विश्वदर्शन
चिसो पानीमा डुब्दा बाँच्ने
मानिसहरू हिउँजस्तो चिसो पानीमा खस्दा किन चाँडै मर्छन्, त्यसबारे वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने, चिसो हुँदा हाम्रो शरीरले स्वाभाविकतः प्रतिक्रिया जनाउन सामान्य दरभन्दा धेरै छिट-छिटो सास फेर्छ। न्यु साइन्टिस पत्रिका भन्छ, “अचानक सास भित्रतिर खिंचिदा अधिक मात्रामा पानी घुटुघुटु निल्ने भएकोले मानिस पानीमा डुब्छ।” यो छिट-छिटो हुने श्वासप्रश्वास प्रक्रियालाई रोकथाम गर्न सकिंदैन। यतिबेला बाँच्ने उपाय हो, जोरजोरले भइरहेको श्वासप्रश्वास कम नहोऊञ्जेल सामान्यतः दुइ वा तीन मिनेटसम्म पानीमाथि शिर निकालेर राख्नु।
सत्य बताउने दायित्व छैन
सं. रा. को अदालतमा भर्खरै भएको मुद्दाले विश्वभरिका मानिसहरूको ध्यानाकर्षित गर्नुका साथै प्रत्यक्षदर्शीहरूलाई छक्क पाऱ्यो। द न्यु योर्क टाइम्स् बताउँछ, “सरकारी वकिलको दायित्व हो सत्य प्रस्तुत गर्नु, यद्यपि बचाउ पक्षको वकिलले भिन्दै नीति चलाउँछ।” “बचाउ पक्षको वकिलको काम हो, ग्राहकलाई दोषमुक्त गर्नु र निर्णायक मण्डलीको निर्णयलाई स्थगित गराउनु (निर्णायक मण्डलीको एक जनालाई भए पनि उचित शंका उत्पन्न गराएर) वा सबैभन्दा कम गम्भीर दोषहरूमा मात्र विश्वास गराएर।” न्यु योर्क विश्वविद्यालय कानुन स्कूलमा कानुनी नीतिशास्त्रको शिक्षक स्टिफन गिलर्स भन्छन्, “निर्दोषिताको फैसला ठीक छ भनेर पक्का गर्ने तिनीहरूको दायित्व होइन। हामी निर्णायक मण्डलीलाई भन्छौं, मुद्दा भनेको सत्य खोज्नु हो। तर तिनीहरूलाई बचाउ पक्षको वकिलहरूले मूर्ख बनाउनुपर्छ भनेर हामी तिनीहरूलाई कहिल्यै भन्दैनौं।” टाइम्स्-ले बयान गर्छ, “आफ्नो ग्राहकको स्पष्ट दोषलाई लुकाउन वकिलहरूले झूटा कथाहरू रचेर अदालतमा सुनाउनैपर्छ। यसले गर्दा निर्णायक मण्डलीले सच्चाइप्रति आँखा चिम्लेर दोषीलाई निर्दोष साबित गर्छ। वकिलहरूले आफ्नो ग्राहक दोषी छ भनेर थाह पाउँदापाउँदै पनि ग्राहकले मुद्दा लड्न चाहेमा के गर्छन्?” गिलर्स भन्छन्, “त्यसपछि वकिलहरू उरियाह हीपजस्ता पूर्ण झूटो विनम्रतासाथ अदालतभित्र प्रवेश गर्छन्। अनि शत प्रतिशत झूट भनेर जान्दाजान्दै पनि ग्राहकको कथामा गहिरो विश्वास भएको घोषणा गर्छन्।”
गोहीसम्बन्धी समाचारहरू
नेचर पत्रिकाको प्रतिवेदनअनुसार हालै जमीनबाट निकालिएको एउटा पुरातन गोहीका बंगाराहरूले गोही परिवारको “प्रथम शाकाहारी गोहीलाई प्रतिनिधित्व गर्नसक्छ।” मानवजातिलाई अति डरलाग्ने आधुनिक गोहीको जस्तो तीखो दाँत हुनुको साटो विवरणअनुसार गोहीको यो पुरातन पुर्खामा घाँस चपाउने खालको चेप्टो दाँत थियो। चिनियाँ र क्यानेडियाली अनुसन्धानकर्ताहरूले चीनको याङ्जे नदीको दक्षिण किनार छेउ हुबा इलाकाको पहाडमा भेट्टाएको यो प्राणीले के पनि संकेत गर्छ भने, यो उभयचर नभएर थलचर थियो। अनि यसको लम्बाइ? यो लगभग तीन फिट थियो।
बढ्दो तनाउ
भेझा-ले बताउँछ, रियो दे जेनेरियो ब्राजिलमा हाल गरिएको अध्ययनअनुसार उपचार गराउन आउने मानिसहरूमध्ये ३५ प्रतिशतलाई विभिन्न प्रकारको मानसिक तनाउले ग्रस्त भएका भेट्टाइयो। पत्रिकाले विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य निर्देशक डा. झोर्झ अल्बर्टु कोस्टा ई सील्भालाई सोधेको थियो: “मानसिक तनाउले ग्रस्त यी मानिसहरूको संख्याले के अर्थ राख्नसक्छ? संसार खराब भएको हो वा मानिसहरू मनोवैज्ञानिक तवरमा कमजोर भएका हुन्?” जवाफमा तिनले भने: “हामी तीब्र गतिले परिवर्तन भइरहेको समयमा बाँचिरहेका छौं। अन्ततः यसले मानव इतिहासमा अघि कहिल्यै नभएको फिक्री र तनाउ उत्पन्न गराउँछ।” रियो दे जेनेरियोमा भएको व्यापक हिंसा तनाउको सामान्य स्रोत हो भनेर तिनी दाबी गर्छन्। यसले भावनात्मक तथा हिंसात्मक तनाउ उत्पन्न गराउँछ। यसबारे तिनी बयान गर्छन्, “कुनै किसिमले जीवन खतरामा परिरहेको परिस्थितिमा यसले मानिसहरूलाई असर गर्छ। दिनमा तिनीहरूले प्रत्येक कुराबारे असुरक्षा अनुभव गर्छन्। रातमा पनि डरलाग्दा सपनाहरूले तिनीहरूलाई संतोषको सास फेर्न दिंदैन।”
असमान स्वास्थ्य
धनी र गरिब राष्ट्रहरूबीचको असमान स्वास्थ्य विस्तृत हुँदैछ। विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार विकसित देशहरूमा बसोबास गर्ने तथा त्यहीं जन्मेका मानिसहरूको प्रत्याशित औसत उमेर ७६ वर्ष छ। जबकि अल्पविकसित देशहरूमा यो उमेर ५४ वर्ष छ। सन १९५० को दौडान बाल मृत्युको दर धनी देशहरूमा भन्दा गरिब देशहरूमा तीन गुना धेरै थियो। तर अहिले यो १५ गुना धेरै भएको छ। सन् १९८० को दशकपछि गरिब देशहरूमा प्रसुतिको समयमा मृत्यु हुने दर धनी राष्ट्रहरूमा भन्दा १०० गुना धेरै थियो। डब्ल्युएचओ बताउँछ, यो समस्याको मुख्य कारण के हो भने, गरिब देशहरूका आधाभन्दा कम मानिसहरूले मात्र स्वच्छ पानी र सरसफाइको प्रबन्धको उपभोग गर्न पाइरहेका छन्। संयुक्त राष्ट्रअनुसार, “अल्प विकसित देशहरू”-को संख्या १९७५ मा २७ देखि बढेर १९९५ मा ४८ पुग्यो। विश्वभरिमा १३० करोड गरिब मानिसहरू छन् र तिनीहरूको संख्या बढ्दैछ।
जाडोका लागि उत्कृष्ट छाला
विमानबाट हिमभालु खोज्ने प्रयास गर्नु वैज्ञानिकहरूलाई निकै आच्छु आच्छु पर्छ। तर यस भालुको रंग सेतो भएकोले तथा हिउँभित्र बस्ने हुनाले मात्र यो प्रयास कठिन भएको होइन। पपुलर साइन्स-अनुसार वैज्ञानिकहरूले सजिलै भालुलाई भेटाउन सकिन्छ भन्ठानेका थिए। यी विशाल प्राणीहरूको शरीरबाट निक्लने तापलाई सजिलै पत्ता लगाउन तिनीहरूले संवेदनशील इन्फ्ररिड फिल्म प्रयोग गरे। तर फिल्ममा कुनै संकेत भेटिएन! हिमभालुको छालाले अति प्रभावशाली ताप निरोधकको काम गर्छ जस्तो देखिन्छ। किनभने यस जनावरको शरीरले असाध्यै कम ताप फ्याँक्छ। पत्रिकाले यो पनि टिप्पणी गर्छ, हिम भालुको रौंले सूर्यको पराबैजनी किरणहरूलाई सोस्छ जस्तो देखिन्छ। र भालुमा भएको “सौर्य सेल्स”-ले सूर्यबाट खिंचेका ती पराबैजनी किरणहरूलाई तापमा परिवर्तन गर्छ जस्तो छ।
बेहोश हुने प्रशंसकहरू
रक कन्सर्टमा किन धेरैजसो प्रशंसकहरू बेहोश हुन्छन्? जर्मनी, बर्लिनको विश्वविद्यालय अस्पतालका एक जना स्नायु विशेषज्ञले यस घटनाको हालै छानबिन गरे। बर्लिनमा भएको रक कन्सर्टमा मुख्यतः स्त्रीहरू उपस्थित थिए र कार्यक्रमको दौडान ४०० जति बेहोश भए। डिस्कभर पत्रिकाअनुसार बेहोश हुनेहरूमध्ये ९० प्रतिशत अघिल्लो पंक्तिमा उभिरहेका थिए भनेर स्नायु विशेषज्ञले पत्ता लगाए। यो अघिल्लो पंक्ति पाउन कन्सर्ट सुरु हुनुभन्दा निकै अघिदेखि ती केटीहरू त्यहाँ उभिएका थिए। अनि धेरैजसो भोकै थिए वा अघिल्लो रात सुतेकै थिएनन्। अरू कारणहरू हुन्, तिनीहरूकै चिच्चाहट र पछाडिबाट भीडले थिच्दा तिनीहरूको छातीमा दबाब परेर रक्तचाप कम हुनु। यसले गर्दा मस्तिष्कमा रगत जान रोकिन्छ। फलतः तिनीहरू बेहोश हुन्छन्। स्नायु विशेषज्ञले रक संगीतका प्रशंसकहरूलाई कार्यक्रमको अघि खान तथा सुत्न अनि कार्यक्रमको दौडान शान्त भएर बस्न तथा भीडदेखि अलग रहन सल्लाह दिए। यद्यपि तिनी स्वीकार्छन्, शायदै कम किशोर प्रशंसकहरूले यो सल्लाह पालन गर्लान्।
समय कहाँ जान्छ
समय कहाँ जान्छ? धेरैले यस्ता प्रश्नहरू उत्तर पाउनलाई होइन तर अरूलाई प्रभाव पार्न सोध्ने गर्छन्। तर हालको अध्ययनले यसको वैज्ञानिक तवरमा उत्तर दिने प्रयत्न गऱ्यो। इलिनोइज, सं.रा.अ. मा सम्पन्न अनुसन्धानले केही ३,००० मानिसहरूको दैनिक क्रियाकलापबारे तीन वर्षसम्म अध्ययन गऱ्यो। तिनीहरूलाई आफूले खर्च गरेको समयको विवरण राख्न लगाइयो। अनुसन्धान समूहले विस्तृत पृष्ठभूमिका १८ देखि ९० वर्षका मानिसहरूलाई सोधपुछ गरे। सुत्नुमा सबैभन्दा धेरै समय खर्च भएको भेटाइयो। त्यसपछि आउँछ काम। त्यसले प्रतिदिन औसतन १८४ मिनेट लिन्छ। त्यसपछि टिभी र भीडीओ हेर्नु जसले प्रतिदिन १५४ मिनेट लिन्छ। घरेलु कामले ६६ मिनेट, यात्रामा ५१, सरसफाइ ४९, बच्चा तथा पशुपक्षीको हेरचाह २५ मिनेट। सूचीको सबैभन्दा तल आउँछ उपासना। त्यसले प्रतिदिन औसतन १५ मिनेट लिन्छ।
शिशुहरूको निश्शुल्क हेरचाह?
शहर छेउछाउ बस्ने हैरान आमाबाबुहरूले अरूलाई आफ्ना बच्चाहरूको हेरचाह गर्न लाउने नयाँ तरिका भेट्टाएका छन्। यसो गरेर पसलमा मालसामान किन्न तिनीहरू स्वतन्त्र हुन्छन्। तिनीहरू आफ्ना बच्चाहरूलाई खेलौनाहरू भएको स्टोर वा मल्टिमिडिया कम्प्युटर पसलमा छाड्छन्। उच्चप्रविधियुक्त मेशिनहरूद्वारा आकर्षित हुने बच्चाहरू आमाबाबु नफर्कुन्जेल प्रदर्शनका लागि राखेका नमुनाहरूसित खेल्छन्। न्युजविक पत्रिका बताउँछ, यस प्रवृत्तिले गर्दा बिक्रेताहरू रुष्ट हुनु कुनै आश्चर्यको कुरा होइन। तिनीहरू के गुनासो गर्छन् भने, बच्चाहरूले प्रदर्शित नमुनाहरू प्रयोग गर्दा सम्भाव्य ग्राहकहरूले ती नमुनाहरू प्रयोग गर्न पाउँदैनन्। त्योभन्दा खराब, तिनीहरूले ती नमुनाहरू बिगार्छन्। केही आमाबाबुहरूले चाहिं फर्केर तिनीहरूका बच्चाहरूको कसैले ख्याल गरेन वा शौचालयमा लगेन भनी गुनासो गरेका अरूले पाएका छन्। अतः केही स्टोरहरूले कम्प्युटरहरू भेट्टाउन नसक्ने ठाउँमा प्रदर्शित गरेर वा कसैको रेखदेखमा नछोडिएका बच्चाहरू भेट्टाए सुरक्षाकर्मीहरूलाई बोलाएर यो प्रवृत्तिसित संघर्ष गर्दैछन्।
नयाँ मूल्य तथा मान्यताहरू
रसियाली युवाहरूलगायत सम्पूर्ण रसियाली समाजले मूल्य तथा मान्यताहरूको संकट अनुभव गर्दैछन्। सेन्ट पिटर्सबर्गमा हालै गरिएको सर्वेक्षणबारे रसियाली पत्रिका साक्त पिट्रबुर्ग्सकिये-ले यस्तो प्रतिवेदन दिन्छ, “स्वास्थ्य, जीवन, परिवार तथा प्रेमजस्ता मानवजातिमा हुने सामान्य मूल्य तथा मान्यताहरूलगायत सफलता, पेशा, आराम र भौतिक कुराको सुरक्षाजस्ता व्यक्तिगत मूल्य तथा मान्यताहरूप्रति युवाहरूको झुकाउ अधिक छ।” अन्य महत्त्वपूर्ण मूल्य तथा मान्यताहरू मातापिता, पैसा, कल्याण, आनन्द, मित्रता तथा ज्ञानमा केन्द्रित छ। चाखलाग्दो कुरा, असल नाउँ कमाउन तथा व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्न यी कुराहरूलाई युवाहरूले कम मूल्यको ठान्छन्। कुन कुरालाई सबैभन्दा कम मूल्यको ठानिन्छ? इमानदारी। अन्ततः प्रतिवेदनले बताउँछ: “आजका युवाहरूमा झूट बोल्नु अति सामान्य कुरा भएको छ भने, आउँदो पुस्ताका युवाहरूको हृदयमा इमानदारीले कुनै स्थान पाउनेछैन।”