युवा जनहरू सोध्छन् . . .
यी अनुभूतिहरूलाई म कसरी हटाउन सक्छु?
“समलैंगिकतालाई म जति घीन गर्छु कहिलेकाहीं आफू त्यसप्रति त्यति नै आकर्षित भएको पाउँछु। यी अनुभूतिहरूले मलाई कहिलेकाहीं रातोदिन पिरोल्छ। ‘यी नराम्रा अनुभूतिहरू हटाइदिनुहोस्,’ भनेर मैले यहोवालाई नियमित रूपमा प्रार्थना गरेको छु। के यी अनुभूतिहरू कहिल्यै हट्छन्?”—डेनिसa
थुप्रै मसीही जवान पुरुष तथा महिलाहरू हताश भएर त्यस्तै मदत मागिरहेका छन्। समलैंगिकताप्रति आफ्नो झुकाव भएको तिनीहरू महसुस गर्छन् तर त्यस्तो जीवनशैलीलाई चित्रण गर्ने स्वछन्द यौनसम्बन्ध, यौनजन्य रोग र नैतिक पतनको भाग हुन चाहँदैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू यहोवालाई प्रसन्न तुल्याउन चाहन्छन् र समलैंगिकता गलत काम हो भनेर उहाँले आफ्नो वचनमा स्पष्टसँग बताउनु भएको छ।—रोमी १:२६, २७; कलस्सी १:१०.
समलिंगीहरू परिवर्तन हुन सक्दैनन् भनेर प्रायः दाबी गरिन्छ। तथापि यो कुरा सत्य होइन। केही प्रारम्भिक मसीहीहरू पहिले समलिंगी थिए तर तिनीहरू परिवर्तन भए। (१ कोरिन्थी ६:९-११) हो, लोकप्रिय मिथ्याहरूको बावजूद मानिसहरू परिवर्तन हुनसक्छन् र अवश्य परिवर्तन हुन्छन्। तथापि, कुनै जवान व्यक्ति समलिंगी कामदेखि सफलतापूर्वक अलग रहे तापनि समलैंगिक इच्छालाई भने पूर्णतया हटाउन तिनलाई गाह्रो पर्नसक्छ। एक जना जवान मानिस यसरी आफ्नो भूल स्वीकार्छन्: “मैले आफ्ना अनुभूतिहरू परिवर्तन गर्ने कोसिस गरिसकेको छु। यहोवालाई मदतका लागि प्रार्थना गरें। बाइबल पढें। त्यस विषयमा भाषणहरू पनि सुनें। अब मदत माग्न कहाँ जाने त्यो मलाई थाह छैन।”
तर यसको जादुइ वा तत्कालीन निवारण छैन। डेनिस यसरी याद गर्छन्: “आफ्नो ‘पुरुषार्थ’ साबित गर्न मैले विपरीत लिंगीहरूसित स्वछन्द यौनसम्बन्ध राखें। तर केही फाइदा भएन, बरु त्यसले झनै मेरो मानसिक पीडा बढायो।” यद्यपि, बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याएर त्यस्ता अनुभूतिहरूको सामना गर्न सकिन्छ।
गलत सोचपद्धतिलाई मानि लिनु
प्रथमतः कुनै काम गर्नुअघि त्यसबारे सोचिन्छ भनेर मानि लिनुहोस्। (यशैया ५५:६, ७; याकूब १:१४, १५) यो कुरा साँचो हो किनभने डा. वेन डब्ल्यु. डायर यसो भन्छन्: “कुनै कुरा कल्पना नगरेसम्म अनुभूति (भावना) आउँदैन।” अतः समलैंगिक इच्छापछाडि आफू, विपरीत लिंग, प्रेम आदिबारे विकृत सोचाइले जरा गाडेको हुनसक्छ। ‘आफ्नो मन परिवर्तन गरेर’ त्यस्ता विचारहरूलाई परिवर्तन गर्नुअघि ती चिन्नु आवश्यक छ। (रोमी १२:२) त्यसो गर्नाले कुनै व्यक्ति किन समान लिंगका सदस्यहरूतर्फ आकर्षित हुन्छ भन्ने सम्बन्धमा बहुमूल्य अन्तर्दृष्टि मिल्छ।
यो कसरी गर्न सकिन्छ त? एउटा उपाय भजनरचयिताले जस्तै प्रार्थना गर्नु हो: “हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदय बुझ्नुहोस्, मलाई खार्नुहोस्, र मेरो विचारहरू जान्नुहोस्। र हेर्नुहोस्, ममा दुराचरण केही रहेछ कि रहेनछ।” (भजन १३९:२३, २४) समझदार अनि परिपक्व मसीहीसँग आफ्ना अनुभूतिहरूबारे कुरा गर्नाले पनि फाइदा हुनसक्छ। हितोपदेश २७:१७ ले भनेझैं ‘फलामले फलामलाई उध्याउँछ।’ यसप्रकार एक जना जवान मानिसले समझदारी र सहानुभूतिका लागि नाउँ चलेको मसीही प्राचीनकहाँ गएर आफ्नो मनको बह पोखे। आफ्ना गोप्य कुराहरू अरूलाई बताउन तिनलाई अवश्य सजिलो भएन तर समयमा तिनीहरूबीच मूल्यवान सम्बन्ध स्थापित भयो। “म उहाँसँग जे कुरा पनि गर्नसक्छु,” तिनी भन्छन्। समझदार प्राचीनले सुन्ने मात्र होइन तर कौशलतापूर्वक प्रश्न गरेर जवान मानिसको अनुभूति र विचारहरू बाहिर निकाल्छ।—हितोपदेश २०:५ तुलना गर्नुहोस्।
यदि कुनै पुरुषले आफ्नो पिताको तिरस्कार वा दुर्व्यवहार सहनुपरेको थियो भने पुरुषप्रति ऊ आकर्षित हुनुको कारण वास्तवमा पिताको प्रेमलाई पूरा गर्ने निरर्थक प्रयास हुनसक्छ। पुरुषको भूमिका निभाउने नमूनायोग्य व्यक्ति नभएको हुँदा डा. जोसेफ निकोलसले भनेझैं तिनले “कातरपन र पुरुषार्थसँग सम्बन्धित गुनहरू शक्ति, दृढ स्वभाव र ताकत आफूमा नभएको महसुस गर्नसक्छ।” तर आफूले कमी महसुस गरेको विशेष गुनहरूको सूची बनाउँदा र अरू पुरुषहरूमा त्यही गुन आफूलाई आकर्षक लागेको पाउँदा तिनलाई आश्चर्य लाग्नसक्छ।
अतीतका क्रूर “पाठहरू”
अरू जवान मानिसहरूले चाहिं आफ्नो समस्या अतीतका पीडाहरूसँग सम्बन्धित भएको पाउँछन्। एउटी किशोरी यसो भन्छिन्: “म समलैंगिक विषयहरू भएका यौन प्रकाशनहरू पढ्थें। फलतः ममा अस्वाभाविक इच्छा जाग्न थाल्यो।” अर्को एक जना किशोर यसो भन्छन्: “म आफ्नै पिताबाट करणीको शिकार भएको थिएँ। फलस्वरूप पुरुषसँग यौनसम्बन्ध राख्नु मलाई सामान्य लाग्थ्यो।” त्यस्ता घटनाहरूको शिकार हुने मानिसहरूलाई आफ्ना पीडादायी अनुभवहरूको कारण विपरीत लिंगका मानिसहरू मन नपर्न वा तिनीहरूसित डर लाग्नसक्छ अथवा प्रेमलाई वासनासँग तुलना गर्नसक्छन्। त्यसैकारण त्यस्तै घटनाको शिकार भएकी एउटी महिला आफ्नो यौन इच्छा “शारीरिक नभई भावनात्मक आवश्यकता—कोमलता र समझदारीको आवश्यकता” हो भनी वर्णन गर्छिन्।
समलैंगिताका कारणहरू जटिल छन् र साधारण स्पष्टीकरणलाई समेत थुप्रै घटनाहरूले चुनौती दिनसक्छ।b तथापि, जुनसुकै कारणले गर्दा गलत धारणा परेको किन नहोस्, आफूलाई सुधार्न सकिने थुप्रै कुराहरू छन्।
आफ्नो मन परिवर्तन गर्ने
परमेश्वरको वचन प्रयोग गर्नु सर्वोत्तम तरिका हो। उदाहरणका लागि, एउटा जवान मानिसलाई विचार गर्नुहोस्। आफूले कमी महसुस गरेका पौरुष गुनहरू हुने पुरुषहरूप्रति तिनी आकर्षित हुन्छ। अथवा त्यस जवान स्त्रीलाई लिनुहोस् जो पुरुषसँग डराउँछे। यी दुवैले येशूको उदाहरण अध्ययन गरेर पुरुषार्थबारे स्वस्थकर दृष्टिकोण विकास गर्न सक्छन्। (१ पत्रुस २:२१) उहाँ पौरख र कोमलता सन्तुलित रूपमा भएको सिद्ध नमूना हुनुहुन्छ। (मत्ती १९:१४; यूहन्ना १९:५) तसर्थ, एक जना जवान मानिसले आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष पुस्तक अध्ययन गर्नु लाभदायी पाए।c तिनी यसो भन्छन्, “येशूलाई चिनेपछि पुरुष भनेको कस्तो हुनुपर्छ भन्ने मेरो धारणा परिवर्तन भयो।”
यौन, प्रेम र समान लिंगका मानिसहरूसँगको मित्रताप्रति परमेश्वरले राख्नुहुने दृष्टिकोणसित सम्बन्धित बाइबल पदहरूमाथि मनन गर्नाले पनि सोचपद्धति सुधार्न मदतकारी हुनसक्छ।—उत्पत्ति १:२७, २८; रूथ १:१६, १७; १ शमूएल १८:१; हितोपदेश ५:१८, १९; १ कोरिन्थी १३:४-८.
गलत कुराहरूमा मन नखेलाउनु पनि महत्त्वपूर्ण छ। विशेषगरि एक्लो, निराश वा हतोत्साही हुँदा गलत कुराहरूमा मन खेलाउने तीव्र इच्छा हुनसक्छ। (हितोपदेश २४:१०) एउटी मसीही स्त्री यसो भन्छिन्, “आफूलाई परिवर्तन गर्ने एक मात्र तरिका गलत कुरा सोच्न छाडेर असल सोच्न थाल्नु हो। अपवित्र इच्छा जाग्दा परमेश्वरले समलैंगिकताप्रति कस्तो धारणा राख्नुहुन्छ भनेर तिनी आफूलाई सम्झाउँछिन्।” एक जना किशोर यसो भन्छन्: “समलैंगिक इच्छा जाग्नेबित्तिकै म आफूलाई मनपर्ने बाइबल पद मनन गर्न थाल्छु।” (२ कोरिन्थी १०:४ तुलना गर्नुहोस्; फिलिप्पी ४:८) अरूले चाहिं वाच टावर सोसाइटीका बाइबल आधारित क्यासेटहरू सुन्दै निदाउनु मदतकारी पाएका छन्।
हाम्रो सोचाइले काममा असर गरेझैं हाम्रो कामले हाम्रो सोचाइ र हामी कस्तो महसुस गर्छौं, त्यसमा असर गर्नसक्छ। अतः गलत इच्छा जगाउने वा तीव्र पार्ने बानी र संगतदेखि अलग बस्नुपर्छ। (१ कोरिन्थी १५:३३) सार्वजनिक शौचालय, समुद्री तट, लकर रूमका साथै गलत काम गर्न प्रलोभित हुनसक्ने स्थानदेखि ‘होशियार’ हुनु पनि आवश्यक छ।—भजन ११९:९ न्युव.
अलग बस्नुपर्ने अर्को अस्वस्थकर बानी हस्तमैथुन हो। अधिकांश समलिंगी पुरुष तथा महिलाहरूले आफूलाई यो लतबाट मुक्त गर्नसकेका छैनन्। एक जवान मानिस यसो भन्छन्, “छ वर्षको उमेरदेखि म हस्तमैथुनबाट मुक्त हुने कोसिस गर्दैछु। यौनिक कुराहरू कल्पना गर्दा समलैंगिक इच्छा झनै तीव्र हुन्थ्यो।” यस्ता फोहर बानीसित लड्नुहोस्!d—कलस्सी ३:५.
अर्कोतर्फ स्वस्थकर बानी बसाल्नु पनि त्यतिकै महत्त्वपूर्ण छ। जवान मानिसले आफूमा पौरुष गुनहरू विकास गर्दा अरू पुरुषहरूतर्फ कम आकर्षित हुनेछ भनेर केही व्यक्तिहरूले सुझाव दिएका छन्। निस्सन्देह केटाकेटी छँदा उसको जीवनमा कसैले प्रभावकारी पुरुषको भूमिका निभाएको थिएन भने एक जवान मानिसलाई त्यो कुरा थाह नहुनसक्छ। उसलाई आफ्नै शारीरिक बनौटदेखि अप्ठ्यारो लाग्न वा आफूलाई पौरुषहीन महसुस गर्नसक्छ। कसरतपूर्ण काम, सन्तुलित व्यायाम वा आरामदायी खेलहरू खेल्नु प्रायः मदतकारी हुन्छ। (१ तिमोथी ४:८ तुलना गर्नुहोस्।) तर जवान तिमोथी प्रेरित पावलको छोरा बनेजस्तै सन्तुलित पाको मसीही पुरुषहरूसँग स्वस्थकर समझदारी बढाउँदा झनै मदतकारी हुनसक्छ। (फिलिप्पी २:१९-२२; २ तिमोथी ३:१०) स्पष्ट सीमाभित्र रहेर व्यवहार गर्दा र खुलस्त भएर कुरा गर्दा त्यस्तो सम्बन्ध न्यानो अनि भरोसायोग्य हुन्छ र त्यसमा कुनै कामुक प्रभाव लुकेको हुँदैन।
सबैभन्दा महत्त्वपूर्ण कुरा आफूलाई आध्यात्मिक तवरमा बलियो बनाउनुपर्छ। नियमित तवरमा बाइबल अध्ययन तथा प्रार्थना गर्नाले अनि अरूसँग आफ्नो विश्वास बाँड्नाले आफ्नो मन आध्यात्मिक कुराहरूमा बाहेक अन्य कुरामा डुल्नदेखि रोक्ने मदत पाउन सकिन्छ। (भजन ५५:२२; ११९:११; रोमी १०:१०) कहिलेकाहीं आफूलाई अयोग्य ठान्दा संगी मसीहीहरूको नजीक आउन गाह्रो हुनसक्छ तर आफूलाई एक्लो नपार्न बाइबलले चेताउनी दिन्छ। (हितोपदेश १८:१) स्त्री, पुरुष दुवै मसीहीहरूसँग स्वस्थकर संगत गर्नाले सन्तुलित रहन मदत पाउन सकिन्छ।—हिब्रू १०:२४, २५.
तपाईं समलैंगिक इच्छाले पीडित हुनुहुन्छ भने यी सुझावहरू मदतकारी साबित हुनसक्छ। यद्यपि, खराब भावनाहरू तुरुन्तै नहट्दा ज्यादै निरुत्साहित नहुनुहोस्। परमेश्वरले तपाईंका भावनाहरू बुझ्नुहुन्छ र उहाँको सेवा गर्न संघर्षरत मानिसहरूप्रति सहानुभूति देखाउनुहुन्छ। (१ यूहन्ना ३:१९, २०) हामीलाई दुःख दिने सबै रोगहरू नयाँ संसारमा निवारण भएको मानिसहरूले अनुभव गर्नेछन्। (प्रकाश २१:३, ४) तर त्यतिञ्जेल परमेश्वरमाथि भरोसा राख्नुहोस् र खराब इच्छाहरूको विरुद्धमा लड्नुहोस्। (गलाती ६:९) कटिबद्ध भएर प्रयत्न गर्दा समयको दौडान शायद खराब इच्छाहरू आफै हराउन सक्छन्। (g95 3/22)
[फुटनोटहरू]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b फेब्रुअरी ८, १९९५ अंकको “जवान व्यक्तिहरू सोध्छन् . . . ” हेर्नुहोस्।
c वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कद्वारा प्रकाशित।
d क्वेशन्स यंग पिपल आस्क—आन्सर्स द्याट वर्क (जवान मानिसहरूले सोध्ने प्रश्नहरू—उपयोगी जवाफहरू, वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कद्वारा प्रकाशित) पुस्तकको अध्याय २५ र २६ मा जवानहरूलाई यस्तो कुलतदेखि छुट्ने मदतका लागि व्यवहारिक सुझावहरू दिइएका छन्।
[पृष्ठ २४-मा भएका ठूलो अक्षरको क्याप्सन]
येशूले छाड्नुभएको नमूनालाई अध्ययन गरेर पुरुषार्थबारे स्वस्थकर दृष्टिकोण विकास गर्नुहोस्