गोहीलाई नियालेर हेर्दा
केन्याका ब्यूँझनुहोस्! सम्वाददाताबाट
मारा नदीको किनारमा बडो मोहित भएर जलगैंडाहरूका तस्बिर खिचिरहेका अमेरिकी पर्यटक ढुंगामा चिप्लेर नदीमा खस्न पुगे। खस्नेबित्तिकै नदीको किनारमा मजासित घाम तापिरहेको बाक्लो छाला भएको जनावर, गोहीको ध्यान यसले तुरुन्तै खिच्यो। यो उभयचर प्राणीले अक्सर माछा खाने भए तापनि यस्तो रसिलो आहारलाई त्यतिकै कहाँ छोड्न सक्थ्यो र! तत्कालै आहारको जाँचबुझ गर्न त्यो नदीमा सुलुत्त पस्यो। सौभाग्यवश, त्यो पर्यटकले गोहीलाई देखे र यति बेतोडले नदीबाट बाहिर निस्के, तिनी पानीमाथि हिंडेझैं देखिन्थ्यो!
अफ्रिकाको नदी, तलाउ र दलदल हेर्न जाने पर्यटकहरूले अक्सर गोहीहरू देख्छन्। तर माथि उल्लिखित त्यस त्रसित पर्यटक भने झन्डै मृत्युको मुखमा परेका थिए। नील नदीमा पाइने गोहीको घर केन्या हो। स्थानीय स्वाहिली भाषामा यो माम्बा नाउँले चिनिन्छ। तेइस फिटसम्म लामो हुनसक्ने गोही उभयचर प्राणी हो। यो जमिन तथा पानी दुवैमा छरितोसँग चलहल गर्नसक्छ। चेप्टो, पतवारजस्तो पुच्छर भएको हुँदा तिनीहरू पानीमा निकै वेगले पौड्न सक्छन्। प्रतिघण्टा ४० किलोमिटरको दरले तिनीहरू पौड्न सक्छन्। अनि दुइ घण्टा, अझ भनौं भने तीन घण्टासम्म पानीभित्र बस्नु तिनीहरूको लागि कुनै नौलो कुरा होइन। जमिनमा भने तिनीहरू जोडसित झट्कार्दै दौड्न सक्छन्।
त्यसैकारण त बाइबलले स्पष्टतः गोहीलाई संकेत गर्दै परमेश्वरको भयानक सृष्टिको उदाहरणस्वरूप लिभियाथानलाई देखाउँछ। अय्यूब ४१:८, १० यसो भन्छ: “यदि तैंले आफ्नो हात त्यसको [लिभियाथान] विरुद्धमा उठाइस् भने त्यससित कस्तो लड़ाइँ गर्नुपर्ला सो सम्झी त। . . . त्यसलाई जगाउँदा त्यो कस्तो डरलाग्दो हुन्छ।” कस्तो बुद्धिमतापूर्ण चेताउनी! मोरेश रिचर्डशनको पुस्तक द फ्यासिनेशन अफ रेप्टाइल्स्-अनुसार (उभयचरहरूबारे अद्भुत कुराहरू) गोहीहरूले मोटरबोटहरूमाथि आक्रमण गरेको समेत थाह भएको छ। त्यसैकारण अय्यूब ४१:२५ ले यसो भन्नु पूर्णतया मनासिब छ: “त्यो खड़ा हुँदा वीर मानिसहरू पनि डराउँछन्, त्यसले पुच्छर हल्लाउँदा तिनीहरू अलमल्ल पर्छन्।”
यो कत्ले जनावर देख्नेबित्तिकै मानिसहरू किन आतंकित हुन्छन्? पद १४ ले एउटा कारण बताउँछ: “कसले त्यसको मुखको ढोकाहरू उघारेको होला? किनभने त्यसका दाँतका लहरहरू डरलाग्दा हुन्छन्।” गोहीको बंगारामा माथि र तल गरेर २४ वटा भिन्दा-भिन्दै आकारका दाँतहरू हुन्छन्। र ती दाँतहरू फुक्लने र पलाउने क्रिया आजीवन चलिरहन्छ। चाखलाग्दो कुरा, गोहीको तल्लो बंगाराको चौथो दाँत माथिल्लो बंगाराको खोचबाहिर टम्म मिलेर बस्छ र मुख बन्द हुँदा त्यो दाँत बाहिर प्रष्टै देखिन्छ। त्यसको यस्तो दाँतले गर्दा त्यसलाई घरियाल गोहीबाट भिन्दै छुट्याउन मदत गर्छ। तर होशियार, गोहीका सबै दाँतहरू नियाल्ने धुनमा ज्यादै नजीक नजानुहोस् अन्यथा गोहीको दाँतको स्वाद पाइएला!
त्यसैकारण, शायद तपाईं गोहीलाई सुरक्षित दूरीबाट हेर्न रुचाउनुहुन्छ होला र केन्यामा यस्ता ठाउँहरू प्रशस्तै छन्। उदाहरणको लागि, मोम्बासास्थित माम्बा गाउँमा गोहीहरूलाई चारैतिरबाट छेकबार लाएर हुर्काइन्छ।
तपाईं सोध्नु होला, ‘अरू केही नपाएर के कसैले गोही पाल्छ होला र?’ तर त्यसो गर्नुको एउटा कारण त तिनीहरूलाई लोप हुनबाट बचाउन नै हो। जंगलमा कोरलिएको गोहीको मृत्युदर पहिलो वर्षमा ९९ प्रतिशत हुन्छ। मोनिटर छेपारो, माराबोउ सारस र कुनै कुनै मानिसहरूले समेत गोहीको अण्डा र स-साना बच्चाहरू खान मन पराउँछन् जस्तो देखिन्छ। तथापि, गोही पालन केन्द्रमा उचित हेरविचारका साथ पालिएका गोहीहरूको मृत्युदर भने १० देखि २ प्रतिशतसम्म झरेको पाइएको छ। भर्खर कोरलिएको गोही वर्षदिन भित्रमा पाँच फिट लामो हुन्छ र अधिकांश खतराहरूको सामना गर्नसक्ने हुन्छ। तर जंगलमा हुर्कने गोहीलाई त्यति ठूलो हुन तीन वर्ष लाग्नसक्छ।
गोही पालन केन्द्रमा यी जनावरहरू व्यापारिक उद्देश्यका लागि पनि पालिन्छन्। अन्तर्राष्ट्रिय बजारमा गोहीको पेटमुनिको नरम छालाबाट बनिएका जुत्ता, कम्मर पेटी, हाते झोला र फेशनका अन्य सामग्रीहरू तपाईंले देख्न सक्नुहुन्छ। वर्षेनी करिबन २,००० कच्चा छालाहरू माम्बा गाउँबाट इटाली र फ्रान्सजस्ता मुलुकहरूमा तयारी छाला बनाउन निकासी गरिन्छ। त्यसको बाँकी भागलाई चाहिं के गरिन्छ? केन्याको पर्यटन उद्योगमा गोहीको मासु नौलो परिकारको रूपमा टक्राइन्छ।
गोहीको अण्डा पार्ने समय अक्टोबरदेखि अप्रिलसम्म चल्छ। जंगलमा बस्ने पोथी गोहीले २० देखि ८० वटासम्म अण्डा पार्छे। त्यही मौसममा गोही पालन केन्द्रमा राखिएकी पोथीले भने भिन्दा-भिन्दै पोखरीहरूमा ३६ वटा जति अण्डा पार्छे। त्यसपछि अण्डाहरू जम्मा गरिन्छ र कृत्रिम तरिकाले अण्डा कोरल्न इन्क्युबेटरमा राखिन्छ। यसो गर्न तीन महिना जति लाग्छ।
यी आकर्षक जनावरहरूलाई सुरक्षित ढंगमा हेर्न सकिने अत्युत्तम ठाउँ माम्बा गाउँ हो। यहाँ अवस्थित गोही पालन केन्द्र सिलेट, चून आदि निकाल्न खनिएको २० एकड खाल्टोलाई काँटछाँट गरी गोही पालन केन्द्र, वनस्पति उद्यान, समुद्री जीवहरू पालन गर्ने अक्वारियम र मनोरञ्जनको थलो बनाइएको ठाउँ हो। यहाँ १०,००० भन्दा बढी गोहीहरू छन्। अवश्य तपाईंले ती सबै गोहीहरूलाई देख्न सक्नुहुन्न। तर अण्डा पार्ने दुइ स्थलहरूमा भने तपाईंले सयौं वयस्क गोहीहरू देख्न सक्नुहुन्छ र अर्को क्षेत्रमा विभिन्न उमेरका हुर्कंदै गरेका सयौं गोहीहरू देख्न सक्नुहुन्छ।
खाना खाने बेलामा गोहीहरूले निकै चर्तिकला देखाउँछन्। पोखरीमाथि झुण्डिएको मासु झम्टन कुनै कुनै त पानीबाट बुर्लुक्क माथि उफ्रिन्छन्। ताना नदी वरपर बस्ने मानिसहरूलाई त्राहि त्राहि पार्ने बिग ड्याडी नाउँ गरेको कुख्यात गोही पनि तपाईंले यहाँ देख्न सक्नुहुन्छ। समातेर गोही पालन केन्द्रमा लगिनुअघि यसले कम्तीमा पाँच जना मानिसहरूलाई मारेको थियो। गोहीलाई प्रत्यक्ष अगाडिबाट हेर्न डर लाग्छ भने, तपाईंले सिनेमा हलमा त्यसलाई नियालेर हेर्न सक्नुहुन्छ।
गोहीलाई त्यसरी नियालेर हेर्दा शायद तपाईं मोहित अथवा डराउनु होला। तर जे होस्, बाइबलले अय्यूब ४१:३४ मा गोहीलाई “त्यो ता सबै वन-पशुहरूको राजा हो” किन भनियो त्यो राम्ररी बुझ्न सक्नुहुनेछ। (g95 3/22)
[पृष्ठ १७-मा भएको चित्र]
दाँया: माम्बा गाउँको दृश्य
[पृष्ठ १७-मा भएको चित्र]
दाँयातिर पुछारमा: पानीबाट झम्टेर मासु खान उफ्रिरहेको गोही