यै गाह्रो भयो र फेरि एक्लो महसुस गरेँ।

म आफ्नो असाइनमेन्टमा लागिरहेको एडेल चाहन्थिन्‌ र मैले त्यसै गरेँ। आफ्नो असाइनमेन्टमा व्यस्त भइरहँदा म एक्लोपनको भुमरीमा फसिनँ। सन्‌ २०१४ देखि २०१७ सम्म मलाई हाम्रो काममा प्रतिबन्ध लगाइएका देशहरूमा भएका टगालोग भाषाका मण्डलीहरूमा भ्रमण गर्न खटाइयो। त्यसपछि मैले ताइवान, अमेरिका र क्यानाडाका टगालोग भाषाका मण्डलीहरूमा भ्रमण गरेँ। सन्‌ २०१९ मा इन्डिया र थाइल्याण्डमा अङ्‌ग्रेजी भाषाको राज्य प्रचारकहरूका लागि स्कुलमा मैले प्रशिक्षकको रूपमा सेवा गरेँ। यी असाइनमेन्टहरूमा व्यस्त भएर यहोवाको सेवामा लागिरहँदा म आनन्दित भइरहन सकेँ।

यहोवा हामीबाट टाढा हुनुहुन्‍न

भाइबहिनीसित सङ्‌गत गर्दै जाँदा हामी तिनीहरूसित नजिक हुन्छौँ। त्यसैले नयाँ असाइनमेन्ट पाउँदा ती भाइबहिनीलाई छोडेर जान गाह्रो हुन्छ। त्यस्तो अवस्थामा मैले यहोवामाथि पूरा भरोसा राख्न सिकेको छु। मैले सधैँ उहाँको साथ पाएको महसुस गरेको छु। त्यसैले जीवनमा जस्तोसुकै परिस्थिति आइपर्दा पनि त्यसको सामना गर्न बल पाएको छु। अहिले म फिलिपिन्सको एउटा मण्डलीमा विशेष अग्रगामीको रूपमा सेवा गर्दै छु। यो मण्डली मेरो परिवारजस्तै भएको छ र यहाँका भाइबहिनीले मेरो राम्रो ख्याल गर्नुहुन्छ। स्यामुएल र सर्लीले पनि आफ्नी आमाजस्तै वफादार भएर यहोवाको सेवा गरिरहेको देख्न पाउँदा असाध्यै खुसी लाग्छ।—३ युह. ४.

एन्जेलिटो साथीहरूसित बाहिर खुला ठाउँमा केही खाँदै छन्‌।

मण्डली मेरो परिवारजस्तै भएको छ

मैले जीवनमा थुप्रै परीक्षाहरू भोगेँ। मेरी प्यारी श्रीमतीलाई गम्भीर रोग लाग्यो र त्यसैले गर्दा तिनको मृत्यु भयो। मैले थुप्रै नयाँ परिस्थितिमा अरूसित घुलमिल हुन पनि सिक्नुपऱ्‍यो तर यहोवा “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनेर मैले अनुभव गरेँ। (प्रेषि. १७:२७) यहोवाका सेवकहरू जतिसुकै टाढा ठाउँमा सेवा गरिरहेका किन नहोऊन्‌, तिनीहरूलाई साथ दिन र बलियो बनाउन यहोवाको हात “छोटो भएको छैन।” (यसै. ५९:१) यहोवा, मेरो चट्टान सधैँ मेरो साथमा रहिरहनुभएको छ। त्यसैले म उहाँप्रति कृतज्ञ छु। हो, म कहिल्यै एक्लो थिइनँ!

a सेप्टेम्बर १, १९७२ अङ्‌कको प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) पृष्ठ ५२१-५२७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने